सजाय जस्तो जीवन बाँचिरहेकी नवराज विककी आमा
नवराजको हत्यामा संलग्नहरूलाई अदालतले १० वर्षदेखि आजीवन कारावासको सजाय तोकेको छ। तर छोरा गुमाएकी उर्मिलाले जेल बाहिर भोगिरहेको जीवन पनि कुनै सजायभन्दा कम छैन।
कथित उपल्लो जातकी केटीलाई प्रेम गरेकै कारण जाजरकोटका नवराज विकको हत्या भएको चार वर्ष बित्यो। ‘नौ दिनमा नौलो, २० दिनमा बिर्स्यो’ भने जस्तै उनकै गाउँले धेरैले अब यो घटना सम्झन छाडिसके। बिर्सिनसकेकाहरू पनि भन्छन्, “उहिलेको घटना, अब कति कुरा गर्नु?”
संसारमा हजारौं मानिस जन्मन्छन्, मर्छन्। ती सबै मरणले सबैलाई सधैंभरि अनि उसैगरी दुखाइरहँदैनन्। कसैको मरण कसैलाई आजीवन हृदयको खिल बनेर उसैगरी दुखिरहन्छ भने ती केवल आमा हुन सक्छिन्। जस्तो, उर्मिला विक (४३)। नवराजलाई गुमाएको चार वर्षपछि पनि उनी त्यही घटनामा टक्क अडिरहेकी छन्, बिग्रिएको घडीको सुई जस्तो। शोक र सन्तापले उर्मिलाको मनको घाउ हर दिन बल्झाइरहेकै छ।
केही अघि म जाजरकोट, रानागाउँस्थित घर पुग्दा उनी शुरूमा केही नबोल्ने भन्दै पन्छिइन्। पछि बिस्तारै मनको गाँठो फुकाउन थालिन्, “त्यस दिन मैले घरबाट निस्किन नदिएको भए बाँच्थ्यो मुर्दार! अब त सबै सकियो। केहीमा मन लाग्दैन मेडम मलाई।” उनले आँखा चिम्लेर यसो भन्दै गर्दा टाउको पनि ‘मन लाग्दैन’ भावमै हल्लिरहेको थियो। थर्थराइरहेका हात भुइँ कोतर्दै थिए।
उर्मिलालाई उति वेला केही सजगता अपनाएको भए यस्तो दिन आउँदैनथ्यो कि भन्ने थकथकी लागिरहन्छ। उनी भन्छिन्, “त्यो दिन छोरालाई रोकेको भए, छोराले साथी भनेर चिनाएकी केटीलाई सम्झाउन पाएको भए, छोरालाई केही वर्ष पर्खी, त्यसैसँगै बिहे गरिदिन्छु भनेर फकाउन पाएको भए आज संसार अर्को हुन्थ्यो होला मेडम!”
नवराजको चौरजहारी नगरपालिका-८, सोती गाउँकी किशोरीसँग प्रेम थियो। ती किशोरी पनि नवराजको घर आएर बस्ने गर्थिन्। घरकाले शुरूमा उनलाई कान्छी छोरी सुस्मिताकी साथी ठानेका थिए। एक पटक तीन दिनको बसाइमा आउँदा चाहिं आफू नवराजकी साथी भएको बताइन्। तब उर्मिलाले बिहे नभएकी केटीमान्छे पटक पटक आएर बसेको भन्दै छोरा र उनलाई हप्काइन्। ती किशोरी मल्ल परिवारकी छोरी रहेको थाहा पाएपछि त उनको सातो गएको थियो। त्यो डर केही महीनामै शोकमा परिणत होला भनेर चाहिं एक मनले पनि सोचेकी थिइनन्।
