नेपाललाई भारतको पोल्टामा पार्न चाहनेको राजनीति कति टिक्ला?
देश, जनता र आफ्नो दलका लागि पनि होइन, व्यक्तिगत स्वार्थका लागि भारतको पाउ पर्ने पुष्पकमल दाहाल प्रधानमन्त्री त परको कुरा, राष्ट्रिय तवरको नेता बन्न पनि सुहाउँदैन।
“यस्तो भन्ने पूर्व प्रधानमन्त्री फेरि कहिल्यै प्रधानमन्त्री नबनून्; नुनको सोझो गर्न, नरेन्द्र मोदी रिझाउन, भन्छन्- नेपालका (जोकोही) प्रधानमन्त्रीको पहिलो भ्रमण चीन हुनु हुँदैन रे। ‘लामो आयु होस्, राजनीति ठप्प होस्’ भन्नुपर्ने राजनीतिक र नागरिक अगुवा वृत्त मौन।”
पंक्तिकारले यत्तिको ट्वीट गर्नुको कारण हो, १४ नोभेम्बरमा भारतको द हिन्दू पत्रिकाकी परराष्ट्र मामिला सम्पादक सुहासिनी हैदरले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेको अन्तर्वार्ता। हैदर उक्त संवादमा प्रश्न गर्छिन्, “कोही भन्छन्- प्रम ओलीलाई भारतबाट निम्ता आएको छैन, त्यसैले उनी चीन जाँदै छन्। नेपालका प्रधानमन्त्री पहिले भारत नगई चीन जान लागेको यो पहिलो पटक हो। समस्या कहाँ छ?”
जवाफमा दाहाल भन्छन्, “ओली सरकारको अपरिपक्वताको प्रमाण हो यो। छिमेकसँगको सम्बन्धमा ‘म्याचुरिटी’ देखाउनुपर्थ्यो। केपीजी दुईपक्षीय भ्रमणमा चीन जाँदै छन्, तर त्योभन्दा पनि यो भ्रमण ‘चाइना कार्ड’ तेर्स्याउन गरिंदै छ। जुन गलत हो। हाम्रो इतिहास, संस्कृति र भूगोलले भन्छ, हाम्रा सम्बन्ध सन्तुलित हुनुपर्छ र उहाँले भारतसँग नेपालको विशेष सम्बन्ध चीन जानुअघि स्विकार्नै पर्छ। यो नहुनुपर्ने कुरा भएको छ।”
पटक पटक प्रधानमन्त्री भइसकेका र प्रमुख प्रतिपक्षी दलका नेताले यसरी नेपालको असंलग्न परराष्ट्र नीति तथा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिनु लज्जास्पद हो। यस्तो अपरिपक्व कथनले विदेशीको आँखामा नेपालको उपल्लो तहमा कतिसम्मको गैरजिम्मेवारी हुँदो रहेछ, प्रस्ट पारिदिएको छ। व्यक्तिगत असन्तुष्टि र राजनीतिक तुसका कारण कूटनीतिक विषयलाई यसरी उछालिदिनु घातक प्रवृत्ति हो, मुलुक र जनता खिलाफ र व्यक्तिगत स्वार्थ खातिर। बौद्धिक वृत्त तथा आमजनता प्रस्ट हुनुपर्छ, यस्तो व्यक्ति नेपालको प्रधानमन्त्री मात्र होइन, राष्ट्रिय तवरको नेता बन्न पनि सुहाउँदैन।
नेपालको सार्वभौमिकता तथा हाम्रो विदेश नीतिमा रहेको सन्तुलनभन्दा उल्टो दिशामा छ दाहालको अभिव्यक्ति। यस अभिव्यक्तिमा झल्कने विचार हो- नेपाल भारतको भूउपग्रह हो, हाम्रो स्वतन्त्र भूराजनीतिक अडान छैन, चीनको मामिलामा नेपाल भारतकै इशारामा चल्नुपर्छ। अनि ऐतिहासिक कालदेखि निर्माण भएको नेपालको स्वतन्त्र पहिचानले आज आएर केही मतलब राख्दैन, नेपाल भारतकै पोल्टामा छ।
यस्तो अभिव्यक्तिबारे मौनता साध्नेले उक्त भनाइ स्विकारेको मानिन्छ, तसर्थ को को मौन रहे समेत जनताले थाहा पाउनुपर्छ। एउटा दल नेकपा (एमाले)ले विज्ञप्ति निकालेको देखियो, तर पनि उक्त दलका नेताको कडा अभिव्यक्ति सुन्न पाइएको छैन। अन्य दलहरूले त आधिकारिक धारणा समेत राखेका छैनन्। जबकि यति गम्भीर विषयमा एक-एक नेताको आवाज चर्को गरी उठ्नुपर्ने थियो। यो विषयमा मौनताको मतलब हो- साना, ठूला, पुराना, नयाँ दल र तिनका नेतृत्व सबै नयाँ दिल्लीको पन्जामा छन्। पन्जामा छैनन् भने पनि भारत दाहिना चाहिन्छ भन्ने विचार राख्छन्।
त्यसैले दाहालको घातक अभिव्यक्तिमा कांग्रेस किन चूप छ भन्ने प्रश्न उठाइनुपर्छ। राप्रपा, रास्वपा लगायत दलहरूतर्फ पनि प्रश्न तेर्सिनुपर्छ।
अनि भोलि देशको बागडोर सम्हाल्छु भन्ने नेताहरू दाहालको घातक अभिव्यक्तिबारे किन मौन? नामको सूची नै राखौंः गगन थापा, शेखर कोइराला, राजेन्द्र लिङ्देन, सीके राउत। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेका त आफ्नै पीर होलान्, तर उनको दल रास्वपा यस मुद्दामा कता छ? होनहार भूराजनीतिशास्त्री कता गए? यूट्यूबर र इन्फ्लूएन्सर कता हराए? सम्पादकीयहरू किन लेखिएनन्? विचार निर्माणकर्ता हुँ भन्नेलाई दाहालको अभिव्यक्ति विचारको खुराक किन बनेन?
दाहालको अभिव्यक्तिमा ठूला दल र यसका नेताहरू चुइँक्क नबोल्नुमा तिनको बुझाइ यो पनि हुन सक्छ, कि कुनै वेला फेरि उनको आवश्यकता पर्ला, ओली सरकार ढाल्नुपर्दा र नयाँ सरकारका लागि गठबन्धन गर्दा के थाहा, एमाले वृत्तमा पनि यही सोच पो छ कि। समष्टिमा हेर्दा, विभिन्न दल र तिनका नेताका लागि देश-जनताभन्दा दाहालको चाकरी बढी महत्त्वपूर्ण रहेछ।
लम्पसार कार्ड
धेरथोर आलोचनापश्चात् दाहालले ठाने, भारतलाई रिझाउने काम सक्किगो, नयाँ दिल्ली खुशी भइहाल्यो, अब बेइजिङतर्फ अलि ‘ड्यामेज कन्ट्रोल’ मा लागौं। तसर्थ प्रम ओलीले मंसीर १० गते चीन भ्रमणबारे छलफल गर्न बोलाएको शीर्षस्थको भेलामा उनले आफ्नो अभिव्यक्ति सच्याए। भने, “मलाई ‘मिस्क्वोट’ गरियो। मैले त्यसरी भनेकै होइन।”
तत्कालै पंक्तिकारले सार्वजनिक ट्वीट गर्यो कि यसले त अन्तर्वार्ताकार सुहासिनी हैदरको व्यावसायिक निष्ठा र ‘इथिक्स’ मा प्रश्न उठ्यो। त्यसको प्रत्युत्तरमा सुहासिनीले सार्वजनिक अभिव्यक्ति यसरी अंग्रेजीमा दिइन् : “हो, उक्त अन्तर्वार्ता रेकर्ड भएको थियो, र अंग्रेजी अनुवाद अनलाइनमा उपलब्ध छ भने पूर्व प्रम दाहालको सचिवालयलाई पनि उपलब्ध गराएकी थिएँ।”
हैदरका अनुसार पूर्व प्रम दाहालले ओलीले ‘चाइना कार्ड’ खेल्न खोजेको र उनी भारतभन्दा पहिले चीन जानु गलत भन्ने अभिव्यक्ति दिएकै हुन् र टेप पनि सुरक्षित छ। यता मंसीर १० मा दाहालले आफूले त्यसो भनेकै होइन भने। आफूले नबोलेका कुरा द हिन्दूको अन्तर्वार्तामा प्रकाशन गरिएको भए दाहालको सचिवालयले उक्त टेप सार्वजनिक गर्न माग गर्नुपर्थ्यो, जो पाँच दिन बितिसक्दा गरेको छैन। अतः हाम्रो निष्कर्ष यो हुनुपर्यो, दाहालले देश-जनता विरोधी तथा नयाँ दिल्लीपरस्त गम्भीर र गलत अभिव्यक्ति दिएकै हुन्। यदि यो कुरा छिटै नै सबैले बिर्सिहाल्छन् भन्ने दाहाल र उनको सचिवालयको सोच हो भने त्यो हुन दिनु हुन्न। मुलुकको हितका लागि कुरा कोट्याउनै पर्छ।
प्रश्न उठ्छ, यस्तो बोल्ने पूर्व प्रधानमन्त्रीबारे हामीले के धारणा बनाउने? पछिल्लो पटक सरकार प्रमुख बन्नुअघि पनि दाहालले नयाँ दिल्लीका लागि ‘कम्फर्टेबल’ प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेकै हुन्। सरकार र सत्ता बाहिर बस्नुपर्दा हरेक पटक उनको छटपटी उदेकलाग्दो हुने गर्छ, र जे जसरी पनि फेरि सरकारमा छिर्न उनी उद्यत हुन्छन्, र त्यसका लागि नयाँ दिल्ली चाकरी उनको सबैभन्दा ठूलो दाउ हुने गर्छ।
आज सत्ता बाहिर रहनुपर्दाको छटपटी उनलाई असह्य भएको प्रस्ट छ, र अरू कुनै ढोका नखुल्दा उनले आफ्नो पूरै व्यक्तित्व तथा ‘करिअर’ लाई नरेन्द्र मोदी शरणम् गरेका छन्। उनले ‘लम्पसार कार्ड’ फालेका छन्, ताकि नयाँ दिल्लीको प्रधानमन्त्री निवास, साउथ ब्लक तथा बीजेपी हेडक्वार्टरले भनून्, “यह आदमी कपटी है, लेकिन हमारा कपटी है। अवसरवादी है, लेकिन अपना अवसरवादी है। ठीक समय पर काठमाडौं के सरकार गिराने के लिए इस का प्रयोग जरूर करना होगा।”
यस्तो सोच नयाँ दिल्लीमा पलाउला भन्ने पुष्पकमल दाहालको त आशै छ, प्रस्टै। तत्काल उनलाई चीनको सहयोग चाहिएको छैन, सत्तामा पुर्याउन, प्रम ओली त्यसैले बेइजिङ जान नहुने अभिव्यक्तिले चीन बेखुश हुन्छ भने ‘नो प्रोब्लम’।
‘वास्तविक लेन्डुप’
नेपालको इतिहास, भूगोल, जनताका हितलाई ध्यानमा राख्ने हो भने नयाँ दिल्लीको आडमा सत्ता हासिल गर्ने दाहालको योजना विफल पार्नै पर्छ। यति मात्र होइन, जनताको मत र समर्थन नभई भारतको डिजाइनमा प्रधानमन्त्री हुने चाहना राख्ने व्यक्ति त ‘वास्तविक लेन्डुप’ हुन् र उनको राजनीति अन्त्य हुनै पर्छ। न उनले तथाकथित ‘जनयुद्ध’ मच्चाएको र देशको १० वर्षको बर्बादीका लागि माफी मागेका छन्, न त योद्धा र कार्यकर्तालाई फर्जी दर्शनमा फसाएकामा, बाल सैन्य प्रयोग गरेकामा, संक्रमणकालीन न्यायलाई दशकभन्दा बढी झुलाएर पीडितलाई झन् बढी पीडा थोपरेकामा।
दाहालले भारतको विरोध गर्दै सशस्त्र द्वन्द्व शुरू गरे, पछि गएर भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई अनुनय गर्दै पत्र लेखे, वाजपेयीकै निर्देशनमा भारतीय गुप्तचर एजेन्सी र-अ र आईबीसँग उठबस गरे, अनि फेरि उल्टो उही भारतलाई ‘विदेशी प्रभु’ भन्दै गिज्याउने काम पनि गरे। आज आएर ‘कम्फर्टेबल’ हुन उनै ‘प्रभु’ को शरणमा पुगेका छन्।
यस क्रममा नयाँ दिल्ली के ठान्दो हो भने, कुनै वेला चीनको हुँदो हो, तर फरक पर्दैन, दाहाल आफ्नै मान्छे हो, नेपालको राजनीति कब्जामा लिन यिनलाई प्रयोग गर्ने हो। केही पहाडे-मधेशी नेता मार्फत कोशिश गरेकै हो, काठमाडौंका बौद्धिकमध्ये कतिलाई आफ्नो वकालत गर्न तानेकै हो, लोकमानसिंह कार्कीलाई अख्तियारको सिंहासनमा राखेकै हो, नेपाली ‘पोलिटी’ को कोण कोणमा छिरेकै हो, तर पूर्व प्रधानमन्त्री नै आफ्नो भएपछि के चाहियो!
दाहालले देश, समाज, आफ्नो दल, वर्तमान तथा पूर्व क्याडर र कार्यकर्ता, कसैका लागि पनि भारतीय सत्ताको चाकरी गरेका होइनन्। उनले भारतको उज्जैन गएर गेरुवस्त्र धारण गरी धर्मकर्म गर्न महाकालेश्वर मन्दिरमा ‘पूजा’ गरेका होइनन्। उनले राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टी रिझाएर सत्तामा ढलमली गरिरहन त्यसो गरेका हुन्। उनले त काठमाडौं, नेपाल देश, नेपाली जनताले भारतसामु झुक्नुपर्छ, नरेन्द्र मोदीको योजना अन्तर्गत चल्नुपर्छ, नेपालको सार्वभौमिकता देखावटी हो भनी प्रमाणित गर्न खोजेका हुन्।
देश र जनता, इतिहास र भूगोललाई यसरी बिर्सन सक्ने, सरकार प्रमुख बन्न मोदीको गोडा समाउने व्यक्तित्व फेरि कहिल्यै सरकार प्रमुख नबनून् भन्नु उग्र कुरा होइन।
उग्र-लचिलो मिडिया
यस्ता लम्पसार नेताको चरित्र जनतासामु पुर्याउन सम्पादकले सम्पादकीय लेख्नुपर्यो, विचार निर्माणकर्ताले विचार पोख्नुपर्यो, नागरिक अगुवाले अडान राख्नुपर्यो। तर दाहालले कूटनीतिक मर्यादालाई मिच्ने अभिव्यक्ति दिंदा पनि त्यसो गरेको देखिएन।
या त हाम्रा नेताज्यूहरू जस्तै हाम्रा थिंकट्यांक, अगुवा, प्राडा, भूराजनीतिकर्मी, सम्पादक सबै नयाँ दिल्लीसँग त्रस्त छन् या त उहाँहरू सबैलाई लागेको छ, कि दाहालको अभिव्यक्ति साधारण हो, अत्तालिहाल्नुपर्ने कुरा केही छैन। या त अति नै संवेदनशील बन्न पुगेको भूराजनीतिबारे उहाँहरूलाई हेक्का छैन, या उहाँहरू पनि नयाँ दिल्लीको प्रभावसामु नतमस्तक हुनुहुन्छ।
सुहासिनी हैदरको २६ नोभेम्बरको ट्वीटपछि पंक्तिकारलाई लाग्यो, यो त सजग पत्रकारका लागि गजबको खुराक मिल्यो, पूर्व प्रधानमन्त्रीको त्यस्तो बोलेकै छैन भन्ने अभिव्यक्तिसँग पूरै बाझिने गरी द हिन्दूकी पत्रकारले आफ्नो कुरा बताएकी थिइन्। तर पनि मनमा शंका थियो, माथि उल्लिखित कारण (कुराको गाम्भीर्य नबुझेर, या भारतप्रतिको लचिलोपनका कारण) यो विषय पत्रिका, अनलाइनका लागि ‘स्टोरी’ बन्दैन।
अनि पंक्तिकारले ट्वीट गर्यो, “पुष्पकमल दाहालप्रति उग्र-लचिला अधिकांश मिडियाले यो कुरा खोतल्नेछैनन्, हेरौं। देश-जनताका अहित कुरा गरेको त देखिन्छ। हेरौं।”
हेर्याहेर्यै भइयो! ‘कम्प्लिट मिडिया साइलेन्स’ पो देख्नुपर्यो। तर पनि आफूले देखेबुझेको कुरा नभनी त भएन। यति त भन्नै पर्छ, भारत या कुनै देशपरस्त व्यक्तिको राजनीति चल्नु हुँदैन।