रोमाञ्चक खेलमा काठमाडौंको जित
कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा काठमाडौं गुर्खाजले पहिलो जित हासिल गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।
काठमाडौंका लागि सुमित महर्जनले ४०, गेहार्ड इरसमसले ३८, करण केसीले २८ र मिचेल लेभिटले २२ रन बनाए। कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जीसन मक्सूद र विपिन शर्माले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले पाँच विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए। उनले ५१ बलमा चार चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, चडविक वाल्टनले २१, जीसन मक्सूदले १४, बाबर हयातले १३ र गुल्सन झाले १२ रन बनाए। काठमाडौंका लागि गेहार्ड इरसमसले दुई, करण केसी, नथन स्वटर र दीपेक कँडेलले एक-एक विकेट लिए।
यसपछि विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्।