नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह
सरकारी तथा निजी क्षेत्रबाट चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोशन अफ इन्टरन्याशनल ट्रेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल-चीन बिजनेश समिट’ मा लगानीका लागि आग्रह गरिएको हो। नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरिएको हो।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अझै धेरै क्षेत्र लगानीका लागि आकर्षक रहेकाले लगानी गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए। महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश-विदेशमा पहल गरिरहेको उल्लेख गर्दै प्रशंसा गरे।
सीसीपीआईटीको मुख्यालय बेइजिङमा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने जीले बताए।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए। चीनले डिसेम्बरबाट अति कम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ थियो।
यो समिटको दोस्रो संस्करण हो। यसअघि महासंघ र सीसीपीआईटीले गत वर्ष पनि यस्तै सम्मेलन आयोजना गरेका थिए।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराएका थिए। महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठ वटा कानून संशोधन गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको बताए।
अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको स्मरण गराए। नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।
सीसीपीआईटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको स्मरण गर्दै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए। सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
त्यस्तै, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे चर्चा गर्दै चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए। महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरे।
समिटमा १२० जना चिनियाँ व्यवसायीको सहभागिता थियो। नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श सहित करीब ५० जना उद्यमी व्यवसायीको सहभागिता थियो।
महासंघले पछिल्लो डेढ वर्षमा देश बाहिर आयोजना गरेको यो चौथो समिट हो। यसअघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासंघका साझेदार संस्था सीसीपीआईटी, कन्फिडरेशन अफ इन्डियन इन्डस्ट्री दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो।