एआईले खर्लप्पै खाइदेला पत्रकारको पेशा ?
एआई औजारहरूले मिथ्या समाचार, डीपफेक्स र सन्दर्भविहीन जानकारीको बाढी नै ल्याएकाले यसबाट सत्यतथ्य र जवाफदेह पत्रकारिता सम्भव नरहेको अनेक दृष्टान्तले देखाइसकेका छन्।
कतिपय स्वनामधन्य व्यक्तिले समेत वेलावेला लिखित वा मौखिक टिप्पणी गरेको देख्छु– अझै पत्रकारिता आवश्यक छ र? प्रायः उनीहरूको तर्क यस्तो हुन्छ– सबैका हातमा स्मार्टफोन पुगेको छ। सबैको पहुँच सूचनाको डिजिटल महासागरमा छ। सबैले सामाजिक सञ्जालबाट सूचना पाएकै छन्। अझ अचेल त कृत्रिम बुद्धिमत्ता (एआई)को युग। पत्रकारिता किन चाहियो?
हुन पनि कतिपय अध्ययनले एआईले खर्लप्पै खाइहाल्ने पेशामा पत्रकारितालाई माथिल्लो सूचीमा राखेका छन्। गत २० जूनमा प्रकाशित एउटा रिपोर्टमा अमेरिकाको न्यूजविक डटकमले मिडिया कन्टेन्ट क्रिएटरलाई तेस्रो सबैभन्दा बढी जोखिमको पेशा भनेको छ। यसले सोझै पत्रकारलाई त इंगित गरेको छैन, तर पत्रकारहरू पनि यस जोखिमको दायराभित्र पर्छन्। यस्ता अनेक लेख वा रिपोर्ट सार्वजनिक भएका छन् जसले एआईले पत्रकारको जागीर धरापमा पार्छ भनेका छन्। यद्यपि पत्रकारिता पेशा नै विस्थापित हुने ठोकुवा कसैले गरेको छैन।
सामाजिक सञ्जाल र एआई औजारहरूलाई कुन सूचना सत्य हो, कस्तो सूचनाको समाजलाई आवश्यकता पर्छ जस्ता विषयसँग मतलब छैन। तत्काल ‘भाइरल’ हुने विषयवस्तु उनीहरूका प्राथमिकता हुन्। तर जतिसुकै भाइरल भए पनि त्यो सत्यताको सूचक होइन।
सामाजिक सञ्जालको विवादास्पद भूमिका
सन् २०१० को दशकका शुरूआती वर्षहरूमा सामाजिक सञ्जाललाई सहकार्य र परिवर्तनका लागि सकारात्मक शक्तिका रूपमा लिइन्थ्यो। यसकै सहकार्यमा ‘अरब स्प्रिङ’, ‘मिटु मुभमन्ट’, ‘अकुपाई वालस्ट्रीट’ जस्ता महत्त्वपूर्ण परिवर्तनकारी आन्दोलन भए। तसर्थ सामाजिक सञ्जालमा हुने सूचना विनिमयलाई नागरिक पत्रकारिताकै पर्याय मान्न थालियो। तर सन् २०१५ पछि सामाजिक सञ्जाल सकारात्मकभन्दा नकारात्मक काममा बढी उद्यत देखियो। विभिन्न स्वार्थ समूहले यसलाई राजनीतिक-आर्थिक उपार्जनमा प्रयोग गर्न थाले। उदाहरणका लागि सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा सामाजिक सञ्जाल मार्फत रूसको हस्तक्षेप एवं सन् २०१९ र २०२१ को क्यानडेली संसदीय निर्वाचनमा चीनका स्वार्थ समूहहरूको हस्तक्षेप महत्त्वपूर्ण छन्।
