सित्तैमा गाउने नारायणगोपालको बाटो बदलेको त्यो घटना
एक समय नारायणगोपाल टोलको पूजा, स्कूलका कार्यक्रममा गएर विना पैसा गाउँथे। श्रोताकै खिसीटिउरीपछि उनले त्यसो गर्न चटक्कै छाडिदिए।
“रामचन्द्र भाइ, म पूजामा होस् या स्कूलमा होस्, जसले बोलाउँदा पनि जाने मान्छे। कसैसँग पैसा नलिने मान्छे।”
नारायणगोपाल मेरा साथी थिए। उनी मलाई प्रेमपूर्वक ‘भाइ’ भन्थे। एक समय उनी सानातिना कार्यक्रममा पनि गएर सित्तैमा गाइदिन्थे। एकदिन निःशुल्क गायनको किस्सा सुनाउने क्रममा माथिका कुरा बताएका थिए।
नारायणगोपालसँग मेरो चिनजान र मित्रता सांगीतिक गतिविधिकै क्रममा भएको थियो।
हाम्रा बाबुबाजेहरू काभ्रे, बनेपाको चण्डेश्वरी मन्दिरमा भजन-कीर्तन गर्नुहुन्थ्यो। मेरा बुबा बनेपाबाट कलकत्ता पुग्नुभयो, त्यसपछि धरान आइपुग्नुभएछ। धरानको सिंहदेवी मन्दिरमा हाम्रो परिवारै भजन-कीर्तन गर्ने, बाजा बजाउने गर्थ्यो। बुबा उस्ताद हुनुहुन्थ्यो। दाजु ढोलक राम्रो बजाउनुहुन्थ्यो। मैले पनि परिवारबाटै वाद्यवादन सिकें।
त्यसै क्रममा विसं २०१८ मा धरान सांस्कृतिक संस्थान खोल्यौं। त्यसको अध्यक्ष चन्द्रशेखर श्रेष्ठ हुनुहुन्थ्यो। मैले त्यहाँ ढोलक, बाँसुरी, मेन्डोलिन, पियानो एकोर्डियन लगायत बाजा बजाएँ। हामी सांगीतिक कार्यक्रम र नाटक लिएर धनकुटा, विराटनगर, दार्जीलिङदेखि काठमाडौंसम्म पुग्थ्यौं।
अधिकांश बाजा मैले आफ्नै अभ्यासमा सिकेको थिएँ। पूर्वमा त्यस्तो बाजा बजाउने अरू कोही नभएकाले मेरो खोजी हुन्थ्यो। काठमाडौंबाट संगीतकार नातिकाजी दाइहरू कार्यक्रम लिएर आउँदा मैले नै सहयोग गर्थें। मैले धेरै ठाउँमा कार्यक्रम गर्दा पनि पैसा भने कतैबाट पाइनँ। म आयोजकसँग कहिल्यै पैसा माग्दिनथें। उनीहरू आफैं बुझेर दिंदैनथे। बरु मैले विभिन्न ठाउँमा कार्यक्रममा जाँदाआउँदा घरको सम्पत्ति सकें।
यसरी विभिन्न ठाउँका कार्यक्रममा जाँदा नारायणगोपालसँग भेट भइरहन्थ्यो। काठमाडौं गएका वेला उनीसँग भेट हुन्थ्यो। कार्यक्रममा आफ्नै खर्च गरेर जाने, आयोजकसँग पैसा नमाग्ने मेरो र नारायणगोपालको शुरूको स्वभाव मिल्दो रहेछ।
त्यो दिन नारायणगोपालले आफूले निःशुल्क गाउँदाको कथा सुनाउँदा मसँग व्यथा बाँडेका थिए। उनले सुनाए अनुसार एक पटक काठमाडौंकै कुनै ठाउँमा पूजा रहेछ। पूजाको जाग्राममा नारायणगोपाललाई पनि बोलाइएको रहेछ।
उनी गएर विना पैसा मजाले गाउँदै बसेका रहेछन्। बीचमा उनी शौचालय गएर फर्किंदा गीत सुन्न बसेका अरू मान्छेले उनकै कुरा गर्दै रहेछन्, ‘नारायणगोपाल त रक्सी खुवाएपछि आइहाल्छ नि, के पैसा दिनुपर्छ र!’
आफ्नै कानले आफ्नो बारेमा यस्तो सुनेपछि उनलाई साह्रै दुःख लागेछ। त्यसपछि गीत नै गाउन छाडिदिऊँ कि भन्ने पनि सोचेछन्। उनले दुःख मान्दै भनेका थिए, “यत्रो वर्ष फोकटमा गाउँदै हिंडें, त्यो मेरो मिहिनेत त्यसै खेर गयो।” त्यति वेला उनी संगीत क्षेत्रप्रति निराश थिए।
त्यसपछि उनले जसले बोलाए पनि तीन घण्टा गाएको पाँच हजार रुपैयाँ लिन थालेको सुनाए। त्यस वेला पाँच हजार भनेको ठूलै रकम थियो।
सित्तैमा गाउँदै हिंड्ने नारायणगोपालले त्यति धेरै पैसा माग्नुको कारण सकेसम्म आफूलाई नबोलाऊन् भन्ने थियो। तर मान्छेले झन् बोलाए। पैसा लिन थालेपछि पो उनी झन् चर्चित हुन थाले। झन् व्यस्त बने।
मैले पनि अधिकांश कार्यक्रममा पैसा लिइनँ। रक्सी, खानेकुरा दिन्थे। त्यसैका भरमा गाउँदै, बाजा बजाउँदै हिंडें। संगीतमै लागेर घरमा भएको सम्पत्ति पनि सकें। संगीत क्षेत्रमा लाग्दालाग्दै सम्पत्ति सकिएपछि म धरानबाट बसाइँ सरेर वराहक्षेत्र, चतरामा आएर बस्न थालें। अहिले बुढेसकालमा वराहक्षेत्रमै छु।
झिलिमिली सम्झना
नारायणगोपालसँगका विभिन्न सम्झना छन्। त्यसमध्ये एउटा रमाइलो घटना छ, रक्सी पिउँदाको।
२०२० सालमा कोशीका तत्कालीन अञ्चलाधीश दामोदरशमशेर राणाले हाम्रो धरान सांस्कृतिक संघको टोलीलाई फागुन ७ गते राजा महेन्द्रलाई नाटक देखाउन काठमाडौं जान निमन्त्रणा गरे।
त्यसअघि हामीले विराटनगरमा नाटक देखाएका थियौं। त्यहाँको हिमालय होटलमा बसेका थियौं। त्यहाँ मैले आफू सुत्ने ओछ्यान तयार पारेको थिएँ। मेरा साथीहरू विष्णु मास्के र जगतमोहन पलिखे मसँग सुत्न आपसमा झगडा गर्दै थिए। दुई जनाको धकेलाधकेल नै भयो। त्यहाँ भुइँमा चुलेसी रहेछ। चुलेसीले जगतमोहनको खुट्टा काटिहाल्यो। मेरो ओछ्यानभरि रगत लतपतियो। ब्यान्डेज लगाएर रोकथाम गरियो।
फागुन ७ आउनु दुई–तीन दिनअघि नै हामी सिमरा हुँदै काठमाडौं गयौं। मलाई काठमाडौं पुगेर पियानो बजाउने रहर थियो। राष्ट्रिय नाचघरमा थियो पियानो। काठमाडौं पुगेपछि अरूलाई हामीलाई बस्ने व्यवस्था मिलाइएको जावलाखेल युवालय पठाएर म व्यग्र हुँदै नाचघर पुगें। तर त्यहाँका गार्डले मलाई भित्र जानै दिएनन्।
विराटनगरमा लगाएकै लुगामा म काठमाडौं पुगेको थिएँ। यात्राका क्रममा लुगा धूलोमैलो भएको थियो। धुस्रोफुस्रो देखेर प्रवेश गर्न रोकियो होला भन्ने लाग्यो।
त्यसपछि युवालय गएर मुख धोएर लुगा फेरें। चिटिक्क परेर फेरि नाचघर पुगें। त्यस वेला कसैले रोकेन, फटाफट भित्र छिरें। नाचघरका सुब्बा राममान प्रधानलाई भेटें। २०१५ सालमा नातिकाजीको टोली कार्यक्रम लिएर धनकुटा जाँदा सुब्बा राममानसँग मेरो चिनजान भएको थियो। उनले मलाई चिनिहाले। उनले पियानो बजाउन दिए।
सांस्कृतिक विभागमा पुगेर पर्सिको कार्यक्रममा हाम्रो नाटक पनि समेट्न आग्रह गर्यौं। फागुन ७ गते राजालाई नाटक देखाउन आएको बतायौं। तर विभागका निर्देशकले सीधै ‘हुँदैन’ भनेर फर्काइदिए।
भोलिपल्ट अञ्चलाधीश दामोदरशमशेरलाई सुनाएँ। उनले भने, “त्यसले भनेर हुन्छ र?” तर कार्यक्रम हुने/नहुने टुंगो भएन।
फागुन ६ गतेको साँझ धरानका एक दौंतरी भेटियो, टीएन बर्मा। उसले त्यस वेला चौधै अञ्चल यात्रा गरेर चर्चा कमाएको थियो। भोलिको कार्यक्रम कसरी गर्ने भनेर चिन्तामा थिएँ। त्यस्तो अवस्थामा भेटिएको उसले उकास्यो, “रक्सी खाएर रनक्क हुनुपर्छ, अनि पो बाजा बज्छ त मज्जाले पाटे।”
मैले भनें, “हो त काठा।”
हामीबीच यस्तो सम्बोधन चल्थ्यो। त्यसपछि हामी नजीकैको चिनियाँ होटलमा पस्यौं। तर त्यहाँ केही बेर बसेपछि उसले अर्को ठाउँ जाऔं भन्यो। उसलाई काठमाडौंमा रक्सी पाइने ठाउँहरू सबै थाहा थियो। उसले लोकल पाराको होटलमा पुर्यायो।
हामीले एक माना रक्सी र राँगाको छोइला माग्यौं। बडो स्वादले खाँदै थियौं, भित्रबाट नारायणगोपालको स्वरमा मीठो गीत बजेको सुन्यौं। होटलवालालाई सोधें, “भित्र बजेको गीत रेकर्ड हो कि रेडियो हो?”
होटलवालाले भने, “होइन, नारायणगोपाल नै छन् भित्र।”
रक्सी स्वाट्ट पारेर ‘धरानबाट रामचन्द्र बनेपाली आएको छ भनिदिनू’ भनेर खबर पठाएँ। नारायणगोपालले भित्रै बोलाए। कोठाभित्र त उनी गाउँदै, हुतराज तबला बजाउँदै बसिरहेका रहेछन्। कोठाभरि चुरोटका ठुटा थिए।
नारायणगोपालले ‘ओहो! आउनुस्’ भन्दै स्वागत गरे।
मैले फेरि एक बोतल रक्सी मगाएँ। चारै जना मातेर टिल्ल भयौं। म चाहिं भोलिपल्ट कार्यक्रम छ भनेर अलि होशियार भएर पिउँदै थिएँ। मातेपछि नारायणगोपालले मेरो साथी टीएनको परिचय माग्दै भने, “उहाँ चैं को हुनुहुन्छ?”
हामी संगीतकारको माहोलमा टीएन संगीतको ‘स’ पनि नजानेको मान्छे थियो। त्यही भएर मैले ठट्टा गर्दै भनें, “ऊ चैं कोठे गायक।”
मेरो ठट्टा फेल खायो। नारायणगोपालले त उनलाई गायक नै सोचेछन्। “तपाईं गायक?” टीएनसँग प्रश्न गरे।
उसले पनि मातेको सुरमा भनिदियो, “हो म पनि गायक, तर लोकगीत मात्र गाउँछु।”
गीतसंगीतबारे केही पनि नजान्नेले त्यसो भनेपछि मलाई डर लाग्यो। नारायणगोपालले टीएनलाई फेरि सोधे, “तपाईं बाजा चाहिं के के बजाउनुहुन्छ?”
उसले हावातालमा भन्यो, “गितार, सितार, मेन्डोलिन सबै बजाउँछु।”
खासमा उसले मेन्डोलिन, गितार देखेकै थिएन। हल्का बेहोशीमा पनि मलाई अप्ठ्यारो लाग्यो। त्यसपछि मैले भोलिपल्टको कार्यक्रमको कुरा निकालेर प्रसंग मोडिदिएँ। त्यो कार्यक्रमको मध्यान्तरमा नारायणगोपालको पनि कार्यक्रम रहेछ।
म र नारायणगोपालसँग मात्र पास थियो। भोलिपल्ट हामी कार्यक्रममा गयौं। बाक्ला र लामा जुँगा भएका सुरक्षाकर्मीले शरीर खानतलासी गरेपछि भित्र पस्यौं। तर कार्यक्रम लिएर गएका हाम्रो तयारी केही थिएन। कार्यक्रममा ठाउँ पाउने टुंगो नभएकाले नाटकको तयारी थिएन। तर हाफ टाइम हुने वेला राजा महेन्द्रले ‘त्यो नाटक कति खेर हुन्छ’ भनेर सोधेछन्।
राजाले नै सोधखोज गरेपछि मन्त्री र पुलिसका हाकिमहरू सक्रिय भएर मलाई सोध्न थाले। मैले दुई दिनअघिको घटना सुनाएँ। उनीहरू नाटक देखाउनुपर्छ भन्न थाले। हाम्रा कलाकारको लुगाफाटो जावलाखेलमा थियो। कलाकारहरू कता कता पुगेका थिए। कार्यक्रम देखाउन असम्भव जत्तिकै थियो। मन्त्रीहरू ‘सरकारबाट नाटक देखाउन हुकुम भयो’ भन्दै आत्तिइरहेका थिए।
डीआईजी हर्कबहादुर थापा त्यहीं थिए। उनी पहिला धरान बसेर गएकाले मेरो चिनजान थियो। उनले यताउता गरेर मन्त्रीको गाडी व्यवस्था गरे। त्यसपछि सामान र कलाकार कार्यक्रमस्थलमा जम्मा गरियो। हामीले तुरुन्तै व्यवस्थापन गरेर हाफ टाइमपछि नाटक तयारी गर्यौं र मञ्चन गर्यौं।
त्यो नाटकको संगीत निर्देशक म नै थिएँ। संगीतकार नातिकाजी दाइलाई सबै कुरा बताएपछि उहाँले मिलाइदिनुभयो। कार्यक्रम राम्रोसँग सम्पन्न भयो। राजाले कलाकारलाई ५७ सय रुपैयाँ दिन स्टेजबाटै हुकुम दिए। हामीलाई दिनको १०० रुपैयाँ भत्ता दिइयो।
नारायणगोपालले हाम्रो नाटक खूब मन पराए।
‘धरानको नारायणगोपाल’ गुमाउँदा
फागुन ७ को कार्यक्रमपछि हाम्रो टोलीले काठमाडौंमा ९, १० र ११ गते टिकट शोमा कार्यक्रम देखायो। नाटक, गायन सहितको कार्यक्रमको टिकट दर १००, ५० र २५ रुपैयाँ थियो। कार्यक्रम राम्रो भयो। तीन दिनै नारायणगोपाल हेर्न आए।
हाम्रो गायक जगतमोहन पलिखेको स्वर र शैली ठ्याक्कै नारायणगोपालकै जस्तो थियो। तीनदिने कार्यक्रमको अन्तिम दिन ११ गते मेरो संगीतमा ‘म गीत, तिमी भावना’ बोलको गीत जगतमोहनले गाउँदै थियो। त्यस दिन उसले निकै अप्ठेरो गरी छातीमा हात राखेर गाएको देख्दा अचम्म लागेको थियो। त्यसपछि अर्को गीतमा उसले कंगो बनाउनुपर्ने थियो। बजाउँदा बजाउँदै बेताल भयो।
