दलित महिलाहरूले हाँकेको होमस्टे
हिंसा खेपिरहेका महिलालाई होमस्टेले आर्थिक सबलता र आत्मविश्वास दियो। त्यसैले होमस्टेलाई लागेको ऋण उकास्न उनीहरू अरूका खेतबारीमा सामूहिक ज्यालामजदूरी पनि गर्दै छन्।
दशकअघिसम्म बेलमती विकको संसार भनेकै घरधन्दा थियो। गर्जो टार्न पति कहिले भारत जान्थे त कहिले सुर्खेतमै मजदूरी गर्थे। उनी एक जनाको खटाइले खानलाउन धौधौ परिरहन्थ्यो। जाँडरक्सी खानु र जुवातास खेल्नु गाउँका पुरुषको साझा दिनचर्या थियो। त्यसैले पति गाउँमा छँदा मातेर आई बेलमतीलाई कुटपिट गर्थे। बाबुआमाको कलहले छोराछोरीको बिजोग हुन्थ्यो।
अहिले यो स्थिति हटिसकेको छ। बेलमतीको मात्र होइन, गाउँकै मुहार फेरिएको छ। सबै गाउँलेको जीवनशैलीमा सुधार आएको छ। त्यहाँ अहिले कसैले जाँडरक्सी बनाउँदैन। बालविवाह छैन। पुरुषहरू जुवातासमा बरालिंदैनन्। सबैको आआफ्नो उद्यम छ। महिलाहरू आत्मनिर्भर बनेका छन्। यस्तो निर्भरताको बलियो स्रोत बनिदिएको छ– होमस्टे।
दलित महिलाहरू मिलेर चलाएको होमस्टेले उनीहरूलाई आर्थिक रूपमा सबल बनाइदिएको छ। पैसा आवश्यक पर्दा अब पतिको आश गरेर बस्न पर्दैन। “बालबच्चालाई पढाउने र अन्य घरखर्च हामी आफैं उठाउँछौं,” बेलमती भन्छिन्, “अहिले त घरको काम जति अरूले नै गर्छन्, म होमस्टेमै व्यस्त छु।” खेतीपातीको काम पतिले सम्हालेका छन्। सासूससुराले पनि सघाउँछन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारबाट करीब आठ किलोमिटर उत्तरतिर लाग्दा केरैखोलास्थित आफर नमूना गाउँ पुगिन्छ। वीरेन्द्रनगर नगरपालिका-१३ मा पर्ने यो गाउँका १६ जना दलित महिला मिलेर आफर होमस्टे सञ्चालन गर्दै आएका छन्। स्थानीयका अनुसार उक्त गाउँमा कुनै वेला फलामको उत्खनन भएको र विश्वकर्माहरूले ती फलामबाट विभिन्न सामग्री बनाएकाले त्यहाँको नाम आफर रहन गएको हो। आफर भनेको आरन हो।
स्थानीय पवित्रा सुनार पनि आजकल होमस्टेमै व्यस्त छिन्। घरको काम सासूससुरालाई जिम्मा लगाएकी छन्। पहिले बालबच्चालाई कापीकलम र साबुन–शेम्पू किन्न समेत पतिसँग पैसा माग्नुपर्थ्यो। आर्थिक भार पतिकै थाप्लोमा थियो। ससुरा हरिका अनुसार अहिले बुहारी पनि कमाउने भएपछि सजिलो भएको छ। पवित्राका पति साउदी अरबमा छन्। “घरखर्च मैले टारेपछि श्रीमान्लाई पनि सजिलो भएको छ,” उनी भन्छिन्।
यस गाउँमा पहिले महिला हिंसा र बालविवाह सामान्य जस्तै थियो। छोरीहरू विद्यालय खासै जाँदैनथे। गए पनि बीचैमा छाडिहाल्थे। बालखैमा घरधन्दा सम्हाल्न पर्ने उनीहरूको सानै उमेरमा विवाह भइहाल्थ्यो। यसैलाई ध्यानमा राखेर समाज जागरण केन्द्र (स्याक) नेपाल नामक गैरसरकारी संस्थाले किशोरीहरूको समूह बनाइदियो– आफर किशोरी संवाद केन्द्र। त्यसमा दिनको एक घण्टा किशोरीहरूसँग परामर्श हुन्थ्यो।
