पढेर दिन काट्ने लामिछाने, गफमा रमाउने मनाङे
हिरासत र कारागारमा रहेका प्रभावशाली र चर्चित व्यक्तिहरूले अन्य थुनुवा/कैदीभन्दा आफूलाई अलग र विशिष्ट व्यवहारको अपेक्षा गर्ने गरेका छन्।
हिरासतमा रहेका सबैभन्दा पूर्व उच्चपदस्थ व्यक्ति हुन्, रवि लामिछाने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने सहकारी ठगीको आरोपमा ३९ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासत दुईतले छ। दुवै तलामा बार बारेर तीन-तीन वटा कोठा बनाइएको छ। एउटा कोठामा अटुन्जेल थुनुवा राखिन्छ। लामिछानेलाई भने दोस्रो तलाको एउटा सिंगै कोठा दिइएको छ।
प्रहरी स्रोतका अनुसार उनलाई पत्रपत्रिका पढ्ने सुविधा दिइएको छ। यस्तै, हिरासतमा रहेकाहरूका लागि खोलिएको पुस्तकालयबाट किताब पनि उपलब्ध गराइएको छ। लामिछानेलाई उनको दल रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले गत कात्तिकको मध्यतिर एउटा किताब उपहार दिएका थिए। वाग्लेले सामाजिक सञ्जालमा पोस्ट गरेको विवरण अनुसार उनले लामिछानेलाई पत्रकार, लेखक एवम् विश्लेषक फरिद जकारियाको पुस्तक एज अफ रेभोलुसन्स दिएका थिए।
हिरासतबाटै दुई/तीन दिनको अन्तरालमा परिवारलाई फोन गर्ने सुविधा पनि लामिछानेले पाइरहेका छन्। “यस्तो सुविधा अन्य थुनुवाले आकस्मिक अवस्थामा बाहेक पाउँदैनन्,” कास्कीका एक प्रहरी अधिकृत भन्छन्।
शुरूशुरूमा लामिछानेलाई भेट्न आउने पार्टीपंक्तिका मानिस धेरै हुन्थे। तर अहिले यस्तो क्रम लगभग टुटिसकेको छ। “भेट्न आउने मानिस खासै हुँदैनन्,” ती प्रहरी अधिकृत भन्छन्, “त्यसैले पनि उनी पढेरै दिन कटाउँछन्। भेट्न आउनेहरूलाई पुस्तक ल्याइदिन भन्छन्।”
सहकारी ठगीकै अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालि स्थापना गर्दाका लामिछानेका पूर्व साझेदार एवं पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन्। उनलाई लामिछाने बसेकै छेउको अर्को कोठामा राखिएको छ। सहअभियुक्तलाई अनुसन्धानका क्रममा छुट्टाछुट्टै राख्ने गरिन्छ, अनुसन्धान प्रभावित पार्ने जोखिमका कारण।
लामिछाने र जोशी दुवै जना हिरासतमा दिइने खानाको सट्टा प्रहरीको क्यान्टिनबाट किनेर खान्छन्। लामिछाने र जोशी दुवै विरुद्ध रुपन्देही, काठमाडौं र चितवनमा समेत सहकारी ठगीको आरोप छ। रुपन्देहीमा दुवै जनाको बयान सकिएको छ भने काठमाडौंमा जोशीको बयान गरिए पनि लामिछानेको बाँकी छ।
काठमाडौंमा बयानका लागि ल्याउँदा जोशीलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। त्यति वेला उनले राति प्रहरी अधिकृतको कार्यकक्षमा सुत्ने इच्छा देखाएका थिए। “म आफैं पूर्व प्रहरी हो। भाग्ने होइन। सुबिस्तासँग सुत्न पाए हुन्थ्यो,” जोशीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृत भन्छन्, “उहाँले आफू प्रहरी नै रहेको ठान्नुभएको थियो। तर कानूनका नजरमा अभियुक्त भइसकेपछि त्यस्तो गर्न सकिंदैन भनियो।”
प्रहरी हिरासतमा रहेका अर्का चर्चित पात्र हुन्, मेडिकल व्यवसायी दुर्गा प्रसाईं। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा अर्बौं रुपैयाँ लगानी गरेको प्रमाण आफूसँग रहेको भन्दै उनले केही कागजपत्र भिडिओ मार्फत सार्वजनिक गरेका थिए। ती कागजात कीर्ते गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसीर ४ गते प्रहरीले पक्राउ गरेको थियो।
प्रसाईंलाई सिंहदरबार वृत्तमा राखिएको छ। उनले प्रहरीले दिएकै खाना खाइरहेका छन्। उनलाई पत्रपत्रिका पढ्ने सुविधा नदिइएको प्रहरी स्रोत बताउँछ। प्रहरीले परिवारका सदस्य बाहेक अन्यसँग भेटघाटमा समेत कडाइ गरेको स्रोतको भनाइ छ।
प्रसाईं कुनै वेला नेकपा एमाले र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिमा समेत सामेल भएका थिए। एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता गरेर नेकपा बनाउने भूमिकामा समेत उनको नाम जोडिएको थियो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रसाईंले आफ्नो निवासमा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएको थियो। त्यसपछि दुवै दलबीच एकता प्रक्रियाले गति लिएकाले यस प्रकरणले ‘मार्सी’ को संज्ञा पाएको थियो।
तर २०७९ फागुनमा प्रसाईंलाई एमालेले केन्द्रीय सदस्यबाट निष्कासन गरेको थियो। त्यसयता उनी राष्ट्रवादी शक्ति निर्माणमा लागेका छन्। उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर झापामा कार्यक्रम गरेपछि एमालेले कारबाही स्वरूप उनलाई पार्टीबाट हटाएको हो।
विशिष्ट व्यवहारको अपेक्षा
हिरासतमा बस्दा भीआईपी थुनुवाहरू आफूलाई प्रहरीले अरूभन्दा अलग्गै व्यवहार गरिदेओस् भन्ने अपेक्षा राख्छन्। यस्तै अपेक्षा राख्नेमध्येका थिए, कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी, जो मानव तस्करीको आरोपमा १६ दिन हिरासत बसेर मंसीर १० गते थुनामुक्त भए। सरकारी वकीलको कार्यालयले अधिकारी विरुद्ध अभियोग नलगाउने निर्णय गरेपछि उनी छुटेका हुन्।
“घाम ताप्ने र प्रहरी अधिकृतहरूले नुहाउने ठाउँमा नुहाउने बन्दोबस्त गरिदिनुपर्यो भनेर हैरान पार्थे,” एक प्रहरी अधिकृत भन्छन्।
कात्तिक २५ गते पूर्व मन्त्री अधिकारी मानव तस्करीमा संलग्न रहेको आरोपमा मोरङबाट पक्राउ परेका थिए। सांस्कृतिक सम्मेलनमा भाग लिन भन्दै खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटालाई लिएर जापान उडेका अधिकारीलाई कात्तिक १३ गते नारिता अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काइदिएको थियो। नेपाल ओर्लनासाथै अन्य तीन जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरे पनि मन्त्री अधिकारी भीआईपी कक्ष प्रयोग गरेर ससम्मान बाहिरिएका थिए। मन्त्रीसँगै फर्काइएका व्यक्तिहरू पक्राउ परेको सार्वजनिक भएपछि भने अधिकारीले पदबाट राजीनामा दिएका थिए। सरकारको स्वीकृति विनै जापान उडेका अधिकारी त्यसपछि समेत पक्राउ नपर्दा सरकार र प्रहरीकै आलोचना भएपछि कात्तिक २५ गते नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो।
भद्रकालीस्थित आधुनिक शैलीको प्रहरी भवनमा पेशेवर अपराधमा संलग्न र अन्यलाई राख्ने छुट्टाछुट्टै हिरासत कक्ष छ। अधिकारीलाई अन्य थुनुवासँग नराखी छुट्टै राखिएको थियो। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे भीआईपीलाई भनेर छुट्टै हिरासत नरहेको बताउँछन्। “अपराधको प्रकृति अनुसार फरक फरक राख्ने गरिन्छ, तर त्यहाँ हुने सुविधामा कुनै फरक हुँदैन,” रजौरे भन्छन्।
राज्यको उपल्लो ओहोदामा बसेकाहरू अनुसन्धानका लागि पक्राउ परेपछि उनीहरूलाई अलग्गै हिरासतमा राख्नुपर्ने कानूनी व्यवस्था नभए पनि कतिपय अवस्थामा प्रहरीले अलग व्यवहार गर्ने गरेको छ। जस्तै, पूर्व मन्त्री अधिकारीलाई शुरूका दिनमा भेट्न आएका केही व्यक्तिलाई एक प्रहरी नायब उपरीक्षक (डीएसपी)को कार्यकक्षमा भेटाउने बन्दोबस्त मिलाइएको एक प्रहरी अधिकृतले बताए। कानून व्यवसायीको पृष्ठभूमिबाट राजनीतिमा लागेका अधिकारीलाई भेट्न आउने धेरैजसो अवकाशप्राप्त न्यायाधीशहरू रहेको ती अधिकृतले सुनाए।
यसअघि नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व मन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी र पूर्व सचिव टेकनारायण पाण्डेलाई हिरासतमा नराखी प्रहरी अधिकृतहरूको कार्यकक्षमा राखिएको थियो। “हिरासतमा ठाउँ नभएर होइन, उनीहरूलाई सुविधा होस् भनेर त्यहाँ राखिएको हो,” एक प्रहरी अधिकृत भन्छन्, “पक्राउ गरिएको एकाइमा हिरासत भरिभराउ भएमा उपत्यकाका अरू हिरासतमा पठाइन्छ। तर उनीहरूलाई त्यसो गरिएन।”
धार्मिक पाठ र प्रवचन
काठमाडौंको डिल्लीबजार कारागारस्थित ‘क’ ब्लक बाहिरको खुला स्थानमा हरेक बिहान लामो टुप्पी पालेका एक व्यक्ति हातमा मोटो पुस्तक लिएर निस्कन्छन्। उनी निस्किएसँगै अरू पनि आँगनमा जम्मा हुन थाल्छन्। पुस्तकधारी व्यक्तिले किताब पल्टाएर पाठ गर्छन्। प्रवचन दिन्छन्। यसरी जेलभित्र नित्य पाठ र प्रवचन दिने व्यक्ति कुनै धार्मिक पण्डित वा गुरु होइनन्। ब्यांकिङ ठगीका कसूरदार ठहरिएर कैद सजाय भोगिरहेका किष्ट ब्यांकका पूर्व कार्यकारी अधिकृत कमल ज्ञवाली हुन्।
कारागार सुरक्षामा खटिएका प्रहरी अधिकृतहरूका अनुसार ज्ञवालीको धार्मिक पाठ र प्रवचन सुन्ने नियमित स्रोता पनि सार्वजनिक छवि बनाएकाहरू नै छन्। पूर्व सांसद इच्छाराज तामाङ, पूर्व सचिव चूडामणि शर्मा, कांग्रेस नेता चन्द्रबहादुर (सीबी) लामा, एमाले नेता कृष्णबहादुर (केबी) उप्रेती लगायत हुन्छन्। त्यस्तै, ठगी र संगठित अपराधको कसूरमा पुर्पक्षका लागि जेल पुगेका पृथ्वीबहादुर शाह, सहकारी ठगीको अभियोगमा थुनामा रहेका हिमालयविक्रम मल्ल पनि ज्ञवालीको प्रवचनमा सहभागी हुन्छन्।
