नर्भिक अस्पतालको लापरवाही : क्यानुला राख्दा नवजात शिशुको हातमा घाउ र जलन
नर्भिक अस्पतालमा कात्तिक २४ गते जन्मेको नवजात शिशुको हातमा घाउ र जलन भएको घटनामा अस्पतालको गम्भीर लापरवाही भएको अभिभावकले आरोप लगाएका छन्।
काठमाडौं, थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा जन्मिएको एक शिशुको हातमा उपचारका क्रममा गहिरो घाउ र जलन भएको पाइएको छ। हातका साथै खुट्टामा पनि घाउ भएको छ।
क्यानुला राख्दा अस्पतालको गम्भीर लापरबाहीका कारण आफ्नो नवजात शिशुको यो अवस्था भएको उप्शा खड्का र सुदीप बोहरा दम्पतीले आरोप लगाएका छन्। अस्पतालले उपचारका क्रममा घटना ढाकछोप गरेको र बच्चालाई हत्तपत्त भेट्न नदिएको पनि उनीहरूले गुनासो गरेका छन्।
काठमाडौंको टुसालमा बस्दै आएकी उप्शा गत कात्तिक २४ गते बच्चा जन्माउन नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्। उनमा मधुमेह देखिएपछि नर्मल डेलिभरीका लागि नपर्खी चिकित्सकको सुझाव अनुसार भर्ना गरिएकै दिन शल्यक्रियाबाट बच्चा निकालियो।
सामान्यतया ३८ देखि ४० हप्ताको गर्भबाट बच्चा जन्मने गरेकामा उप्शाले ३६ हप्तामा बच्चा जन्माएकी थिइन्।
जन्मिएको दुई दिनपछि बच्चाको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पतालले भेन्टिलेटरमा राख्यो। यस अवधिमा बच्चालाई हेर्न जान खोज्दा सजिलै नपाएको उप्शा बताउँछिन्। उनका अनुसार बच्चालाई हेर्न दिन आग्रह गर्दा नर्सहरू कहिले केही समय लाग्छ भन्दै पर्खाउँथे, कहिले खाजा खाइरहेका छौं भनेर टार्थे। केही समयको अलमलपछि मात्र उनीहरूलाई बच्चा देखाउन लगिन्थ्यो।
उपचारका क्रममा अस्पतालका स्वास्थ्यकर्मीले प्रस्ट कुरै नगरेको सुदीप बताउँछन्। “बच्चालाई श्वासप्रश्वासको समस्या ठीक भइसकेको बताउँथे, तर डिस्चार्ज नगरी अझै ५/६ दिन राख्नुपर्छ भन्थे,” उनी भन्छन्।
यस्तो व्यवहार र प्रतिक्रिया देख्दा, सुन्दा कतै केही गडबडी त छैन भनेर उप्शा र सुदीपलाई शंका लाग्न थाल्यो।
केही समय पर्खाउने, टार्ने, अनि मात्र भेट्न दिने क्रम ११ दिनसम्म चल्यो। ११औं दिनमा जब उनीहरू बच्चा हेर्न गए, बच्चाको हातमा जलेको घाउ देखे। यो के भएको भनेर छेउमै रहेकी नर्सलाई सोधे। जवाफ आयो, ‘थाहा छैन।’
त्यसअघिका दिनमा उनीहरू बच्चा हेर्न जाँदा हातमा सधैं ब्यान्डेज हुन्थ्यो। उपचार प्रक्रियाकै हिस्सा होला भनेर उनीहरूले त्यता ध्यान दिएनन्। तर त्यस दिन ब्यान्डेज विनाको हातमा घाउ देखे। “त्यस दिन नर्स नयाँ भएकाले ब्यान्डेज लगाउन भ्याएकी थिइनन् र त्यही समयमा हामी पुगेका कारण घाउ देख्यौं,” सुदीप भन्छन्।
बच्चाको त्यो अवस्था देख्दा उनीहरू आत्तिए। अस्पतालका डाक्टर, व्यवस्थापकलाई यसबारे सोधे। जवाफमा यो सामान्य कुरा हो भनियो। त्यसपछि उनीहरूले अस्पतालमा बच्चा नराख्ने निर्णय गरे।
“हामीले बच्चा लैजान्छौं भन्दा ‘हुन्छ’ भनेर सजिलै स्वीकृति दिए। त्यस्तो हतारिएर स्वीकृति दिंदा पक्कै केही गडबडी भएको छ भनेर शंका भयो,” उप्शा भन्छिन्, “बच्चाको श्वासप्रश्वासको समस्या ठीक भइसकेको बताए पनि थप केही दिन राख्नुपर्छ भन्नुको कारण घाउ भएको घटना ढाकछोप गर्न पो रहेछ भन्ने लाग्यो।”
यो उनीहरूको दोस्रो बच्चा थियो। यसअघि यस्तो समस्या नभोगेका कारण यो कस्तो जटिलता हो भनेर उनीहरूलाई थाहा थिएन।
अस्पतालबाट निस्किन लाग्दा एक नर्सले बच्चालाई ‘घर नलैजानू, अस्पताल लैजानू’ भनेपछि उनीहरू डराए। “हाम्रो बच्चाको अवस्था ठीक थिएन भने अस्पतालले लैजान किन स्वीकृति दियो, अस्पतालले लापरवाहीबाट पन्छिनै हामीलाई बिदा दिएको रहेछ,” उप्शा भन्छिन्, “बच्चालाई त्यस्तो घाउ हुँदा कति दुख्यो र पोल्यो होला!”
