संगिनी गीत : प्रताडक परम्परा विरुद्ध महिलाको मन्द विद्रोह
संगिनी गीतमा महिलाका भोगाइ, समाजमा तिनको पराधीन परिस्थितिको वर्णनसँगै पुरुषसत्तात्मक संरचना र आचरणको भरपूर विरोध पाइन्छ।
त्यो माइती गाउँलाई नि कुहिरोले ढाक्यो
देखिन्न कुनै छेउ मेरो बाबा, देखिन्न कुनै छेउ
यस्तै नै भो त नि छोरीको कर्म
पाइनँ मैले भेउ मेरो बाबा, पाइनँ मैले भेउ।
यो एउटा उदाहरण हो संगिनी गीतको। जुन मलाई धनकुटाकी रमादेवी दाहालले सुनाएकी हुन्। खासगरी पूर्वी नेपाल र पूर्वोत्तर भारतमा ब्राह्मण-छेत्री महिलाले गाउने संगिनीले तीज गीतले जस्तै महिलाको व्यथा र समाजमा उनीहरूको स्थिति प्रतिविम्बन गरिरहेको हुन्छ। तर तीज गीत जस्तो चर्चामा छैन संगिनी।
“खाना खाइसकेपछि हामी रातभर ढिकी-जाँतो गर्थ्यौं। केही नबोली गर्ने भए त निद्रा लाग्थ्यो होला, त्यसैले गीत गाउँदै काम गर्थ्यौं,” रमादेवी भन्छिन्। विवाह, व्रतबन्ध जस्ता धार्मिक र सांस्कृतिक अवसरमा पनि संगिनी गाइन्छ। यसका केही विधि छन्। शुरूमा महिलाले गीतबाटै सबैलाई अभिवादन गर्दै देवीदेउतासँग संगिनी खेल्ने अनुमति माग्छन्-
पहिलीमा हामी नि नमस्कार गर्छौं
अतिथिजन बाबा र आमा
लौ हाम्रो नमस्कार।
यसै र ठाउँका नि देवी र देउता
तम रच्छे गरे हाम रच्छे होला
हामी खेल्छौं संगिनी।
अनि महिलाले शिरमा करुवा र त्यसमाथि बल्दो दियो राखेर बिस्तारै नाच्दै संगिनी गाउँछन्। यस्तो नाचमा सर्कसमा प्रस्तुति गर्ने अभ्यस्त खेलाडीकै जस्तो सन्तुलन चाहिने अनुमान हामी सहजै गर्न सक्छौं। तर संगिनी लोप हुँदै गएको अवस्थामा हामी हाम्रा आमा, दिदीबहिनीको यस्तो सुन्दर कला वास्तव जीवनमा सहजै देख्न पाउँदैनौं। न त यी गीत कुनै श्रव्यदृश्य माध्यममा पर्याप्त संगृहीत छन्।
शिरमा करुवामाथिको दियो नखस्ने गरी नाच्नुपर्ने हुनाले संगिनी निकै ढिलो लयमा गाइन्छ। लयमा खासै विविधता छैन, तर गायनमा क्षेत्रीय विविधता हुन सक्छ। गीतका विषय थुप्रै हुन्छन्- सामाजिक, धार्मिक, यात्रा विवरण, आदि। संगिनी खेलिसकेपछि पनि समापनका केही चरण गाइन्छन्-
आजलाई संगिनी यति नै खेल्यौं
सबैलाई नमस्कार है हेर
सबैलाई नमस्कार।
आजलाई संगिनी यति नै खेल्यौं
गल्तीमा भए माफमा मागी लौ बिदा दिनू है
लौ बिदा दिनू है।
धार्मिक-सांस्कृतिक अवसरमा गाइने संगिनीमा रामायण-महाभारत जस्ता हिन्दू ग्रन्थमा आधारित कथाहरू अनि हरिमल्ल राजा आदिका लोककथा पनि हुन्छन्।
संगिनी गायन नितान्त महिला परम्परा हो। महिलालाई सार्वजनिक रूपमा नाचगान गर्न निषेध जस्तै रहेको अवस्थामा महिला मात्र भेला भई संगिनी गाउने प्रचलन बसेको थियो। यसर्थ संगिनी गीतमा महिलाका भोगाइ, समाजमा तिनको पराधीन र जोखिमपूर्ण स्थानको वर्णन र दृष्टिकोण पाइन्छ। “संगिनी गीतमा छोटादेखि हप्ता दिनसम्म गाइने लामा लामा गाथा गाइन्छन्। रामायण होस् वा लोककथा, जुनसुकै कथामा महिलाका भावना र भोगाइले प्रमुख स्थान लिएको पाइन्छ,” संगिनी गीतबारे विद्यावारिधि शोध गरेका कुलराज निरौला भन्छन्।
संगिनी गीतमा पुरुषसत्तात्मक सामाजिक संरचना र आचरणको भरपूर विरोध पाइन्छ। नेपाली समाज, सञ्चार, गीत र कलाको मूलधारमा अक्सर पुरुषसत्तालाई ‘रोमान्टिसाइज’ गर्ने प्रवृत्ति छ। जस्तो- विगतमा सम्बन्धविच्छेद हुँदैनथे, किनकि महिला आफ्नो भूमिकाप्रति खुशी थिए र आजका महिलाले जस्तो गुनासो र ‘आन्दोलन’ गर्दैनथे, आदि। तर संगिनी गीति परम्परा नियाल्दा त्यहाँ अनन्तकालदेखि महिलाले पुरुषसत्ताको विरोध गरिआएको पाइन्छ, विरोधको सम्बोधन नभएको पीडा पनि पाइन्छ। “महिलाले सधैं भेदभावको विरोध गर्दै आएका छन्, तर महिलाको कुरा कसैले नसुनेर समस्या भयो,” रमादेवी दाहाल भन्छिन्।
पुरुषसत्ताको विरोध
पुरुषसत्ता विभिन्न अंशले बनेको हुन्छ। तीमध्ये एक हो, प्याट्रिलोकालिटी अर्थात् पुरुषको स्थानमा बस्नु। थुप्रै संगिनी गीतले यो परम्पराको विरोध गरेको पाइन्छ। ताप्लेजुङकी नैनकला अधिकारीले गाएको यो गीतमा विवाहिता महिलाले पतिको घरमा अनुभव गर्ने एक्लोपना र नियन्त्रणको वर्णन छ-
बाँसैको झ्याङकी नि पहेंली चरी
तिमीले चरी नि कठैबरी
के ल्यायौ समाचार
तमरे भैयैको जन्मदिन अरे
निम्तैमा जाऊ अरे नि चेली
निम्तैमा जाऊ अरे
निम्तैमा जाऊँ भने सौताको खटन
नजाऊँ पो भने नि त्यो मेरो भैयै
माइतीकै पियारो।
यस गीतमा महिलाले भाइको छैठी, न्वारन, पास्नी, विवाहको निम्तो पाइरहन्छिन्, तर कुनैमा जान पाउँदिनन्। सामाजिक रूपमा महिलालाई एक्ल्याइनु, उनलाई माया गर्ने र सहयोग गर्ने मानिसको साथ-सहाराबाट वञ्चित गरिनुलाई आज घरेलु हिंसाको एक प्रकार मानिन्छ। तर विगतमा र अहिले पनि कतिपय अवस्थामा महिलालाई यसै गरी एक्ल्याइन्छ र अन्जान मानिसको बीचमा लगेर छोडिन्छ।
अर्को एउटा गीतमा पति ‘परदेशी’ भई पत्नीलाई घरपरिवारको जिम्मा लगाएर मनोसामाजिक तनावको भारी बोकाएको वर्णन पाइन्छ जुन सुनीता भट्टराईले पूर्वी नेपालका लोकगीतहरू पुस्तकमा संकलन गरेकी छन्-
कागतु जस्ती नि पातली धनै
श्री सुर्जे जस्ती नि पातली धनै
आज किन अँध्यारी।
तमरे बुबा-आमाले खै गर्नुभयो
म यसै अँध्यारी है राजै
म यसै अँध्यारी।
कि जान्छु माइत नि कि लानु साथै
बस्तिनँ घरैमा है राजै
बस्तिनँ घरैमा।
हमरे बुबा-आमाको त्यही बस्यो बानी
सहीमा सही बस मेरै धनै
नभए अँध्यारी।
बाह्रै र वर्षको परदेशी म त
घर खाए तिम्रो नाम चल्ने मेरो
बस है घरैमा।
यो गीतकी पात्र पतिको घरमा, गाली गर्ने सासू र ससुरासँग बस्न चाहँदिनन्। पतिसँगै वा आफ्ना बुबाआमाको घरमा जाने इच्छा व्यक्त गर्छिन्। तर बुबाआमा उनलाई राख्न चाहँदैनन्।
आमाले देको नि साटनको चोलो
मायैले फटाइनँ है बाबा
मायैले फटाइनँ
दाजु र भाइ नि घरैमा अट्छन्
मै चेली अटाइनँ है बाबा
मै चेली अटाइनँ।
गीतको अन्त्यमा उनी गाली सहेर पतिकै घरमा बस्न बाध्य हुन्छिन्। किन त? यसको उत्तर पनि महिलाले गीतमै दिने गरेका छन्। पुरुषसत्ताको अर्को महत्त्वपूर्ण अंश हो, प्याट्रिलिनिएज अर्थात् पिताबाट पुत्रमा सम्पत्ति हस्तान्तरण हुनु। यसका कारण महिलासँग स्वतन्त्र रूपमा जीवन बिताउने आर्थिक स्रोत हुँदैन। रमादेवीले गाएको गीतको यो अंशले प्रस्ट्याउँछ-
छुपुमा छुपु धानैमा रोप्नु
आलीमा मुगीमास
जति भाइ छोरा, त्यतिलाई अंश
छोरीलाई बनिबास।
सम्पत्ति माग्दा मीठो वचन बोलेर पुरुष पन्छिने गरेको व्यथा पनि महिलाले संगिनी गीतमा पोखेका छन्। यसको अर्थ स्पष्ट छ, पुरुषको वचनप्रति उनीहरूलाई पटक्कै भरोसा छैन। सिक्किमका महिलाले गाएर यूट्यूबमा राखेको एउटा गीत यस्तो छ-
जेठा र बाबाको धुरीमा हेर्दा
नौवै जोर परेवी घुरुमा घुरुमा
एकै जोर परेवी दाइजो देऊ बाबा
घुरुमा घुरु परेवी घुर्दा
मै धन्दा छिनौंला।
परेवी दाइजो त के माग्छ्यौ चेली
लैजाऊ है हात्ती गोठ
परेवी दाइजो त नदिने बाबा
के देलाऊ हात्ती गोठ।
गीतमा महिला पात्रले क्रमशः माहिला, साहिंला बा आदिलाई परेवी माग्दै जाँदा उनीहरू क्रमशः भेडीगोठ, गाईगोठ आदिको आश देखाएर पन्छिन्छन्, परेवी चाहिं कसैले दिंदैन। उल्टै आफ्नो भएको थोरै सम्पत्ति पनि पुरुषको हात परेपछि मासिने डर महिलालाई सधैं रहन्छ। मीरा राणाले गाएको र सम्भवतः सबैभन्दा प्रसिद्ध संगिनी गीत छ एउटा-
कोशीको किनारमा के फूल फुल्यो
सयपत्री फूलै र फुल्यो
किनारै उज्यालो
एक थुंगा टिपेर शिवजीलाई चढाऊँ
एक थुंगा माथैमा लगाऊँ
मुहारै उज्यालो।
बाबाले दिएको कुसुमे रुमाल
धुँदैमा फाटिगो संगी, धुँदैमा फाटिगो
आमाले दिएको कानको सुन
दुई दिनमा मासिगो संगी, दुई दिनमा मासिगो।
महिलालाई जग्गा-धन, संकटका वेला जाने ठाउँ, आफूलाई माया गर्ने मानिसको साथ केही पनि नभएको सामाजिक अवस्था यी गीतमा झल्किन्छ। त्यस्तो स्थितिमा महिला कसरी आफ्नो प्रियजनको खबर चाहन्छिन्, त्यसबाट वञ्चित हुन्छिन् र त्यो कुराले उनलाई कति दुःखी बनाउँछ भन्ने कुरा फिक्कलकी साहित्यकार शान्ता गौतमले संकलन गरेको गीतमा पाइन्छ-
असार मासको उर्लिंदो भेल
कसरी आयौ हे मेरा भाइ
बा-आमा कस्ता छन्
असार मासको उर्लिंदो भेलमा
भेटघाट गर्न आएको दिदी
बा आमा निका छन्
सधैं त भाइ नि शिरैमा टोपी
आज त खोइ छैन मेरा भाइ
बा आमा कस्ता छन्?
भाइमा दिदीले मृत्युशोक जनाउने थुप्रै लक्षण देखिरहेकी हुन्छिन्। जस्तै- टोपी नलाउनु, एकसरो दौरा लाउनु, कपाल खौरिएको हुनु, छाता नओढ्नु, खाटमा बस्न नमान्नु आदि। दिदीले यी सबैबारे प्रश्न सोध्दै जाँदा भाइ चाहिं एकपछि अर्को बहाना बनाइरहन्छन्। तर अन्तिममा सत्य बताउँछन्-
बाबा र खसेको तीन महीना भयो
आमा त दुई महीना मेरी दिदी
भै गए परलोक
नरोऊ दिदी नि ती आँशु पुछ
तिम्रो त माइती म छँदै छु नि
मेरो पो को छ र
आमाले लाएकी शिरैकी फूल
त्यो पनि तिमीलाई मेरी दिदी
त्यो पनि तिमीलाई
शिरैकी फूल नि मै सकी लाउँला
बा-आमा काँ पाउँला मेरा भाइ
बा-आमा काँ पाउँला?
