पूर्व मन्त्री अधिकारीको वाट्सएपबाट नक्कली कागजात आदानप्रदान
पूर्व मन्त्री लिलाबल्लभ अधिकारीले हाल फरार अभियुक्त रहेका योगराज गौतमलाई वाट्सएपबाट जापान जाने युवाको नक्कली परिचयपत्र पठाए पनि उनी विरुद्ध मुद्दा चलाउने आधार सरकारी वकीलको कार्यालयले देखेन।
आफू विरुद्ध अदालतमा अभियोग दर्ता नभएको खबर पाएपछि मंसीर १० गते साँझपख पूर्व मन्त्री लिलाबल्लभ घिमिरेले अनुसन्धानमा संलग्न केही प्रहरीलाई भेट्ने इच्छा गरे। तल्लो दर्जाका प्रहरीले बहालवाला सांसदले यस्तो इच्छा प्रकट गर्नसाथै तलको हिरासत कक्षबाट निकालेर प्रहरी अधिकृतहरूको कार्यकक्षमा उकाले। प्रहरीलाई अनुसन्धानमा सहयोग गरेको कुरा उप्काए र कुराकानीकै क्रममा अधिकारी गलल्ल हाँसे।
प्रहरीले अधिकारी विरुद्ध मानव तस्करीमा संलग्न भएको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो। तर सरकारी वकीलले प्रहरीको राय उल्टाएर ११ जनालाई प्रतिवादी बनाउँदा अधिकारीलाई अभियुक्त बनाएन। उल्टो उन्मुक्ति दिलायो। प्रहरीको अनुसन्धान पार नलागेकाले व्यंग्यस्वरूप अधिकारीले प्रहरीकै अगाडि हाँसोको फोहोरा छुटाएका थिए। अधिकारीको हाँसो नरोकिंदै त्यहाँ रहेका एक प्रहरी अधिकृतले मुख खोले, “तपाईं यो नक्कली हाँसो नहाँस्नोस्। आफूले अनुसन्धानमा सहयोग गरेको ठान्नुहुन्छ? त्यसो भए जापानबाट फर्केर तपाईंले प्रहरीमा रिपोर्ट गर्नुभयो? तपाईं त लुसुक्क लुक्नुभएको थियो।” त्यसपछि अधिकारी संयमित बनेको उक्त दृश्य देखेका एक प्रहरीले हिमालखबरलाई बताए।
हुन पनि सरकारी वकीलको कार्यालयले ‘वस्तुनिष्ठ प्रमाण नभेटिएको’ भन्दै अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरे पनि प्रहरीले भने पर्याप्त प्रमाण भेटिएको अनुसन्धान प्रतिवेदन तयार गरेको थियो। अधिकारीले तीन युवालाई तस्करीको बाटोबाट जापान पुर्याएको आरोप लागेको थियो। कोशी प्रदेशका तात्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीसँगै खोटाङका ४१ वर्षीय जनक राई र ३६ वर्षीय दावा शेर्पा तथा रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको नारिता विमानस्थलबाट कात्तिक १४ गते ‘निकाला’ गरिएको थियो। अधिकारीको सहयोगी बनाएर उनीहरूलाई जापान पुर्याइएको थियो।
हिमालखबरलाई प्राप्त प्रहरीको अनुसन्धान प्रतिवेदनमा पूर्व मन्त्री अधिकारीको वाट्सएपबाट योगराज गौतमलाई जनक राईको नक्कली परिचयपत्रको फोटो पठाइएको छ। योगराज यो मुद्दाका फरार अभियुक्त हुन्। योगराजले नै आफूलाई जापान जाने प्रस्ताव गरेको र आयोजकले खर्च बेहोर्ने भएपछि सहर्ष स्विकारेको अधिकारीले प्रहरीसँगको बयानमा बताएका छन्। यसअघि पनि आयोजककै खर्चमा आफू विदेश जाने गरेको समेत अधिकारीले खुलाएको अभियोगपत्रमा उल्लेख छ। प्रहरीको अनुसन्धान प्रतिवेदनको २६ पेजमा भनिएको छ, ‘गोपाल भन्ने योगराज गौतम भन्ने व्यक्तिलाई लिलाबल्लभ अधिकारीले वाट्सएप मेसेजमा जनक राईको नक्कली परिचयपत्रको फोटो पठाएको प्रमाणहरू फेला परेकाले प्रहरी प्रतिवेदनसाथ उक्त प्रमाण फोटो खिची प्रिन्ट गरी पेश गरेको।’