अझ फेसबूकले बेलायती संस्था क्याम्ब्रिज एनालिटिकालाई करोडौं अमेरिकी मतदाताको व्यक्तिगत विवरण बेचेको खुलासा भएपछि सामाजिक सञ्जाललाई ‘स्वतन्त्र विचारहरूको हाटबजार’ मान्न नसकिने मत बलियो हुँदै गयो। यसका अनेक कारण छन्। पहिलो हो, विषयको सन्दर्भ। के विषय कुन सन्दर्भमा भनिएको हो, त्यसको पूरा विवरण एकातिर राखेर कुनै खास पक्षलाई मात्र लक्ष्य गरी सूचनाहरू फैलाइन्छ। त्यसले सामाजिक सद्भावलाई भाँड्ने काम गर्छ। दोस्रो कारण, स्रोतको पारदर्शिता। कुनै सूचना, मिथ्या सूचना वा आंशिक सत्य सूचनालाई मानिसले आफ्नो सञ्जालमा फैलाउँछन्, त्यस्तो जानकारी आफ्नो पक्ष वा विचारलाई पृष्ठपोषण गर्ने किसिमको छ भने। त्यो कहाँबाट, कसले, कहिले भनेको हो जस्ता पत्रकारितामा सोधिने ६ ‘क’ सम्बन्धी प्रश्नहरूसँग सामाजिक सञ्जालको कुनै सरोकार हुँदैन। तेस्रो, आचारसंहिताको अभाव। सामाजिक सञ्जालमा पत्रकारितामा जस्तो आचारसंहिताको परिपालन गर्ने चलन छैन। सामाजिक सञ्जालका प्रयोगकर्तालाई सूचनाको विनिमय गर्ने तौरतरीका र मिथ्या सूचना फैलन नदिन केकस्ता रणनीति अपनाउनुपर्छ भन्ने हेक्का हुँदैन।
सामाजिक सञ्जाल सत्यको उजागरभन्दा पनि मिथ्या सूचना सिर्जना गर्न, फैलाउन र समाजलाई भ्रान्त पार्नमा केन्द्रित भइरहेको कुरा कोभिड–१९ महामारीका वेला नै संसारले थाहा पाइसकेको थियो। त्यस वेला फेसबूक र एक्स (पहिलेको ट्वीटर) लगायत सामाजिक सञ्जाल गलत जानकारी र प्रोपगान्डा फैलाउने माध्यम बनेकाले बदनाम भए।
उदाहरणका लागि कोभिड–१९ महामारी रोकथामका उपाय भन्दै बेसार पानीले भाइरस निको पार्छ, गाईको गोबर वा गहुँतले कोरोनाका कीटाणु नष्ट हुन्छन् जस्ता अनेक अफवाह सामाजिक सञ्जालमा फैलिएका थिए। अनि त्यसलाई रोक्न सम्बन्धित सञ्जालले कुनै निर्णायक भूमिका खेलेनन्। त्यसैले त्यति वेला विश्व स्वास्थ्य संंगठनले कोरोना महामारीभन्दा ठूलो महामारी मिथ्या सूचनाको छ भनेको थियो। संगठनले कोरोनासँग जुध्न पत्रकारिता सबैभन्दा प्रभावकारी हुने ठहर गर्यो, किनभने सक्षम पत्रकारिताले मात्र मिथ्या सूचनाको पर्दाफास गर्न र वैज्ञानिक जानकारी फैलाउन सक्छ।
एआईका सम्भावना र चुनौती
ओपन एआई कम्पनीले सन् २०२२ नोभेम्बरमा ‘च्याट जीपीटी’ नामक एआई टुल सार्वजनिक गरेपछि विश्व जेनेरेटिभ एआईको युगमा प्रवेश गरेको मान्न सकिन्छ। अचेल सयौंको संख्यामा विभिन्न स्वभाव र उद्देश्यका जीपीटी बोटहरू प्रयोगमा छन् जसले समाचार लेखन, भाषा अनुवाद, पाण्डुलिपि सम्पादन, फोटो उत्पादन, रेखाचित्र निर्माण, तथ्यांक विश्लेषण, संक्षेपीकरण, शीर्षक चयन, क्याप्सन लेखन, समाचार वाचन, कार्यक्रम सञ्चालन लगायत सबै गतिविधि तत्काल नै गर्न सक्छन्। अचेल न्यूज जीपीटी डट एआई जस्ता अनेक स्वचालित वेबसाइट छन्, जसले ‘मानवीय पूर्वाग्रहरहित समाचार’ भनेर आफूलाई प्रवर्द्धन गरिरहेका छन्।
सञ्चालन खर्च बढिरहेको सन्दर्भमा जीपीटी बोटहरूको सहयोगमा कम पत्रकार राखेर संस्था सञ्चालन गर्न सकिन्छ भन्ने धेरै सञ्चार संस्थालाई लागेको छ। त्यो स्वाभाविकै हो। तर यस्ता जीपीटी बोटले डिजिटल सामग्रीलाई निर्देशित गर्दै सामाजिक दृष्टिकोणहरूमा प्रभाव पार्न थालेका छन्। सामाजिक सञ्जालमा जस्तै र कतिपय अवस्थामा अझ घनीभूत ढंगले एआई औजारहरूले मिथ्या समाचार, गम्भीर झूट अर्थात् ‘डीपफेक्स’ र सन्दर्भविहीन जानकारीको बाढी नै ल्याएका छन्।
रूस-युक्रेन युद्ध शुरू भए लगत्तै सन् २०२२ मार्चमा रूसी एजेन्सीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सैनिकहरूलाई रूसी सेना समक्ष आत्मसमर्पण गर्न आदेश दिंदै गरेको ‘डिपफेक’ भिडिओ तयार पारे। त्यसले युद्धको रणनीतिमै असर पार्यो। गत जून महीनामा ह्वाइट हाउस प्रशासनले जो बाइडन गहिरो झूटको शिकार बनेको जानकारी सार्वजनिक गर्यो। बाइडेन आफैं एउटा ‘डीपफेक’ भिडिओ हेरेर ‘हैन, मैले कहिले यस्तो नचाहिने बोलेछु’ भन्दै छक्क परेको एउटा पत्रकार सम्मेलनमा बताएका थिए। नेपालमा पनि केही महीनाअघि सिधाकुरा डटकमले दुर्भावनापूर्ण उद्देश्य सहितको झूटो अडिओ सामग्री प्रकाशन गर्दा सरोकारवालाबीच ठूलो चिन्ता सिर्जना गरिदियो।
एआईले सूचना सामग्री उत्पादनमा पत्रकारको दक्षता बढाउन सक्छ, तर एआई आफैंमा चाहिं पारदर्शिता सुनिश्चित गर्न, सन्दर्भ बुझ्न र नैतिक मापदण्ड पालना गर्न आवश्यक निर्णय क्षमताको अभाव छ। यसले विषयवस्तुको सामाजिक, राजनीतिक वा परिस्थितिजन्य सन्दर्भ बुझ्न सक्दैन। सिर्जनात्मक चेत नहुने भएकाले तथ्यपरक सूचना र कल्पनाशील साहित्यको भेद पनि छुट्याउन सक्दैन। प्रयोगकर्ताले दिएको आदेश वा निर्देशन (प्रम्प्ट) लाई तत्कालै बुझे जस्तो गर्छ, दोहोर्याएर प्रश्न गर्दैन। फलस्वरूप यसले दिएका सल्लाह–सुझाव वा निर्माण गरेका विषयवस्तु ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो हुन सक्छ।
नैतिक प्रश्न
