बर्दियामा चार अर्ब लगानीमा टायल उद्योग, आयात विस्थापित हुने
बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ।
व्यवसायीहरू भन्छन्- बजारमा माग घटेर अर्थतन्त्र शिथिल बनेको छ। निर्माणका गतिविधि खुम्चिएकाले मन्दी नै छ। यही अप्ठ्यारोकै बीचमा पनि ठूलो लगानी गरेर व्यवसाय विस्तार गर्न आँट गर्नेहरू पनि छन्।
बर्दियाको गुलरियास्थित लुम्बिनी सेरामिक्सले आर्थिक शिथिलताकै बीच चार अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेर टायल उत्पादन शुरू गरेको छ। देशलाई टायल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गत भदौदेखि कम्पनीले टायल उत्पादन शुरू गरेको लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले बताए।
निर्देशक चुरिवालका अनुसार लुम्बिनी सेरामिक्स भिट्रिफाइड (पानी नसोस्ने) टायल उत्पादन गर्ने नेपालको पहिलो उद्योग हो। यो उद्योगबाट उत्पादित टायलमा पानी पर्दा पनि शतप्रतिशत हाराहारीमा नसोसिने भएकाले यो टिकाउ र गुणस्तरीय भएको उनको दाबी छ।
उद्योगमा दैनिक एक लाख ४० हजार स्क्वायर फिट टायल उत्पादन हुन्छ। कम्पनीले लेमिनार ब्रान्डमा प्रतिवर्गफिटको न्यूनतम ८० देखि अधिकतम २०० रुपैयाँ पर्नेसम्मको टायल उत्पादन गर्छ। “नेपालमा सञ्चालनमा रहेकामध्ये लुम्बिनी सेरामिक्समा जस्तो अत्याधुनिक प्रविधि अन्यत्र प्रयोग भएको छैन। गुणस्तरका हिसाबले हाम्रो उत्पादनको प्रतिस्पर्धी नै छैन,” चुरिवालले भने।
खासगरी, भारवहन क्षमता, चिल्लोपना, पानी नसोस्ने गुण, आगो प्रतिरोधी गुण, सेतोपना आदि कारणले लुम्बिनी सेरामिक्सका उत्पादन अब्बल रहेको उनको भनाइ छ। गुलरियामा १२.५ बिघामा फैलिएको उद्योगले करीब ३०० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ।
टायल उत्पादनका लागि कच्चा पदार्थका रूपमा रहेको माटो भारतको राजस्थानबाट ल्याइन्छ। कम्पनीले उत्पादन गर्ने गुणस्तरको टायलका लागि आवश्यक माटोको खानी नेपालमा नरहेको चुरिवालले बताए। यद्यपि कम्पनीले डडेल्धुरामा टायल उत्पादनमा प्रयोग गर्न मिल्ने माटोको खानी भेटेको छ। त्यसलाई उत्खनन गरेर बिस्तारै प्रयोग शुरू गरिने उनले बताए।
घरभित्र तथा बाहिर पछिल्ला समयमा टायलको प्रयोग बढ्दो छ। अहिले देशमा टायल उत्पादन गर्ने कम्पनीको संख्या ६ पुगेको छ। यी कम्पनीको उत्पादन क्षमता देशको टायल मागको तुलनामा धेरै भइसकेको चुरिवालले बताए। यद्यपि घर तथा भवन निर्माणको क्रम बढ्दै जाने र आवासको सजावटमा सर्वसाधारणको रुचि बढ्दै जाने भएकाले टायलको माग नि:सन्देह बढ्ने उनको तर्क छ।
उनका अनुसार भारतबाट आयात हुनेका तुुलनामा नेपालभित्र उत्पादन हुने टायलको मूल्य २० प्रतिशतसम्म सस्तो हुन्छ। जसले गर्दा यी प्रतिस्पर्धी पनि हुनेछन्। नेपालभित्रैको बजारलाई लक्षित गरिएको तथा सस्तो भएकाले लुम्बिनी सेरामिक्सको उत्पादनले भारतीय टायललाई विस्थापित गर्ने उनको दाबी छ। नेपालमा वार्षिक १२ अर्ब रुपैयाँको टायलको कारोबार हुन्छ।
लुम्बिनी सेरामिक्सले गुणस्तरीय व्यवस्थापन प्रणाली, वातावरणीय व्यवस्थापन प्रणाली तथा व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ प्रमाणपत्र पाइसकेको जनाएको छ। कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन गर्ने योजना पनि बनाएको छ।