‘मुसलमान या दलित भएको भए म अहिले जेलमा हुन्थें या मारिन्थें’
‘हामी दीर्घकालीन र स्थायी परिवर्तन चाहन्छौं भने मान्छेको सोच परिवर्तन गर्न जरूरी छ। यो काम सांस्कृतिक क्रान्तिले गर्न सक्छ।’
आजभन्दा ६० वर्षअघि एउटा १४ वर्षीय बालक आफ्ना काकासँग नेपाल आइपुग्छ। भारतीय स्वतन्त्रता सेनानी तथा समाजवादी आन्दोलनका नेता अच्युत पटवर्द्धन आफ्ना मित्र बीपी कोइरालासँग भेट्न नेपाल आउँदा भतिज आनन्द पटवर्द्धनलाई पनि साथमा ल्याएका हुन्छन्। भारतको स्वतन्त्रता आन्दोलनमा लडेर जेल सजाय समेत भोगेका बीपीसँग अच्युतको घनिष्ठताका कारण उनी नेपाल आएका हुन्छन्। त्यसपछि आनन्दको नेपालसँगको नाता अटुट रहन्छ। १४ वर्षीय तिनै बालक अहिले ७४ वर्षका भए।
आनन्द दोस्रो पटक नेपाल सन् १९९७ मा आए, उद्देश्य सहित। त्यसयता थुप्रै पटक आइसकेका उनको उद्देश्य करीब करीब उस्तै छ, समाज परिवर्तनका निम्ति उनले बनाएका फिल्म मार्फत गम्भीर विषयमा विमर्श गर्नु। यस पटक उनी दक्षिणएशियाली फिल्म महोत्सव ‘फिल्म साउथ एशिया’ को छेको पारेर नेपाल आए, भारतलाई स्वतन्त्रता दिलाउने आन्दोलनको पैरवी गर्ने फिल्म सहित।
अच्युत पटवर्द्धन र उनका नेपाली मित्र बीपी कोइराला लगायतको संघर्षबाट सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भारत अहिले साम्प्रदायिक राजनीतिको भुंग्रोमा जलिरहेको छ, जसलाई आनन्द पटवर्द्धनहरू ‘मानसिक उपनिवेश’ का रूपमा चित्रण गरिरहेका छन्। एउटा जातिको हैकम स्थापित गर्ने उद्देश्य सहित १०० वर्षअघि स्थापना गरिएको भनिएको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले आफ्नो राजनीतिक संस्था भारतीय जनता पार्टी (भाजपा)को साथ लिई समाजमा फैलाइरहेको घृणाको राजनीतिले त्यहाँको बहुसांस्कृतिक समाजलाई तहसनहस पार्दै लगेको बताइन्छ। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत अहिले साम्प्रदायिक राजनीतिको केन्द्रबिन्दु जस्तै बन्न पुगेको विश्लेषण भइरहेको छ।
आनन्द पटवर्द्धनले भारतीय समाजमा विष घोलिरहेको यस्तो विषाक्त राजनीतिको श्रव्यदृश्य मार्फत जोडदार विरोध गर्दै आएका छन्। उनले आफ्ना फिल्म मार्फत आरएसएस जस्ता धार्मिक कट्टरतावादको बदमासी पर्दाफास गर्न जसरी नयाँ नयाँ तथ्य बाहिर ल्याउँछन्, त्यो खोज पत्रकारले गर्ने कामभन्दा कुनै अर्थमा कम देखिंदैन। उनका फिल्ममा देखाइने आङ सिरिङ्ङ पार्ने कतिपय तथ्य र कथ्य हामीले परिकल्पना गरेभन्दा निकै जटिल प्रकृतिका हुन्छन्। भारतीय मूलधारे मिडिया सत्तासँग लहसिएर समाजमा विष भरिरहेको अहिलेको समयमा पटवर्द्धनले जसरी निडर भई सत्तासँग प्रश्न गर्दै जनतालाई आन्दोलित बनाइरहेका छन्, त्यो उनले आफ्ना काका, बाबा र आमाको विरासतबाट प्राप्त गरेको उनको नयाँ वृत्तचित्र
द वर्ल्ड इज फेमिली हेरेपछि बुझिन्छ। फिल्म साउथएशियामा देखाइएको उनको यो वृत्तचित्रले कहिले रुवाउँदै कहिले हसाउँदै भारतमा फैलिइरहेको विषाक्त राजनीतिको अन्तरव्यथा कहन्छ। भारत–पाकिस्तानको मैत्री सम्बन्धको महत्त्व बताउँछ। महोत्सवमा यो फिल्मलाई ‘स्टलवार्ट अवार्ड’ दिइयो भने पटवर्द्धनको कामको सम्मान गर्दै
‘फिल्म साउथएशिया सम्मान’ अर्पण गरियो।
हाम्रा निम्ति डरलाग्दो कुरा, सीमापारिको यस्तो विषाक्त राजनीतिले तपाईं हाम्रो घरदैलो ढकढक्याउन थालिसकेको छ। भारत जस्तै बहुसांस्कृतिक हाम्रो समाजमा यसको प्रभाव बढ्दै उतातिर जस्तै जाति जातिबीच झडपका घटना समेत हुन थालेका छन्। अधिनायकवाद र साम्प्रदायिक राजनीति एकसाथ हिंडिरहेको दक्षिणएशियाली राष्ट्रहरूमा लोकतन्त्रका स्तम्भ भत्किंदै गएकाले नेपाल बाहेक अन्यत्र लोकतान्त्रिक विमर्श लगभग बन्देज जस्तै छ। त्यसैले यस क्षेत्रमा काठमाडौं अहिले लोकतन्त्रको केन्द्र बन्न पुगेको छ। हामी सजग भएनौं भने के यो ‘लोकतान्त्रिक स्पेस’ रहिरहला त? मन्थन गरिनु जरूरी छ।
आनन्द पटवर्द्धन पनि आफ्नो देशमा मर्दै गएको लोकतान्त्रिक मूल्यमान्यता कसरी बचाउन सकिन्छ भन्ने विमर्शका निम्ति काठमाडौंमा आयोजित फिल्म साउथएशियाका लागि आफ्ना फिल्म सहित आएका हुन्। यही मौका पारेर
हिमालखबरका लागि
जेबी पुन मगरले उनीसँग कुराकानी गरेका छन्। महाराष्ट्रका हिन्दू ब्राह्मण परिवारमा जन्मिएका उनले ब्राह्मणलाई उच्च स्थानमा राख्ने परिकल्पना गरिएको आरएसएसको सांस्कृतिक राष्ट्रवादको खुलेर विरोध किन गरिरहेका छन्? हिन्दूत्व राजनीति गरिरहेको आरएसएस र सत्तामा आसीन उसको भ्रातृ संगठन भाजपाको विरोध गर्ने सिनेमा किन बनाइरहेका छन्?
प्रस्तुत छ, भारतबाट नेपाल छिरिरहेको विषाक्त राजनीति र पटवर्द्धनले ती विषयमा बनाएका वृत्तचित्रको सेरोफेरोमा रहेर उनीसँग हिन्दी भाषामा गरिएको संवादको नेपाली रूपान्तरः
तपाईंले दशकौंदेखि फिल्म मार्फत समाजलाई जगाउन खोजिरहनुभएको छ। के फिल्मबाट समाज परिवर्तनको अपेक्षा राख्नु मनासिब हो? फिल्मले मान्छेको दिमाग बदल्छ?
जब म युवा थिएँ, मान्छेहरूले मेरो फिल्म हेरेपछि संसार बदलिन्छ भन्ने लाग्थ्यो। तर अहिले वृद्धावस्थामा आएर त्यो कुरामा त्यति विश्वास लाग्दैन। किनकि दुनियाँ बदलिने भए त राम्रो हुनुपर्ने थियो, त्यसरी बदलिएन। कुन हिसाबमा बदलियो भने, झन् खराब भयो। यसको दोष म आफ्नो फिल्मलाई मात्र दिन्नँ। किनकि मेरो फिल्मलाई दबाइन्छ, सर्वसाधारणसम्म पुग्नै दिइँदैन। त्यसमाथि फिचर फिल्मको तुलनामा वृत्तचित्र भारतमा कम हेरिन्छ, शायद नेपालमा पनि। त्यसैले जति प्रभाव पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन।
फिचर फिल्ममा झैं म कलाकार प्रयोग गर्दिनँ। मेरो फिल्ममा तथ्यमा आधारित कथा हुन्छन्। समाजमा जे भइरहेको छ, जस्ताको तस्तै देखाउने प्रयास गर्छु।
मेरा फिल्म हेरेर प्रभावित हुनेहरू पनि मैले भेटेको छु। मेरो फिल्म राम के नाम हेरेर बाबरी मस्जिद भत्काउन गएका हिन्दूहरू मलाई खोज्दै आए। फिल्म हेरेपछि उनीहरूलाई आफूले गरेको काम गलत भएको र पछुतो लागेको बताएका थिए।
१९९० को दशकसम्म तपाईंको फिल्ममा गरीब र श्रमिकका कथा हुन्थे। तिनको मानव अधिकारको कुरा उठाइन्थ्यो, जस्तै, बम्बई हमारा शहर। नब्बेको दशकपछि तपाईंले धर्मसम्प्रदाय र राजनीतिको दुरवस्थामाथि फिल्म बनाउन थालेको देखिन्छ। जस्तै, राम के नाम। यो परिवर्तन पछाडिको कारण के हो?
१९८० को दशकसम्म मैले श्रमिक र तिनको मानव अधिकारमाथि फिल्म बनाएँ। तिनमा गरीब कसरी जीवनयापन गरिरहेका छन्, धनीले तिनका बारेमा के सोचिरहेका छन् भन्ने विषय हुन्थे। तर १९८० को दशकमा जसरी उदारवाद (निजीकरण र खुला बजार अर्थतन्त्र) हाम्रोमा छिर्यो, त्यससँगै साम्प्रदायिकता पनि बढ्न थाल्यो। उदारवादी र पूँजीवादीहरूका निम्ति ‘पैसा नै भगवान्’ हुन थाल्यो। पैसासँगसँगै भगवान् पनि आयो। ‘हाम्रो भगवान्, हाम्रो जातको भगवान्’ भन्न थालियो। आश्चर्य के भयो भने, खुला बजार अर्थतन्त्रसँग धार्मिक अतिवाद पनि हामीकहाँ छिर्यो। किसिम किसिमका भगवान् आए, जो आपसमा लडाइँ, झगडा गर्थे।
भगवान्को बहाना मात्र थियो। वास्तवमा भगवान्को नाममा (सत्ता र शक्ति) कब्जा गर्ने षड्यन्त्र थियो। तपाईं हिन्दू अतिवाद हेर्नुहोस् वा इस्लामिक अतिवाद, उनीहरूको ध्यान धर्ममा हैन, (सत्ता र शक्ति) कब्जा गर्ने राजनीतिमा हुन्छ। किनकि भगवान्लाई देखाएर भ्रष्टाचार गर्न पाइयो। त्यसलाई धर्मको आवरणमा लुकाइदिए भयो। धर्मको नाममा दुनियाँलाई बेवकूफ बनाउने धन्दा चलाउन पाइयो। धर्मभीरु सर्वसाधारणलाई ‘तिमीहरू कस्तो अवस्थामा छौ र के खान्छौ बिर्स, धर्मका कुरा गरे पुग्छ’ भनी शोषण गर्न पाइयो। तर पछि जब धर्मको नाम पनि चल्न छाड्यो, तिनले राष्ट्रवादको कुरा गर्न थाले।
भारतीय स्वतन्त्रता आन्दोलनमा लागेकाहरू कोही पनि धार्मिक रूपमा आन्दोलनमा सहभागी भएका थिएनन्। उनीहरू गान्धीवादी थिए, समाजवादी थिए, कम्युनिस्ट थिए। ती सबै विविधतामा एकता चाहन्थे। उनीहरू हिन्दू–मुसलमानलाई अलग गर्न चाहँदैनथे। विखण्डन चाहँदैनथे। जो स्वतन्त्रताका निम्ति लडेका थिए, अंग्रेजको जेलमा गएका थिए, उनीहरू राष्ट्रिय एकता चाहन्थे। किनकि उनीहरू त्यसैका निम्ति लडेका थिए। तर आज जो सत्तामा छ, उसले कहिल्यै स्वतन्त्रता संग्राममा भाग लिएन। उनीहरू अंग्रेजसँग सम्झौता गरेर, अंग्रेससँगै कुम जोडेर हिंडेका हुन्। सन् १९४२ मा अंग्रेज विरुद्ध संघर्ष चल्दा यिनीहरू ब्रिटिश सरकारमा सहभागी थिए। त्यो सरकारमा हिन्दू अतिवादी संगठन आरएसएस, हिन्दू महासभा र मुस्लिम संगठन मुस्लिम लिग (मोहम्मद जिन्नाको नेतृत्वमा गठित दल, जसले पछि छुट्टै देश पाकिस्तानको माग गर्यो) सहभागी थिए। धर्मको आवरण ओढेका यी अहिले सत्तामा छन्, यी तिनै हुन् जसले साम्प्रदायिकता विरुद्ध लडेका महात्मा गान्धीको हत्या गरिदिए। मैले यो कुरा कैयौं फिल्ममा देखाएको छु।
तपाईं यो भनिरहनुभएको छ, पूँजीवाद र खुला बजार अर्थतन्त्रको उदयपछि नै साम्प्रदायिकता निकै बढेर गयो?
