उपनिर्वाचनः कहाँ, कसले जिते?
मंसीर १६ मा मतदान सम्पन्न भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ।
स्वामीकार्तिकको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्।
मंसीर १६ मा सम्पन्न उपनिर्वाचनमा भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए। भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरिन्। कुल सात हजार ४६० मतदातामध्ये तीन हजार ९०३ मत खसेको थियो।
निर्वाचित भण्डारी २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन। गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
तेह्रथुमको लालीगुँरास–८ मा कांग्रेसका लिम्बू विजयी
तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बू निर्वाचित भएका छन्। उनले ४४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
लिम्बुका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धबहादुर लिम्बूले ३६० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८, माओवादी केन्द्रका कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बूले चार र नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी
सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु ८१६ मत पाएर निर्वाचित भएका छन्। साहुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरे। एमालेका शन्तु उरावले ७७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविताकुमारी उरावले ८७ मत पाए।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका शशीकुमार साहुले ३३, जनमत पार्टीका सीताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योगनारायण ऋषिदेवले १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी राजोदेवी ऋषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भूपमणि पुन मगर निर्वाचित भएका छन्। उनले ६४३ मत प्राप्त गरे।
मगरका निकटतम प्रतिद्वन्द्वी एमालेका वेगम पुनले ५३५ मत ल्याए। साथै, माओवादी केन्द्रका नरेशजंग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गरे।
बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारू विजयी
बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारू निर्वाचित भएका छन्। उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
थारुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरबहादुर थारूले ६७८ मत पाए। एमालेका विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्माले १७ मत प्राप्त गरे।
सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव ३७२ मत सहित विजयी भएका छन्। यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत प्राप्त गरे।
साथै, जनमत पार्टीका उदयनारायण पण्डितले २३१, एमालेका सञ्जयकुमार यादवले ६८, माओवादी केन्द्रका भागवत रामले नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले तीन र जनता समाजवादी पार्टीका रवीन्द्र रायले तीन मत ल्याए।
रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी
रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएका छन्। कांग्रेसका आलमले ७४४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले ४६३ मत प्राप्त गरे।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले ४३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरू शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत पाएको आयोगले जनाएको छ।
दुल्लु नगरपालिका–१३ मा एमालेका शाही विजय
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजय भएका छन्। उनले ५७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए।
शाहीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरे। त्यसैगरी माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदूर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत पाए।
गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए।
श्रेष्ठका निकटतम प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए। माओवादी केन्द्रका दुर्गाबहादुर विकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत ल्याए।
मुसिकोट नगरपालिका–१ मा चार हजार ९१ मतदातामध्ये दुई हजार ३३४ जनाले मतदान गरेका थिए। वडाध्यक्ष पदका लागि आठ जनाको मनोनयन दर्ता भएको थियो। मुसिकोट–१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि उपनिर्वाचन भएको हो।
ताप्लेजुङको सिरिजंघा–३ एमालेका सावादेन निर्वाचित
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ को वडाध्यक्षमा एमालेकी कुमारी सावादेन निर्वाचित भएकी छन्। उनी ३५३ मत सहित विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
सावादेनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अम्वी सावादेनले २५१, कांग्रेसका भीमकुमार लक्सम्वाले २१८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले सात मत प्राप्त गरे।
२०७९ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो।
झापा कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। ओली ४९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए।
एमालेका तुलाराम बस्नेतले ३५६ मत, कांग्रेसका रामगोपाल ओलीले ३१७ मत, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरे।
२०७९ सालमा भएको निर्वाचनमा एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याई निर्वाचित भएका थिए।
गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भएका छन्। रानामगरले ४८६ र निकटतम प्रतिस्पर्धी कांग्रेसका भाइकाजी आलेले ४०२ मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। एमालेकी दुर्गामाया राना थापाले ३४५ मत पाइन्।
उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खिलबहादुर रानामगरको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो।
रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी
रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ। खलिकले ६२७ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे।
आयोगका अनुसार एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले १३५ मत प्राप्त गरे।
माओवादी केन्द्रका शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टीका शेख असराजले ६ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरे।
-रासस