बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशीबाट पुसमा विद्युत् उत्पादन गर्ने तयारी
बाढीले क्षति पुगेको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ।
अहिले सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनका लागि मर्मतसम्भार तालिका तय गरिएको हो। गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठूलो क्षति पुर्याएको थियो।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो।
दुई वटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरू गर्ने तालिका तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ। यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ। तर यो अस्थायी उपाय मात्रै हो। आयोजनालाई पूर्ण रूपमा निर्माण सक्न भने थप समय लाग्नेछ।
दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउने डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने प्राधिकरणले जनाएको छ। यो काम आगामी वर्षा याम शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ। वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष समेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको छ।
टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० गतेभित्र विद्युत् उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समयतालिका तय गरिएको छ। विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घन्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।
हिउँद याममा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपाय तय गर्न स्थलगत अनुगमनमा गएको जनाइएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको माग बमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले सम्बन्धित सबैलाई मर्मतसम्भारमा गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। बाँधका सम्पूर्ण ढोका खुला गरिएको थियो, जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो।