सांसदमाथि कारबाहीले पश्चिम तराईमा एमालेभित्र चर्किंदै विवाद
बाँकेका प्रदेश सभा सांसदलाई पार्टीबाट निष्कासन गरेपछि पश्चिम तराईमा एमालेभित्र विवाद बढ्न थालेको छ।
नेकपा (एमाले) बाँकेले पार्टीलाई हानिनोक्सानी पुर्याएको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई एमाले सदस्यबाट निलम्बन गरेको छ। पूर्व मन्त्री समेत रहेका चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय भएसँगै एमाले बाँकेमा विवाद चर्किंदै गएको छ भने यसको प्रभाव पश्चिम तराईका जिल्लामा पर्न थालेको छ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले मंसीर ११ मा विज्ञप्ति जारी गरी चौधरीलाई पार्टीको सदस्यबाट निलम्बन गरेको जनाएका थिए। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल विरुद्ध सार्वजनिक रूपमा गालीगलौज गरेको आरोप चौधरीलाई लागेको छ।
पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसाय राखेर गालीगलौज गर्ने, सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेकाले जिल्ला सचिवालयको बैठकले चौधरीलाई निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष गुरुङको भनाइ छ। जिल्ला कमिटीले गरेको निर्णय प्रदेश कमिटीलाई पठाइएको छ।
कात्तिक ५ गते चौधरीले अध्यक्ष ओली र महासचिव पोखरेल विरुद्ध सार्वजनिक रूपमै गालीगलौज गरेको अध्यक्ष गुरुङको आरोप छ। “त्यस विषयमा स्पष्टीकरण पनि सोधेका थियौं। चित्तबुझ्दो जवाफ नआएपछि जिल्ला सचिवालयको बैठक बसेर पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय भएको हो,” गुरुङ भन्छन्।
गत वर्ष भएको एमाले प्रदेश कमिटीको अधिवेशनमा चौधरी उपसचिवमा पराजित भएका थिए। त्यसयता उनी अध्यक्ष ओली, महासचिव पोखरेल र पार्टी विरुद्ध लागेको गुरुङको आरोप छ।
सांसद चौधरी भने आफूलाई लागेका सबै आरोप गलत रहेको बताउँछन्। केही नेताले आफूसँग व्यक्तिगत रिसइबी साध्न पार्टीसँग जोेडेर कारबाही गर्न खोजेको चौधरीको भनाइ छ। “अरू केही होइन, म माओवादीबाट आएको केही नेतालाई पचेको छैन। पछि आएर अगाडि बढ्यो भन्ने छ,” उनी भन्छन्, “मैले गरेको कामको प्रगति देख्न नसकेर मलाई सकाउनतिर लागेका छन्।”
आफूले काम गरेको केही सांसद र नेतालाई नपचेको उनको जिकिर छ। जिल्लाका नेता, प्रदेश र प्रतिनिधि सभा सांसद समेत आफू विरुद्ध लागेको चौधरीको आरोप छ। “मैले पार्टी अध्यक्ष र महासचिवलाई कहिल्यै गाली गरेको छैन। मेरो नेतालाई म कसरी गाली गर्न सक्छु?” उनी भन्छन्, “यो अरू केही होइन, गुटको राजनीति हो।”
यस विषयमा एमाले बाँकेकी इन्चार्ज शान्ति ढकाल आफूलाई विस्तृत जानकारी नभएको बताउँछिन्। “माननीय चौधरीज्यूले पार्टी अध्यक्ष र महासचिव विरुद्ध बोलेकाले स्पष्टीकरण सोधिएको भन्ने कुरा सुनेकी छु,” उनी भन्छिन्, “जिल्ला अध्यक्षले चौधरीजीको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाहीका लागि सिफारिश गरेको हो भन्ने बताउनुभयो, तर मैले अध्ययन गरेकी छैन।”
अहिले आफू जिल्ला बाहिर रहेकाले फर्केपछि बुझ्ने इन्चार्ज ढकालको भनाइ छ। “सबै अध्ययन गरेर मेरो धारणा बनाउँछु,” उनी भन्छिन्।
एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्य चौधरीलाई निलम्बन गरेको सुनेको प्रतिक्रिया दिन्छन्। अहिलेसम्म आधिकारिक पत्र नआएको आचार्यको भनाइ छ। “कारबाहीको निर्णय मैले गर्ने होइन, प्रदेश कमिटीले गर्ला,” सचिव आचार्य भन्छन्, “यस घटनाबारे अध्ययन गरेर निर्णय गर्छौं। अहिले धेरै नबोलौं।”
सांसद चौधरी माओवादीबाट एमालेमा आएका हुन्। उनी माओवादीका पूर्व लडाकू समेत हुन्। एमाले र माओवादीबीच एकता भएपछि उनी एमाले नेता निकट बनेका थिए। नेकपा फुटेपछि पनि उनले एमाले रोजेका थिए।
एमालेमा बसेपछि उनी महासचिव पोखरेलसँग निकट सम्बन्ध राख्न सफल भएका थिए। त्यसपछि पोखरेलले उनलाई एमाले लुम्बिनी प्रदेश कमिटीको सहसचिव बनाएका थिए।
२०७४ सालको निर्वाचनमा चौधरी बाँके १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। पहिलो कार्यकालमा लीला गिरी मुख्यमन्त्री हुँदा वन तथा वातावरणमन्त्री पनि बनेका थिए। गत निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
गत वर्ष लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा चौधरी उपसचिवमा पराजित भएका थिए। त्यसपछि प्रदेश कमिटीले उनलाई सल्लाहकारमा मनोनीत गरेको थियो। उनी पश्चिम तराईको थारू समुदायमा स्थापित नेता हुन्।
स्थानीय एमाले नेताहरूका अनुसार यो विवाद बाँकेसँगै बर्दिया, दाङ र कैलालीसम्म पुग्ने देखिएको छ। केही स्थानमा चौधरी निकट एमाले कार्यकर्ताले असन्तुष्टि जनाइसकेको एक नेता बताउँछन्। “यो विवाद चाँडै साम्य भएन भने यसको असर थारू बहुल दाङ, बाँके, बर्दिया र कैलालीसम्मै असर पर्छ,” ती नेता भन्छन्।
एमाले बाँकेका अध्यक्ष गुरुङ भने जिम्मेवार पदमा रहेर आफ्नै पार्टीलाई हानिनोक्सानी पुर्याएमा कारबाही गर्ने पार्टीको विधानमा व्यवस्था भएकाले त्यसै अनुसार अघि बढेको बताउँछन्। एमाले विधानको धारा ८१ (७) मा अनुशासनको कारबाहीको व्यवस्था छ। “सच्चिएर आएमा फुकुवा पनि हुन्छ, तर पहिला सच्चिएर आउनुपर्यो,” गुरुङ भन्छन्।