प्रधानमन्त्री ओली चारदिने भ्रमणमा चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री अोली औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन्।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै, चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नेछन्। चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता हुने कार्यतालिका छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरन्याशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाली प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन्।
प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी मंसीर २० गते स्वदेश फर्कने कार्यतालिका छ।