हामी काठमाडौं आउनुअघि विराटनगरमा उसको खुट्टामा चुलेसीले काटेको थियो। त्यही चोटले टिटानस भएछ। ऊ कक्रक्क भयो। त्यो गीत आधामै छाडेर मैले अञ्चलाधीश दामोदरशमशेरलाई भनेर जगतमोहनलाई गाडी चढाई आराम गराउन बागदरबार लगें। अरू साथीले कार्यक्रमलाई निरन्तरता दिए।
भोलिपल्ट त ऊ झन् सिकिस्त भयो। मैले दामोदरशमशेरलाई फोन गरें। उनी तुरुन्तै आए। गृहमन्त्री दिलबहादुर श्रेष्ठलाई पनि फोन गरें। उनी आएर धामीझाँक्री लगाउन सुझाव दिए। धामीझाँक्रीले हुँदैन, डाक्टरकहाँ लानुपर्छ भन्ने सल्लाह भएपछि शान्त भवन अस्पताल पुर्यायौं।
सबै कलाकारलाई धरान पठाएर म चाहिं जगतमोहनको रेखदेख गर्न काठमाडौंमै बसें। बिरामी हेर्न रानी रत्नराज्यलक्ष्मी पनि आउनुभएछ। रानी, मन्त्रीदेखि अञ्चलाधीशसम्मले डाक्टरसँग ‘मान्छे निको हुनुपर्छ, पैसा जति लागे पनि चिन्ता नगर्नू’ भने। केही समयपछि अलि निको भए जस्तो भयो। हामीले कार्यक्रम गरेर जम्मा भएको ३०/३५ हजार रुपैयाँ उपचारमै सकियो।
उसलाई अलि सन्चो भएपछि फागुन २८ गतेतिर म धरान फर्किएँ। म विराटनगर आइपुग्दा उसका दाजु महेन्द्र काठमाडौं गए। चैत २ गते ऊ बित्यो। हामीलाई ठूलो बज्रपात पर्यो। मैले ऊसँग झगडा गर्ने विष्णु मास्केलाई डर देखाएँ, “तेरो कारणले जगतको ज्यान गयो।” त्यसपछि ऊ कति दिन घर बाहिर निस्किएन।
हामीले नारायणगोपाल जस्तै प्रतिभाशाली साथी गुमायौं। नारायणगोपालको कुरा चल्दा मलाई अहिले पनि उही जगतमोहनको याद आउँछ।
**
मेरो र नारायणगोपालको बानी लगभग उस्तै थियो, कार्यक्रममा गएर गाउने/बजाउने, तर पैसा नमाग्ने। उनले त त्यही वेला आफ्नो प्रस्तुतिको दाम पाँच हजार मागे, तर मैले माग्न सकिनँ। अहिले सोच्दा मैले पनि त्यसरी नै पैसा ताेकेर माग्न सकेको भए यो क्षेत्र छाड्नुपर्दैनथ्यो कि जस्तो पनि लाग्छ।
संगीत क्षेत्रमा लाग्दा सम्पत्ति नकमाए पनि नाम कमाएको थिएँ, सम्मान धेरै पाएको थिएँ। तर ती सम्मानपत्रले खान नदिंदा रहेछन्। संगीतमै लागेर मैले जागीर पनि खाइनँ। त्यही झोंकले मेरी श्रीमतीले घरमा भएका सबै सम्मानपत्र आगोमा जलाइदिइन्। धेरै पुराना मान्छेले मलाई बिर्सिसके, नयाँले चिन्दैनन्। मैले संगीत सिकाएको चेला दीप श्रेष्ठ देशको राम्रो गायक बन्यो। उसले वेलावेला सम्झिन्छ, चतरा आएर भेट्छ। उसले अझैसम्म संगीतलाई निरन्तरता दिइरहेको छ, तर मैले यो क्षेत्र उहिल्यै छाडिदिएँ।
(पुराना संगीतकर्मी बनेपालीसँग गोपाल दाहालले गरेको कुराकानीमा आधारित।)
यो पनि पढ्नुहोस्: