साह्रै बेखुश छैनन् नेपाली
निराश भएर युवा विदेश पलायन भइरहेका छन् भन्ने कथन छ, तर हालैको एक सार्वजनिक मत सर्वेक्षणले झन्डै आधा नेपाली गत निर्वाचनयता देशको दिशातर्फ अझै सकारात्मक रहेको देखाएकाे छ।
देशको स्थिति पछिल्ला दुई वर्षमा बिग्रियो, सुधारियो वा उस्तै रह्यो भन्ने प्रश्नमा देशव्यापी सर्वेक्षणका ४५.४ प्रतिशत उत्तरदाताले सन्तुष्टि व्यक्त गरेका छन्। जसमध्ये १३.९ प्रतिशत उत्तरदाताले ‘उल्लेख्य रूपमा सकारात्मक’ र ३१.५ प्रतिशतले ‘केही हदसम्म सकारात्मक’ भएको बताएका छन्। अधिकांश उत्तरदाता (३४.६ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्।
“यदि हामी ‘कुनै परिवर्तन छैन’ भन्नेहरूलाई असन्तुष्ट मान्छौं र त्यसमा देशको दिशाप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूलाई जोड्छौं भने ५५ प्रतिशत मानिस असन्तुष्ट छन्,” मत सर्वेक्षण गरेको शेयरकास्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्य भन्छन्। त्यसैगरी, करीब १८ प्रतिशतले देशको स्थिति ‘उल्लेख्य रूपमा नकारात्मक’ वा ‘केही हदसम्म नकारात्मक’ महसूस गरेका छन्। अधिकांश उत्तरदाता (३५ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्।
यस सर्वेक्षणले नेपालमा सार्वजनिक भावनाको झन् जटिल चित्र देखाउँछ, जसले भन्छ कि व्यापक निराशाको कथा सम्भवतः अति सरलीकृत छ। चुनौतीहरू यथावत् भए पनि नेपालीको एक महत्त्वपूर्ण हिस्सा आफ्नो राष्ट्रको भविष्यप्रति आशावादी छ।
नेपालको सार्वजनिक धारणाभन्दा फरक, यस सर्वेक्षणले आशाजनक तस्वीर प्रस्तुत गर्छ। ४५ प्रतिशत नेपालीको सकारात्मक सोचले के देखाउँछ भने, राष्ट्रिय मनोदशा त्यति निराशावादी छैन जत्तिको सोचिन्छ।
सबैभन्दा आश्चर्यजनक पक्ष के छ भने, युवा पुस्ता, विशेषगरी महिला अत्यधिक आशावादी देखिएका छन्। महिला उत्तरदातामध्ये १५.६ प्रतिशतले देशको वर्तमान अवस्थालाई ‘उल्लेख्य रूपमा सकारात्मक’ मानेका छन्, जुन पुरुषको १२ प्रतिशत छ।
प्रदेशगत विश्लेषणमा बागमती र गण्डकीका अधिकांश उत्तरदाताले कुनै परिवर्तन नभएको बताए, जबकि मधेश प्रदेश सबैभन्दा विशेष देखिएको छ। त्यहाँ २६.५ प्रतिशतले ‘उल्लेख्य रूपमा सकारात्मक’ र १५.७ प्रतिशतले ‘उल्लेख्य रूपमा नकारात्मक’ महसूस गरेका छन्। मधेशमा अन्य प्रदेशको तुलनामा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया बढी थिए।
शहरी र ग्रामीण क्षेत्रमा पनि लगभग समान सकारात्मकता देखिन्छ। दुवै क्षेत्रका करीब आधा मानिसले आफ्नो परिस्थितिलाई ‘केही हदसम्म’ वा ‘उल्लेख्य रूपमा’ सकारात्मक मानेका छन्।
शैक्षिक स्तरले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ। उच्च शिक्षा हासिल गरेकाहरू अधिक सन्तुष्ट देखिन्छन्, जबकि निरक्षरमा सबैभन्दा बढी नकारात्मक दृष्टिकोण पाइन्छ।
यस सर्वेक्षणले नेपालको वास्तविक सामाजिक मनोदशाको जटिल र बहुआयामिक चित्र प्रस्तुत गर्छ, जुन सामान्यतया प्रचलित धारणाभन्दा झन् आशाजनक र सकारात्मक देखिन्छ।
युवा पुस्ताको दृष्टिकोण
सर्वेक्षणले १८-२४ वर्ष उमेर समूहका ५४ प्रतिशत युवाले नेपालको वर्तमान अवस्थालाई ‘केही हदसम्म’ वा ‘उल्लेख्य रूपमा’ सकारात्मक मानेका छन्। सामान्यतया उमेर बढ्दै जाँदा मानिस कम सन्तुष्ट देखिन्छन्।
आर्थिक पक्षमा, उच्च आय समूहका मानिस अधिक सन्तुष्ट देखिएका छन्। धनीमा पनि १० मध्ये एक जनाले भने नेपालको वर्तमान अवस्थालाई ‘उल्लेख्य रूपमा नकारात्मक’ महसूस गरेका छन्।
त्यस्तै, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै गर्दा सर्वेक्षणले पुरुष र महिला दुवै समूहका उत्तरदाताले हिंसाबाट सुरक्षित हुनुलाई पहिलो प्राथमिकता दिएको देखाएको छ। नेपालमा महिलाले कस्ता समस्याको सामना गर्दै छन् भन्ने प्रश्नमा एकतिहाइभन्दा बढी उत्तरदाताले सुरक्षा र संरक्षणलाई महत्त्वपूर्ण मुद्दा मानेका छन्। दुवै लिंगका, विशेषगरी युवा उत्तरदाताले नेपाली महिलाको मुख्य समस्यालाई हिंसाबाट संरक्षणका रूपमा पहिचान गरेका छन्।
भौगोलिक हिसाबमा बागमती, सुदूरपश्चिम र मधेश क्षेत्रका उत्तरदाताले महिलाको सुरक्षालाई सबैभन्दा महत्त्वपूर्ण चिन्ताको विषय मानेका छन्। कर्णाली लगायत पुरुषसत्तात्मक मान्यता बढी रहेका क्षेत्रमा सामाजिक बन्देजलाई दोस्रो सबैभन्दा ठूलो समस्याका रूपमा हेरिएको छ।
घरेलु निर्णय प्रक्रियामा महिलाको सीमित भूमिका तेस्रो मुख्य समस्या मानिएको छ, जुन ग्रामीण क्षेत्रमा झन् स्पष्ट देखिन्छ। शेयरकास्ट इनिसिएटिभ नेपालद्वारा सञ्चालित ‘नेपालमा लैंगिक मुद्दाहरूको सामान्य धारणा’ नामक राष्ट्रव्यापी सर्वेक्षणका सात प्रश्नमध्ये एक थियो यो। चार हजार २६७ उत्तरदातासँग अन्तर्वार्ता गरी नेपाली जनसंख्याको सन्तुलित प्रतिनिधित्व मार्फत सर्वेक्षण गरिएको थियो।
लैंगिक समानताको प्रगतिबारे सोधिएको प्रश्नमा अधिकांश उत्तरदाताले महिला प्रतिनिधित्व, संवैधानिक र कानूनी सुरक्षा तथा सांस्कृतिक मापदण्डप्रति सकारात्मक दृष्टिकोण राखेका थिए। महिलालाई प्रभावित गर्ने नेपालका सामाजिक-राजनीतिक र सांस्कृतिक परिवर्तनबारे सोधिएका प्रश्नमा झन्डै ६२ प्रतिशत उत्तरदाताले सकारात्मक प्रतिक्रिया दिएका थिए। करीब १५ प्रतिशतले कुनै परिवर्तन नभएको बताए भने १६ प्रतिशतले देश नकारात्मक दिशातर्फ अघि बढिरहेको छ भन्ने विचार राखेका थिए।
शहरी बासिन्दा र उच्च शिक्षा तथा आय स्तर भएका दुवै लिंगका युवा उत्तरदाताले महिलालाई प्रभावित गर्ने सामाजिक-राजनीतिक र सांस्कृतिक परिवर्तनप्रति झन् आशावादी दृष्टिकोण राखेका थिए।
महिलाका अधिकार र लैंगिक समानतालाई संरक्षण गर्ने नयाँ संवैधानिक र कानूनी व्यवस्थाबारे सोधिएको प्रश्नमा लगभग तीनचौथाइ उत्तरदाता (पुरुष र महिला दुवैले) महिलालाई यसले फाइदा पुगेको महसूस गरेका छन्। केवल १० प्रतिशतले विभिन्न कानूनले महिलालाई नकारात्मक रूपमा प्रभावित गरेको महसूस गरेका छन्।
सर्वेक्षणमा युवा पुरुष र महिला, शहरी बासिन्दा र बढी शिक्षितहरू अधिक आशावादी देखिए। परिणामको विश्लेषण गर्दै शेयरकास्ट भन्छ, ‘चिन्ताका केही क्षेत्रहरू छन्, विशेषगरी कम शिक्षित र कम आय भएका समूहमा, जसले यी असमानतालाई सम्बोधन गर्न लक्षित हस्तक्षेपको आवश्यकता देखाउँछ।’
नेपाली महिलाले अझै पुरुषसरह अवसर प्राप्त गरेका छैनन् भन्ने प्रश्नमा आश्चर्यजनक रूपमा ३५ प्रतिशतले जवाफ दिन सकेनन्, जबकि २० प्रतिशतले अब कुनै असमानता छैन भन्ने महसूस गरे। तर असमानता रहेको बताउनेमध्ये सबैभन्दा बढी उत्तरदाता (१२.८ प्रतिशत)ले घरेलु क्षेत्रमा असमानता रहेको बताए। राजनीतिक प्रतिनिधित्वमा पनि लगभग त्यस्तै असमानता देखिन्छ, जबकि शिक्षा, उच्च तलब भएका रोजगारी र हिंसाबाट संरक्षण पनि उत्तरदाताका लागि चिन्ताका विषय हुन्।
पुरुष र महिलाले राजनीतिक र सामाजिक चुनौतीबारे फरक फरक चिन्ता प्रकट गरेका छन्। १६.३ प्रतिशत पुरुषले असमान राजनीतिक प्रतिनिधित्वलाई ठूलो समस्याका रूपमा उजागर गरेका छन्, जबकि केवल ९.५ प्रतिशत महिलाले यस्तो विचार राखे। घरेलु निर्णय प्रक्रियामा आफ्नो प्रभाव कम भएको चिन्ता गर्दै १३.७ प्रतिशतले घरेलु मामिलामा पर्याप्त सहभागिता नभएको बताए।
नेपालका पुरुषले भोग्ने समस्याबारे सोध्दा विविध जवाफ आएका थिए। आश्चर्यजनक रूपमा, २७ प्रतिशतले पुरुषको कुनै समस्या नभएको दाबी गरे, जबकि १४.४ प्रतिशतले आफू अनिश्चित रहेको स्वीकार गरेका छन्। विशिष्ट चुनौती पहिचान गर्नेमध्ये बेरोजगारी र ज्याला समस्या मुख्य चिन्ताका विषय हुन् भने १५.४ प्रतिशतले आर्थिक अस्थिरतालाई औंल्याए।
किशोरकिशोरीले भोग्ने समस्यामा लागूपदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य समस्याले २२.७ प्रतिशत उत्तरदातालाई प्रभावित गर्यो। किशोरीमाथिको हिंसा दोस्रो स्थानमा रह्यो (२१.३ प्रतिशत), शिक्षा सम्बन्धी मुद्दा त्यसपछि आए। उल्लेखनीय कुरा के हो भने, लगभग ३० प्रतिशत सहभागीले आफ्नो दृष्टिकोण स्पष्ट गर्न सकेनन्।
शेयरकास्ट डेटा इनिसिएटिभ र द स्टोरी किचनद्वारा सञ्चालित सर्वेक्षण विवरण:
- सर्वेक्षण : शेयरकास्ट डेटा इनिसिएटिभ र द स्टोरी किचनको ‘नेपालमा लैंगिक मुद्दाहरूको सामान्य धारणा’।
- विधि : फेस-टु-फेस।
- सहभागीहरू : ४,२६७ जना।
- क्षेत्र : सबै सात प्रदेश र तीन पारिस्थितिक क्षेत्र।
- नमूना छनोट : जनसंख्याको अनुपातमा विभिन्न लिंग, वर्ग, सामाजिक-आर्थिक स्तर र जातीयताका आधारमा।
(नेपाली टाइम्सबाट अंशु खनालले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)