नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको युवाको गुनासो
अघिल्लो पुस्ताले आफ्नो संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकेको गुनासो युवाले गरेका छन्।
रिता फाउन्डेशनले बुधबार पाटनमा आयोजना गरेको देशका विषयमा ‘जेनजी’ को धारणा सम्बन्धी कार्यक्रममा सहभागी युवाले संस्कृति हस्तान्तरण नभएको औंल्याएका हुन्। “हामीअघिको पुस्ताले धेरै आन्दोलन गर्यो, तर हामीलाई हाम्रो संस्कृति, भाषा सिकाउन समय खर्चिएन,” आदिवासी युवा अभियन्ता अर्णव चौधरीले भने, “अनि त्यही पुस्ता हामीलाई यसलाई त आफ्नो भाषा पनि आउँदैन भन्छ।”
त्यस्तै, युवा राजनीतिकर्मी मञ्जु विश्वकर्माले पनि पछिल्लो पुस्तामा संस्कृति स्थानान्तरण नगरिएकाले नयाँ पुस्तालाई समस्या भइरहेको बताइन्। “अब हामीले हाम्रो पछाडिको पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्न सक्दैनौं,” विश्वकर्माले भनिन्।
प्रविधिको जमानाका नयाँ पुस्तालाई सबैभन्दा उत्कृष्ट काम गर्नुपर्ने चुनौती रहेको अर्का युवा भिडिओ प्रोड्युसर सालिन मोहन गिरीले बताए। “जेनजीले पनि सबै कुरा जानेको हुँदैन, त्यसैले अघिल्लो पुस्तासँग सहकार्य गर्नुपर्छ,” गिरीले भने।
कवि अनु शाही ठकुरीले अहिलेको नयाँ पुस्ताको ज्ञान र अघिल्लो पुस्ताको ज्ञान तुलना गर्न नमिल्ने बताइन्। “आफ्नो आफ्नो ठाउँमा पहिलाका मान्छे र अहिलेका जेनजी बराबर छन्,” उनले भनिन्।
अहिलेको प्रविधिको जमानाको पुस्ताले समयसँगै प्रतिस्पर्धा गर्न र आफूलाई सही रूपमा स्थापित गर्नु नै ठूलो चुनौती र अवसर भएको रिता फाउन्डेशनकी अध्यक्ष रिता परियारले बताइन्।