शनिबारीय मेलामा रैथाने स्वाद
महिला उद्यमलाई प्रवर्द्धन गर्न धनगढीमा सञ्चालन भइरहेको ‘शनिबारीय मेला’मा आगन्तुकहरू रैथाने स्वादमा रमाउन थालेका छन्।
ढिक्री, घोंघी, सिध्रा माछा, अन्डिक भात लगायतका परिकार लहरै राखिएका छन्। छेउमै सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटुका, निस्सोसे, मासका पुरी छन्।
यो कुनै रेस्टुरेन्ट वा होटलको दृश्य होइन, धनगडी उपमहानगरस्थित र्पाक मोडमा रहेको चउर हो। जहाँ हरेक शनिबार रैथाने परिकार स्वाद लिन पाइन्छ।
धनगढी उपमहानगरले महिला उद्यमलाई प्रवर्द्धन गर्न आयोजना गरेको ‘शनिबारीय मेला’मा यस्तै रैथान परिकार राखिएका हुन्छन्। थारू र पहाडी समुदायका परिकार सहित महिला उद्यमी मेलामा सहभागी भइरहेका छन्।
शनिबारीय मेलाले घरमै पकाएका परिकार बिक्री गर्न पाइरहेको उद्यमी सुनितादेवी चौधरी सुनाउँछिन्। उनले थारू समुदायमा चर्चित परिकार ढिक्री, घोंघी, सिध्रा माछा, अन्डिक भात लगायत राखेकी छन्।\
मेलाले आम्दानीको बाटो खुलेको उनी सुनाउँछिन्। “घरायसी काममै हुन्थे। बाहिर काम गर्न पाउँदैनथे। अरु काम नगरेपछि पैसा हुँदैनथ्यो,” चौधरी भन्छिन्, “मेलामा आउन थालेपछि त कमाइ भइरहेको छ।”
गत शनिबार पाँच हजार रुपैयाँ आम्दानी भएको उनी सुनाउँछिन्। विस्तारै आम्दानी बढ्दै गएको उनको भनाइ छ। उनी अब यसैलाई व्यवसाय बनाउने विचारमा पुगेकी छन्।
धनगढी उपमहानगरले मेलामा महिलालाई मात्रै स्टल उपलब्ध गराउँछ। उनीहरूबाट शुल्क पनि लिँदैन। जसले गर्दा स्थानीय उद्यमी महिला मेलामा आकर्षित भएका छन्।
मेलामा रैथाने परिकार राख्ने गरेकी स्थानीय मधु चौधरी महिलालाई स्वरोजगारको अवसर मिलेको बताउँछिन्। “घरमा काम नभएर त्यसै बस्नुभन्दा मेलामा पुगेर खानाका परिकार बेचेर आम्दानी गरिरहेकी छु,” चौधरी भन्छिन्, “कमाइ पनि भएको छ, सीपमा निखार पनि आउँदै छ।”
मेलामा खानाका परिकारसँगै सरसामान पनि राखिने गरेको छ। महिला उद्यमीले घरमै बनाएका झोला, चप्पल, कपडा, दुना, टपरी, फाईबरका घर सजावटका फूल बिक्री भइरहेका छन्।
मेला स्थलमा ६० वटा स्टल बनाइएका छन्। जहाँ महिला उद्यमीले उत्पादन गरेका सरसामान बिक्री हुन्छन्। स्थानीय परिकार र सरसामानसँगै मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि गरिन्छ।
स्थानीय महिलाको सीपको सदुपयोग होस् भनेर मेला आयोजना गरिएको उपमहानगरले जनाएको छ। यससँगै स्थानीय संस्कृति संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सांस्कृति कार्यक्रम पनि भइरहेको सांस्कृतिक कार्यक्रम संयोजक गुणाकर पनेरू बताउँछन्। “मेलाको शुरूआत गरेका छौं, यसलाई विस्तारै व्यवस्थित गर्दै लग्छौं,” पनेरू भन्छन्।
सीप सिकेका तर कहि कतै व्यवसाय नगरेका महिलालाई निःशुल्क बजारको अवसर प्रदान गर्ने उद्देश्यले शनिवारे बजार शुरू गरिएको धनगढीका मेयर गोपाल हमाल बताउँछन्। “तालिम लिने त गरिन्छ, तर तालिमबाट सिकेका कुरालाई बजारमा पुर्याउने माध्यम र प्रवृति छैन,” मेयर हमाल भन्छन्, “त्यसैले महिला उद्यमीलाई बजारसँग जोड्ने प्रयास गरेका हौं।”
हरेक शनिबार बिहान १० बजेदेखि मेला शुरू हुन्छ। बेलुका ५ बजेसम्म चल्ने मेलामा स्थानीयसँगै धनगढी आउने आन्तरिक तथा वाह्य पर्यटक पनि मेला स्थल पुग्ने थालेका छन्।