एक्लै चुनाव लड्न डराएका दल
एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका कांग्रेस, एमाले, माओवादी केन्द्र सहितका दलले मंसीर १६ मा हुने उपनिर्वाचनका लागि आआफ्नो स्वार्थ अनुसार ठाउँ ठाउँमा गठबन्धन गरिरहेकै छन्।
अघिल्लो संघीय र स्थानीय चुनावमा दलहरूले गरेको गठबन्धन निकै आलोचित भयो। फरक फरक विचारधाराका दलहरूको गठजोड अरू केही नभएर चुनाव जित्ने हतकन्डा मात्र देखिएको भन्दै दलभित्र र बाहिर दुवैतिर आवाज उठ्यो। दलहरूले बोलीमा सरकारको स्थायित्व र राष्ट्रको समृद्धिका लागि भन्दै आआफ्ना गठबन्धनलाई औचित्यपूर्ण देखाउन खोजे पनि व्यवहारमा चुनावपछि सत्ताको नेतृत्व लिन देखाएको छिनाझपटी र फाटोले यो आवाजलाई सही पनि सावित गरिदियो।
यस्तोमा संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २०८० फागुन ६ र ७ गते बसेको महासमिति बैठकमा महामन्त्री गगन थापाले पार्टीले भविष्यका चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारे। उक्त सांगठनिक प्रस्तावमा उल्लेख छ, ‘२०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनाव हाम्रो आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा समर्थक शुभेच्छुकलाई रूख चिह्नमा मात्र मत हाल्न पाउने सुनिश्चित गर्नेछौं।”
अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन रहेको यो प्रस्तावलाई सभापति शेरबहादुर देउवाले तत्काल नरुचाए पनि गत भदौको केन्द्रीय समिति बैठकले ‘भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने’ भन्दै घुमाउरो तरीकाले स्विकारेको छ।
कात्तिक २० मा बसेको केन्द्रीय समिति बैठकले पनि आगामी मंसीर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। उपनिर्वाचन केन्द्रीय संयोजन समितिको संयोजक बनाइएका महामन्त्री शर्माले अहिले सरकारमा एमालेसँग सहकार्य भइरहे पनि चुनावी मैदानमा ऊसँग प्रतिस्पर्धा गर्ने पटक पटक बताइरहेकै हुन्।
चुनाव नजिकिंदै गर्दा न पार्टीको निर्णय पालना भएको देखिन्छ न त नेताका घोषणा। कांग्रेसले थुप्रै ठाउँमा एमालेसँग चुनावी तालमेल गरिरहेको छ। भनाइलाई गराइमा नउतार्ने यो प्रवृत्ति वर्तमान सरकारको नेतृत्वकर्ता तथा संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले)मा पनि देखिन्छ। भदौ १८ मा पार्टीको पोलिटब्यूरो बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग सरकारमा सहकार्य भए पनि चुनावमा प्रतिस्पर्धा गर्ने बताएका थिए।
नेकपा (माओवादी केन्द्र)मा पनि पार्टीले गरेको चुनावी गठबन्धनलाई लिएर आलोचना हुुँदै आएको थियो। त्यसैले साउन १५ को पदाधिकारी बैठकबाट बाहिरिंदै प्रवक्ता अग्नि सापकोटाले भविष्यका आमनिर्वाचनहरूमा माओवादीले एक्लै भिड्ने तयारी गरिरहेको बताएका थिए। तर आगामी उपनिर्वाचनमा यो दलले पनि कतै एकीकृत समाजवादी त कतै एमालेसँग गठबन्धन गरिरहेको छ।
२०७९ को चुनावमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहितका दलले गठबन्धन बनाएका थिए। संसद्को दोस्रो ठूलो दल एमालेले ठाउँ ठाउँमा राप्रपासँग तालमेल गरेको थियो। अहिले ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा पनि उनीहरू एक्लै लड्ने हिम्मत गर्न सकिरहेका छैनन्।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा सत्ता साझेदार कांग्रेस र एमालेबीच गठबन्धन भएको छ। उनीहरूसँग भिड्न माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेका छन्। पुथा उत्तरगंगामा नेपाली कांग्रेस पछि हटिदिएपछि एमालेका तर्फबाट केशकुमारी तुलाचन प्रतिस्पर्धा गर्दै छिन्। यहाँ एमालेले गठबन्धन गरेको मात्र होइन, चुनावी चिह्न नै कांग्रेसको रूख देखाएर मत माग्दै छ। यो ठाउँ माओवादी केन्द्रको किल्ला मानिन्छ। सोही गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादीका जगत घर्ती निर्विरोध भइसकेका छन्।
पुथा उत्तरगंगाको उपाध्यक्षमा सघाएको ऋण एमालेले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसलाई समर्थन गरेर तिरेको छ। यहाँ कांग्रेसबाट मोतीराम खत्रीले उम्मेदवारी दिएका छन्। एमालेले ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको सभापति पदमा पनि कांग्रेसलाई समर्थन गरेको छ।
सत्ता साझेदार दलको चुनावी मिलेमतो आपसमा मात्र सीमित छैन, सत्ता बाहिरका दलसम्मै फैलिएको छ। माओवादीसँगको सत्ता सहकार्य तोडी कांग्रेससँग मिलेर सरकार बनाएको एमालेले स्थानीय चुनावमा माओवादीसँगै सहकार्य गरेको छ। केन्द्रमा सत्तापक्ष र प्रतिपक्षको हैसियतमा रहेका यी दललाई चुनावी स्वार्थले पालिकामा चाहिं एक ठाउँ ल्याइदिएको छ। उदाहरण हो, बाजुरा। यहाँको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा माओवादीकी राजुकुमारी विकले एमालेकी सुलोचना बुढालाई समर्थन जनाएकी छन्। माओवादीका नेता-कार्यकर्ताले एमाले उम्मेदवार बुढालाई भोट माग्न थालेका छन्। उक्त स्थानमा यसअघि नेपाली कांग्रेसले जितेको थियो।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनाव लड्ने भएका छन्। यहाँ माओवादीका उम्मेदवार शिवशरण महर्जनलाई समर्थन जनाउँदै एकीकृत समाजवादीका भानु रिजालले उम्मेदवारी फिर्ता लिएका छन्। यसको बदलामा काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा माओवादी केन्द्रले एकीकृत समाजवादीका उम्मेदवार मीनमान मानन्धरलाई सघाउने भएको छ। यहाँ कांग्रेसबाट देवेन्द्र पाठक र एमालेका तर्फबाट लक्ष्मीरत्न तुलाधर चुनावी मैदानमा छन्।
स्थानीय तहको उपनिर्वाचन मंसीर १६ गते हुँदै छ। जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षमा गरी ४१० जनाको उम्मेदवारी परेकामा ३१ जनाले फिर्ता लिएका छन्। एक वडाध्यक्ष र दुई जिल्ला समन्वय समिति पदमा भने चयन निर्विरोध भइसकेको छ।