रोग निको पार्ने धार्मिक गुरुको अपत्यारिलो दाबी, जनस्वास्थ्यमा खेलबाड
धार्मिक गुरुको ‘चिकित्सक र वैज्ञानिकले समाधान छैन’ भनेको बिरामीलाई समेत ठीक पार्ने दाबीलाई जनस्वास्थ्यविद् तथा सरोकारवालाले आधारहीन र भ्रामक भनेका छन्।
के तपाईंले मंसीर १४ गतेको नयाँ पत्रिकामा छापिएको ‘ज्याकेट विज्ञापन’ बारे ख्याल गर्नुभयो?
विज्ञापनमा आधुनिक चिकित्सा विज्ञानले समाधान गर्न नसकेका भयानक रोगहरूको निवारण गर्ने दाबी गरिएको छ। आफूलाई दैविक गुरु दाबी गर्ने ‘महाब्रह्मर्षि श्रीकुमार स्वामी’ ले सबै रोग निर्मूल पार्ने दाबी सहित विज्ञापन गरेका हुन्।
विज्ञापनमा काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा श्रीकुमार स्वामी उपस्थित हुने जनाइएको छ। यस कार्यक्रमको नाम ‘प्रभुकृपा दुःख निवारण समागम’ दिइएको छ। उनले हालसम्म विश्वभर ५० करोड मानिसलाई रोग, दुःख, कष्ट लगायत समस्याबाट मुक्त बनाएको पनि विज्ञापनमा अपत्यारिलो दाबी गरिएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायतले श्रीकुमार स्वामीलाई स्वागत गरेको पनि विज्ञापनमा छ। साथै, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग खिचिएको तस्वीर राखेर श्रीकुमार स्वामीको अलौकिकता देखेर राष्ट्रपति आश्चर्यचकित परेको दाबी गरिएको छ। विभिन्न मुलुकका राष्ट्र प्रमुखहरू श्रीकुमार स्वामीलाई भेट्न आतुर बन्दै निमन्त्रणा पठाइरहेको समेत दाबी गरिएको छ। श्रीकुमार भारतीय धार्मिक गुरु हुन्।
शक्तिमा भएका व्यक्तिहरूसँग भेट भएको तस्वीर छापेर उनको प्रचार गरिएको छ। मंसीर १५ गते अपराह्न ४ बजे कार्यक्रम हुने जनाइएको छ। तर यस कार्यक्रमबारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनभिज्ञता प्रकट गरेको छ। “हामीलाई त्यस्तो कार्यक्रम हुँदै छ भनेर कसैले जानकारी गराएको छैन,” सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले हिमालखबरसँग आश्चर्य मान्दै भने, “अप्रमाणित कुराहरूको दाबी गरेर भ्रम फैलाउन मिल्दैन। तपाईंले भनेपछि मैले सीडीओ साबलाई सोधेको थिएँ, उहाँले तुरुन्तै प्रहरीलाई निगरानी गर्न भन्नुभएको छ।”
प्रहरीलाई समेत अपत्यारिलो दाबी सहित हुन लागेको कार्यक्रमबारे थाहा छैन। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले त्यस्तो कार्यक्रम हुँदै छ भनेर कतैबाट सुरक्षा लगायत विषयमा जानकारी नआएको बताए। “मैले त बल्ल तपाईंले भनेपछि थाहा पाएको हुँ,” उनले भने।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी ‘वैज्ञानिक र चिकित्सकले समाधान छैन’ भनेको कुरालाई अमुक व्यक्तिले ‘समाधान गर्छु’ भन्दा विश्वास मान्ने आधार नभएको बताउँछन्। यस्तो विषयमा नियमनकारी निकायको ध्यान जानुपर्ने डा. मरासिनी बताउँछन्।
“बकाइदा प्रमाणपत्र पाएका विदेशी चिकित्सकले समेत शल्यक्रिया गर्न अनुमति लिनुपर्छ, यस्तो कार्यक्रमका लागि पक्कै अनुमति लिइएको होला,” डा. मरासिनी भन्छन्, “त्यस्तो चमत्कार गर्न सक्ने व्यक्ति भएको भए त उहाँलाई नेपालसम्म आउने फुर्सदै नहुनुपर्ने हो।”
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको ध्यान पुग्नुपर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। “धार्मिक आस्थाको कुरा आफ्नो ठाउँमा होला, तर कैयौं अन्जान मान्छेहरूको स्वास्थ्य र जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा वेलैमा राज्यको ध्यान पुगोस्,” सामाजिक सञ्जाल फेसबूकमा भट्टराईले लेखेका छन्, “नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको पनि ध्यानाकर्षण होस्।”
महाराजगन्जस्थित शिक्षण अस्पतालमा कार्यरत एक जना वरिष्ठ चिकित्सक प्रमाणविना रोग निको पार्छु भन्नेहरूसँग सावधान रहनुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, “लाइसेन्सप्राप्त चिकित्सकले अनुमति लिएर गरेका कतिपय उपचारमा त प्रश्न उठ्छ भने यस्तो आधारहीन हल्लाको पछि लाग्नु हुँदैन।”
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कुन्जाङ शेर्पा मानिसको स्वास्थ्य जस्तो संवेदनशील विषयमा आधारहीन दाबी गर्दै कार्यक्रम गर्नु ‘अति’ भएको बताउँछन्। “यसबारे हामीले समयमै सूचना पाएनौं वा हाम्रो पनि ध्यान पुगेनछ,” डा. शेर्पा भन्छन्, “अब हामी सल्लाह गरेर केही न केही कदम चाल्छौं। विज्ञानले निको पार्न नसकेको रोग निर्मूल पार्छु भन्नु अति हो।”