घटनाको साता दिनअघि ती किशोरी र नवराजबीच ‘भागेर बिहे गर्ने’ मतो भएछ। सोही योजना अनुसार २१ वर्षीय नवराज विक १९ जना साथीहरू सहित सोती गाउँ पुगे। दलितले ठकुरीकी छोरी भगाउन लागेको थाहा पाएपछि किशोरीका परिवार, आफन्त र गाउँलेले उनीहरूलाई ढुंगामुढा हानेर खेदाउन थाले। खेदाउँदै जाँदा नवराज सहित ६ जनालाई ढुंगाले हानेर हत्या गरे। ढुंगाले किचेर छोरालाई तड्पाई-तड्पाई मारिएको सम्झँदा उर्मिलालाई अहिले आफ्नै सास अड्किएला जस्तो हुन्छ।
नवराज बितेपछि उर्मिलाले छोरासँग जोडेर देख्दै आएको सुखद भविष्यको सपना पनि सकियो। “पुलिसमा लिखितमा नाम निकालिसकेको थियो। घरमा कमाउने मान्छे हुन लाग्दै थियो, गयो। हाम्रो जिन्दगी पनि तहसनहस पारेर गयो,” उनी भन्छिन्।
हत्यामा संलग्नहरू अहिले जेलमा छन्। अदालतले तिनलाई एक दशकदेखि आजीवन कारावासको सजाय तोकेको छ। जेल बाहिर उर्मिलाले भोगिरहेको जीवन पनि कुनै सजायभन्दा कम छैन।
२०७७ जेठ १० को उक्त घटनामा नवराजसँगै उनका साथीहरू गोविन्द शाही, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनारा र सञ्जु विकको पनि ज्यान गएको थियो। तिनमा कोही उनका छिमेकी थिए त कोही आफन्त। घटनायता तिनका परिवार उर्मिलासँग बोल्न छाडेका छन्। “यसकै छोराले गर्दा हाम्रो छोरालाई पनि मारिदिए। यिनीहरू मान्छे खानेका सन्तान रहेछन्, आफ्नै जातकी केटी हेरेको भए यस्तो हुन्थ्यो?” भन्दै टोकस्छन्। वेलावेला उर्मिला पनि जवाफ फर्काउँछिन्, “मैले आफ्नो छोरा बचाएर तिमीहरूको छोरा मार्न लगाएकी हुँ र?”
जवाफ कहिलेकाहीं झगडामा बदलिन्छ। त्यसैले अहिले उनी सकेसम्म गाउँतिर निस्कनै छाडेकी छन्। उनी भन्छिन्, “आफू अघिअघि हिंड्दा पछिपछि मलाई सरापिरहेका हुन्छन्। त्यसैले कसैसँग बोल्दिनँ। कतै निस्किदिनँ।”
छुवाछूत अहिले कानूनी रूपमै प्रतिबन्धित छ, सजायको व्यवस्था छ। तर उर्मिलालाई गाउँलेहरूले ‘छोराले आफ्नै जातकी हेरेको भए यसरी मर्न त पर्ने थिएन’ भनेको कुरा उति बेठीक लाग्दैन। किनभने उनी बसेको क्षेत्रमा जातीय विभेद अहिले पनि उस्तै छ।
उक्त घटनाअघि पनि किशोरीका बाआमाले आफ्नी छोरीसँग सम्बन्ध राखेको थाहा पाएपछि नवराजलाई प्रहरी चौकीमा थुनाएका थिए। उर्मिला र उनका पति मोहनलाललाई चौरजहारीस्थित इलाका प्रहरी कार्यालय बोलाएर आइन्दा उक्त सम्बन्ध अघि नबढाउन लिखित कागज समेत गराइएको थियो।
“तर छोरो यस्तो जातसात मान्दिनँ भन्थ्यो। पढेलेखेको थियो,” उर्मिला भन्छिन्, “आफूले मात्र मान्दिनँ भनेर क्या हुँदो हो, अरूले मानेपछि।”
कुनै वेला जातपात र छुवाछूत विरुद्ध आन्दोलन छेडिएका ठाउँ हुन्, जाजरकोट र रुकुम पश्चिम। २०५५ सालतिर गाउँमा छुवाछूत गर्नेलाई सजायस्वरूप टाउको मुण्डन गरिएको उर्मिलालाई सम्झना छ। यस्तो अभियानका नेतृत्वकर्ता माओवादी नेता जनार्दन शर्मा लगायत थिए। जातीयता विरुद्धको नारा उठाएर रुकुम पश्चिमबाट सांसद जितेका शर्माकै क्षेत्रमा पछि जातकै विषयले नरसंहार भयो।
