कसले गर्ला कात्तिके बोडीकाे ‘ब्रान्डिङ’?
प्रायः रैथाने बाली विदेश लगेर अध्ययन-अनुसन्धान गरी उतैको अधिकार स्थापित भइसकेका छन्। भोजपुर क्षेत्रमा हुने कात्तिके बोडी अपवाद छ, अब थप अध्ययन-अनुसन्धान गरी ‘ब्रान्डिङ’ गरिनुपर्छ।
बैजनी रंगको कोसा, अलिकति सेतो लतपतिएको जस्तो। त्यसभित्र खैरो किरबिरे दाना। भोजपुरको तल्लो भेगतिर प्रशस्तै फल्ने यो कात्तिके बोडी हो। अन्यत्रभन्दा फरक यस क्षेत्रको कात्तिके बोडी कमलो र स्वादिष्ट हुन्छ।
भोजपुरको हतुवागढी गाउँपालिका, धनकुटाको पाख्रीबास नगरपालिकाको मुगा, घामे र बैकुण्ठे, शहीदभूमि गाउँपालिकाको खोकुमा खेती गरिन्छ। सदियौंदेखि फल्दै आएको कात्तिके बोडी कसैको आँखामा पर्न नसकेको तरकारी बाली हो। कात्तिके नामको बोडी अन्यत्र पनि हुन्छ, तर भोजपुर र धनकुटमा पाइने जस्तो कात्तिके बोडी देशका अन्य भोग र बाहिरी मुलुकमा देखेको छैन।
कात्तिकमा फल्ने भएकाले यसलाई कात्तिके बोडी भनिएको हो। वैशाख-जेठमा मकैसँगै छर्ने गरिन्छ। यसलाई थाक्रा पनि चाहिंदैन। कान्लामा आफैं लहरिएर फैलिन्छ। साउनदेखि फुल्न थाल्छ भने भदौदेखि अलि अलि फल्न थाल्छ। असोजमा निकै राम्रो भइसक्छ भने कात्तिकमा खान मिल्ने हुन्छ। अत्यधिक फल्छ। अलिअलि त पुस महीनासम्म फलिरहन्छ।
नेपालबाट धेरैजसो रैथाने बाली हराइसकेका छन्। कतिपय अध्ययन-अनुसन्धानका क्रममा विदेश पुगेका छन्। नेपालबाट रैथाने बाली जापान, इजरायल, अमेरिका, यूरोपसम्म पुगेको वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ बताउँछन्। काठमाडौंको स्थानीय काउली, डोल्पा स्नोबल काउली, ४० दिने मूला, प्यूठाने रातो मूला लगायत रैथाने बाली विदेशका भइसकेका छन्।
भोजपुर र धनकुटातिर फल्ने कात्तिके बोडी भने अहिलेसम्म विदेशीको हातमा परेको छैन। नत्र नेपालका धेरै रैथाने बाली विदेशिएर उतैका हुन्छन्। त्यसमा थप अध्ययन-अनुसन्धार गरेर उन्नत स्वरूपमा फेरि नेपाल आउँछन्। अरूको हातमा नपरेको कात्तिके बोडीबारे थप अनुसन्धान गर्नुपर्ने विज्ञहरू बताउँछन्।
कात्तिके बोडी पनि धेरै प्रकार हुन्छन्। आन्द्रा जस्तै लामो र सुकेपछि पनि पाक्ने गुण भएको बोडी, यसैगरी, अलि ठूलो पाटा भएको एकदमै स्वादिलो बोडी, अलि मसिनो र भित्रको दाना पनि सानो हुने र सुकेपछि भने चाम्रो हुने बोडी। त्यस्तै रङको हिसाबमा सेतो, कालो, रातो, छिर्केमिर्के, पहेंलो, नीलो आदि बोडी हुन्छन्।
प्रत्येक बोडीको आआफ्नो गुण र विशेषता अनुसार शुद्धीकरण गर्न केही समय लाग्छ। त्यसमध्ये पनि कात्तिके बोडीलाई जेठ-असारसम्मै फल्ने बनाउन सकिन्छ। यसका लागि नेपाल सरकार र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले प्राथमिकतामा राख्नुपर्छ।
अध्ययन-अनुसन्धान आवश्यक
जुनसुकै बाली-बिरुवालाई व्यावसायिक विकास गर्न लगानी आवश्यक पर्छ नै। पैसा मात्रै होइन, समय पनि लाग्छ। शुरूआतमा कात्तिके बोडीको बीउमा शुद्धता कायम गर्नुपर्छ। गाउँमा यसका सबैखाले बीउ एकै ठाउँमा राखेर खेती गर्ने गरिएको छ। व्यावसायिक खेती गर्न शुद्धता आवश्यक हुन्छ। त्यसमा केही वर्ष पनि लाग्न सक्छ।
बीउमा शुद्धता कायम गर्न आवश्यक बजेटका लागि संघीय सरकारले ध्यान दिनुपर्छ। नार्कले अध्ययन गरेर बीउ सिफारिश गरिदिएमा लगानी गर्न त कम्पनी तथा स्थानीय सरकार तयार हुन सक्छन्। जसरी धनकुटा नगरपालिकाले एभोकाडोमा लगानी गरेको छ, त्यस्तै कात्तिके बोडीमा अन्य स्थानीय सरकारले लगानी गर्नेछन्।
यसको व्यावसायिक विकासका लागि स्थानीय सरकारले एउटा परियोजना ब्यांक बनाएरै काम गर्न सक्नेछन्। शुरूआतमा विस्तारका लागि १० देखि १५ लाख रुपैयाँसम्म लाग्नेछ। यति त स्थानीय सरकारले सजिलै जुटाउन सकिहाल्छन्।
त्यसपछि बजारीकरणको पाटो आउँछ। एक पटक यसको स्वाद लिएका उपभोक्तालाई अन्य बोडी रोज्न गाह्रै पर्छ। कात्तिके बोडीको ‘ब्रान्डिङ’ र ‘प्याकेजिङ’ गर्ने हो भने अन्य कम्पनीको पनि सहयोग लिन सम्भव हुन्छ। इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ‘ब्रान्डिङ’ मा काम गरे जस्तै यस क्षेत्रका स्थानीय सरकारले कात्तिके बोडीमा काम गर्न सक्छन्।
कसरी गर्ने व्यावसायिक विकास?
कात्तिके बोडीबारे वैज्ञानिक अध्ययन-अनुसन्धान भएको छैन। यसको ‘पेटेन्ट राइट’ पनि दर्ता गर्न बाँकी छ। त्यसैले नार्कले विभिन्न कोणबाट अध्ययन गर्न जरूरी छ। नेपालले ‘पेटेन्ट राइट’ दर्ता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्छ।
कात्तिके बोडीको व्यावसायिक विकास पनि गर्न सकिन्छ। भोजपुरको हतुवागढीमा मात्रै नभएर अरुण, पौवादुङमा र आमचोक गाउँपालिकामा पनि यसको खेती गर्न सकिन्छ। किनकि यी क्षेत्रमा उस्ताउस्तै भूगोल छ, खेतीपाती हुन्छ। त्यस्तै, धनकुटाका अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिन्छ। सँगसँगै उदयपुरको तल्लो क्षेत्र यसको खेतीका लागि उपयुक्त स्थल हुन सक्छ।
यसको स्वाद र नरमपनाले गर्दा बजार पनि पाउन सक्छ। देशभित्र मात्रै होइन, बाहिर पनि निर्यात गर्न सकिन्छ। व्यावसायिक खेतीका लागि नार्कले अध्ययन-अनुसन्धान गरेर यसको बीउबिजन जोगाउनेतर्फ काम गर्नुपर्छ।
त्यसअघि स्थानीय सरकारले ध्यान दिनुपर्छ। भोजपुर र धनकुटाका स्थानीय सरकारले पकेट क्षेत्र बनाएर स्थानीय किसानलाई प्रोत्साहन गर्नुपर्छ। जसले वर्षौंदेखि कात्तिके बोडी खेती गरिरहेका छन्, अझ यसो भनौं, कात्तिके बोडीलाई जोगाएका छन्।
अन्यत्र विस्तार
रैथाने कात्तिके बोडीको परापूर्वकालदेखि नै खेती हुँदै आएको छ। तर अहिलेसम्म कसैले पनि व्यावसायिक रूपमा धेरै रोपनीमा खेती गरेको पाइँदैन। आकाशे पानीको भरमा खेती गरिने भएकाले कहिलेकाहीं बीउ पनि नाशिने गरेको हुन्छ।
त्यसैले व्यावसायिक रूप दिने हो भने सिंचाइका लागि आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ। जस्तै- थोपा सिंचाइ, मल्चिङ, प्लास्टिक पोखरी, रिचार्ज पोखरीको विस्तार गर्न सकिन्छ।
अर्को, यसमा थाक्राको प्रबन्ध नगरीकनै खेती गरिएको छ। थाक्रा दिने हो भने झन् राम्रो फल्न सक्छ। एकै जनाले धेरै रोपनीमा खेती गर्ने तरीका विकास गर्न सकिन्छ।
बीउ उत्पादनदेखि व्यावसायिक बोडी उत्पादनसँगसँगै यसको प्रशोधन गरेर अचार बनाउन सकिन्छ। त्यस्तै, दालको प्याकेजिङ, बोडीको सुकुटी पनि बनाएर बिक्री गर्न सकिन्छ।
हाललाई केही जिल्लामा मात्रै भइरहेको यसको खेती देशका अन्य भूभागमा पनि विस्तार गर्न सकिन्छ। यसले एकातिर रैथाने अन्नको विकास हुनेछ भने अर्कातिर किसानले आर्थिक उपार्जन पनि गर्न सक्नेछन्।