अनिलको अर्धशतकमा जनकपुरको लगातार जित
कप्तान अनिल साहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्टस्ले लगातार दोस्रो जित निकालेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा सहजै पूरा गरेको हो।
जनकपुरका लागि कप्तान साहले ६२ रन बनाए। उनले ४२ बलमा ६ चौका र तीन छक्काको मद्दतले ६२ रन बनाए। त्यस्तै, आसिफ शेखले ३९, लाहिरु मिलन्थाले २४ र जेम्स निशमले १६ रन बनाए।
कर्णालीका लागि जिशन मक्सूद र मौसम ढकालले एक-एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
यसअघि ब्याटिङ गरेको कर्णालीले सात विकेटको क्षतिमा १४१ रन बनाएको थियो। खराब शुरूआत गरेको कर्णालीलाई गुल्सन झा, अर्जुन घर्ती र सोमपाल कामीले सम्हालेका थिए।
कर्णालीका लागि झाले ३६, घर्तीले ३३ र कामीले २९ रन बनाएका थिए। त्यस्तै, शिखर धवनले १४ र बाबर हयातले १२ रन बनाए।
जनकपुरका लागि मोहमद मोहसिनले दुई, किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निशमले एक-एक विकेट लिए।
यो जितसँगै जनकपुरको चार अंक भएको छ। अघिल्लो खेलमा विराटनगरलाई पराजित गरेको थियो।
यसअघि सोमबार बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो। चितवनले दुई अंक जोडेको छ।
मंगलबार बिहान ९ः१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दिउँसो १ः१५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।