बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल-चीनबीच हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान नेपाल र चीनबीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ मा सहकार्य सम्बन्धी दस्तावेजमा हस्ताक्षर भएको छ।
बुधबार बिहान बीआरआई फ्रेमवर्कमा दुई देशका अधिकारीले हस्ताक्षर गरेका हुन्। फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर राईले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका छन्।
नेपाली पक्षले प्रस्ताव गरेको फ्रेमवर्कको सम्बन्धमा लामो छलफलपछि दुई देशले समझदारी गरेका हुन्। फ्रेमवर्कमा चिनियाँ सहायता र ऋण के हुने भन्ने विषयमा दुई पक्षका फरक धारणा थिए।
समझदारीसँगै नेपालमा बीआरआईसँग सम्बन्धित परियोजना अघि बढाउन ढोका खुलेको ठानिएको छ।
मंगलबार नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्ग निर्माण अघि बढाउने सहितका नौ विषयमा समझदारी भएको थियो।