गत जेठ–असारमा मैले पत्रकारितामा एआईको प्रभावबारे नेपालका केही शहरमा कार्यशाला सञ्चालन गरेको थिएँ। त्यस वेला पत्रकारहरूलाई सोधें, “पत्रकारिता गर्ने सिलसिलामा तपाईंले कुनै एआई औजार प्रयोग गर्नुभएको छ?” कतिपय सहभागीले च्याटजीपीटी, मिडजर्नी र गूगल जेमिनाई जस्ता औजार प्रयोग गरेर सामग्री निर्माण, पुनःसंरचना, प्रतिलिपि सम्पादन वा सांकेतिक फोटो सिर्जना गरेको जानकारी दिए। तर उनीहरूले समाचार उत्पादनमा एआई प्रयोग गरिएको कुरा पाठक समक्ष खुलाएनन्। त्यसका विभिन्न कारण थिए। पहिलो, आफ्नो अक्षमता देखिने डर। दोस्रो, सम्बन्धित सञ्चारसंस्थामा एआई सम्बन्धी स्पष्ट नीतिको अभाव। तेस्रो, एआई प्रयोग गरिएको विषय सार्वजनिक गर्नुपर्छ भन्ने ज्ञानको अभाव। जेसुकै कारणले भए पनि समाचार सामग्री उत्पादनमा एआई उपकरणहरूको गुपचुप प्रयोग अनैतिक र चिन्ताजनक छ।
समाचार उत्पादनमा एआईको बढ्दो भूमिकाले गम्भीर नैतिक प्रश्नहरू उठाएको छ। डिजिटल प्लेटफर्मले समाजमा पहिलेदेखि नै जकडिएका पूर्वाग्रहलाई निरन्तरता दिने अनेक तथ्य–प्रमाण पाइन्छन्। उदाहरणका लागि हार्भर्ड युनिभर्सिटीकी प्रोफेसर लातान्या स्विनीले श्वेत र अश्वेत नामहरूलाई लक्ष्य गर्दै गूगलले पूर्वाग्रही विज्ञापन प्रस्तुत गरी भेदभाव गरेको कुरा आफ्नो अनुसन्धान मार्फत खुलासा गरेकी थिइन्। त्यस्तै, इन्टरनेटले गोरो छाला भएकाहरूलाई अति प्राथमिकता दिएको र समावेशी प्रतिनिधित्व नभएको भन्दै इन्टरनेट अभियन्ता जोहान्ना बुराईले द वर्ल्ड ह्वाइट वेब अभियान चलाइरहेकी छिन्। अब एआईले सिर्जना गर्ने सञ्चारका विषयवस्तुमा सामाजिक पूर्वाग्रह नआउने त कुरै भएन।
डिजिटल प्लेटफर्ममा जेजस्ता सूचना सामग्री भेटिन्छन्, तिनैलाई एआईले प्रयोग गर्ने हो। अर्थात् इन्टरनेटमा त्रुटिपूर्ण सामग्री भेटिए त्यसैलाई सत्य ठान्छ एआईले। यसको गतिलो उदाहरण हो, अमेरिकाबाट सञ्चालित वित्तीय सूचनामूलक वेबसाइट सिनेट डटकम, जसले सन् २०२३ को शुरुआतमा एआई बोट प्रयोग गरेर स्वचालित रूपमा समाचार प्रकाशन गर्यो। समाचारको बाइलाइनमा ‘सिनेट मनी स्टाफ’ लेखिएको हुन्थ्यो। पाठकलाई त्यो समाचार लेख्ने साँच्चिकै मान्छे हो भन्ने भ्रम थियो। सिनेटले यसरी तयार पारेका ७७ वटा सामग्रीमध्ये ४१ वटामा त्रुटि भेटियो। पछि सिनेटले गुपचुप रूपमा एआई बोट प्रयोग गरेर सम्पादन विनै सामग्री प्रकाशन गरेको भेद खुल्यो। यो विषयले अमेरिकी पत्रकारिता जगत्मा समेत सनसनी मच्चायो। पत्रकारितामा एआईको प्रयोग गर्ने कि नगर्ने, गरे कसरी गर्ने भन्ने बहस जारी छ।