बालविवाहको विरोध
थुप्रै संगिनी गीतले बालविवाहको सशक्त विरोध गरेका छन्। रामजानकी कीर्तन मण्डलीले गाएको ‘जानुका’ को यो गीतमा महिलाले विवाहको निर्णयमा आफ्नो ‘दिलखुश’ नहुने कुरा व्यक्त गर्छिन्-
जानुका चेली नि ज्यू मेरा बाबा
तिमीलाई माग्न ऋषिज्यू आए
दिनु कि नदिनु
सिन्दूर मैले नि लाएकी छैन
दिलखुश मैले पाएकी छैन
जे सुकै गर है बाबा
जे सुकै जे सुकै नभन चेली
भोलि नै आउँछन् नौमती बाजा
दिएछौ भनौली
जाऊ न जाऊ जानुका चेली
पराईका घरै हिंड है
पराईका घरैमा।
त्यस्तै विरोधको अर्को गीत तोरण कुमारी, गंगा निरौला र मञ्जु नेपालले गाएका छन्। यही गीत मोरङको बोक्रेका कृष्णकुमारी, डिल्लीमाया र धर्मशीला चम्लागाईंले गाएका छन्। उमेर नपुगेकी, बुबाआमासँग बसिरहेकी बालिकालाई पतिले घरमा काम गर्नका लागि लिन गएपछि कथा शुरू हुन्छ-
परबाट आउने नि कालो दौरा लाउने
मूलबाटो छोडी चोरबाटो लाग्ने
यही घरका पाहुना
दिदीलाई लिन नि भिनाजु आए
गुँदरी बिछ्याइदेऊ है हेर
गुँदरी बिछ्याइदेऊ
गुँदरी बिछ्याउने पाहुना होइनन्
गलैंचै बिछ्याइदेऊ
के हुकुम भयो नि के मर्जी भयो
के कामले बोलाको है जुवाइँ
अर्थोक काम ता नि केही पनि होइन
अहिलेका वर्ष नि भाइको बिहे
मैतालु पठाइदेऊ।
यस गीतमा लैंगिक विभेदी सामाजिक व्यवस्था स्पष्ट देखिन्छ। जहाँ ज्वाइँलाई गुन्द्रीले नभएर गलैंचा बिछ्याउनुपर्छ। उनको बोली ‘हुकुम’ र ‘मर्जी’ हुन्छ। गीतको एउटा संस्करणमा नन्द-भाउजूको यस्तो संवाद भेटिन्छ-
जैरेको सिन्दूर पहिरेकी थिएँ
लिन पो आए कि मेरी भाउजू,
लिन पो आए कि?
‘जैरे’ नै भने पनि यी नन्दले पतिको ‘हुकुम’ मान्नै पर्ने परिबन्ध टार्न नसक्ने भाव यति शब्दबाटै बुझिन्छ। बाबुआमाले अनेक बहाना गर्दै छोरी नपठाउन खोज्छन्, तर ज्वाइँको ढिपीसामु उनीहरूको केही लाग्दैन।
सामु छ शुक्र नि यो जोला वर्ष
पठाउनै हुँदैन है जुवाइँ
पठाउनै हुँदैन
नपठाइदिए नि हजुरकी छोरी
म फर्की आउँदिनँ सासू आमा
म फर्की आउँदिनँ
हामरे जुवाइँको नसक्नु ढिपी
नपठाई भएन है हेर
नपठाई भएन
अर्काको धन नि नराख्नू भन्छन्
माइतीघर चेलीलाई मेरी आमा
माइतीघर चेलीलाई।
त्यसपछि छोरी (तिलरूपा)ले हिंड्ने तयारी गरेको लामो वर्णन गीतमा पाइन्छ। उनले कपाल कोर्न र गहना लगाउन नचाहेको, कोसेली तयार गरिएको, डोले-सोले तयार भएको, बुबाआमाले राति पाटीमा बास नबस्न, मामा वा फुपूको घरमा बस्न भनेको प्रसंगपछि तिलरूपा र उनका पति हिंड्छन्-
तियाँ र देखि नि जाँदा र जाँदा
बाटैमा रात परो है हेर
बाटैमा रात परो
पाटीको बास नि नबस्नू अरे
तल्लो बाटो गए नि फुपूको घर छ
नबसौं पाटीमा
माथ्लो बाटो गए नि मामाको घर छ
नबसौं पाटीमा
मामा र फुपू नि जान्दौंन हामी
बास बस्ने पाटीमा है हेर
बास बस्ने पाटीमा
हामरे स्वामीको नसक्नु ढिपी
पाइएन बस्न नि मामाको घरमा
पाइएन बसन
पाटीको बास नि बसे है पछि
