कर्णाली विकास ब्यांकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक
नेपाल राष्ट्र ब्यांकले कर्णाली विकास ब्यांकको मुख्य ब्यांकिङ क्रियाकलाप रोकिदिएको छ।
नेपालगन्जस्थित यो ब्यांक समस्याउन्मुख देखिएपछि केन्द्रीय ब्यांकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो।
ब्यांकमा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत कारणले वित्तीय अवस्था खराब देखिएपछि कारबाही गर्नुपरेको केन्द्रीय ब्यांकले जनाएको छ।
‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ,’ राष्ट्र ब्यांकको सूचनामा उल्लेख छ।
पछिल्लो समयमा ब्यांक तथा वित्तीय संस्थाहरूको वित्तीय स्थितिबारे प्रश्न उठिरहेको छ। खासगरी, ब्यांक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहेको छ। यसअघि जथाभावी नियम मिचेर कर्जा प्रवाह गरिएको परिणाम अहिले देखिएको जानकारहरू बताउँछन्।
वित्तीय अवस्था खराब भए पनि शेयर बजारमा भने यो ब्यांकको मूल्य उच्च बिन्दुमा छ। यसको शेयर कारोबार प्रतिकित्ता रु. ८४० मा भएको थियो।