मौद्रिक नीति समीक्षामा निक्षेप संकलन र ब्यांक दर यथावत् (पूर्ण पाठ)
चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नेपाल राष्ट्र ब्यांकले नीतिगत दर, निक्षेप संकलन दर र ब्यांक दर यथावत् राखेको छ।
मौद्रिक सूचकहरू सकारात्मक देखिंदा राष्ट्र ब्यांकले विद्यमान व्यवस्थाहरू यथावत् राखेको हो। ‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको ब्यांक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ,’ मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र ब्यांकले भनेको छ।
त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको पनि राष्ट्र ब्यांकले जनाएको छ। मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महीनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ। राष्ट्र ब्यांकका अनुसार गत असोज महीनामा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत छ।
कम्तीमा सात महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकामा गत असोज मसान्तमा साढे १४ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ।
चालू आवको पहिलो तीन महीनामा ब्यांक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरब्यांक दर ३ प्रतिशत छ। त्यस्तै, विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा साढे १२ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकामा वार्षिक बिन्दुगत आधारमा गत असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ।
मौद्रिक नीति समीक्षाको पूर्ण पाठ :