झिंगटी खसो नि मुटुमै पसो
भइगइन् खुत्रुक्कै।
महिलाको प्रेम- आमा
संगिनी गीतमा अक्सर परिवारका सदस्यहरू नन्द-भाउजू, जेठानी-देउरानी, आमा-छोरी, बाबा-छोरी, दिदी-भाइ आदिको संवाद पाइन्छ। संगी, आमा वा बाबालाई पनि सम्बोधन गरिएको हुन सक्छ। यी सबैमध्ये गीतमा आमा पात्रको विशेष स्थान छ- महिलाको माया, सम्झना, न्यास्रो सबैमा आमा जोडिएकी हुन्छिन्। आमालाई माया, प्रेमकी खानीका रूपमा चित्रण गरिएको हुन्छ। महिलाहरू भेट्न पनि आमालाई नै चाहन्छन्। जस्तै, सुनीता भट्टराईले संकलन गरेको यो गीत-
कोरिदेऊ आमा नि बाटिदेऊ आमा
फूल लाइदेऊ सिउँदैमा है आमा
फूल लाइदेऊ सिउँदैमा
न्याउली बास्दा नि नरुनू आमा
म आउँछु हिउँदैमा है आमा
म आउँछु हिउँदैमा।
महिलाहरू सामीप्य पनि आमाकै चाहन्छन् र हेरविचार, प्रेम पनि आमालाई नै गर्छन्। दिदीबहिनी समूहले गाएको यो गीत-
आँगनै मुनिको तिरतिरे धारा
म कपाल नुहाउँछु संगी, म कपाल नुहाउँछु
आमा र ज्यूको नि दूधैको भारा
गुणैले चुकाउँछु संगी, गुणैले चुकाउँछु।
यति प्रेम कुनै गीतमा बाबाले पाउन पनि सक्छन्। जस्तै-
बाबाका काखैमा बसुँला भन्थें
सुख र दुःख कहुँला भन्थें
झमक्कै पर्यो रात मेरा बाबा
झमक्कै पयो रात।
वा यति माया बाबाले नपाउन पनि सक्छन्। बाबासँग महिलाको धेरै गुनासो पनि छ- टाढा बिहे गरिदिएकामा, घर-केटो नहेरी बिहे गरिदिएकामा र वास्ता नगरेकामा। दिदी-बहिनी समूहले नै गाएको संगिनी गीतले यसलाई प्रस्ट्याउँछ-
बरै रोपें नि पीपलै रोपें
सरोस् है भनेर संगी, सरोस् है भनेर
सात डाँडा काटी नि दि हाल्यौ बाबा
मरोस् है भनेर संगी, मरोस् है भनेर।
हालको अवस्था
संगिनी गीत लोपोन्मुख अवस्थामा छन्। मेरो व्यक्तिगत अनुभवमा आफ्नो परिवारभित्र एकचोटि पनि यी गीत सुन्ने अवसर पाएकी छैन, सिक्ने त परै जाओस्। र, यो प्रतिनिधि अवस्था हो। यी गीत आधुनिक, पप वा लोक जुनसुकै विधामा निकै कम प्रस्तुत भएका छन्। यसमा विभिन्न कारण हुन सक्छन्। एउटा त विकास र शिक्षाको अवधारणासँगै महिलालाई गीतसंगीत र नाचगान आदिबाट टाढिन भनियो। त्यसैले नेपालमा अन्यत्रभन्दा छिटै बाटोघाटो पुगेको र महिलाले छिटै शिक्षित हुने अवसर पाएको पूर्वी भेगमा तुलनात्मक रूपमा शिक्षित भनिएका ब्राह्मण महिलाकै परम्परा धरापमा छ। अर्को, रातभरि ढिकी-जाँतो गर्ने जस्ता सामूहिक गतिविधि आज छैनन् जहाँ संगिनी गायन-श्रवण, नयाँ पुस्तालाई हस्तान्तरण र नयाँ सिर्जना पनि हुन्थ्यो। विवाह, व्रतबन्ध आदिमा पनि महिलाहरू सँगै बसेर गीत गाउने अवसर आजकल कमै मिल्छ। संगिनी गीतको लय निकै ढिलो हुने भएकाले आधुनिक बजारमा व्यवसायीकरणका लागि पनि अनुपयुक्त मानिएको हुन सक्छ।