आफ्नो मन्त्रालयको कर्मचारीका रूपमा तयार भएको जनक राईको नक्कली परिचयपत्र तत्कालीन मन्त्री अधिकारीले नै तस्कर समूहका एक सदस्य योगराजलाई पठाएको यो प्रमाणले देखाउँछ। राई लगायतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिचयपत्र बनाइएको छ। यद्यपि अधिकारीले बयानमा आफ्नो हस्ताक्षर कीर्ते गरेर परिचयपत्र बनाएको दाबी गरेका छन्। “तर आफ्नो वाट्सएपबाट योगराज गौतमलाई जनक राईको परिचयपत्रको फोटो पठाउँदा अधिकारीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको हेक्का किन राखेनन्?” अनुसन्धानमा संलग्न प्रहरी अधिकृत प्रश्न गर्छन्।
अधिकारी सहित तीनै जना एउटै विमान ‘क्याथी प्यासिफिक एअरवेज’ बाट जापान पुगेका थिए। कात्तिक १२ गतेदेखि १८ गतेसम्म जापानमा अधिकारी र कञ्चन देवकोटा एउटै कोठामा बस्ने गरी होटल ‘बूक’ समेत गरिएको प्रमाण प्रहरीले फेला पारेको थियो। यस घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका धादिङका महेश पाण्डेले आफूले चिनजानका व्यक्ति कञ्चन देवकोटाबाट जापान जानका लागि साढे पाँच लाख रुपैयाँ लिएको र उक्त रकम अधिकारीको हवाई टिकट, कार्यक्रम खर्च एवं होटल बूकिङका लागि दिवाकरबाबु भट्टराईलाई दिएको बयानमा खुलाएका छन्। ‘उक्त रकम मैले लिलाबल्लभ अधिकारी र कञ्चन देवकोटाको नाममा हवाई टिकट, होटल खर्च समेतको कागजातहरू तयार गर्न आयोजक दिवाकरबाबुलाई कात्तिक ७ गते पुतलीसडकमा भेटी दिएको हो,’ अदालतमा दर्ता भएको अभियोगपत्रको ११ पेजमा लेखिएको छ।
प्रहरीले सरकारी वकीलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा पनि देवकोटा, शेर्पा र राईबाट असुलेको रकमबाट तत्कालीन मन्त्री अधिकारीको आउनेजाने हवाई खर्च, जापानमा हुने खर्च, भिसा शुल्क लिएकाले उनले यो मानव तस्करी गरी आर्थिक लाभ लिएको पुष्टि हुने उल्लेख गरेको छ।
अधिकारी र योगराजबीच फोन सम्पर्क समेत यो घटनाको आसपास बाक्लो रहेको देखिन्छ। अभियोगपत्र अनुसार लीलाबल्लभले योगराजलाई १२ पटक फोन गरेका छन् भने योगराजले लिलाबल्लभलाई ११ पटक।
के हो घटना?
अभियोगपत्र अनुसार यस घटनाका मुख्य योजनाकार दिवाकरबाबु हुन्। महेशले प्रहरीमा दिएको बयान अनुसार दिवाकर अमेरिकी ‘ग्रीन कार्ड’धारी हुन्। उनी गत दशैं ताका नेपाल आएका हुन्। दिवाकरले नै उनका कलेजकालीन सहपाठी महेशलाई जापानमा संस्कृति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने तय भएको र त्यसमा केही मानिस पठाउन सकिने बताएका थिए। आफूले यो कुरा योगराजलाई सुनाएपछि उनले तत्कालीन मन्त्रीलाई प्रस्ताव गरेको महेशले बताएका छन्। महेशले नै चिनजानका कञ्चन देवकोटाको नाम दिवाकरलाई दिएका थिए। दिवाकरसँग चिनजान भएका नुवाकोटका जुगल रिजालले जापान जाने दुई जना व्यक्ति खोजेका हुन्, दावा शेर्पा र जनक राई। शेर्पा र राईलाई अर्का एजेन्ट दोलखाका वीरबहादुर सुनारले जोडिदिएका थिए।