यस्ता अरू पनि घटना हुन सक्ने उर्मिला ठान्छिन्। उनका अनुसार उनकै गाउँमा १० वर्षअघि शाहकी छोरी भगाएर ल्याएका चनारा (विक)लाई अहिले पनि धम्की आउँछ। उनी भन्छिन्, “उनीहरूका दुई छोरी पनि छन्। तर कामीले भिरेकी छोरी भन्दै त्यसलाई पनि मारिदिने भन्छन्। त्यसैले ती केटाकेटी कहीं निस्कँदैनन्।”
नवराज बितेपछि उर्मिलासँग तीन छोरी मात्रै थिए। ती सबैको बिहे भइसक्यो। आवश्यक पर्दा हेरविचार गर्न ज्वाइँहरू छन्। तर छुवाछूतले ग्रस्त समाज लैंगिक विभेदी समेत छ। वंश धान्न छोरो नै चाहिन्छ भन्छ। पति, परिवार र समाजको त्यही दबाब धान्न नसकेर उर्मिला ४१ वर्षको उमेरमा फेरि गर्भवती भइन्। उच्च रक्तचापले ग्रस्त उनको शरीर यसका लागि तयार थिएन। अर्कातिर पति मोहनलाल दुर्घटनामा परेर काम गर्न नसक्ने भएकाले घरको सबै जिम्मा उनकै काँधमा थियो। रानागाउँस्थित भेरी प्राविमा कार्यालय सहयोगीका रूपमा काम गरेर परिवार पाल्दै थिइन्।
अघिल्लो वर्ष उनले जसोतसो सुर्खेतस्थित भेरी अस्पतालमा शल्यक्रिया मार्फत छोरा जन्माइन्। तर नवराजको शोकले सानोलाई राम्ररी हुर्काउन नसकेको बताउँछिन्, “जेठाले सबै सातो लगेको छ। सपनामा पनि जति वेलै बोलाएको देख्छु। यो कान्छो लडेको पत्तो नहुँदो रहेछ।”
उर्मिलालाई लाग्छ- यो सन्तान छोरा नभएर छोरी हुँदी हो त के हुन्थ्यो होला? “फेरि पनि सबैले मैलाई कोस्थे होलान्। आमा हुन कहाँ सजिलो छ र मेडम,” उनी भन्छिन्।
उर्मिलालाई थाहा छ, अब जेजस्तो भए पनि काखको छोरो हुर्काउनै छ। तर यो छोरो हुर्काइरहँदा उनलाई नवराजलाई हुर्काएको सम्झना आउँछ। घर-विद्यालयतिर आउजाउ गर्दा छोराका साथीहरू देखिइरहन्छन्। त्यति वेला उनको मन झन् अमिलो हुन्छ। त्यसलाई भुलाउन हत्तपत्त काम गरे जस्तो गर्न थाल्छिन्। अहिले पनि काखे छोरो च्यापेर विद्यालयमा सरसफाइको काम गरिरहेकै छिन्।
अघिल्लो वर्षको भूकम्पमा घर भत्किएपछि ओत लाग्न विद्यालयले नै एउटा कोठा दिएको छ। बाँकी जीवन यसरी नै कट्नेमा उनी आश्वस्त छिन्। तर छोरासँगै बितेका अरूका परिवारले त्यसको दोष आफैंलाई थोपर्दा खपिसक्नु हुँदैन। त्यसैले मिल्ने भए त्यो ठाउँ नै छाडेर जान्थें भन्छिन्। “एउटा घर र खुट्टा टेक्ने जमीन पनि नभएका हामी यो ठाउँ छोडेर जान त कहाँ पाउँथ्यौं र? अब त यो जीवन गैगयो मेडम,” उर्मिला मन बुझाउँछिन्।