पूर्व सांसद तामाङ सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहरिएर जेल सजाय काटिरहेका छन्। यस्तै, सहकारी ठगीको मुद्दामा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो। उनलाई सम्पत्ति शुद्धीकरणको कसूरमा तीन वर्ष कैद सजाय तोकिएको छ। उनी विरुद्ध सिभिल सहकारीको साढे पाँच अर्ब रुपैयाँ ठगीको अलग्गै मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
पूर्व सचिव शर्मा कर फर्छ्योट आयोगमा छँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले नौ वर्ष कैद सजाय सुनाएको छ। उनीबाट दुई अर्ब रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना हुने फैसला समेत सुनाइएको छ। यस विरुद्ध शर्माले सर्वोच्च अदालतमा पुनरावेदन गरे पनि फैसला भएको छैन।
कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारीका सञ्चालक सीबी लामा बचतकर्ताको डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। उनी २०७० सालको दोस्रो संविधानसभाको चुनावमा काभ्रेबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका थिए। त्यस्तै, नेकपा (एमाले)को केन्द्रीय सहकारी विभागका सचिव रहेका केबी उप्रेती सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि थुनामा परेका हुन्। सहकारी विकास ब्यांक र आइडियल यमुना हाम्रो सहकारीका अध्यक्ष उप्रेती विरुद्ध आठ अर्ब रुपैयाँ हिनामिना गरेको अभियोग छ।
ज्ञवाली गीता, रामायण र महाभारत जस्ता ग्रन्थमा उल्लेख भएका विषयमा प्रवचन दिन्छन्। शास्त्र पल्टाउँदै जीवनमा सन्मार्गमा लाग्नुपर्ने, खराब विचार तथा आचरण त्याग्नुपर्ने, सहयोगी भाव राख्नुपर्ने कुरा सिकाउँछन्। “अरू प्रायः चूपचाप सुनिरहन्छन्,” एक प्रहरी भन्छन्, “कहिलेकाहीं सवालजवाफ पनि हुन्छ।” जेल आएको केही महीनापछि नै ज्ञवालीले यस्तो कार्य शुरू गरेका थिए।
ब्यांकिङ कसूर लागेपछि ज्ञवाली २०७० सालदेखि फरार थिए। २०७६ सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई भारतीय प्रहरीको सहयोगमा वृन्दावनबाट पक्राउ गरेर ल्याएको थियो। वृन्दावनमै बस्दा आफूले धार्मिक पुस्तक पढेको र सांसारिक मोह त्यागेर अध्यात्मतिर लागेको उनले बताएका थिए। उनले जेलमा आफूले धार्मिक र आध्यात्मिक पुस्तक लेखिरहेको समेत बताएका थिए।
राजनीतिक बहस
प्रवचन सकिएपछि यो समूहको विषय समसामयिक राजनीतिबारे गफगाफ गर्ने हुन्छ। राजतन्त्रकाल र गणतन्त्रकालको तुलना गर्छन्। हिन्दू राज्य, राजा महेन्द्र, वीरेन्द्र, जंगबहादुर राणा जस्ता शासकदेखि वर्तमान नेताहरू पुष्पकमल दाहाल र केपी ओलीसम्म उनीहरूका कुराकानीका पात्र र विषय हुन्। कारागारको पुस्तकालयमा रहेका पत्रपत्रिका पढेर उनीहरूले देशको अवस्थाबारे जानकारी बटुल्ने र आफ्नो धारणा बनाउने गरेको एक प्रहरी बताउँछन्।
