के हो अमेरिकाले ५७ वर्षदेखि पछ्याइरहेको पोखराको ‘अज्ञात उडनतस्तरी’ दुर्घटनाको रहस्य?
२०२४ सालमा पोखराको बाटुलेचौर क्षेत्र र यस आसपासमा ‘यूएफओ’ अर्थात् अज्ञात उडनतस्तरीका टुक्रा खसेका थिए। यसपछिको केही समय त्यस क्षेत्रमा विशेष खोजतलास गरेको अमेरिकाले त्यसयता पनि यसको पार्टपुर्जा संकलन गर्न छाडेको छैन।
२०२४ साल चैतको एक बेलुकी। करीब ८ बजे पोखराको उत्तरी भेग बाटुलेचौर क्षेत्रमा आकाशमा झलल्ल बिजुली चम्किंदै विस्फोटको ठूलो आवाज सुनियो। सबै गाउँलेले सुने, तर के भएको हो भन्ने मेसो पाएनन्। कसैले तारा र उल्का खसेको भन्ठाने, कसैले विमान दुर्घटना हो कि भन्ने अनुमान गरे।
बिहानपख गाउँलेहरू भेला भए। बाटुलेचौर, बडहरबोटमा रहेको खेतको गह्रामा केही वस्तु खसेको पत्तो लगाए।
स्थानीय कुलप्रसाद तिमिल्सिनाको खेतमा धातुको एउटा पातो गाडिएको अवस्थामा भेटियो। त्यो पातो तिमिल्सिनाले घरमा ल्याए। भैंसीको गोठमा काम लाग्ने भनेर राखे।
पातो भएको ठाउँ खरानी भएको थियो। त्यहाँ एक–दुई वर्षसम्म अन्न नउब्जिएको तिमिल्सिना परिवारले बताएको छ। पछि त्यो पातो कतै लगियो। पातो कहाँ लगियो भन्नेबारे दुईथरी कथन छ। एउटा दाबी अनुसार पातो महीना दिनपछि गण्डकीका तत्कालीन अञ्चलाधीश नन्दप्रसाद मल्लले लगेको बताइन्छ। दोस्रो, बाटुलेचौरकै विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लगिएको भन्ने अर्को कथन छ। यसबारे बताउने तिमिल्सिना हामीमाझ छैनन्। ८३ वर्षको उमेरमा उनको तीन वर्षअघि निधन भइसकेको छ। त्यति वेलाका प्रत्यक्षदर्शी भनिएका उनका पुस्ताका मानिस थोरै मात्र छन्। जसको स्मृतिमा पुराना कुरा खासै प्रष्ट छैनन्।
नेपाल सम्बन्धी ऐतिहासिक तस्वीर संकलनकर्ता पोखराका सुनील उलकले तिमिल्सिनासँग भेटेर यसबारेमा २०७८ मा लेख छपाए। उनको लेखमा भनिएको छ, ‘पाता ठ्याक्कै चारपाटे नभएर चारकुनो हल्का गोलो थियो। आफ्नै गह्रामा भेटिएपछि उनले त्यो बाक्लो कालो पाता दुई–चार साथी बटुलेर बोकाएर भैंसीको गोठको अगाडि ओछ्याउने काम लाग्ने भन्दै ल्याए।’
बाटुलेचौरमा फेला परेको पाता कहाँबाट आएको थियो, कहाँ पुग्यो भन्नेबारे अनुसन्धान हुन सकेन। फलामकै एउटा पाता मात्र भएकाले गाउँलेले महत्त्व दिने कुरा पनि भएन। समयसँगै घटना गाउँलेले बिर्सिए।
तिमिल्सिनाकी श्रीमती ज्ञानु तिमिल्सिना (७९) को सम्झनामा उक्त वस्तु आकाशबाट खसेको थियो। त्यति वेला उनी २२ वर्षकी थिइन्। बेलुकी घरमै रहेको वेला ठूलै आवाज उनले पनि सुनिन्। आकाश चम्किलो देखिएको थियो। भोलिपल्ट बिहान खेतमा पुग्दा उनले पनि त्यो वस्तु देखिन्। “छपनी थियो, लुगा धुन हुने भयो भन्ने सोच्यौं। हाम्रो खेतमा गाडिएको भएर आकाशबाट खसेको नै भयो,” उनी भन्छिन्।
