फिल्मको कथा जस्तै बाँचेका नारायणगोपाल
संगीत र प्रेमका लागि परिवारसँगै विद्रोह गरेका नारायणगोपाललाई संघर्षका दिनमा दुई छाक खान बेरोजगारीले दिएन। चरम आर्थिक संकटका कारण आत्महत्याको सोचसम्म पुगे, अन्ततः सफल गायक पनि भए। यी आरोह-अवरोह हेर्दा उनको जीवन फिल्मको कथाभन्दा कम देखिंदैन।
प्रायः हामीले हेर्दै आएको ‘रोमान्टिक’ फिल्मको कथा कस्तो हुन्छ?
त्यहाँ हिरो हुन्छ, जसको जीवन संघर्षशील हुन्छ। आर्थिक दुरवस्थाका कारण उसले भने जस्तो पढ्न पाउँदैन, तर मिहिनेत गर्दै जान्छ। त्यही क्रममा हिरोइनसँग भेट हुन्छ। उनीहरूको प्रेमको तगारो वर्ग या जात बनिदिन्छ। हिरोले परिवार र समाजसँग विद्रोह गरेर प्रेमिकासँग विवाह गर्छ। उनीहरूले अनेक हन्डर खान्छन्। आखिरीमा उनीहरूको आर्थिक र सामाजिक पक्ष सबल हुन्छ र सुखद जीवन बाँच्न थाल्छन्।
लगभग यस्तै छ, स्वरसम्राट् नारायणगोपालले बाँचेको जीवन। तर उनको कथा यसभन्दा अलि फरक छ। उनी ५१ वर्षको अल्पायुमै बिते। उनले देखेका केही सपना अधुरै रहे।
नारायणगोपालको रामकहानीको शुरूआत १९९६ असोज १८ बाट हुन्छ, जुन दिन उनी काठमाडौंको किलागलमा जन्मिन्छन्। उनका बुबा थिए, नामुद सितारवादक र शास्त्रीय संगीतका हस्ती आशागोपाल गुरुवाचार्य। जसले गर्दा उनले सानैदेखि सांगीतिक माहोल पाउँछन्। बुबासँग भजन मण्डलीमा गएर गीत गाउन थाल्छन्। कलिलो उमेरमै तबला बजाउन पारंगत हुन्छन्।
संगीतको यस्तो संगतले उनलाई यही क्षेत्रमा ढल्काउँदै लग्यो।
छोराको संगीतमोह देखेर बुबा आशागोपाल खुशी थिए। तर फिल्ममा देखाइने बुबा-छोराको टकराव जस्तै बुबा र नारायणको सपना एउटा समयमा पुगेपछि बाझियो। बुबाको चाहना थियो, आफ्नो शेषपछि छोराले शास्त्रीय संगीतमा काम गरोस् भन्ने। तर उनको सपना थियो, आधुनिक गायक बन्ने।
१८ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर उनी २०१६ सालमा त्रि–चन्द्र कलेजमा भर्ना भए। स्कूल पढ्दा टेबल ठटाएर गाइरहने उनी कलेजभित्र सांगीतिक माहोल पाउँदा रमाए। कलेजमा बर्सेनि ‘साहित्य पाला’ नामक कार्यक्रम हुन्थ्यो। त्यसमा उनी आधुनिक गीत गाउँथे। उनको गीत सुनेर सबै मक्ख पर्थे। तारीफ पाएर उनी दंग हुन्थे।
बिस्तारै उनले कलेजमा गायक र तबलावादकका रूपमा ख्याति कमाए। उनले २०१७ सालमा कलेजमै ‘स्वर्गकी रानी’ र ‘आँखाको भाखा आँखैले’ भन्ने गीत गाएको प्रकाश सायमीले लेखेको जीवनी स्वरसम्राट् नारायणगोपाल (२०८१) मा उल्लेख छ। २०१८ सालमा त उनका आधुनिक गीतहरू रेकर्ड भएर बजारमा आइसकेका थिए। तर छोराको आधुनिक गीतप्रतिको आसक्ति देखेपछि आशागोपाल चिन्तित भए। उनले छोराका साथी नगेन्द्र थापालाई भनेका थिए, “लौ न, उसलाई आधुनिक गीत गाउन छाडेर शास्त्रीय गाउन भन्नुपर्यो। यस्ता, ‘स्वर्गकी रानी’, ‘ए कान्छा ठट्टैमा’ जस्ता गीत गाएर गाइने हुने होइन, शास्त्रीय गीत गाउनुपर्यो, सितार बजाउनुपर्यो।”
त्यसपछि नारायणगोपाल बुबाकै आग्रहमा शास्त्रीय संगीत पढ्न २०२४ सालमा भारतको बरोडा पुग्छन्। तर पढाइ पूरा नगरी त्यसै वर्ष फर्कन्छन्। उनी बीचैमा फर्कनुमा दुई कारण रहेको अनुमान गर्न सकिन्छ। पहिलो, बुबाको करबलमा पढ्न गएका कारण उनी रमाउन सकेनन्। दोस्रो, उनले आर्थिक अभाव भोगेको हुन सक्छ। उनले आफ्नो डायरीमा बरोडाको प्रसंगमा लेखेका छन्, ‘आज सबै साथी दीक्षान्त गर्न गएका छन्। आफूसँग त चुरोट खाने पनि पैसा छैन, कसरी दीक्षान्त गर्नु!’
उनी पढाइ अधुरै छाडेर फर्केपछि बुबा असन्तुष्ट थिए। असन्तुष्टिको कारण यति मात्र थिएन। उताबाट फर्किएको लामो समयसम्म नारायण बेरोजगार भए। उनले चरम आर्थिक संकट भोगे। त्यस वेला परिवार र साथीहरूबाटै हेलामा परेको उनले डायरीमा लेखेका छन्। उनको डायरी, पत्र र लेखहरू समेटिएको किताब बूकहिल प्रकाशनले यसै वर्ष प्रकाशन गर्दै छ।
सायमीले २०१८ सालदेखि नारायणगोपालका गीत रेकर्ड भएको लेखेका छन्। तर बागीना पत्रिकाको नारायणगोपाल स्मृति अंकमा संगीतकार बुलु मुकारुङको लेख अनुसार २०१६ देखि २०२५ सालसम्म उनका ३२ वटा गीत रेडियो नेपालबाट प्रसारण भएका थिए। केही गीत हिट पनि भए। तर उनी रेडियो नेपालका ‘जागीरे कलाकार’ थिएनन्। गीत रेकर्ड गरेपछि प्रतिगीत पाँचदेखि १० रुपैयाँ पाउँथे। त्यसैले चर्चित गायक भए पनि उनले आर्थिक अभाव भोग्नुपरेको थियो।
पाँच दशकअघि सांगीतिक क्षेत्रको अवस्थाबारे मुकारुङले लेखेका छन्, ‘अहिले जस्तो एउटा गीत हिट हुनासाथ देश-विदेशमा मेला, महोत्सव र कन्सर्टमा गाउन पाउने र पैसा कमाउने अवस्था थिएन।’
संगीत भनेपछि मरिहत्ते गर्ने नारायणगोपाल गीत-संगीतबाट गुजारा नचलेपछि गीत गाउनु नै बेकार रहेको सोचमा पनि पुगेका थिए। जागीर नखाँदा परिवारबाटै गाली र हेलाहोचो खेप्नुपरेको उनले डायरीमा पटक पटक उल्लेख गरेका छन्।
उनको डायरीले विसं २०२० को दशकमा उनको जीवन यति कष्टप्रद देखाउँछ, उनी हार खाएर घोर निराशामा पुगेका थिए। आफ्नो जीवन व्यर्थ भएको, आफूलाई बाँच्न मन नभएको लेखेका छन्। उनको अभावग्रस्त जीवन पेमला लामासँग २०२७ सालमा प्रेमविवाह भएपछिको केही वर्षसम्म कायम रह्यो।
नेवार बाहुन परिवारका उनले परिवारको विरुद्ध गएर दार्जीलिङकी लामाकी छोरीसँग अन्तरजातीय विवाह गरेका थिए। जसले गर्दा उनका लागि घरको ढोका बन्द भयो। कवि मित्र भूपी शेरचनको सहयोगमा ६ महीना पोखरा बसे। त्यहाँ नारायण र पेमलाले केही समय विद्यालयमा पढाए।
त्यहाँबाट काठमाडौं फर्केर ठमेलमा भाडाको कोठामा बसेर संगीतमै संघर्ष गर्न थाले। रेडियो नेपालमा गीत गाए। तर अनेक प्रयास गर्दा पनि त्यहाँको जागीरे गायक बन्न सकेनन्। केही भए पनि पैसा आउँछ भनेर रेडियो नेपालमा गीत गाएको उनले डायरीमा लेखेका छन्। त्यहाँ आफूलाई हेला गरिने पनि उनले उल्लेख गरेका छन्। कस्तो खालको हेला भन्ने खुलाएका छैनन्।
२०३० सालको आसपास नारायणगोपालले रेडियो नेपालमा गीत रेकर्ड गराउने क्रममा वाद्यवादकहरू उपलब्ध नहुने संगीतकार मुकारुङ बताउँछन्। त्यस्तो स्थितिमा उनले केही गीत आफूले हार्मोनियम बजाएर तबलावादकको सहयोगमा पनि रेकर्ड गराएका थिए।