धेरैजसो कैदीले पुस्तकालयलाई समय कटाउने गतिलो माध्यम बनाउने गरेको डिल्लीबजार कारागारका जेलर पूर्ण खत्री बताउँछन्। कतिपय कैदीले आफूलाई भेट्न आउनेबाट चाहेको किताब मगाएर पढ्छन्। “उहाँहरूसँग पर्याप्त समय हुन्छ, धेरै समय पढेरै बिताउनुहुन्छ,” खत्री भन्छन्। उनका अनुसार पुस्तकालयमा धार्मिक, आध्यात्मिक, राजनीतिक, विज्ञान सम्बन्धी, जीवनी जस्ता प्रायः सबैखाले पुस्तक राखिएका छन्।
पूर्व सांसद तामाङ भने धार्मिक प्रवचन सकिएपछि प्रायः आफ्नो कोठामा पसिहाल्छन्। भित्रै पढेर बस्छन्। “राजनीतिक बहसमा उनी सहभागी हुँदैनन्,” अर्का एक प्रहरी अधिकृत भन्छन्, “कहिलेकाहीं निस्किहाले पनि बोल्दैनन्।” तामाङलाई भेट्न सहकारीका पीडित बचतकर्ताहरू जेलमै पुग्छन्, तर उनी हम्मेसी भेट्न मान्दैनन्। उनी राज्यले आफूलाई पैसा फिर्ता गर्ने वातावरण नबनाइदिएको गुनासो प्रहरीसँग गरिरहन्छन्। “मलाई थुनेर मान्छेले पैसा पाउँदैनन्। मौका दिएको भए अहिलेसम्म मैले पैसा फिर्ता गरिसक्थें,” तामाङको भनाइ अक्सर यस्तै हुने प्रहरी स्रोत बताउँछ।
प्रायः सबै भीआईपी कैदीको भनाइ आफूलाई फसाइएको भन्ने नै हुने गरेको प्रहरी अधिकृत सुनाउँछन्। “गलत गरेर यो परिणाम भोग्नुपर्यो भन्नेहरू भेटिंदैनन्,” ती प्रहरी भन्छन्, “खालि फसियो, फसाइयो भन्नेहरू मात्र हुन्छन्।
एक मात्र खुशी कैदी !
प्रायः कैदी गुनासो गर्दै निराश भएर थुनुवा जीवन काट्ने गरेकोमा अपवादको पात्र हुन्, ज्यान मार्ने उद्योगमा हालसालै जेल चलान भएका पूर्व मन्त्री एवं प्रदेश सांसद दीपक मनाङे (राजीव गुरुङ)।
मनाङे डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा छन्, जुन यसअघि त्यहीं सजाय काट्दा उनले आफ्नै खर्चमा उक्त ब्लकका कोठा मर्मत गरेका थिए। त्यहाँ पहिले महिला कैदीलाई राखिन्थ्यो। मनाङेले नै ‘सेटिङ’ मिलाएर हटाएको एक प्रहरी बताउँछन्। मनाङे सहित यो ब्लकमा दूरसञ्चारमा भ्रष्टाचार गरेको आरोपमा नौ वर्ष कैद सजाय तोकिएका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक छँदा भ्रष्टाचार गरेकामा दुई वर्ष कैद सजाय भोगिरहेका विकल पौडेल छन्।
एक प्रहरीका अनुसार मनाङे जेलमा कहिल्यै निराश देखिंदैनन्। बरु सबैलाई जम्मा गरेर रमाइला गफ गर्छन्। हाँस्छन्। “यस्तरी गफ दिन्छन् कि आफू जेलमा छु भन्ने नै हेक्का राखे जस्तो देखिंदैन,” ती प्रहरी भन्छन्, “कसैले फसायो भनेर गुनासो पनि गर्दैनन्। सबैभन्दा खुशी कैदी हुन्, उनी।”
मनाङे बिहान सात बजेतिरै ब्लक बाहिर निस्कन्छन्। केही बेर घाम ताप्छन्। केही बेर अन्य कैदीलाई गफ दिन्छन्। राजनीति, गुन्डागर्दी, शासन, प्रशासनका कुरा सुनाउँछन्। आफ्ना अनुभव बाँड्छन्। त्यसपछि केही बेर जिम पनि गर्छन्। त्यहाँ सामान्य खालको जिमखाना रहेको जेलर पूर्ण खत्री बताउँछन्। नेतादेखि गुन्डागर्दी लाइनका मानिस मनाङेलाई भेट्न आइरहने एक प्रहरीले बताए।