बाटुलेचौरकै कुलनारायण पौडेल सम्झन्छन्, “म त सानै थिएँ, ८/९ वर्षको। आवाज सुनेका थियौं। के खस्यो भन्दै दगुरेर हामी पनि गएका थियौं। चारपाटे फलाम जस्तो थियो। पछि गाउँकै पाका मान्छेले लगेका हुन्। खै त्यो कता पुग्यो, थाहा छैन।”
सीआईएको रिपोर्टले खुलाएको रहस्य
बाटुलेचौरका तिमिल्सिनाको खेतमा भेटिएको पातोको रहस्य २०७३ सालमा अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआईएले खुलाएको देखिन्छ। सीआईएको प्रतिवेदनले पोखरामा अज्ञात उडनतस्तरीको अवशेष खसेको बताउँछ।
२०७३ सालमा सीआईएले आफ्ना अति गोप्य आठ लाख वटा फाइल अनलाइनमा सार्वजनिक गरेको थियो। तीमध्ये एउटा अभिलेखको शीर्षक थियो, ‘साइटिङ्स अफ अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स इन लद्दाख, नेपाल, सिक्किम एन्ड भूटान’, अर्थात् लद्दाख, नेपाल, सिक्किम र भूटानमा देखिएको ‘यूएफओ’ अर्थात् अज्ञात उडनतस्तरी।
उक्त अभिलेखमा अज्ञात उडनतस्तरी २०२४ फागुन ७ गतेदेखि चैत १२ गतेका बीचमा ६ पटक लद्दाख, सिक्किम, नेपाल र भूटानका आकाशमा देखिएको भनी उल्लेख छ। जसमा नेपालको बाटुलेचौरमा चैत १२ गते राति ८ः१५ बजे बिजुली चम्किंदै चट्याङको आवाज सुनिएको र त्यहाँबाट ६ फुट लम्बाइ र चार फिट उचाइ भएको मेटालिक डिस्क भेटिएको रिपोर्टमा उल्लेख छ। जसका अरू अवशेष बाटुलेचौर नजीकैको तल्लाकोट र तुरेपसलमा भेटिएको रिपोर्टमा उल्लेख छ। स्थानीयका अनुसार बाटुलेचौर, अर्मलाकोट र मैदानमा पाताहरू भेटिएका थिए।
सीआईएको रिपोर्ट अनुसार उडनतस्तरी पहिलो पटक २०२४ फागुन ७ मा सिक्किमको लाचुङ, लाचेन, थांगु, मुगुथांग तथा छोल्हाममा देखिएको र सोही दिन पूर्वी नेपालको ओलाङचुङगोला र घुन्सा क्षेत्रमा देखिएको थियो। सिक्किममा देखिएको यूएफओले चट्याङ जस्तै आवाज र प्रकाश दिएको थियो। यूएफओ दक्षिण-पूर्वदेखि उत्तर-पश्चिममा लाचुङ, मुगुथांगतर्फ र छे ल्हामो, सेसे लामा भने उत्तर-पूर्वबाट दक्षिण-पूर्वतर्फ गइरहेको बताइएकोमा यो जानकारी भ्रामक रहेको सीआईएले बताउँछ। पछि, नेपालमा यूएफओ गइरहेको दिशा भने मेल खाएको त्यहाँ उल्लेख छ। यूएफओ उडेको मिति र समय पनि मेल खाएकाले उक्त दिशा सही हुने सम्भावना रहेको भनिएको थियो।
पूर्वी नेपालको ओलाङचुङगोला र घुन्सा क्षेत्रमा उक्त वस्तु उत्तर-पूर्वबाट दक्षिण-पश्चिमतर्फ गइरहेको पाइएको थियो। त्यस क्रममा तीव्र गतिमा लामो र पातलो वस्तु उडेको, रातो र हरियो प्रकाश देखिएको र चट्याङ जस्तो आवाज सुनिएको उल्लेख छ। यसको तीन दिनपछि फागुन ९ मा भूटानको थिम्पुमा राति ९ः३० बजे नीलो रङको वस्तु तीव्र गतिमा विना आवाज उडेको देखिएको