ठगीको आरोपमा पक्राउ परेका सुयज्ञ रिजाल सर्वोच्चमा
सर्वोच्च अदालतले ठगी आरोपमा प्रहरी हिरासतमा रहेका सुयज्ञ रिजाललाई पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न भनेको छ।
न्यायाधीश हरि फुयालको इजलासले जवाफ पेश गर्न आदेश दिएको हो। सुयज्ञ सहित उनका बुवा थईन्द्रलाई मंसीर ५ गते काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको थियो। खानी तथा भूगर्भ विभागबाट विभिन्न खनिजजन्य पदार्थ खोजतलासको लाइसेन्स लिएर व्यापारिक साझेदार भित्र्याउने नाममा लामो समयदेखि ठगीधन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काभ्रेको बेथानचोकमा ६६ अर्ब रुपैयाँको ग्रेनाइट खानी रहेको नक्कली प्रतिवेदन देखाएर रिजालद्वयले आफूसँग दुई करोड रुपैयाँ ठगेको भन्दै इन्द्रकुमार राई (सन्तकुमार गुरुङ)ले जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले खानी विभागसँग जानकारी मागेको थियो। त्यसपछि विभागले आफ्नो विज्ञ टोली अध्ययनका लागि पठाएको थियो।
विभागको स्थलगत अध्ययनमा चण्डेश्वरी केसीको नामबाट रिजालले २०८० असोजमा बुझाएको ग्रेनाइट खोजतलासको प्रगति प्रतिवेदन नक्कली भएको पाइएको थियो, जुन विभागले कात्तिक १४ गते प्रहरीलाई बुझाएको थियो। चण्डेश्वरी थईन्द्रकी जेठीसासू हुन्। चण्डेश्वरीको नाममा ग्रेनाइट खोजतलासको लाइसेन्स निकालेर कारोबार थईन्द्रले गर्दै आएका थिए।
थईन्द्रले अथाह ग्रेनाइट भएको पूर्व सम्भाव्यता प्रतिवेदन देखाएपछि आफूले विश्वास गरेर लाइसेन्स किन्न सम्झौता गरेको गुरुङले जाहेरीमा लेखेका छन्। यद्यपि आफूलाई लाइसेन्स नभएको अर्कै क्षेत्र देखाइएको समेत उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
नेपाली कांग्रेसका नेता समेत रहेका थईन्द्र राजनीतिक शक्तिको पहुँचमा गत जेठमै जाहेरी दर्ता भए पनि जोगिंदै आएका थिए। उनी कांग्रेसको सिन्धुपाल्चोकबाट क्षेत्रीय प्रतिनिधि हुन्।
थईन्द्र अहिले ओमक्रिस ग्रेनाइट कम्पनी चलाउँछन्, जसका सञ्चालक हाल थुनामा रहेका सुयज्ञ पनि हुन्। उक्त कम्पनीमा थईन्द्रका एकाघरका सदस्यहरू सञ्चालकमा छन्। चण्डेश्वरी र इन्द्रकुमारबीच भएको लाइसेन्स किनबेचको करार सम्झौतामा चण्डेश्वरीका तर्फबाट सुयज्ञ साक्षी बसेका थिए। सुयज्ञको नाममा मकवानपुर र सिन्धुपाल्चोकको खानी खोजतलासको लाइसेन्स छ।
सुयज्ञले नै खानी सम्बन्धी नक्कली प्रतिवेदन बनाउन थईन्द्रलाई सघाएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। तर आमा शान्ता केसीले आफ्नो छोरालाई प्रहरीले गैरकानूनी तवरमा हिरासतमा राखेको भन्दै प्रहरी र जाहेरीकर्तालाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट हालेकी हुन्।
थईन्द्रको ठगी धन्दाबारे हिमालखबरले मंसीर ४ गते खुलासा गरेको थियो। समाचार छापिएपछि हिमालखबरको सम्पर्कमा आएका थईन्द्रले लाइसेन्स नामसारीपछि गुरुङले दिएको ९६ लाख रुपैयाँको चेक नसाटिएको र पैसा माग्दा उनले आफू विरुद्ध उल्टै ठगीको आरोप लगाएको दाबी गरेका थिए।
२०६७ सालदेखि जागृति इन्डस्ट्रिज नामक कम्पनी खोलेर थईन्द्रले खानीमा हात हालेका थिए। यो कम्पनीमा समेत शेयर दिन्छु भन्दै भित्र्याइएका थुप्रै व्यक्तिबाट रकम ठगी गरेको आरोप छ। थईन्द्र पक्राउ परेको खबर थाहा पाएपछि हाल आफूहरू समेत प्रहरीमा जाहेरी दिने तयारी गरिरहेको पीडितमध्येका एक मनोज शाहले हिमालखबरलाई बताए।
यो पनि पढ्नुहोस् : दुनियाँलाई घर न घाटको बनाउने थईन्द्रको ठगीधन्दा