हो। यसको दोष वामपन्थीलाई पनि दिनुपर्छ। किनकि तिनले यस्तो गम्भीर खतराको पहिचान गर्नै सकेनन्। पूँजीवाद, जमीनदारी प्रथा र उदारवादभन्दा पनि खतरनाक साम्प्रदायिकता उनीहरूले चिन्नै सकेनन्। तिनले अतिवादीहरूले सम्पूर्ण कब्जा गरिसकेपछि ढिलो गरी अहिले बल्ल बुझे। कट्टर हिन्दूत्ववादीहरूले पूरै कब्जा गरिसकेपछि, मान्छेको दिमाग ओगटिसकेपछि मात्र बुझे।
तपाईंको वृत्तचित्र राम के नाममा राम मन्दिरका पूजारीले ‘अहिले जेजति भइरहेको छ, त्यो धर्मका लागि नभई पैसाका लागि भइरहेको छ’ भनेका थिए। यो भनाइ त सत्य सावित भयो है?
अहिले अयोध्यामा निर्माण गरिएको राम मन्दिर वरपरका जमीनबाट गरीबहरू हटाएर धनीमानीलाई बेचिएको छ। पूँजीपतिहरूलाई जमीन बेच्न कैयौं मन्दिर भत्काइएका छन्। हाम्रो देशको पूँजीवाद अडानी र अम्बानी मात्र हुन्। हाम्रो अर्थतन्त्र र भएभरको स्रोत तिनलाई दिइएको छ।
स्रोतको यस्तो असमान वितरण नेपालमा पनि छ। भारतमा अब यसलाई कसरी मिलाइन्छ?
अहिंसामा विश्वास गर्ने हुनाले समानताको आन्दोलनमा हामी हिंसा प्रयोग गर्न चाहँदैनौं। यसको अर्थ, लोकतन्त्रमा विश्वास गर्ने हामी चुनावबाट विजय भई आउनुपर्यो। तर जब तपाईंसँग पैसा नै छैन भने चुनाव कसरी लड्ने? चुनाव जित्न धेरै मुश्किल भइसक्यो। अहिले भएभरको पैसा एउटा पार्टी (भाजपा)सँग थुप्रिएको छ। भर्खर सकिएको हरियाणा र महाराष्ट्र चुनावमा सत्ताधारी दलले नै जित्यो। यो भारतको मात्र कुरा होइन, विश्वभर यस्तै भइरहेको छ। अमेरिकामा डोनल्ड ट्रम्प फर्किए। विश्वभर उग्र दक्षिणपन्थले कब्जा जमाइरहेछ। मलाई के लाग्छ भने, एकदिन यो अवस्था बदलिन्छ। यो स्थायी अवस्था होइन।
दलितको आमसंहार देखेर एक वामपन्थी तथा अम्बेडकरवादी कवि विलास घोग्रेले आत्महत्या गरेको विषयमा तपाईंले १४ वर्ष लगाएर जय भीम कमरेड फिल्म बनाएको बताइन्छ, हो?
सन् १९९७ मा १० जना दलित मारिएका थिए। त्यो घटना देखेर वामपन्थी कवि विलास घोग्रेले आत्महत्या गरे। यो संहार देखेर ती कविले किन आत्महत्या गरे होलान् भनी बुझ्ने क्रममा मैले यो फिल्म बनाएको हुँ।
यति गहिरो गरी तपाईं गरीब र दलितका कथा उठाउनुहुन्छ। तर अर्कातर्फ तपाईं भन्दै हुनुहुन्छ, सम्पत्ति र स्रोत जति पूँजीपतिको कब्जामा गइसक्यो। यस्तो अवस्थामा यी सीमान्तीकृतले कसरी जीवनयापन गर्लान्?