थियो। त्यसपछि फागुन २१ मा एकैदिनमा दुई ठाउँमा यूएफओ देखिएको थियो। लद्दाखको चाङ्ला पास, फुक्चे तथा कोयुल क्षेत्रमा दिउँसो १ बजे सेतो प्रकाश सहित लगातार दुई पटक विस्फोटको आवाज सुनिएको थियो भने लद्दाखकै एनि ला क्षेत्रमा पनि उक्त वस्तु देखा पर्यो। पोखरामा देखा परेकै दिन राति ९ः५० (लद्दाखको समय)मा फुक्चे, कोयुल र देम्चोकमा पनि आकाशमा यूएफओ देखा परेको थियो।
तस्वीर संकलनकर्ता उलकका अनुसार बाटुलेचौरमा फलामे पाता खसेको केही महीनापछि नेपाली सेनाको सहयोगमा दुर्घटना क्षेत्रबाट अवशेषहरू संकलन गरिएको थियो। अमेरिकी राजदूतावासको सक्रियतामा नेपाली सेना तथा अमेरिकी राजदूतावासका पदाधिकारीले महीना दिन नै खोज-अनुसन्धान गरेका थिए। जेरी सी. ट्रिपीले मिस्टर फार्लीलाई सम्बोधन गरेर २५ जून १९६८ (२०२५ असार १२)मा लेखेको गोप्य ‘मेमो’ मा ती अवशेषलाई एअर फोर्सको फरेन टेक्नोलोजी डिभिजनले महत्त्वपूर्ण हुन सक्ने भनी निर्णय गरेको र यी अवशेष चिनियाँ मिसाइल परीक्षणका हुन् वा सोभियतको ‘भेहिकल भेनिक’ का हुन् भन्ने उल्लेख गरिएको थियो।
यसरी विभिन्न समयमा देखा परेको यूएफओबारे अमेरिकाको चासो बढ्यो। घटना भएको केही महीनामा अमेरिकाको तर्फबाट सो क्षेत्रमा पटक पटक खोजतलास र अनुसन्धान भयो।
यस्तै, २८ अगस्ट १९६८ (२०२५ भदौ १३) मा नेपालस्थित अमेरिकी राजदूतावासले अमेरिकी सरकारलाई लेखेको पत्रमा यूएफओबारे प्राप्त डेटा परीक्षण गर्दा केही टुक्रा सोभियत मूलको हुन सक्ने र सम्भवतः ‘कसमस २०८’ रहेको, जुन पृथ्वीमा २५ मार्च १९६८ को राति फेरि प्रवेश गरेको हुन सक्ने उल्लेख गरेको छ।
बाटुलेचौरमा झरेको पार्टपुर्जा अमेरिकी सरकारका लागि महत्त्वको विषय रहेछ। जुन पोखराबाट अमेरिकी सरकारले परीक्षणका लागि अमेरिका लगेको र पुनः नेपाल फिर्ता पठाएको अभिलेखले देखाउँछन्।
उलकका अनुसार २०७६ सालमा सीआईएका प्रतिनिधि त्यही अज्ञात वस्तुका पार्टपुर्जा खोज्न बाटुलेचौर पुगेका थिए। उनीहरूले पार्टपुर्जा उपलब्ध गराए उचित रकम दिने बताएको पनि उनले सुनाए। यो तथ्यमा तिमिल्सिनाकै परिवार पनि सहमति जनाउँछ। बाटुलेचौरकै स्थानीय तथा विन्ध्यवासिनी माविका सहप्रधानाध्यापक रामबहादुर बानियाँले पनि केही व्यक्ति आएको आफूले पनि खबर पाएको बताए। उक्त अज्ञात वस्तु बाटुलेचौरमा दुर्घटनामा पर्दा अमेरिकी सहयोग संस्था पिसकोरका एक स्वयंसेवक विन्ध्यवासिनी माविमा पढाउन आएका थिए। गाउँलेको भनाइमा त्यति वेला उनले विद्यालयमा उक्त पातो देखाएका पनि थिए। यसबारे सहप्रधानाध्यापक बानियाँले भने, “विद्यालयमा राखिएको भन्ने पनि सुनियो, कसैले अञ्चलाधीशले लगे रे भन्छन्। तर सबै रे कुरा छन्।”
अझै नखुलेको रहस्य
सन् १९५० देखि १९६० को दशकमा यूएफओ अर्थात् अज्ञात उडनतस्तरीबारे सबैभन्दा बढी चर्चा अमेरिकामा हुन थालेको थियो। दोस्रो विश्वयुद्धपछि विकास भएका रकेटको आविष्कारपछि यूएफओ अध्ययन महत्त्वको विषय हुन पुग्यो। यसैकारण यस्तो वस्तु देखिएका ठाउँहरू पत्ता लगाएर अमेरिकी सरकारले अनुसन्धानका लागि गुप्तचर संस्था सीआईए र वैज्ञानिकहरूको टोली नै खटायो। त्यसै अन्तर्गत विभिन्न कार्यक्रम केही सार्वजनिक रूपमा र केही गोप्य ढंगले पनि सञ्चालन गरिए। जुन अमेरिकी सरकार मात्र नभई अन्य देशहरूले पनि सञ्चालन गरेका छन्।
विज्ञानको विकासको यो समयमा अज्ञात उडनतस्तरी अझै पनि रहस्य र अन्योलकै विषय बनिरहेको छ। अज्ञात उडनतस्तरीलाई दुई कोणबाट हेरेर आकलन र विश्लेषण गरिएको पाइन्छ। एकातिर यसको सम्बन्ध अन्य ग्रहका एलियनसँग छ कि भन्ने तर्क गरिन्छ। अर्कातिर एक देशले अर्कोको जासूसीका लागि विमान या रकेट उडाएको वा त्यस्ता उपकरणको परीक्षण गरेको हो कि भन्ने तर्क गर्नेहरू पनि छन्।
अमेरिकी सरकारको रक्षा विभाग अन्तर्गत ‘अनआइडेन्टिफाइड एनोमालियस फेनोमेना’ (यूएपी) को अध्ययन गर्न ‘अल डोमेन एनोमेली रिजोलुशन अफिल’ (आरो)को स्थापना गरिएको थियो। सरकारी दस्तावेजमा यूएफओको सट्टा यूएपी प्रयोग गरिन्छ। आरोले सन् २०२३ मेदेखि २०२४ जूनसम्म ७५७ वटा नयाँ यूएपीको रिपोर्ट प्राप्त गरेको थियो। यूएफओ अज्ञात र विश्लेषण गर्न नसकिने भए पनि अन्य ग्रह (एलियन)का भन्ने दाबी भने नरहेको सुरक्षा अधिकारीहरूको तर्क छ।
अमेरिकी सरकारले गरेको अनुसन्धान सम्बन्धी प्राप्त अभिलेख र कागजातले पोखरामा दुर्घटना भएको यूएफओबारे निचोडमा केही बताउन सकेका छैनन्। कि त सत्य ढाकछोप गरिएको हुन सक्छ वा ती प्रतिवेदन गोप्य नै राखिएका हुन सक्छन्।
उलक यो रहस्य चीनमाथि अमेरिकी सरकारले गरिरहेको जासूसी हुन सक्ने ठान्छन्। उनी भन्छन्, “अहिले यो सबै बुझ्दा चिनियाँ इलाकामा जासूसी गर्न आएको जहाज हो कि जस्तो लाग्छ, पछि त्यही थाहा पाउने डरले अमेरिकी सरकारले भएभरका अवशेष लगेको भन्ने पनि लाग्छ।”
यो घटनाबारे अध्ययन गरेका स्थानीय बानियाँ भन्छन्, “त्यति वेला स्वतन्त्र तिब्बतका लागि खम्पा विद्रोह पनि भएको थियो, त्यसमा अमेरिकी सरकारले सहयोग गरेको थाहा पाएपछि चीनले मिसाइल प्रयोग गरेर खसालेको पनि हुन सक्ला।”
दोस्रो विश्वयुद्धपछि चर्किएको अज्ञात उडनतस्तरीको विषय नेपाल हुँदै त्यति वेला पोखरासम्म आइपुग्यो। अमेरिकी कागजातमा ‘चीनको मिसाइल’, ‘सोभियत’ भन्ने शब्दहरू लेखिए पनि त्यो वस्तु यही नै हो भन्ने किसिमको अभिलेख बाहिर आउन सकेको छैन। जस कारण पोखरामा खसेको एक टुक्रा पाता पछाडिको कथा अझै रहस्यमा छ।