सुनचाँदी सस्तो हुने
बजारमा सुनको तस्करी बढेको आशंकापछि सरकारले सुनको आयातमा लाग्ने भन्सार महसूल दर घटाएको छ।
भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंका सहित भन्सार महसूल घटाइएको हो। नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला रु. २० हजार हाराहारी सस्तो पर्ने व्यवसायीले बताउने गरेका छन्।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो। चाँदीको भन्सार महसूल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ। योसँगै बजारमा सुन र चाँदीको मूल्य घट्नेछ।
यसअघि सरकारले गत जेठको बजेट मार्फत सुनको भन्सार महसूल दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएको थियो। त्यति वेला अर्थमन्त्री वर्षमान पुन थिए। नेपालभन्दा पछि बजेट सार्वजनिक भएसँगै भारतमा सुनको भन्सार महसूल घटाइएको थियो। जसले गर्दा नेपालमा भन्दा भारतमा सुनको मूल्य सस्तो हुन पुगेको थियो।
केही दिनअघि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा सुन लगायत वस्तुको तस्करी भइरहेको र राजस्व कम उठिरहेको बताएका थिए।
बजारमा सुनको तस्करी बढेको आशंकालाई सुनको आयातको घटिरहेको तथ्यांकले पनि पुष्टि गर्छ। चालू आर्थिक वर्षको पहिलो चार महीना (साउन–कात्तिक) मा सुनको आयात १३२ किलो हाराहारीमा सीमित छ। गत वर्षको यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो।