रामेछापको ठोसेबजारस्थित शारदा माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास गरिएको छ।
शारदा मावि र टोनी हागन फाउन्डेशनको आयोजनामा नमूना संसद्को अभ्यास गरिएको हो। विद्यार्थीलाई नेतृत्व विकास, संसदीय परम्परा र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शंकर बस्नेतले बताए।
फाउन्डेशनका सचिव तथा प्रतिनिधि सभाका पूर्व सांसद फटिक थापाको परामर्शमा नमूना संसद् बैठकमा ‘नेपालको ऐतिहासिक ठोसे फलाम खानी लगायत मुलुकका अन्य फलाम खानी सञ्चालन गरेर मुलुकलाई फलामको माग र आपूर्तिमा परनिर्भरता घटाउन सहयोग पुग्छ कि पुग्दैन भन्नेबारे सरकारले गहिरो अनुसन्धान र व्यापक छलफल गरी गराई ठोस रूपमा अल्पकालीन र दीर्घकालिन नीति तय गरी कार्यान्वयन गरोस्’ भन्ने संकल्प प्रस्ताव माथि छलफल गरिएको थियो। संकल्प प्रस्ताव बहुमतले पारित गरिएको थियो।
विद्यार्थीले नै सभामुख, मन्त्री, सांसद, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए। नमूना संसद्मा सलिना कार्कीले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा उमेश खड्का, किरण शेर्पा, सन्दिका श्रेष्ठ, रञ्जित राउत, रिया बस्नेत र अञ्जली बस्नेत लगायतले भाग लिए। नमूना संसद्मा उठेका प्रश्नको जवाफ नमूना मन्त्री सञ्जिता राउतले दिएकी थिइन्।
सभामुखको भूमिकामा रहेकी प्रियंका रेग्मीले संकल्प प्रस्ताव ध्वनिमतबाट पारित भएको घोषणा गरिन्। त्यसअघि शून्य समयमा सुस्मिता नेपाली, एलिना राई, सुरोज खत्री, सुसन कार्की, सुस्मिता श्रेष्ठ, सुस्मिता बस्नेत लगायतले समाजमा घटेका ज्वलन्त समस्याबारे ध्यानाकर्षण गराएका थिए।
संसद् सचिवालयका कर्मचारीको भूमिकामा निरोज कार्की, जानकी लामिछाने बस्नेत र भावना मल्होत्रा थिए भने मर्यादापालकको जिम्मेवारीमा शिव राउत, प्रशान्त गुभाजु, मिनोट बस्नेत, सुष्मा श्रेष्ठ, मनीषा रम्तेल र अत्सना बस्नेत थिए। सञ्चारकर्मीको भूमिकामा मुना बस्नेत, जोशेफ शेर्पा र रोमी खड्का थिए।
विद्यालयका शिक्षक केशव खड्काले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए। नमूना संसद्मा सहभागीलाई प्रमुख अतिथि गोकुलगंगा गाउँपालिका-२ का वडाध्यक्ष सुन्दरकुमार कार्की र विद्यालयका प्रधानाध्यापक शंकर बस्नेतले प्रमाणपत्र वितरण गरे। स्थानीय समाजसेवी महेश प्रधानले विद्यार्थीका लागि यो कार्यक्रम नौलो भएको बताए।
फाउन्डेशनका कोषाध्यक्ष तथा लेखक वसन्त थापाले टोनी हागनलिखित नेपालीको चिनारी, विकेन्द्रीकरण र विकास, नेपालमा मेरो खोजयात्रा लगायत पुस्तक विद्यालयलाई हस्तान्तरण गरे। थापाले सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका स्वीश भूगर्भविद् टोनी हागनको जीवनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए।
नमूना युवा संसद् अभ्यासको सिलसिलामा कार्यक्रमस्थलमा सन् १९६० को दशकमा टोनी हागनले खिचेको नेपालका विभिन्न भागका तस्वीरको प्रदर्शनी पनि गरिएको थियो।