गीत र मानव हित नै आनीको संसार
संगीत र समाजसेवामा रमाएकी आनी छोइङ डोल्मा पछिल्लो समय मानव सेवा आश्रमसँग सहकार्य गरी दीनदु:खी र असहायको घाउमा मल्हम लगाइरहेकी छन्।
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार।
आध्यात्मिक गायिकाका रूपमा परिचित छिन्, आनी छोइङ डोल्मा। गीतमा उनले मानवतादेखि करुणा, मानव कर्तव्य र वैराग्यसम्मका भाव जादूमय मधुर स्वरमा गाएकी छिन्। संगीतमा आत्मसन्तुष्टि भेट्छिन् उनी। तर उनको सन्तुष्टिको आयतन यसमा मात्र सीमित छैन।
संगीत बाहेक उनको अर्को पनि पाटो छ, सामाजिक सेवा। बुद्धकी यी अनुयायी समाजसेवालाई जीवन सार्थक बनाउने मानवीय धर्म मान्छिन्। आफ्नो नामको संस्था दी आनी फाउन्डेशन मार्फत उनले त्यस्तो धर्म अर्थात् सेवा गर्दै आएकी छिन्। उनी भन्छिन्, “हेर्दा मैले दिएको जस्तो देखिन्छ, तर समाजसेवाबाट मैले अथाह खुशी र सन्तुष्टि पाइरहेकी छु।”
पहिल्यैदेखि सामाजिक काममा जोडिंदै आएकी आनीको जीवनमा केही वर्षयता आत्मसन्तुष्टिको स्रोत बनेर जोडिएको छ, परोपकारी संस्था ‘मानव सेवा आश्रम’।
आनीको संस्था दी आनी फाउन्डेशनले आश्रमसँग सहकार्य गरेर सडक मानवको उद्धार, संरक्षण र स्याहार गर्दै आएको छ। खुला आकाशमुनि कष्टकर रूपमा बस्दै आएका असहाय, अपांगता भएका, मनोरोगी आदिको सहारा बनिरहेको आश्रमलाई उनले आर्थिक सहयोग गर्दै आएकी छन्।
करुणाभावले जन्माएको सेवा
आफ्नो बहुचर्चित गीतले भने झैं आनी छोइङ यो संसारलाई फूलको आँखाले हेर्छिन्। यो संसार सुन्दर देख्छिन्। तर यही संसारमा दु:ख, पीडा र वेदना पनि छन्। यिनलाई उनी सिर्जनशीलताको मुहान र करुणाको स्रोत मान्छिन्। “दु:ख र पीडा छन्, त्यसैले त मानवमा निहित करुणाको उजागर हुन पाएको छ,” उनी भन्छिन्।
पीडाकै कुरा गर्दा, आनीले पनि बाल्यकालमा आफ्नै बुबाबाट हिंसा भोगिन्। त्यो सहन नसकेर १३ वर्षकै उमेरमा गुम्बा पुगिन्। आनी बनिन्। बुद्धको दर्शनले उनलाई मानिसका दु:खमा करुणाभाव राख्न र सकेको सहयोग गर्न प्रेरणा दियो। गायनबाट देशविदेशका लाखौं श्रोताको मन छोएकी उनी यही करुणाभावले अचेल दु:खी र बेसहाराको आँसु पुछिरहेकी छन्।
बाल्यकालदेखि नै सबैको सेवा गर्नुपर्छ भन्ने स्वभावकी थिइन् उनी। अरूलाई खुशी देख्दा आनन्द मान्थिन्। यस्तो आनन्दानुभूतिका लागि आफूले सकेको सहयोग गर्न तम्सिन्थिन्।
संगीत कर्ममा लागेपछि त्यस्तो सेवा र सहयोग गर्ने क्रम अझ विस्तार भयो। देशविदेशका महोत्सव र कन्सर्टमा गाएर आउने पैसाको ठूलो हिस्सा दीनदु:खीलाई सहयोग गर्दै आएकी छिन्। यही सेवाको भावनाले उनी आफ्नो नामको फाउन्डेशन खोलेर विभिन्न लोककल्याणकारी परियोजना चलाइरहेकी छन्।
मानव सेवा आश्रमसँग भने उनी पाँच वर्षअघि सहयोगीका रूपमा जोडिएकी हुन्। आश्रमले हरेक वर्ष देशभरबाट सडक मानवको उद्धार गर्न मेचीदेखि महाकालीसम्म ‘राष्ट्रिय उद्धार यात्रा’ गर्छ। त्यसै क्रममा २०७७ पुसमा यात्राको शुभारम्भ गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइँदा उनी पनि पहिलो पटक अतिथिका रूपमा त्यहाँ पुगेकी थिइन्। आश्रमले गरेको कामबाट प्रभावित भएर उनले पाँच लाख रुपैयाँ सहयोग गरिन्।
२०७८ वैशाख ८ मा आश्रमको विराटनगर शाखा भवन शिलान्यास कार्यक्रममा उनलाई बोलाइयो। त्यहाँ आश्रमले गरेको उद्धार कार्यको वृत्तचित्र देखाइएको थियो। त्यसले उनको मन निकै छोयो। त्यही वेलादेखि सल्लाहकार र अभिभावकका रूपमा उनी मानव सेवा आश्रमसँग जोडिन पुगेकी हुन्। यसबाट उनले आफ्नो परोपकारी कार्यलाई थप फराकिलो बनाउने मौका पाएकी छन्।
आश्रमको देशव्यापी उद्धार यात्रामा उनी हरेक वर्ष सहभागी हुँदै आएकी छन्। पहिलो पटक २०७९ सालमा उनी यस्तो टोलीमा सहभागी भएकी थिइन्। त्यस क्रममा विभिन्न ठाउँका सार्वजनिक स्थल र सडकपेटीमा दयनीय अवस्थामा असहाय मानिसहरू भेटिए। दुर्गन्धित शरीर, काती परेका मैला कपडा, जीउमा दिसापिसाबको टाटा, घाउ नै घाउ। जोकोही उनीहरूको छेउ पर्न घिन मान्ने अवस्था थियो।
आनीलाई पनि शुरूशुरूमा त्यस्तै सोच नआएको होइन। तर त्यो सोचलाई उनको करुणाभावले जित्यो। सडकपेटीका बेसहारा मानिसमा उनले आफ्ना आमा, छोराछोरीको प्रतिविम्ब देखिन्। त्यसपछि उनको घिन र संकोच हरायो। उनले तिनलाई स्पर्श गरिन्, सुमसुम्याइन् र तिनका वर्षौंदेखिका पीडा/यातनाको घाउमा मायाको मल्हम लगाइदिइन्। यो क्रम हरेक वर्षको उद्धार यात्रामा जारी रहन्छ।
उनी भन्छिन्, “त्यो ठाउँमा मेरी आमा या छोराछोरी भइदिएको भए उनीहरूलाई के त्यत्तिकै छोड्थें होला र भन्ने सोच्छु अनि अलिक साहस जुटाएर छेउ जान्छु। कोही हात समाएर आउँछन्, कसैले अँगालो हाल्छन्।”
सडकमा असहाय अवस्थामा मनोरोगी पनि भेटिन्छन्। आनीका अनुसार कतिपय मनोरोगी निकै आक्रोशित र उत्तेजित हुन्छन्। कसैलाई छेउ पर्न नदिने, छेउमा गए कुटिहाल्ने! “करुणाभावको स्पर्श र मुस्कानले तिनको आक्रोश शान्त हुन्छ,” उनी मुस्काउँदै भन्छिन्।
उनले धेरै मनोरोगी शिक्षित र विभिन्न प्रतिभा भएका पनि भेटेकी छन्। दुई वर्षअघि सुर्खेतको वीरेन्द्रनगरबाट उद्धार गरिएकी करीब ३२ वर्षीया महिलामा उनले त्यस्तै प्रतिभा पाइन्। सुदूरपश्चिमेली भाका गाएकी तिनको मीठो स्वर उनले भुलेकी छैनन्।
आश्रमका अनुसार गत वर्ष र यस वर्षको उद्धार यात्रामा जाँदा सम्पूर्ण खर्च आनीले नै बेहोरिन्। गत वर्ष ५६ लाख रुपैयाँ खर्च भयो भने यस वर्ष करीब ६० लाख। आश्रमकै लागि उनले गत वैशाखमा बेलायतमा कन्सर्ट गरेकी थिइन्। त्यसबाट एक करोड रुपैयाँभन्दा बढी संकलन भएको थियो। आउँदो वैशाखमा आश्रमकै लागि अस्ट्रेलियामा आनीले कन्सर्ट गर्ने तयारी भइरहेको आश्रमकी महासचिव शुशिला केसी (रुपा)ले बताउँछिन्।
आनीले आश्रमबाट मात्रै सेवा गरेकी छैनन्। विदेशमा वेलावेला कन्सर्ट गरेर संकलित हुनेमध्ये ९० प्रतिशत रकम फाउन्डेशन मार्फत विभिन्न ठाउँमा सहयोग गर्छिन्। गत असोजको दोस्रो साताको बाढीपहिरोबाट पीडित काभ्रेको रोशी क्षेत्रका बासिन्दालाई आश्रमसँगको सहकार्यमा राहत कार्यमा ३२ लाख रुपैयाँको सहयोग गरिन्। मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा अघि बढेको सुविधासम्पन्न बाल अस्पताल निर्माणका लागि उनले आफ्नो मर्सिडिज कार बेचेर एक करोड ८० लाख रुपैयाँ सहयोग गरेको विषय पनि चर्चामा आएको थियो।
आनी भने सहयोगको हिसाबकिताब राख्न रुचाउँदिनन्। सहयोग धेरै या थोरै गरें भनेर हिसाबकिताबमा आफू नलागेको उनी बताउँछिन्। सहयोगको चर्चा र प्रचार गरेको पनि उनलाई मन पर्दैन। उनी भन्छिन्, “सेवा र सहयोग त जीवनपद्धति हो। त्यसैले मैले गरेका सहयोगको कुनै लेखाजोखा राख्न मन लाग्दैन।”
आनी फाउन्डेशनले मानव सेवा आश्रमसँग मिलेर लागूऔषध दुर्व्यसनीलाई राख्ने सुधार केन्द्रको स्थापना गर्ने पनि योजना बनाइरहेको छ। दुर्व्यसनमा फसेर सुधार केन्द्रमा राख्नुपर्ने अवस्था भएका तर आर्थिक अभावले राख्न नसकेकाहरूका लागि उक्त केन्द्र बनाइने आनी बताउँछिन्।
यस्तै, फाउन्डेशनले निर्दोष हुँदाहुँदै जेल परेका महिलालाई कानूनी लडाइँ लड्न पनि सहयोग गरिरहेको छ। फाउन्डेशनले काठमाडौंको फर्पिङमा सन् २००० देखि आर्य तारा स्कूल पनि चलाइरहेको छ। यहाँ आनीहरूलाई पढाइन्छ।
आनी छोइङका एक दर्जन हाराहारी गीति अल्बम सार्वजनिक भएका छन्। तर पछिल्लो समय उनको नयाँ सिर्जना आएको छैन। यसले संगीतमा उनको सक्रियता घटेको हो कि भन्ने लाग्छ। तर यो कुरा नकार्छिन् उनी। “संगीत त सधैं मभित्रै छ। संगीतबाट टाढा छैन म,” उनी भन्छिन्।
समाजसेवा गर्न सक्नुको श्रेय पनि उनी आफ्नो स्वरलाई दिन्छिन्। “सरस्वतीको वरदानस्वरूप पाएको स्वरले गाएर आएको आर्थिक स्रोतबाटै समाजसेवाको काम सम्भव भएको हो,” उनी भन्छिन्। समाजसेवामा गहिरो सन्तुष्टि भेट्ने उनले यसका लागि पनि संगीत नबिसाउने उनकै भनाइले पक्का गर्छ।
आश्रमको जन्म
हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमको स्थापना तीन युवाले गरेका हुन्। उनीहरू हुन्, रामजी अधिकारी, शुशिला केसी र सुमन बर्तौला।
कसरी जन्मियो त मानव सेवा आश्रम?
२०६० सालको उत्तरार्धमा हेटौंडामा जुनसुकै सामाजिक कार्यमा यी तीन युवा अग्रसर हुन्थे। दु:ख र समस्यामा परेकालाई सेवा र सहयोग गर्नुपर्छ भन्ने भावना भरपूर थियो।
त्यसै क्रममा उनीहरूले २०६९ जेठ २३ गते सडकबाट १८ जना असहायलाई बटुलेर हेटौंडाको बनस्खण्डीस्थित पिकनिक स्थलमा सहभोज गरे। तिनको सरसफाइ पनि गरिदिए।
तिनलाई सधैं राख्न र खुवाउन यी तीन युवासँग न आश्रय स्थल थियो, न पैसा। यसैले मन अमिलो पार्दै भोज कार्यक्रमपछि तिनलाई पहिले ल्याएकै ठाउँमा लगेर छाडिदिएको रामजी बताउँछन्।
तीमध्ये बोल्न सक्नेहरूले ‘एक दिन एक छाक खुवाएर के नौटंकी गरेको’ भन्दै आक्रोश पोखे। रामजी सम्झन्छन्, “कति जनाले तिमीहरूले हामीलाई आफन्तको नाटक देखाएर छोड्यौ भन्नुभयो। कतिले चाहिं हामीलाई यति सफा बनाइदिएपछि अब माग्न बस्दा पनि दिंदैनन्, अब कसले खान दिन्छ भन्ने प्रश्न गर्नुभयो।”
ती प्रतिक्रिया र प्रश्नले रामजी र उनका साथीहरूलाई चिमोटिरहे। उनीहरूले सडकमा आश्रितहरूलाई राखिदिन विभिन्न संघसंस्था गुहारे। तर कसैले पनि दीर्घकालीन रूपमा राख्न मानेनन्। अन्तत: उनीहरू आफैंले २०६९ सालमा एउटा संसार सिर्जना गरे, मानव सेवा आश्रम। उनीहरूले सिर्जेको संसारले आज धेरैलाई ओत र सहारा दिएको छ। आश्रमको नारामा भए झैं ‘खाना, नाना, छाना’ पाएर धेरैले नयाँ जीवन पाएका छन्।
शुरूआतमा उनीहरूले २०६९ साउनमा सहयोगापेक्षी सडक आश्रित पाँच जनाको उद्धार गरेर हेटौंडा-५ सानोपोखरा, अब्बलडाँडाको एउटा घरमा राखे। ओतविहीन असहायलाई छानाको व्यवस्था त भयो, तर खाना र नाना कसरी जुटाउने भन्ने चिन्ता थियो। साथमा, घरको मासिक भाडा १५ हजार रुपैयाँ थियो। यी युवासँग आर्थिक स्रोत थिएन।
उनीहरूले घर घर गएर मुठीदान संकलन अभियान शुरू गरे। प्रयोग गर्न मिल्ने अवस्थाका पुराना कपडा, भाँडा पनि मागेर ल्याउँथे। “हेटौंडाको त्यस्तो कुनै पनि ठाउँ छैन, जहाँ हामी माग्न नगएका हौं,” शुशिला भन्छिन्।
सहयोग माग्न जाँदा उदारमनाहरू मात्र भेटिएनन्, मन र मुठी बन्द भएकाहरूको पनि सामना गरे। शुशिलाका अनुसार कसैले हप्काउँथे त कसैले घरको गेट बन्द गरिदिन्थे। कतिले त कुकुर छाडिदिएर लखेट्थे।
यी तमाम समस्या झेलेर पनि उनीहरूले मानव सेवाको काम अलपत्र छाडेनन्। उनीहरूको सेवाभाव देखेर बिस्तारै सहयोगी हातहरूको साथ पाउँदै गए। २०७२ सालमा हेटौंडामा मानव सेवा आश्रमको भवन बनाए। २०७३ सालमा संस्था दर्ता गरे। दाताको साथ बढेसँगै संस्थाको सेवा केन्द्र विस्तार हुँदै गयो।
हालसम्म आश्रमका १७ जिल्लामा २४ वटा शाखा छन्। आश्रमका अनुसार अहिलेसम्म ६ हजार ३६० जनाको उद्धार गरिएको छ भने दुई हजार ४५६ जनाको स्याहार र औषधोपचार गरेर अवस्था सुधारिएपछि पारिवारिक पुनर्मिलन गराइएको छ। अहिले आश्रममा एक हजार ५६९ व्यक्तिलाई आश्रय दिइएको छ।
आश्रम परोपकारी व्यक्तिकै आर्थिक सहयोग र भरथेगबाट चलिरहेको छ। मनकारी व्यक्तिले जन्मदिन, विवाह वर्षगाँठ, व्रतबन्ध, पास्नी जस्ता अवसरमा आश्रमलाई सहयोग गर्छन्।
आश्रमको विशेषता के छ भने, यसले विदेशी दाताको सहयोग लिंदैन। विदेशी सहयोग नलिने र स्वावलम्बी बन्नुपर्छ भन्ने मान्यता अनुसार स्वदेशी दाताको मात्र सहयोग लिने गरिएको रामजी बताउँछन्। आश्रममा हुने कुल खर्चमध्ये दाताहरूबाट आउने सहयोगले ६० प्रतिशत धानेको छ भने बाँकी ४० प्रतिशत खर्च स्थानीय, प्रदेश र संघ सरकारबाट आउँछ।
२०८२ सालसम्म सडकमा आश्रित मानवमुक्त राष्ट्र बनाउने आश्रमको योजना छ।