आधुनिक विधा जस्तो आकर्षक नसुनिए पनि संगिनी र यस्ता महिला परम्पराका गीत निकै महत्त्वपूर्ण छन्। विगतका महिलाले जीवन र जगत्लाई कसरी हेर्थे र वर्तमानमा ती दृष्टिकोणको सान्दर्भिकता बुझ्न हामीले धरापमा परेका यी महिला परम्परा खोतल्नुपर्ने हुन्छ। हाम्रा आमाहरूका भोगाइ, दृष्टिकोण अनि महिलाका नजरबाट हाम्रो समाज र परिवेशको चित्रण हामी अन्त कतै पाउँदैनौं- न कुनै लोकप्रिय फिल्मी वा आधुनिक गीतमा न त कुनै लिखित साहित्यमा।
संगिनीको प्रचलन घट्दै जाँदा महिला परम्परामा पुस्तौंदेखि संगृहीत अनुभवहरू अनि समृद्ध लोकसाहित्यको भण्डार हामी गुमाउँदै छौं। समाजमा जरा गाडेर बसेको कुनै पनि कुप्रवृत्तिको विरोध गर्न सबैका अनुभव एकत्रित गरेर साझा धारणा बनाउनुपर्ने हुन्छ। त्यसो गर्नका लागि मानिसहरू भेटेर संगठित हुनुपर्छ। विगतमा ‘पराईघर’ जानुपर्ने र महिलासँगै जोखिमपूर्ण सहकार्य गर्न बाध्य महिलाहरू संगठित हुनै गाह्रो थियो। त्यसैले जे हुन्थ्यो, संगिनीमै हुन्थ्यो। तर अहिले पनि महिलाका अनुभव र अभिव्यक्तिहरू उसै गरी बिलाउँछन्, जसरी संगिनी गायन बिलाउँदै छ। किनकि जुनसुकै सञ्चारमाध्यममा महिलाको पहुँच कम छ। पुरुषका भोगाइ र दृष्टिकोण हावी छन् जसले पुरुषसत्तात्मक विगतलाई ‘रोमान्टिसाइज’ गरिरहेको हुन्छ।
लोकगाथा
संगिनी गीतमा रामायण, महाभारतका गाथासँगै विभिन्न लोककथा पाइन्छन्। संगिनीमा रहेका रामायण र महाभारतका कथा वाल्मीकि र व्यासका कथाभन्दा फरक छन्। यिनमा लोकोक्ति र लोकजीवनशैली पाइन्छ। नितान्त महिला परम्परामा महिलाकै व्यथालाई प्राथमिकता दिइएको छ, जंगलमा सीताविलापको निकै लामो र कारुणिक खण्ड छ। महिलाले रामायणको पुरुषवादी व्याख्यामाथि पनि यही गीत मार्फत प्रश्न उठाएका छन्। कुलराज निरौलाले आफ्नो शोधपत्रमा संकलन गरे अनुसार रामायणमा अन्तिममा रामले लव-कुशलाई भेटेर उनीहरूको परिचय माग्दा उनीहरू आमालाई बाबाका बारेमा सोध्छन्। सीताले भन्छिन्, “तिनै पापी हुन् तिम्रा बाबा, कसरी भनौं म !”
संगिनीमा प्राचीन लोककथा पनि पाइन्छन्। जस्तै, मुहान नचलेर एउटी रानीलाई भोग दिनुपरेको कथा। सृष्टि रोकिएको अवस्थामा एक मानिसको भोग दिनुपर्ने कथा नेपालकै विभिन्न संकलन र अन्यत्र पनि प्रचलित छ। तर संगिनीको हकमा यसको कथा महिलाको मातृत्वमा केन्द्रित छ। सबै जना घर फर्किसकेपछि बालकले आमा खोजेको निकै लामो प्रसंग यो गीतमा छ, जुन कुलराजले नै संकलन गरेका हुन्-
तिहाँ र देखि नि हिंडेका बालै
खोइ मेरी आमा चाइँ।
नानीकी आमा आउँदै छन् बाबा
नुहाउँदै छन् धारामा।
तिहाँ र देखि नि रोपाहार रानी आए
आऊ चेला ओर जाऊ मेरो बाबा
दोपरे लेऊ खाऊ।
हामरे आमा नदेखेसम्म
म घरै जाँदिनँ।
तिहाँ र देखि नि हाम्रो बुबा आए
खोइ मेरी आमा चाइँ।
यो फोक्सो सुकोस् है यो घाँटी सुकोस्
यो फोक्सो सुकोस् है यो घाँटी सुकोस्
म घरै जाँदिनँ।
अन्तिममा, राजाले नरबलि दिनु गल्ती भएको अनुभव गरेपछि यो कथाले पनि विरोधको रूप लिन्छ।
