रामेछापको उमाकुण्ड गाउँपालिका-२ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा नमूना युवा संसद्को अभ्यास गरिएको छ।
सिद्धेश्वर मावि र टोनी हागन फाउन्डेशनको आयोजनामा बिहीबार नमूना संसद्को अभ्यास गरिएको हो। विद्यार्थीलाई संसद्को बैठक प्रक्रियाबारे जानकारी दिन, तर्क गर्ने क्षमताको विकास गर्न र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको सिद्धेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीप बस्नेतले बताए।
पूर्व सांसद एवं फाउन्डेशनका सचिव फटिक थापाको परामर्शमा र शारदा माविका सहायक प्रधानाध्यापक केशव खड्काको सहजीकरणमा नमूना संसद् बैठकको अभ्यास गरिएको थियो। अभ्यासमा उमाकुण्ड गाउँपालिकाको विकासलाई लिएर संकल्प प्रस्ताव पेश गरिएको थियो।
त्यसमा विद्यार्थीले सभामुख, मन्त्री, सांसद, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए। नमूना संसद्मा कञ्चन बस्नेतले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा मानबहादुर बस्नेत, अप्सरा बस्नेत, सन्तोषी बस्नेत, प्रज्वल कार्की, याङ्डी शेर्पा, सविन भुजेल, सम्झना बस्नेत, सरिब्मा घताने, अनिता विक र निरुसा बराइली लगायतले भाग लिएका थिए। बैठकमा उठेका प्रश्नको नमूना मन्त्रीका रूपमा दीपेश थापाले जवाफ दिएका थिए।
सिम्रन बस्नेत सभामुखको भूमिकामा थिइन् भने सुनील श्रेष्ठ, अनिशा बस्नेत, मञ्जु भुजेल, अस्मिता कटुवाल, अनिल श्रेष्ठ र स्वस्ति बस्नेत लगायतले शून्य समयमा समसामयिक विषयमा बोलेका थिए। आङछिरिङ शेर्पा, रमेश तामाङ र सविता खत्रीले संसद् सचिवालयका कर्मचारीको भूमिका निर्वाह गरेका थिए भने रञ्जित कार्की, जगदीश कटुवाल, निशाना तामाङ, जेनी श्रेष्ठ र सुजाता घिमिरे मर्यादापालकका रूपमा थिए।
कार्यक्रममा उमाकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष खम्बध्वज बस्नेतले विद्यालयमा हुने नमूना संसद्को अभ्यासले निरन्तरता पाउनुपर्ने बताए। त्यस्तै, प्रधानाध्यापक निर्मल त्रिपाठीले यो कार्यक्रमले विद्यार्थीमा दूरगामी प्रभाव पार्ने बताए।
फाउन्डेशनका कोषाध्यक्ष वसन्त थापाले सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका स्वीश भूभर्गविद् टोनी हागनको जीवनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए। नमूना युवा संसद्को अभ्यासका क्रममा टोनी हागनले खिचेका नेपालका विभिन्न भागका तस्वीरको प्रदर्शनी पनि गरिएको थियो।