ऊर्जा क्षेत्रको विकासबारे तस्वीर प्रदर्शनी
ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार र एशियाली विकास ब्यांक (एडीबी)बीच भएको पाँच दशक लामो साझेदारीको अवसरमा काठमाडौं बबरमहलस्थित नेपाल कला परिषद्मा तस्वीर प्रदर्शनी आयोजना गरिएको छ।
फोटो पत्रकार क्लब नेपालको सहकार्यमा मंसीर १८ गते शुरू भएको प्रदर्शनी २४ गतेसम्म चल्नेछ। प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ऊर्जा क्षेत्रमा भएको पाँच दशकको साझेदारीका क्रममा गरिएका कार्यलाई झल्काउने तस्वीरहरू राखिएका छन्।
प्रदर्शनीको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एडीबी नेपाल मिशनका देशीय निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वेजियन राजदूतावासका डेपुटीे हेड अफ मिशन तथा मन्त्रिपरिषद् सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टले संयुक्त रूपमा गरे।
कार्यक्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा एडीबीले पुर्याएको योगदानप्रति धन्यवाद प्रकट गरे।
यस्तै, देशीय निर्देशक काउचोइसले विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावना बढाउन नेपाल सरकारसँगको साझेदारीबारे चर्चा गरे।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले विशेषगरी ठूला जलविद्युत् परियोजना र वैकल्पिक नवीकरणीय ऊर्जाका प्रयासमा एडीबीले गरेको सहयोगको महत्त्वमा जोड दिए।