यस्तो कथा आधुनिक समयमा निकै बीभत्स र विक्षिप्त पार्ने मानिन सक्छ। तर यस्ता कथाका विदेशी संस्करण नेपालको नयाँ पुस्ताले अंग्रेजी माध्यममा ग्रहण गरिरहेकै छ- चाहे बालिका मारेर मुटु-कलेजो ल्याउने आदेश दिइएको ‘स्नो ह्वाइट’ होस् वा बूढी जादूगरलाई जिउँदै अँगेनामा हालेर ढोका बन्द गरिदिएको ‘ह्यान्सेल एन्ड ग्रेटेल’। डिज्नी लगायत माध्यमबाट नयाँ पुस्ताले यस्ता कथा कण्ठाग्र गरेका छन्। नेपालको परिवेश पनि दर्शाउने हाम्रा लोककथा चाहिं उपेक्षित छन्।
संगिनी गीतको लोकगाथा झल्काउने हरिमल्ल राजाको प्रसंग पनि छुटाउन सकिंदैन। ‘अञ्जान पति’ कथाको सन्दर्भमा यस्तो गीत छ-
कानचिरे जोगी आँगनमा बसे बास देऊ भनेर
कानचिरे जोगीलाई के चाहियो बास
जुन बाटो आयौ त्यही बाटो जानु
मरिद छैनन् है यो घरमा हामी दिन्नौं हे जोगी बास
सिकुवा कुनैमा एकै रात बास बस्न देऊ हे रानी
खत तिमीलाई पर्दैन
आँगनको छेउ नपाउने फुस्रो सिकुवा ताक्दै छ
भित्रको तिम्रो मूल ओछ्यान देऊ
कोरी र बाटी गरेर बस है
ओर्ल न ओर्ल हे मेरी बज्यै
डरलाग्दो जोगी कानचिरे अहिले
मूल ओछ्यान ताक्दै छ।
एउटी रानीको घर बाहिर एउटा जोगी आएर वास माग्छन्। उनी साधारण जोगी होइनन्, ती रानीकै पति हुन्, भेष बदलेर आएका। संगिनी गीतकै विभिन्न संस्करणमा यी रानीको नाम भवमल्ली, बिमलु, बिरबल्दी, दाइमाता, धनमत्ता आदि लेखिएको छ। पतिले भेष बदलेर पत्नीलाई भेट्न आएको कथा अन्य साहित्यमा पनि प्रचलित छ- नेपालकै नाटक मुकुन्द इन्दिरा, ग्रीक एपिकहरू इलियाड र ओडिसी, रामायणकै लक्ष्मण र उर्मिलाको प्रसंग अनि अरू थुप्रै नेपाली लोकगीतमा।
धेरैजसो पुरुषले सिर्जना गरिआएको लिखित साहित्यमा यस्तो कथा पत्नीको ‘सतीत्व’ को परीक्षामा केन्द्रित देखिन्छ। संगिनी गीत भने त्यसको ठीक विपरीत छ।
उदाहरणका लागि मुकुन्द इन्दिरामा इन्दिराले भेष बदलेर आउनेको प्रेमप्रस्ताव अस्वीकार गर्दै आफ्नै पति मुकुन्दप्रति यस्तो प्रेम दर्शाएपछि बल्ल परीक्षामा उत्तीर्ण हुन्छिन्-
देशभक्ति त मर्दैन चुत्थै देश भए पनि
पतिभक्ति त मर्दैन पापी पति भए पनि।
यो प्रवृत्ति नेपाली साहित्यमा मात्र नभएर अन्यत्र पनि देखिएको छ। ग्रीक काव्य इलियाड र ओडिसीमा पनि यस्ता दुई कथा छन्। इलियाडमा बीस वर्षपछि घर फर्कंदा पत्नी क्लाइटेम्नेस्ट्राको नयाँ प्रेमी रहेको थाहा पाउने बित्तिकै अगामेम्ननले पत्नीको हत्या गर्छन्। ओडिसीमा ओडिसियस पत्नी पेनेलपीका सामु मगन्तेको भेषमा आउँदा पेनेलपीले त्यो व्यक्ति आफ्नो पति रहे/नरहेको पत्ता लगाउन उसको परीक्षा लिन्छिन्। ओडिसियसले पेनेलपीको परीक्षा लिने क्रममा उनलाई प्रेमप्रस्ताव राख्ने मानिस र उनका सबै सुसारेको हत्या गर्छन्।
समग्रमा, लिखित साहित्यमा पाइएका यी कथाले नायिकामाथि दुःसाध्य परीक्षा लादेका छन्। त्यसपछि आदर्श नारीको मात्र प्रशंसा गर्दै अरू सबैलाई लाञ्छना लगाउने गरेका छन्। त्यसको विपरीत संगिनीमा त्यही कथा भए पनि पत्नीको परीक्षामा जोड दिइएको छैन। यहाँ समस्याको समाधान सजिलै हुन्छ-
त्यहाँ र देखि ओर्लिन् नि आमै
निहाली हेरिन् कानचिरे साधुलाई
मुसुक्क हाँसे हरिमल्ल राजा आमालाई देखेर
गहका आँसु तप र तपी चुहुन लागे नि
अचम्बै भैगयो
शिर है देखि पावै र सम्म हेरिन् नि हरि मल्ल
सुनमा सुन हे मेरी वधु खसम आएछन् तिम्रो।
यो गीतको मुख्य जोड पत्नीको परीक्षा लिनुमा नभएर विवाह लगत्तै हरिमल्ल पढ्न जानुमा छ। शुरूमै २० (वा २२/२५) वर्षीय हरिमल्लले ५ वर्षीया भवमल्लीलाई विवाह गरेपछि उनी ग्लानिले भरिएको प्रसंग आउँछ।
बीसै र वर्षका हरिमल्ल राजा
पाँचै र वर्षकी बिरबल्दी रानी
ती दुईको विवा भो
सिह्रानमा लाउँदा नि सिह्राने हुन्छिन्
पाउमा राख्दा पाउमै बस्छिन्
के पापै भोगेछु
न आमै मैले नि हातैमा लिऊँ
न आमै मैले काखैमा लिऊँ
माइती देश पठाइदेऊ हे मेरी आमै।
गीतले वयस्क पुरुषको पत्नी बन्न यी बालिका सुहाउनेछैनन् भन्ने तर्क गरेको छ। यहाँ ‘के पापै भोगेछु’ भन्ने शब्द हरिमल्लले बोले पनि पूरै गीत महिलाको सिर्जना हो। महिलाहरूले यसरी कथामा आदर्श पुरुषको चित्रण गर्दै त्यस्तै पुरुषको इच्छा व्यक्त गरेका छन्।
त्यसपछि हरिमल्लकी आमाले उनलाई केही वर्ष पढ्न पठाउँछिन् ताकि बुहारीको उमेर पुगेपछि मात्र उनीहरू सँगै होऊन्।
न माइती यसका न छन् है मावली
यो गर्भे टुहुरी हरि मल्ल राजै
कहाँ जा भन्दिनु
बाहारै बीस नि भरिया लैजाऊ
हीरा र मोती सुन चाँदी लैजाऊ
भलो वस्तु कपडा अन्नपात लैजाऊ
गाई र भैंसी हात्ती घोडा लैजाऊ
बाहारै वर्ष पढेर बस
पोस्तक बाँच्ने पण्डित बन
घर फर्क हरि मल्ल राजै
बैंसको बोझले नुहेकी होलिन्
वर्ष सत्रकी भवमल्ली रानी
फिरेर आउँदा सामरत हुन्छिन्
तिम्रैसँग गरिखान्छिन्।
यसरी महिलाले आफूलाई उपलब्ध अभिव्यक्तिका थोरै मञ्चमध्ये एक अर्थात् भजनका माध्यमबाट बालविवाहको विरोध गरेका छन्।
मुकुन्द र इन्दिराको वा ओडिसियस र पेनेलपीको भन्दा हरिमल्ल र उनकी पत्नीको मिलन निकै फरक छ। घर फर्किंदै गर्दा हरिमल्ललाई घरको सम्झना आइरहन्छ र उनले देखेका कतिपय दृश्य उनकै जीवनका रूपक जस्ता लाग्छन्। उनी आफूले रोपेर गएको सुन्तला घारी बगैंचा भएको देख्छन्- प्रकृतिमा कुनै कुरा परिपक्व हुन वा फल लाग्न समय लाग्ने विम्ब यहाँ पाइन्छ। हरिमल्ल र उनकी पत्नीको मिलन भएपछि कथाको सुखान्त हुन्छ।
बाह्रै र वर्षको परदेशी म ता
सिदा गर्छु भन्छ्यौ, बिदा गर्छु भन्छ्यौ
तिम्रै ढोका धर्छु म
दौरा र सुरुवाल फाटिमा गए
के भनी चिनुँ र
बाह्रै र वर्षका परदेशी हजुरलाई
के भनी चिनुँ र
भेटेर पियारी हरिमल्ल राजा
खुशीले पागल छन् हेर आज
खुशीले पागल छन्।
यो कथा एउटै घटनालाई विभिन्न सर्जकले कसरी प्रस्तुत गर्छन् र महिला सिर्जनामा महिला दृष्टिकोण कसरी प्रस्तुत हुन्छ भन्ने कुराको उदाहरण पनि हो।