यो असाध्यै गहिरो प्रश्न हो। जति वेला मैले जय भीम कमरेड बनाउन थालें, त्यति वेला मान्छेहरू दलितबारे कुरा गर्न पनि चाहँदैनथे। उनीहरू ‘हाम्रो समाज र धर्ममा जातपात छैन, त्यो सबै पुराना कुरा हुन्। अहिले केही पनि समस्या छैन’ भन्दै तथ्य लुकाउँथे। तर सत्य के थियो भने, त्यति वेला दलितमाथि खुलमखुला भेदभाव र छुवाछूत भई नै रहेको थियो।
अहिले यसमा नयाँ प्रवृत्ति आएको छ। आज भाजपाले पनि चुनावी राजनीतिका लागि अम्बेडकरको फोटो झुन्ड्याउन थालेको छ। भित्रभित्र दलित आन्दोलनलाई कमजोर बनाउन त्यसका नेताहरूलाई किन्ने काम त्यसैले गरिरहेका छ। दलितले भाजपालाई भोट दिंदैनन् भन्ने तिनलाई थाहा छ, त्यसैले दलित समुदायबाट स्वतन्त्र उम्मेदवार खडा गरेर चुनाव आफ्नो पक्षमा पार्ने गरिएको छ। जहाँ दलित राजनीतिक रूपमा सचेत छन्, त्यहाँ यस्तो नचले पनि अधिकांश ठाउँमा यस्तै राजनीति चलिरहेको छ। भाजपासँग यति पैसा छ कि उसले दलित नेताहरूलाई राम्रो पैसा दिएर आफ्नो पक्षमा पार्छ। दलितमा मात्र यस्तो छैन, भाजपाले सबैभन्दा धेरै सताउने मुसलमान समेत त्यसरी बिक्री भइरहेका छन्।
यस्तो निराशाजनक अवस्थामा पनि भारतमा गत वर्ष किसान आन्दोलनले केही आशा त देखायो नि?
त्यो सही हो। विश्वको सबैभन्दा लामो किसान आन्दोलन भारतमा भयो, डेढ वर्षसम्म। वर्षा र जाडो नभनी किसान सडकमै सुते। त्यसमाथि कोभिड महाव्याधिको समय थियो। तैपनि उनीहरू डगमगाएनन्। ३०० जनाभन्दा बढी शहीद भए। अन्ततः उनीहरूले जितेरै छाडे। सरकार झुक्यो र किसान विरुद्ध ल्याइएका तीन वटा कानून फिर्ता गर्यो। ती कानून पूँजीपतिहरूको पक्षपोषण गर्ने गरी ल्याइएका थिए।
तपाईंको फिल्म पिता, पुत्र और धर्मयुद्धमा एक हिन्दू युवा साम्प्रदायिक दंगामा संलग्न हुन्छ र उसले मुसलमानको पसल जलाउँदै यसो गर्न मजा आइरहेको प्रतिक्रिया दिन्छ। उसले प्रहरीसँग पनि डर नलागेको बताउँछ। उनी जस्तै अरू तन्नेरीहरूले ‘जयश्री राम’ नारा लगाउँदै मुसलमानको हत्या समेत गर्छन्। भारतमा यस्तो उन्माद कहाँबाट आइरहेको छ?
यसबारे हामी पनि चिन्तन गरिरहेका छौं। हामीलाई पहिले के लाग्थ्यो भने, दुनियाँ बदलिइरहेको छ र अग्रगमनतिर गइरहेको छ। तर त्यो यथार्थ होइन रहेछ। पहिले र अहिलेमा तात्त्विक भिन्नता खासै देखिंदैन। फरक यति मात्र छ, पहिले हामी छुरा र तरबारले एकअर्काको हत्या गर्थ्यौं, अहिले आधुनिक तरीकाले हत्या गरिरहेका छौं। आज जुन स्तरमा अमेरिकाले दिएको हतियारको बलमा इजरायलले फलस्तीनमा हिटलरको समयकै जस्तो नरसंहार गरिरहेको छ। हिटलरको पालामा उसले गरेको नरसंहारबारे बाँकी विश्वलाई त्यति थाहा हुँदैनथ्यो। अहिले फलस्तीनको नरसंहार विश्वले टेलिभिजन र इन्टरनेटबाट प्रत्यक्ष हेरिरहेको छ। तर त्यो रोक्न कसैले पनि प्रयत्न गरिरहेको छैन।
तपाईंले मान्छेमा यत्रो क्रूरता कहाँबाट आयो भनेर सोध्नुभयो। मान्छेभित्र त्यो क्रूरता पहिल्यै थियो। तपाईंले त्यसलाई हुर्काउनुभयो भने बढ्दै जान्छ। त्यसलाई बदल्न चाहनुभयो भने त्यो कम हुँदै जान्छ, जसरी महात्मा गान्धीले गर्नुभयो। मान्छे मशीन जस्तो होइन। मान्छेलाई जता पनि लैजान सकिन्छ।
तपाईंको भनाइ एक ठाउँमा छ। तर तपाईंकै फिल्ममा देखाइएको छ, अहिंसाका प्रवर्द्धक महात्मा गान्धीलाई हिंसाका अनुयायी नाथुराम गोड्सेले कसरी हत्या गर्छ। यो त अहिंसामाथि हिंसाको आधिपत्य जस्तै होइन र?
नाथुराम गोड्सेले मात्र महात्मा गान्धीको हत्या गर्यो भन्ने भाष्य यथार्थपरक छैन। त्यो हत्याको पछाडि एउटा संगठित वैचारिकी थियो। त्यसले सिर्जना गरेको ठूलो रहस्य थियो। त्यसबारे थुप्रै साहित्य लेखिएका छन्। गान्धीको हत्याको पछाडि आरएसएसका नेता विनायक दामोदर सावरकरको व्यवस्थित योजना थियो। गोड्से र आप्टे, जसलाई गान्धीको हत्यामा फाँसी दिइयो, ती दुवै सावरकरका चेला थिए। सावरकरको समाचारपत्रमा काम गर्थे।
यो योजनाबद्ध हत्याको पछाडि त्यति वेलाका रजौटा र सम्भ्रान्त वर्गको संलग्नता थियो। यो समुदायलाई भारतीय स्वतन्त्रतासँग कुनै सरोकार थिएन। बरु तिनलाई भारत स्वतन्त्र भएपछि आफूले भोग गर्दै आएको सत्ता र शक्ति खोसिन्छ भन्ने भय थियो। त्यसैले उनीहरूले नै गान्धी हत्यामा सावरकरलाई साथ दिए। आज जसले भारतमा हामीमाथि राज गरिरहेका छन्, ती सबै गान्धीको हत्या गर्ने ‘लाइन’ का हुन्।
फिल्म राम के नाममा राम मन्दिरका एक पूजारीले ‘हिन्दूत्वको नाममा भइरहेको हिंसा धर्मका लागि नभई राजनीतिक स्वार्थका लागि गरिएको हो’ भन्दै विरोध गर्छन्, तिनलाई पनि गान्धीलाई झैं हत्या गरिन्छ। के हामीले हिंसालाई ‘ग्लोरिफाई’ गरिरहेका हौं?
आजको जमानामा गान्धी हत्यारा नाथुराम गोड्सेको पनि पूजा गर्न थालिएको छ। उनको मन्दिर बनाउने प्रयत्न पनि गरिन्छ। तिनले सावरकरलाई पनि आराध्यकै स्तरमा अर्चना गर्छन्, मान्छन्। तर जब उनीहरू विदेश जान्छन्, त्यहाँ चाहिं गान्धीको मूर्तिमा माल्यार्पण गर्छन्। यिनले पुनर्लेखन गरेको इतिहासको किताबमा गान्धीलाई कसले मार्यो भन्ने तथ्य लेख्न समेत डराउँछन्। तर देशभित्र गान्धी हत्याको वकालत गर्दै ‘गान्धीले मुसलमानको पक्ष लिएकाले मार्यौं’ भन्छन्। यो सरासर झूट हो।
तथ्य के हो भने, उनीहरूले गान्धीको हत्या गर्ने प्रयास सात पटक गरेका थिए। सन् १९३४ मै उनीहरूले बम आक्रमण गरेर गान्धीलाई मार्ने पहिलो प्रयास गरेका थिए। अन्तिममा सन् १९४८ मात्र सफल भएका हुन्। जब सन् १९३४ मा गान्धीमाथि बम आक्रमण भयो, त्यति वेला पाकिस्तान नामसम्म कसैको मुखमा आएको थिएन। त्यसको परिकल्पना नै भएको थिएन। त्यसैले गान्धीले ‘पाकिस्तानको पक्ष लिएकाले हत्या गरिएको’ तर्क आफैंमा भ्रमपूर्ण छ। गान्धीसँग उनीहरूको रिस अर्कै थियो। खासमा गान्धीले देशमा रहेको जात व्यवस्था (वर्णाश्रम व्यवस्था) हटाउन प्रयत्न गरेका कारण उनको हत्या गरिएको थियो। गान्धीले ‘आफ्नो शौचालय आफैंले सफा गर्ने’ उर्दी सबैलाई जारी गरे। अशुद्ध भन्दै यो काम दलितबाट गराइँदै आएको थियो। त्यसैले सम्भ्रान्त र आफूलाई शुद्ध ठान्ने जाति (ब्राह्मण)का निम्ति गान्धी खलनायक ठहरिए। त्यसअघि गान्धी र भीमराव अम्बेडकरबीच भएको सहमति ‘पुना पैक्ट’ ले पहिलो पटक दलितलाई आरक्षण दिने कुरा गर्यो। खासमा सम्भ्रान्त र तथाकथित उच्च जाति गान्धीले जात व्यवस्थामा प्रहार गरेका कारण क्रुद्ध थिए, जसलाई पछि मुस्लिम विरुद्धको आक्रोशसँग पनि जोड्ने काम भयो। यसले घृणाको राजनीति झन् बढायो।
तपाईंको फिल्म हेरेपछि कहिलेकाहीं लाग्छ, एक हिन्दू ब्राह्मण हिन्दू राष्ट्रवाद विरुद्ध किन लागेको होला? यसबारे के भन्नुहुन्छ?
यस्तो आवश्यक छ। जसरी म भारतमा हिन्दू कट्टरताको विरोध गर्छु, त्यसैगरी पाकिस्तानका मेरा साथी त्यहाँ मुस्लिम कट्टरताको विरोध गर्दै फिल्म बनाइरहेका छन्। बाङ्लादेशमा पनि तारिख महसुद (दिवंगत)ले यस्तै काम गर्थे। देशलाई जसबाट बढी खतरा छ, त्यसमाथि त फिल्म बनाउने हो। मैले त्यही गरिरहेको छु। म नबोल्ने हो भने को बोल्छ? मैले जे बोलिरहेको छु, त्यो एउटा मुसलमानले बोल्ने हो भने उसको हत्या हुन्छ। ममाथि किन आक्रमण हुँदैन भने म हिन्दू ब्राह्मण हुँ। मलाई जात र वर्गको संरक्षण प्राप्त छ।
अहिले जे भइरहेको छ त्यो जात व्यवस्था अन्तर्गत भइरहेको छ कि हामीले अघि कुरा गरे जस्तो पूँजीवाद र बजारतन्त्रले गराएको खेल हो?
यी सबै एक ठाउँमा मिलेर यस्तो शोषण भइरहेको छ। जात व्यवस्था मान्छेलाई शोषण गर्ने सबैभन्दा प्रभावकारी हतियार हो। जात व्यवस्थामा श्रमिकलाई तलब पनि दिनु पर्दैन, किनकि त्यो उनीहरूको जन्मजात काम हो भनिन्छ। त्यसैले जात र वर्गबीच अन्तर्सम्बन्ध छ। यी दुवैको मेल भएरै यो व्यवस्था चलिरहेको छ।
तपाईंको फिल्मको विश्लेषण गर्दा तपाईं वामपन्थको नजिक देखिनुहुन्छ। तपाईंको कुरा सुन्दा भारतका वामपन्थीहरूलाई वर्ग र जातबीचको अन्तर्सम्बन्धबारे जानकारी रहेको देखिंदैन। के उनीहरूको वर्ग विश्लेषण त्रुटिपूर्ण थियो?
यसबारे आलोचनात्मक समीक्षा हुनुपर्छ र भइरहेको पनि छ। वामपन्थीहरूले जुन स्तरमा जात व्यवस्थालाई गम्भीरताका साथ लिनुपर्थ्यो, लिएनन्। अहिले समय घर्किसकेपछि यसमाथि घोत्लिंदै छन्। वामपन्थीहरूले समयमा यसको पहिचान गर्न नसकेका कारण यसमा केही दोष उनीहरूलाई दिनै पर्छ। वामपन्थी, दलित, अल्पसंख्यक सबैका सामूहिक शत्रु हुन्, जात व्यवस्थाका पक्षपोषक। त्यसैले सबै एक भई लड्न आवश्यक छ।
तपाईंले जंग और अमन फिल्ममा शस्त्र राजनीतिको विरोध गर्नुभएको छ। भारतले पोखरनमा गरेको परमाणु बम परीक्षणको पनि विरोध गर्नुभएको छ। यो कुरा तपाईंले अर्काे फिल्म विवेकमा पनि उठाउनुभएको छ। तर यस्तो सम्झाउने संयन्त्र हामीसँग छ त? किनकि तपाईं नै भन्दै हुनुहुन्छ, दर्शकको दिमाग बदल्न सक्ने तपाईंका फिल्म सार्वजनिक वृत्तमा प्रदर्शन गर्नै रोक लगाउने गरिन्छ।
हामी जति प्रयत्न गर्न सक्छौं, त्यति मात्र हाम्रो हातमा छ। मान्छे कहिले प्रज्ञावान् हुन्छ म भन्न सक्दिनँ, तर जे गलत भइरहेको छ त्यसको विरुद्ध आवाज उठाउन जरूरी छ। सानो सानो कामले पनि प्रभाव त पर्छ नै। जब भियतनाम युद्ध भइरहेको थियो, त्यस विरुद्ध हामी लडेकै हो। विरोध यति भयो कि, त्यहाँबाट फर्कन अमेरिका बाध्य भयो। प्रयास गरिराख्नुपर्छ, सम्भव हुन्छ।
एकातिर तपाईंको फिल्मलाई जनस्तरमा जान दिइँदैन भने अर्कातिर बजारले पनि तपाईंको फिल्म नकिन्ने तपाईं बताउनुहुन्छ। यस्तो अर्थ–राजनीतिक अवस्थामा परिवर्तन कसरी सम्भव देख्नुहुन्छ?
अहिलेको व्यवस्था यस्तो व्यवस्था हो, जहाँ कानून जसको हातमा छ बजार पनि उसैको हुन्छ। मलाई फिल्म देखाउन कानूनी रूपमा पनि रोक्न खोजियो। तर म सेन्सर बोर्ड विरुद्ध सर्वाेच्च अदालतसम्म पुगेर लडेको छु। जितेको छु। त्यहाँ जितेर मात्र भएन। दूरदर्शनले नदेखाइदिएपछि त्यस विरुद्ध पनि अदालतमा गई जितेर देखाउन बाध्य पारेको छु। तर यो मोदीराजभन्दा पहिलेको कुरा हो। अहिले त यस्तो सम्भावना क्षीण छ। किनकि अदालत पनि सत्ता जस्तै भइसकेको छ।
इन्दिरा गान्धीको सेन्सरशिप भोग्नुभएको तपाईंले अहिले नरेन्द्र मोदीको अड्चन पनि झेलिरहनुभएको छ। यी दुईमध्ये कुन बढी पीडादायी रह्यो?
दुई सेन्सरशिपको बीचमा धेरै फरक छ। इन्दिरा गान्धीले घोषणा गरेरै सेन्सरशिप लादेकी थिइन्। त्यसमा ‘यो छाप्न पाइने, यो नपाइने’ भनेर प्रस्ट उल्लेख थियो। सेन्सरशिप लागू भएको छ भनेर सबैलाई थाहा थियो। त्यसका कारण पनि त्यस विरुद्ध आन्दोलन भयो। तर अहिलेको सेन्सरशिपबारे धेरैलाई थाहै छैन। जो प्रत्यक्ष पीडित छन्, तिनलाई थाहा छ देशमा संकटकाल छ, तर नभोग्नेलाई यसबारे थाहा छैन। किनकि धेरैको दिमाग कब्जा गरिएको छ। त्यसका निम्ति राज्य संयन्त्र पूरै कब्जा गरिएको छ, मिडिया कब्जा गरिएको छ। कतिसम्म भने, हाम्रा सर्वाेच्च अदालतका न्यायाधीशले समेत गणेशपूजा गर्न प्रधानमन्त्रीलाई डाक्न थालेका छन्। त्यो पूजा टेलिभिजनबाट देखाइन्छ। एक जमाना थियो, जतिखेर न्यायालय, सत्ता र धर्मबीच निश्चित दूरी हुनुपर्छ भन्ने मान्यता थियो। सबै एक ठाउँमा आएपछि राज्यका स्वतन्त्र भूमिका र विश्वसनीयता कसरी जोगिन्छन्? तर अहिले त्यही भइरहेको छ।
प्रधानमन्त्री मोदीले त घोषणा नै गरिदिए, आफू आमाबाट नभई भगवान्को कोखबाट जन्मिएका हुन्। सर्वाेच्च अदालतका न्यायाधीशले पनि मोदीकै भाषा बोलिरहेका छन्। न्याय सम्पादन गर्न भगवान्बाट प्रेरणा प्राप्त भएको बताइरहेका छन्। उनले भनेका छन्, ‘बाबरी मस्जिद सम्बन्धी निर्णय गर्दा हामी अड्किएका थियौं। तर एक्कासि अदृश्य शक्तिबाट दिशानिर्देश भएपछि निर्णय सुनाउन सकेका थियौं।’ हामी यति तल्लो स्तरमा झरिसक्यौं।
भारतमा यो परिवर्तन एक्कासि भएको हो कि बिस्तारै भएको हो?
अहिले सत्तामा जुन शक्ति छ, यो जति लामो समयसम्म रहिरहन्छ त्यति यसले मान्छेको दिमाग बिगार्दै जानेछ। उसले यसरी बदलेको मान्छेको दिमाग समय लागे पनि बदलिन चाहिं बदलिन्छ। इन्दिरा गान्धीको संकटकालमा पनि हामीलाई के लाग्थ्यो भने, यो कहिल्यै खत्तम हुँदैन। दुई वर्ष संकटकाल लम्बियो। तर एकदिन त्यो संकटकाल पनि ढल्यो। चुनाव भयो, इन्दिरा गान्धीले हारिन् र संकटकाल हट्यो।
अहिले भाजपा गठबन्धनले पैसाकै बलमा चुनाव जितिरहेको छ। तर यो सधैं चल्दैन।
सत्तालाई तपाईंले जसरी प्रश्न गर्नुहुन्छ, त्यसबाट तपाईंलाई ‘थ्रेट’ आउँदैन? हामीले त भारतमा सत्ताको कमजोरी देखाउनेलाई समात्दै जेलमा थुन्ने गरिएको सुनिरहेका छौं।
म मुसलमान या दलित हुन्थें भने पक्कै मलाई पनि त्यसै गर्ने थिए। अहिलेसम्म ममाथि प्रत्यक्ष आक्रमण गर्ने गरेका छैनन्। तर मेरो फिल्म रोक्ने र जनस्तरसम्म पुग्न नदिने हतकन्डा चाहिं निकै अपनाउने गरेका छन्। जस्तै- मेरो पुरानो फिल्म राम के नामलाई ‘यू सर्टिफिकेट’ दिइएको छ। कानूनतः यो फिल्म विश्वभर देखाउन पाइन्छ। तर यसलाई प्रदर्शन गर्न लाग्दा कैयौं ठाउँमा या त रोक्न खोजिएका छन्, या प्रदर्शनस्थलमा दक्षिणपन्थीहरूबाट आक्रमण गरिएका घटना छन्। ममाथि आक्रमण गरे भने फिल्मले बढी प्रचार पाउँछ र झन् धेरैले फिल्म हेर्छन् भन्ने कुरा तिनले राम्ररी बुझेका छन्। त्यसैले मलाई होइन, तिनले फिल्मलाई नियन्त्रण गर्न खोज्छन्।
तपाईं फिल्मको स्क्रिप्ट लेख्न, स्टोरीलाई ‘न्यारेट’ गर्न र ‘ब्याकग्राउन्ड म्युजिक’ प्रयोग गर्न रुचाउनुहुन्न। फिल्म बनाउने यो तपाईंको मौलिक शैली हो?
म सिद्धान्त पढेर फिल्म बनाउँदिनँ। एउटै शैलीमा काम गर्दिनँ। मन परेन भने बदलिरहन्छु। तपाईंले भने जस्तो मेरो शैलीबारेको विश्लेषण फिल्म हेर्ने समीक्षकहरूले गरेका हुन्। यो सत्य हो, म ‘ब्याकग्राउन्ड म्युजिक’ मा अनावश्यक संगीत प्रयोग गर्दिनँ। कसैको मृत्यु भएमा भायोलिन र सारंगी बजाएर ‘अब तिमीहरू दुःख मनाउ गर’ भन्दिनँ। म संगीतको प्रयोग त गर्छु, तर त्यसमा पात्र पनि सँगै हुन्छ। जस्तै, जय भीम कमरेडमा पूरै फिल्मभर दलित आन्दोलनकारीको संघर्ष संगीत छ। मेरा फिल्ममा प्रतिपक्षको संगीत हुन्छ, आन्दोलनको संगीत हुन्छ। तर ती सबै कथा र पात्रसँग बग्छन्।
तपाईं भन्नुहुन्छ, कुनै पनि कला, लेखन र फिल्म निरपेक्ष हुँदैन, व्यक्तिको सिर्जनाको पछाडि उसको वैचारिकता आइहाल्छ। तर मूलधारका फिल्मकर्मीहरूको तर्क चाहिं फिल्म मनोरञ्जनका लागि बनाइन्छ, यसका पछाडि राजनीति हुँदैन। यसमा तपाईंको भनाइ के छ?
तपाईं मेरो फिल्म दर्शकसँग बसेर हेर्नुहोस्, उनीहरू धेरै ठाउँमा हाँसेको देख्नुहुनेछ। मेरो फिल्ममा मनोरञ्जन नभएको होइन। म पनि चाहन्छु, दर्शकलाई मनोरञ्जन होस्। तर मनोरञ्जनसँगै विचार पनि होस्। म आफ्नो विचार अरूमा लाद्न चाहन्नँ। म कुनै राजनीतिक दलसँग आबद्ध नभएकाले मलाई प्रोपगान्डा गर्नु पनि छैन। मलाई नाराबाजीमा विश्वास छैन। मसँग जति तथ्य छ, त्यति मात्र दर्शकसामु पस्किदिन्छु र उनीहरूलाई भन्छु, ‘यसबारे तपाईंहरू नै सोच्नुहोस्।’ समाजमा के भइरहेको छ, बताइदिने गर्छु। मैले तथ्यमा आधारित भएर फिल्म बनाउने हुँदा सामान्यतया मेरा फिल्म लामा हुन्छन्।
तपाईंले नबनाए पनि भारतमा अचेल प्रोपगान्डा फिल्म निकै बनिरहेको भनिन्छ नि!
भारत स्वतन्त्र भएपछिको एक समय थियो, बलिउडमा पनि राम्रा राम्रा फिल्म बन्थे। त्यति वेला फिल्म उद्योगले पनि प्रश्न गर्न प्रयत्न गर्थ्यो। व्यावसायिक फिल्म उद्योग भए पनि बलराज साहनी, साहिर लुधियानवी जस्ता फिल्मकर्मी थिए, जसले असाध्यै अग्रगामी फिल्म बनाउँथे। दर्शकलाई सोच्न बाध्य पार्ने फिल्म हुन्थे ती।
आजकल बलिउडमा खुलमखुला प्रोपगान्डा फिल्म बनिरहेका छन्। द कश्मीर फाइल्स, द केरला स्टोरी त्यस्तै खालका फिल्म हुन्। इन्दिरा गान्धीबारे त्यस्तै खालको फिल्म (इमर्जेन्सी) बनेको छ। शायद अयोध्यामाथि पनि बन्नेवाला छ।
प्रोपगान्डाको कुरा गर्दा कतिपय बलिउड फिल्मले ‘पाकिस्तानी जासूसी संस्था आईएसआईका एजेन्टले नेपालबाट भारतमा आतंककारी गतिविधि गरेको’ भन्दै तथ्यहीन कथा जोडेको देखिन्छ। यस्ता फिल्म किन बनाइन्छन् होला?
यस्ता फिल्म किन बनाइन्छ भन्ने कुरा तपाईंलाई पनि थाहा छ, र मलाई पनि। एउटा त, पैसा कमाउनु छँदै छ। अर्को, राजनीतिका कारणले पनि यस्ता फिल्मलाई सहयोग गरिन्छ।
तपाईंको फिल्म विवेकमा एउटा कथा नेपालसँग पनि जोडिएको छ। त्यसबारे बताइदिनुहुन्छ?
सन् २००२ देखि २००८ सम्मको बीचमा भारतमा बम विस्फोटका घटना धेरै भए। माले गाउँ विस्फोट, मक्का मस्जिद, सम्झौता एक्सप्रेस विस्फोट जस्ता थुप्रै बम विस्फोटका मुख्य योजनाकार ‘हिन्दूत्व आतंकवादी’ हरू थिए। दोष चाहिं ‘इस्लामिक आतंककारी’ भन्दै मुसलमानको टाउकामा थोपरेर प्रचार गरिएको थियो। मुम्बईमा शृंखलाबद्ध रूपमा भएको बम विस्फोटमा एन्टिटेररिस्ट स्क्वाड, महाराष्ट्रका प्रमुख हेमन्त करकरेले अनुसन्धान गरिरहेका थिए। उनले केहीलाई पक्रेका पनि थिए। पक्राउ परेकाहरूले बम विस्फोटमा आफ्नो संलग्नता रहेको स्विकारेका थिए।
अनुसन्धानका क्रममा करकरेले कर्नेल पुरोहित र शंकराचार्य (चार शंकराचार्यभन्दा भिन्न) नामक दुई व्यक्तिबाट दुई वटा ल्यापटप बरामद गरेका थिए, जसमा विस्फोट गराउने योजना सहितका गोप्य सूचना संगृहीत थिए। एउटा ल्यापटपमा त देशभर गराइएका ‘अतिवादी हिन्दू’ हरूका बैठकका श्रव्यदृश्य नै राखिएका थिए। त्यहाँ भएका दस्तावेजबाट थाहा भयो, यी ‘हिन्दू आतंकवादी’ हरूले बम विस्फोट गराउने योजना सम्पादन गर्न इजरायलसँग पनि मद्दत मागेका रहेछन्। त्यसैगरी नेपालका राजा ज्ञानेन्द्र र थाइल्यान्डका नरेशसँग पनि आर्थिक सहयोग मागेको देखियो। यो तथ्यको आधारमा मैले विवेकमा हिन्दू आतंकवादलाई कस कसले सहयोग गरिरहेको छ भन्ने तथ्य राखेको थिएँ।
तपाईं हिंसाबाट नभई सांस्कृतिक क्रान्तिबाट बदलाव आउँछ भन्नुहुन्छ। यो कसरी हुन्छ?
वामपन्थीहरू सोच्थे, बन्दूकबाट क्रान्ति ल्याउन सकिन्छ। कतै भएका पनि छन्। तर यसरी जबर्जस्ती गरिएको क्रान्तिपछि त्यहाँ प्रतिक्रान्ति पनि भएको छ। अहिले दुनियाँबाट हराइरहेको मानवता फर्काउनुपरेको छ। फलस्तीन लगायत दुनियाँभर जसरी हिंसाका घटना भइरहेका छन्, जसरी दुनियाँलाई हतियार उद्योगबाट चलाइँदै छ, त्यसको भासबाट विश्वलाई निकाल्नु छ। अमेरिकाले फैलाइरहेको युद्ध र हतियारको कारोबारको दुष्प्रभावबाट विश्वलाई निकाल्नु छ। तर शस्त्र उद्योगलाई धेरैभन्दा धेरै युद्ध चाहिएको छ। किनकि तिनलाई हतियार बेच्नु छ। अहिले जति पनि विकास भइरहेको छ, त्यो सबैका पछाडि शस्त्र उद्योगको राजनीति छ। एआई (कृत्रिम बौद्धिकता) जस्ता प्रविधिले यही राजनीतिको पक्षपोषण गर्छन्। एआईको सबैभन्दा बढी प्रयोग अहिले शस्त्र उद्योगले गरिरहेको छ। यी सबलाई कसले रोक्ने?
हामीले विचारधारा बदल्न सकेनौं भने हामी नै प्रतिक्रान्तिमा फस्नेछौं। हिंसाबाट परिवर्तन गर्ने कुरा गर्यौं भने हामी शस्त्र उद्योगको राजनीतिभित्र फस्नेछौं। त्यस्तो उपायबाट हुने परिवर्तन अस्थायी हुन्छ। हामी दीर्घकालीन र स्थायी परिवर्तन चाहन्छौं भने मान्छेको सोच परिवर्तन गर्न जरूरी छ। यो काम सांस्कृतिक क्रान्तिले गर्न सक्छ भन्ने मलाई लाग्छ।
यस्तो जञ्जालबाट निस्किने कुनै उपाय छ तपाईंसँग?
मसँग त्यस्तो कुनै सूत्र छैन, न मैले भनेर केही बदलाव नै आउँछ। तर नागरिकको हैसियत के हुनुपर्छ भनेर हामीले सोच्नुपर्छ। किनकि समकालीन विश्वमा हामी एउटै जाति होइनौं। एउटा धर्मका होइनौं। हामी कुनै एउटा देशका पनि होइनौं। तर हामी मानव त एउटै हौं। जबसम्म मान्छेमा यस्तो वैचारिकी सहित मानवता फर्कंदैन, तबसम्म यो संसार बदलिनेवाला छैन। हाम्रै कारण विश्वमा युद्ध बढिरहेको छ, पर्यावरण बिग्रिरहेको छ। हामीलाई लाग्छ, एउटा एअरकन्डिसन थप्न सके समृद्धिको सोपान चढ्न सकिन्छ। मान्छेलाई यस्तो चिन्तनबाट निकाल्न तपाईंले पत्रकारिताबाट, मैले फिल्मबाट आफ्नो क्षमताले भ्याएसम्म गर्नुपर्छ। यसले बिस्तारै काम गर्न थाल्नेछ। सांस्कृतिक क्रान्तिले ल्याउने बदलाव ढिलो हुन्छ, तर दिगो हुन्छ।
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)