अस्पतालको लापरवाही
बच्चालाई भोलिपल्ट उनीहरूले ललितपुरको किस्ट अस्पताल लगे। त्यहाँका चिकित्सकले ‘तपाईंहरूले के गरेर बच्चाको हातमा घाउ पार्नुभयो’ भनेर उनीहरूलाई नै प्रश्न गरे। त्यसपछि पो उनीहरूलाई यो सामान्य रहेनछ भन्ने लाग्यो।
तर किस्ट अस्पतालले के भएर हातमा घाउ भयो भनेर पत्ता लगाउन सकेन। “त्यहाँका चिकित्सकले क्यानुला ड्यामेज भएर, स्पीड इन्जेक्सन भएर, औषधि पोखिएर, औषधिको रियाक्सन भएर जस्ता विभिन्न कारणले घाउ हुन सक्ने बताए। ठ्याक्कै यसले नै भएको भन्न सकेनन्,” सुदीप भन्छन्।
नर्भिकमा उपचार गराउँदा उनको हातमा क्यानुला राखेर औषधि दिइएको थियो। क्यानुला राख्ने क्रममा सावधानी नअपनाइँदा जलन भएर बच्चाको हातमा गहिरो घाउ भएको उनीहरूको आरोप छ।
हिमालखबरले नर्भिकमा उक्त बच्चाको उपचार गरेका डा. गणेश शाहसँग कुरा गर्दा उनले क्यानुला राख्दा नै घाउ भएको बताए। यसमा आफ्नो गल्ती नभएको उनको भनाइ छ। उनका अनुसार क्यानुला राख्दा ‘साइड इफेक्ट’ भएर यस्तो हुन्छ र यो सामान्य हो। “बच्चा समयभन्दा अगाडि जन्मिएको र धेरै कमजोर भएकाले धेरै कुरा गर्नुपरेको थियो,” डा. शाहले भने, “क्यानुला ब्लाइन्ड प्रक्रिया हो, नसालाई महसूस गरेर सियो हाल्दा कहिलेकाहीं बाहिर जान सक्छ, लिक हुन सक्छ।”
नर्भिक अस्पतालको रिपोर्टमा १०औं दिनमा छाला जलेको भनेर लेखिएको छ। किस्टका चिकित्सकले भने यो तत्काल भएको घाउ नभई एक/डेढ साताअघिको भएको बताएको सुदीप बताउँछन्।
नवजात शिशुमा क्यानुला राख्दा घाउ र जलन हुने घटना कति लापरवाही हो?
यो प्रश्न हामीले बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंलाई सोध्यौं। उनका अनुसार नवजात शिशुको उपचारमा हरेक प्रक्रिया निकै सावधानीपूर्वक गर्नुपर्छ र त्यसो नगरिए समस्या आउँछ। उनी भन्छन्, “नवजात शिशुको छाला निकै संवेदनशील हुने भएकाले क्यानुला राख्दा ध्यान दिनुपर्ने हुन्छ। ध्यान नपुर्याउँदा संक्रमण भएर घाउ हुने जस्तो गम्भीर घटना हुन सक्छ।”
नर्भिक अस्पतालको घटनामा भने के भएको हो भनेर आफूलाई थाहा नभएको डा. चापागाईं बताउँछन्।
बच्चाको उपचार किस्ट अस्पतालमा जारी छ।