अपराधको दुनियाँबाट उदाएका मनाङे २०७० सालपछि राजनीतिमा लागेका हुन्। २०७४ सालको चुनावअघि उनी नेकपा (एमाले)मा थिए। तर चुनावमा एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेर मनाङबाट प्रदेश सांसद चुनिएका थिए। अपराधको दुनियाँमा छँदा पटक पटक पक्राउ पर्दा मनाङे डिल्लीबजार कारागारमा बसेका थिए। यस पटक चाहिं, २०६१ सालमा अर्का गुन्डा नाइके चक्रे मिलनलाई तरबार हानेर हात छिनाएको घटनामा दोषी ठहर भई उनी जेल सजाय काटिरहेका छन्।
प्रभावशालीको रोजाइ डिल्लीबजार कारागार
भीआईपी कैदीहरूको रोजाइको ठाउँ हो, डिल्लीबजार कारागार। अन्य कारागारमा क्षमताभन्दा बढी कैदी हुने तर करीब ७०० बन्दी राखिने क्षमता भएको डिल्लीबजारमा त्यसभन्दा कम कैदी हुने भएकाले तुलनात्मक रूपमा सहज मानिन्छ। साथै, समाजमा स्थापित र राम्रै आर्थिक हैसियत बनाएकाहरूलाई राखिने हुँदा जेलको आन्तरिक प्रशासन सहयोगी हुने मनोविज्ञानले समेत भीआईपी कैदीहरू डिल्लीबजारलाई सहज मान्छन्। कारागार ऐनको दफा ५४ मा कैदीहरूलाई निगरानी र व्यवस्थापन गर्न बन्दीहरूबाटै चौकीदार, नाइके, सहनाइके तोकिने व्यवस्था छ। बन्दीलाई यही आन्तरिक प्रशासनले जेलभित्र शासन गर्ने हो। आन्तरिक प्रशासन अनुकूल भएमा बन्दीहरूलाई सहज हुन्छ।
पूर्व मन्त्री खुमबहादुर खड्का, श्यामसुन्दर गुप्ता, माओवादी नेता बालकृष्ण ढुंगेल, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी डिल्लीबजार कारागारमै कैदी जीवन बिताएर निस्किएका हुन्। यीमध्ये खड्का र ढुंगेलको मृत्यु भइसकेको छ। त्यस्तै, सुडान घोटालामा दोषी ठहरिएका पूर्व आईजीहरू रमेश चन्द ठकुरी, ओमविक्रम राणा, हेमबहादुर गुरुङले पनि यहीं कैद सजाय काटेका थिए। नेपाली कांग्रेसका नेता गणेश लामा पनि आफ्नो गुन्डागर्दीकालमा पक्राउ पर्दा यहीं बसेका थिए।
डिल्लीबजार कारागार प्रायः प्रभावशाली व्यक्तिहरूको अखडा बने पनि कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता अनुज भण्डारी कसूरको प्रकृति अनुसार कैदी राख्ने कारागार वर्गीकरण नभएको बताउँछन्। न त कारागारभित्रै त्यसरी वर्गीकरण गरेर कैदी राखिन्छ। “हालसम्म फलानो कारागारमा यी यी कसूरका कैदी राख्ने भन्ने वर्गीकरण कानूनतः भएको छैन,” उनी भन्छन्।
डिल्लीबजार कारागारमा भ्रष्टाचार सम्बन्धी मुद्दा लागेका र समाजमा प्रभाव भएका कैदीहरू बढी हुनु संयोग मात्रै हुन सक्ने उनको भनाइ छ। फैसलापछि अदालतमै बन्दीहरूले कारागार रोजेर जाने गरेको उनी सुनाउँछन्। “तर यसरी कारागार रोज्न पाउने कानूनी बन्दोबस्त चाहिं कतै छैन,” भण्डारी भन्छन्, “आआफ्नो सहजता हेरेर व्यावहारिक रूपमा यस्तो गरिएको होला।”