तत्कालीन मन्त्री अधिकारीसँग जापान उडाउन यो समूहले राई र देवकोटाबाट १०/१० लाख र शेर्पासँग ११ लाख ५५ हजार रुपैयाँ असुलेको थियो। दिवाकर र उनका भाइ विष्णु भट्टराईले कागजातको प्रबन्ध गरेका थिए। नक्कली परिचयपत्र बागबजारको ग्राफी क्रिएशनमा बनाइएको थियो। प्रहरीले क्रिएशनका सञ्चालक नवीन राई र गुडी राईलाई पक्राउ गरेर मुद्दा चलाएको छ। जापान जाने व्यक्ति खोज्ने महेश, जुगल र वीरबहादुर विरुद्ध पनि अभियोग दर्ता भएको छ। भट्टराई दाजुभाइ र मन्त्रीका निकट योगराज भने फरार छन्।
जापानको टोक्यो महानगर सरकारको आर्ट काउन्सिलले ‘इन्टरन्याशनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४’ सम्मेलन आयोजना गर्ने भनी मन्त्री अधिकारीलाई खबर आएको थियो। तर निमन्त्रणापत्र दिइएको थिएन। महानगर सरकारद्वारा आयोजित भनिए पनि निमन्त्रणा विनै मन्त्री अधिकारी जापान उड्न तयार भएका थिए। “कुनै स्वार्थ थिएन भने मुखले भनेकै भरमा उनी किन जान तयार भए?” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, “पदीय ओहोदाको ख्याल नगरेको मात्र होइन, केही प्रमाणले यसमा उनले गैरकानूनी लाभ लिएको देखाउँछ। तर सरकारी वकीलले जोगायो।”
स्मरणीय के छ भने, अवैध रूपमा जापान उड्दा अधिकारी कानून कार्यान्वयन गर्ने आन्तरिक मामिला (गृह) तथा कानून बनाउने कानून मन्त्रालयको कुर्सीमा आसीन थिए। जापान जान उनले सरकारको स्वीकृति समेत लिएका थिएनन्। उनी कति हतारमा जापान उडेका थिए भने भिसा लागेको राहदानी, टिकट, होटल बूकिङ लगायत कागजात उडानकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लिएका थिए। अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवन अगाडिको कान्तिपुर क्याफेमा महेश पाण्डेलाई भेटेर लिएको अधिकारीले प्रहरीमा दिएको बयानमा भनेका छन्।
हङकङ ट्रान्जिट हुँदै जापानको नारिता विमानस्थलमा पुगेपछि उनीहरूलाई त्यहाँको अध्यागमनले रोकेको थियो। त्यसपछि अधिकारीले चलाखीपूर्वक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीलाई उनीसँगै गएका अन्य तीन जनाको नक्कली परिचयपत्र, कार्यक्रमको कागजात लगायत विवरण वाट्सएपमा अनुसन्धानका लागि भन्दै पठाएका थिए। प्रहरी बयानमा भने अधिकारीले आफ्नो हस्ताक्षर कीर्ते भएको चाल पाएपछि आफू कार्यक्रममा सहभागी नहुने भन्दै जापानको अध्यागमनलाई फिर्ता पठाइदिन अनुनय गरेको दाबी गरेका छन्। तर जापान पुगेर फर्किएका अन्यले भने चारै जनालाई एकसाथ नारिताबाट ‘डिपोर्ट’ गरेको बयानमा खुलाएका छन्। सक्रिय राजनीतिमा लाग्नुअघि लामो समय वकील पेशामा रहेका अधिकारीले अनुसन्धानमा सघाएको देखाउने प्रमाणका लागि यो सूचना प्रहरीलाई दिएका हुन सक्छन्। कानूनमा अनुसन्धानमा सघाउने आरोपितलाई अभियोग नलगाउन सक्ने व्यवस्था छ। यद्यपि प्रहरीको अनुसन्धान प्रतिवेदन उल्टाएर सरकारी वकीलको कर्यालयले दायर गरेको अभियोजनमा भने अनुसन्धानमा सघाएको विषय उल्लेख नै छैन, वस्तुनिष्ठ प्रमाण नभेटिएको मात्र छ।
यसका साथै थप प्रमाण भेटिएमा अधिकारी विरुद्ध अभियोग दायर गरिने समेत उल्लेख छ। आफ्नै वाट्सएपबाट अधिकारीले जापान जानेमध्ये एक जनक राईको नक्कली कागजात गिरोहका सदस्यलाई आदानप्रदान गरेको प्रमाणलाई भने सरकारी वकीलले ठोस सबूत नमानेकाले भविष्यमा उनी विरुद्ध अभियोजन हुनेमा प्रशस्त शंका छ।