त्यही समयमा उनले रत्न लगायत रेकर्डिङ स्टुडियोबाट गीतहरू रेकर्ड गराइरहे। २०२७ सालदेखि २०३५ सालसम्म उनले सबैभन्दा धेरै गीत गाए। बिस्तारै उनका गीत चल्न थाले। हिट पनि भए। उनलाई विभिन्न पुरस्कार र सम्मान पनि दिइयो। त्यसले पनि उनको माग बढायो। त्यस वेलासम्म उनी आफैं सफल संगीतकार र गायक भइसकेका थिए। ‘ईश्वर तैंले रचेर फेरि,’ ‘मेरो बेहोशी आज’, ‘मुटुमाथि ढुंगा राखी’, ‘मलाई छाडी मेरो छाया’ जस्ता गीत उनले आफ्नै संगीतमा गाएका हुन्।
साहित्य, इतिहास लगायत विविध विषयको अध्ययनमा नारायणगोपाल गहिरो चाख राख्थे। कवि, लेखकहरू साथी थिए। यसको प्रतिविम्ब उनले गरेका गीत छनोटमा देखिन्छ। गीत छनोटमा उनी कठोर थिए। निकट मित्रकै सिफारिशका गीत भए पनि मन परेन भने टारिदिन्थे।
साहित्य र पत्रकारिताप्रतिको सुझबुझ एवम् चाखकै कारण २०३० सालमा उनले बागीना पत्रिकाको प्रकाशन थाले। पत्रिकाको नाम बाजा, गीत र नाचको संयोजनबाट जुराइएको थियो। यी विषयमा विमर्श गर्न र संगीत क्षेत्रको छुट्टै पत्रिका चाहिन्छ भनेर उनले साथीहरूसँग मिलेर बागीनाको शुरूआत गरेका थिए। तर आर्थिक अभावका कारण दुई वर्षमै पत्रिका बन्द गर्नुपर्यो। पत्रिका बन्द भएको चोटमा केही समय उनी एकान्तवास बसेको उनका साथी एवम् गीतकार नगेन्द्र थापा भन्छन्।
गीतसंगीतमा लाग्दा उनले वाहवाही मात्रै कमाएनन्, घमण्डी भन्नेहरू पनि प्रशस्त निस्किए। यसका विभिन्न कारण छन्। आफ्नालाई मात्र च्याप्ने भनेर रेडियो नेपालप्रति उनको सधैं गुनासो थियो। यस्तै, कति गीतकारका गीत चित्त नबुझेर गाउन अस्वीकार गरिदिए। अझ, सांस्कृतिक संस्थानमा महाप्रबन्धक भएपछि अनुशासन र नीति विरुद्ध काम गर्नेलाई कारबाही गरेपछि उनलाई घमण्डी भन्नेहरू धेरै थिए। तर उनकी श्रीमती पेमलाका अनुसार नारायणगोपालमा घमण्ड हैन, स्वाभिमान थियो। बागीनाको नारायणगोपाल स्मृति अंकमा उनले लेखेकी छन्, ‘उहाँ आफ्नो निर्णयमा कहिल्यै नडग्ने स्वभावको हुनुहुन्थ्यो। संगीतप्रति समर्पित हुनुहुन्थ्यो। धर्मपुत्र पाल्नुभन्दा संगीत सम्बन्धी विद्यालय खोल्नू भन्नुहुन्थ्यो।’ नारायणगोपाल दम्पती नि:सन्तान थिए।
हुन पनि उनी यतिसम्म स्वाभिमानी र निडर थिए, राजाको जन्मोत्सवको अवसरमा मान पदक पाउने व्यक्तिहरूको नाम रेडियोबाट उद्घोषण हुँदा उनले चाकडीबाज र राजाका आसेपासेले ठूल्ठूला पदक प्राप्त गर्ने गरेको खुला रूपमै अभिव्यक्ति दिन्थे। उनले डायरीमा लेखेका छन्, ‘राजाको कृपामा म बाँच्ने हैन। म ढुंगा खाएर बाँच्छु। मलाई मान पदकहरू पनि चाहिएको छैन।’
