स्थानीय उपनिर्वाचनमा ६२ प्रतिशत मतदान, आजै मतगणना
स्थानीय तहको उपनिर्वाचनमा करीब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ भने आजै मतगणना शुरू गर्ने तयारी छ।
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको हो। आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सबै स्थानमा शान्तिपूर्ण मतदान भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्।
उनका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म करीब ६२ प्रतिशत मतदान भएको छ। उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता थिए।
उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका थिए। त्यसमध्ये २० राजनीतिक दलले उम्मेदवारी दिएका थिए।
निर्वाचनको मिति तोक्दासम्म स्थानीय तहका ४४ पद रिक्त थिए। जसमध्ये दुई वटा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। ओखलढुंगामा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए।
बाँकी ४१ पदमा आज मतदान भएको हो। आज नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि राजनीतिक दलका २७४ र स्वतन्त्र १०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
शान्तिपूर्ण रूपमा मतदान भएको र मतपेटिका संकलन भइरहेको प्रवक्ता अर्यालले बताइन्। मतपेटिका संकलन भएलगत्तै सम्बन्धित मतदानस्थल र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ।