झोलुंगे पुलको पर्खाल भत्किंदा पाँच मजदूरको मृत्यु
रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किंदा पाँच जनाको मृत्यु भएको छ।
सुनछहारी गाउँपालिका-३ स्थित गाममा आइतबार बिहान निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्किएको हो। पर्खाल भत्किंदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए। “पर्खालको काम गरिरहेका पाँच जनाको घटनास्थलमै मृत्यु भएको खबर आएको छ,” शाहीले हिमालखबरसँग भने।
पुलको टेवा पर्खाल निर्माणमा सात जना काम गरिरहेका थिए। पर्खाल भत्किन लागेपछि दुई जना भाग्न सफल भएका छन्। पाँच जना भने पर्खालमै च्यापिएको शाहीले बताए।
मृत्यु हुनेमा सुनछहरी-३, गामकी २७ वर्षीया आइती परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, ४५ वर्षीय दुजमान परियार र ६६ वर्षीय देवीराम परियार रहेका छन्।
सुनछहारी गाउँपालिका-३ बाहिरी गाम र मौलाबाङ जोड्नका लागि झोलुंगे पुल निर्माण भइरहेको छ। निर्माणाधीन पर्खाल एकाएक भत्किएको प्रहरीले जनाएको छ।