नारायणगोपालको स्वाभिमान र प्रस्ट बोल्ने स्वभावले उनलाई अरूको नजरमा घमण्डी बनाएको उनका मित्र एवम् गीतकार थापा बताउँछन्। “नारान कुनै पार्टीमा आस्था नराख्ने, प्रजातन्त्रप्रेमी, नेपाल र विश्वको इतिहास मुखाग्र भएको, साहित्य र संगीतको गहिरो चेत भएका व्यक्ति थिए,” उनी भन्छन्।
संगीतको संसारमा संघर्ष गर्दागर्दै उनले रोगसँग पनि संघर्ष गर्नुपर्यो। गुलियो खान मरिहत्ते गर्थे उनी, उनैलाई २०३३ सालमा गुलियोदेखि पर बस्नुपर्ने मधुमेह देखियो। उनलाई चिकित्सकले गुलियो चिज नखानू भनेर सजग गरेका थिए। तर उनी न्यूरोडको गुँदपाक पसल धाइरहन्थे। एक पाउसम्म गुँदपाक एकै पटकमा खान्थे। यसको साक्षी रहेका गीतकार थापा सुनाउँछन्, “डाक्टरले खानेकुरा बार्नू भनेर जतिसुकै सजग गराए पनि उनी लुकीलुकी गुँदपाक खान्थे। त्यो देखेपछि पेमला भाउजूलाई पनि सुनाइदिएको थिएँ। तर त्यो बानी सुध्रिएन र उनलाई त्यही रोगले लग्यो।”
नारायणगोपालले २०४७ मंसीर १९ मा वीर अस्पतालमा अन्तिम सास फेरे। बित्ने केही दिनअघिसम्म पनि उनले साथी नगेन्द्र र श्रीमती पेमलालाई धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत विद्यालय खोलेर आर्थिक रूपमा विपन्न, असहाय व्यक्तिलाई संगीत सिकाउनुपर्छ भन्थे। उनले उतिवेलै स्कूल बनाएर यसको नाम ‘गीत–गंगा’ राख्ने भनेका थिए। तर त्यो सपना अधुरो छाडेर उनी बिते।
नारायणगोपालको सपना साकार गर्न २०४७ सालमा पेमलाले ‘नारायणगोपाल संगीत कोष’ स्थापना गरिन्। तर पूर्ण रूपमा काम गर्ने गरी कोषले पखेटा फिजाउन नपाउँदै २०६१ असार १६ मा पेमला पनि बितिन्। अहिले कोषको अध्यक्ष भएर कलाप्रेमी दीपक केसीले विभिन्न स्थानबाट सहयोग जुटाउँदै नारायणगोपालको सपनालाई आकार दिंदै छन्। काठमाडौं महाराजगन्जस्थित नारायणगोपालको घरलाई संग्रहालयमा परिणत गरिएको छ। संगीत कोषले ‘गीत-गंगा’ नामक संगीत विद्यालयको भवन पनि निर्माण गरिरहेको छ। केही वर्षमै यहाँ संगीतका विद्यार्थी पढ्ने र रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड हुने देखिएको छ।
नारायणगोपालले गाएका प्रेम–प्रणयका गीत सुनेरै धेरैले प्रेमको भाका गुनगुनाएका छन्, प्रेमको भाषा जानेका छन्। कतिले यी गीतबाटै प्रेम गर्न र बाँड्न सिकेका होलान्। उनका विरही भावका गीत सुन्दै धेरैले आफ्ना घाउ सुमसुम्याएका छन्। तर उनले प्रेम र विरहका गीत मात्रै गाएनन्। ‘वीरताको चिनो’ जस्ता ऊर्जा र साहस भर्ने गीत पनि गाएका छन्।
जीवनमा अनेक आरोह-अवरोह पार गर्दै प्रतिभा र साधनाबाट नारायणगोपाल नेपाली संगीतको एक युग भएर बाँचिरहेछन्। उनको निधन भएको ३४ वर्ष पूरा भएको छ। यसबीचमा संगीतको दुनियाँमा अनेक शैली र स्वाद आए/गए पनि जनमानसमा उनको स्वर-माधुर्यको प्रभाव रत्तिभर सेलाएको छैन।
यो पनि पढ्नुहोस्-