एनपीएलको चौकामा दुर्गमका विद्यार्थीलाई चार शैक्षिक सामग्री
नेपाल प्रिमियर लिग (एनपीएल)मा लाग्ने हरेक चौकामा एनसेल फाउन्डेशनले दुर्गमका सामुदायिक विद्यालयका विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने भएको छ।
एनपीएल मंसीर १५ गतेदेखि शुरू हुँदै छ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। हरेक खेलमा प्रहार हुने हरेक चौकाका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने एनसेल फाउन्डेशनले घोषणा गरेको छ।
विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यो पहल गरिएको एनसेलकी कर्पोरेट कम्युनिकेशन र सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले बताइन्। “यो पहल मार्फत क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम, विपन्न क्षेत्रका विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं,” खड्काले भनिन्।
एनसेलले विद्यार्थीलाई प्रदान गर्ने शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुने जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान), स्थानीय सरकार र सरोकारवालाको समन्वयमा शैक्षिक सामग्री वितरण गरिनेछ।
यसअघि एनपीएलका लागि क्यानले एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ। यस साझेदारी अन्तर्गत एनपीएलको ‘पावर्ड बाई’ पार्टनरका रूपमा एनसेल रहेको छ।