फोर्ब्स डटकममा प्रकाशित हाउ जेनेरेटिभ एआई चेन्ज द जब्स अफ जर्नलिस्टस् शीर्षक रिपोर्टमा बनार्ड मार लेख्छन्- ‘पत्रकारको पेशा सबैभन्दा जोखिममा त छ, तर अझै दुईतिहाइ पाठक मानिसले लेखेका समाचार पढ्न, सुन्न वा हेर्न चाहन्छन्।’ भारतमा सना लगायत कृत्रिम एआई अवतारले समाचार वाचन गरेको वा कार्यक्रम चलाएको हेरेपछि भारतीय दर्शकले एआईको प्रयोगले समाचार बढी यान्त्रिक र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका थिए। फोर्ब्सका मार लेख्छन्- “एआईले उत्पादन गर्ने पत्रकारिता ‘चर्नलिज्म’ हो, ‘जर्नलिज्म’ होइन।” अर्थात् गुणस्तरहीन पत्रकारिता हो, स्तरीय पत्रकारिता होइन।
सवाल सत्य र जवाफदेहीको
जेनेरेटिभ एआई उपकरणहरूले प्रभुत्व जमाउँदै गएको यस युगमा सत्य र जवाफदेहीको संरक्षकका रूपमा पत्रकारिताको भूमिका पहिलेभन्दा अझ महत्त्वपूर्ण बन्दै गएको छ। सन्दर्भ खुलाएर, मिथ्या सूचनाको पर्दाफास गरेर र नैतिक मापदण्ड कायम राखेर पत्रकारहरूले एआईयुक्त सामग्रीका सम्भावित हानि विरुद्ध र सत्यको संरक्षकका रूपमा काम गर्न सक्छन्। सत्यप्रतिको निष्ठा, तथ्य प्रमाणीकरण र सार्वजनिक जवाफदेही जस्ता पत्रकारिताका मूलभूत मान्यता एआई युगमा पनि शाश्वत र अपरिवर्तनीय रहन्छन्।
पत्रकारिताको सबैभन्दा महत्त्वपूर्ण कार्यमध्ये एक हो– सत्तालाई जवाफदेह बनाउनु। यो भूमिकाका लागि एआई वा सामाजिक सञ्जाल उपयुक्त प्लेटफर्म होइनन्। कुनै पनि अनुसन्धानमूलक पत्रकारिता चाहे त्यो १९७२ को वाटरगेट काण्ड होस् वा नेपालीलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउने काण्डको पर्दाफास, दृढनिश्चयी मान्छेको सक्रिय सहभागिता विना सम्भव छैन। त्यस्तो व्यक्तिले नै एआई र सामाजिक सञ्जाल प्रणालीहरूमा हुने पूर्वाग्रहको उजागर, समाजको हित र निष्ठावान् पत्रकारिताको वकालत पनि गर्न सक्छ।
एआई औजारहरू र सामाजिक सञ्जालले फैलाउने मिथ्या सूचना र पूर्वाग्रह तोड्न सक्ने व्यावसायिक पत्रकारिताले मात्र हो। एआई औजारका तुलनामा मान्छेले नै जटिल सामाजिक मुद्दाको अनुसन्धान गर्ने, सांस्कृतिक संवेदनशीलता बुझ्ने र सूचनाको सन्दर्भ पहिल्याउने क्षमता राख्छ। प्यू रिसर्च सेन्टरले सन् २०२४ मा गरेको अध्ययनले देखाएको छ कि अधिकांश अमेरिकी एआईद्वारा सिर्जित समाचारभन्दा व्यावसायिक पत्रकारलाई बढी विश्वास गर्छन्। यसले सत्यतथ्य सूचना र समाचारका लागि पत्रकार र पत्रकारिताको भूमिकालाई पुनः पुष्टि गर्छ। एआईले पत्रकारितालाई प्रतिस्थापन गर्न सक्दैन, तर यसलाई सावधानी र जिम्मेवारीपूर्वक प्रयोग गरिए पत्रकारिताको गुणस्तर वृद्धिमा सघाउन भने सक्छ।
(आचार्य युनिभर्सिटी अफ अटवा, क्यानडामा पत्रकारिता, मिडिया र सञ्चार विषय प्राध्यापन गर्छन्।)