होमस्टेकी अध्यक्ष लक्ष्मी बाँठाका अनुसार केन्द्रले पछि किशोरीका आमाहरूसँग पनि संवाद गर्न थाल्यो। त्यस क्रममा उनीहरूले आफूलाई भएका हिंसाबारे बताए। तब आमाहरूलाई नै समेटेर जागृत स्वावलम्बन समूह बनाइयो। किशोरी र आमाहरू मिलेर गाउँमा विभिन्न जागरण चलाए। महिलाहरूको अगुवाइमा गाउँमा जाँडरक्सी र जुवातासमा प्रतिबन्ध लगाइयो। यस्तै सुधारका कारण पछि यो गाउँ कर्णालीकै नमूना भनी चिनिन थाल्यो।
शुरूमा सुर्खेतकै विभिन्न ठाउँबाट आएका २५ जना किशोरीलाई पाल टाँगेर खाना खुवाएपछि होमस्टेको अवधारणा अघि सारिएको थियो। “पहिले पाहुनालाई घर घरमा राखिन्थ्यो। दर्ता नभईकन तीन वर्ष चलाइयो। २०७४ वैशाखदेखि चाहिं दर्ता गरेरै चलाउन थालेका हौं,” बाँठा भन्छिन्।
आफर होमस्टे बिस्तारै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको रोजाइमा पर्न थाल्यो। कोभिड–१९ महामारीअघिसम्म कमाइ राम्रै थियो। हरेक महीना तालीम, गोष्ठी, प्रशिक्षण केही न केही भइरहन्थे। कोभिडपछि भने एकाएक बन्द जस्तै हुन पुग्यो। अहिले फेरि गति समातेको छ। वीरेन्द्रनगरको मूल बजारबाट खासै टाढा नरहेको आफर गाउँ त्यहाँको गर्मी छल्ने उपयुक्त थलो बन्यो। शान्त ग्रामीण परिवेशमा स्थानीय उत्पादनको स्वाद पनि लिन पाइने भएपछि धेरैको ध्यान खिच्दै गयो।
होमस्टेका लागि स्थानीय विमला गुर्तालको जग्गा वार्षिक २० हजार रुपैयाँमा भाडामा लिइएको छ। उनी पनि होमस्टेकी सदस्य हुन्। होमस्टेका तीन वटा भवन छन्। भान्साघर, तालीम हल र पाहुनाघर छुट्टाछुट्टै छन्। भवन निर्माणमा सरकारले पनि सघाएको छ। “प्रदेश र स्थानीय सरकारले पटक पटक गरी हामीलाई ५० लाखसम्म सहयोग गरेका छन्,” बाँठा भन्छिन्।
होमस्टेले महिलालाई आर्थिक रूपमा सबल मात्र होइन, आत्मनिर्भर र आत्मविश्वासी पनि बनाइदिएको छ। अहिले उनीहरू सबैजसो काम सामूहिक रूपमा गर्छन्। गाउँमा कसैलाई समस्या पर्दा सामूहिक रूपमै समाधान गर्छन्। “जे हुँदा पनि सबै मिलेर काम गर्छौं, यसले गर्दा कसैले एक्लो छु भनेर दुःखी हुनु पर्दैन,” बाँठा भन्छिन्।
ऋण तिर्न सामूहिक ज्यालादारी
होमस्टेबाट वार्षिक सातदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने अध्यक्ष बाँठा बताउँछिन्। उनका अनुसार नाफा हरेक महीना सबै सदस्यलाई बराबर बाँड्ने गरिएको छ। तर महामारीले पारेको घाटा अझै पुर्ताल भइसकेको छैन। होमस्टेले भवन निर्माणका लागि भनी राष्ट्रिय युवा परिषद्बाट पाँच वर्षको भाका राखेर पाँच लाख रुपैयाँ ऋण लिएको थियो। त्यो अझै तिर्न सकिएको छैन। घर समेत चलाउन पर्ने भएकाले सदस्यले व्यक्तिगत रूपमा तिर्न सक्ने स्थिति रहेन। त्यसैले उनीहरूले सामूहिक रूपमा अरूका खेतबारीमा ज्यालादारी काम समेत गर्दै आएका छन्। यस्तो मजदूरी दिनको एक घण्टा मात्र गरिन्छ।
६० घरधुरी भएको यस गाउँमा दलित समुदायको बाहुल्य छ। केही मगर र ब्राह्मण परिवार पनि छन्। अध्यक्ष बाँठाका अनुसार होमस्टेमा सदस्य रहेका १६ परिवार प्रत्येकबाट एक जना काम गर्न जान्छन्। यस बापतको ज्याला होमस्टेमा आबद्ध भएकालाई एक हजार र बाहिरकालाई दुई हजार रुपैयाँ तोकिएको थियो। अहिले दुई हजार ५०० पुर्याइएको छ। स्थानीय रूपमा ‘घण्टे समूह’ भनी परिचित उनीहरूको माग पनि बढेको छ। “धान, गहुँ, कोदो काट्ने वा मौसम अनुसारको जेजस्तो कामका लागि बोलाइन्छ, सबै जना गएर गर्छौं,” उनी भन्छिन्, “गत वर्ष ४० हजार रुपैयाँ आम्दानी भएको थियो, त्यसले ऋण घटायौं।”
होमस्टेमा खुवाइने खाना प्रायः त्यहीं उत्पादित सामग्रीबाट तयार पार्ने गरिएको छ। ढिंडो, मकै, कोदो र गहुँको रोटी, कुखुरा, खसीको मासु, दही, साग सबै स्थानीय। प्रत्येक घरमा करेसाबारी छ। पाहुनालाई बिहानको खाजा–खाना होमस्टेको भान्साघरमा खुवाइन्छ। बेलुकीको खाना र बसाइ चाहिं सदस्यहरूको घरमा हुन्छ। पाहुना धेरै आउँदा राख्न पुगोस् भनेर छुट्टै ६ वटा घर पनि बनाइएका छन्। किशोरकिशोरीको सांस्कृतिक टोलीले पाहुनालाई ‘टप्पा’ नाचबाट मनोरञ्जन गराउँछ। विभिन्न रैथाने सामग्री पनि सजाइएका छन्।
जातको तगारो
आफर होमस्टेमा संघसंस्थाका कार्यक्रम पनि आयोजना भइरहेका हुन्छन्। गत वर्ष लिबर्ट नामक संस्थाले वीरेन्द्रनगरका कृषकका निम्ति तालीम राखेको थियो। दुईदिने उक्त कार्यक्रममा २० जना सहभागी थिए। तर सहभागीले दलितले चलाएको होमस्टे भन्ने थाहा पाएपछि खाना खाएनन्।
“१९ जनाले खाना खाइदिएनन्। एक जना दलित समुदायकै सहभागी रहेछन्, उनले मात्र खाए,” अध्यक्ष बाँठा भन्छिन्। जातीय विभेदका यस्ता तीता अनुभव उनीहरूसँग अरू पनि छन्। शुरूशुरूमा आफूहरू दलित भएकैले कोही नआइदिए होमस्टे कसरी चल्ला भन्नेमा चिन्तित थिए। स्थानीयका कार्यक्रम पर्दा गैरसमुदायका कतिले व्रत रहेको भन्दै टारेका कैयौं उदाहरण छन्। जातीय छुवाछूतका कुरा उठाए व्यवसायमा असर पर्ला कि भनेर उनीहरू चूप बसेका छन्। तर दलित महिलालाई प्रोत्साहन गर्ने भनी बारम्बार यहीं कार्यक्रम गर्ने संघसंस्था निकै छन्। तिनमा गैरदलित समुदाय नै बढी छन्। यसले उनीहरूलाई अघि बढ्न हौसला मिलेको छ।
होमस्टेमा आबद्ध महिलामध्ये धेरैजसोले कक्षा ५ सम्म मात्र पढेका छन्, तर उनीहरू अहिले खुलेर आफ्ना कुरा राख्न सक्ने भएका छन्। उनीहरूमा नेतृत्व क्षमता विकास भएको छ। होमस्टेकी पूर्व अध्यक्ष रचना बाँठा वीरेन्द्रनगर नगरपालिकामा कार्यपालिका सदस्य छिन्। सदस्य पवित्रा गुर्ताल सल्लेरी सामुदायिक वनकी अध्यक्ष छिन्। बेलमती विक टोल विकास समितिकी अध्यक्ष हुन्। होमस्टेकी सदस्य स्वास्थ्य स्वयंसेविका पनि छिन्।