प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री राणा बिहीबार मध्याह्न चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको पहिलो चीन भ्रमण हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीले उनलाई बिदाइ गरेका छन्।
भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटवार्तामा बीआरआई, चिनियाँ सहयोगमा सञ्चालित परियोजना र प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा गरिने सम्झौताबारे छलफल हुनेछ। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्।
परराष्ट्रमन्त्री राणा मंसीर १५ गते स्वदेश फर्कने कार्यतालिका छ।
यो पनि पढ्नुहोस् :