ललितपुर महानगरको सडकमा बनाइएको ‘यल्लो बक्स जङ्क्सन’ के हो?
जाम व्यवस्थापन गर्न ललितपुर महानगरले सडकका मुख्य चोकमा पहेंलो धर्काको बक्स बनाएको छ। तर यो कति प्रभावकारी र दिगो होला भन्ने प्रश्न उब्जिएको छ।
ललितपुर महानगरपालिकाको मुख्य सडकका विभिन्न ठाउँमा अहिले पहेंलो रङले धर्कैधर्का कोरिएको छ। यो नयाँ दृश्यले सवारीचालकदेखि पैदलयात्रुसम्मलाई कौतूहल जगाएको छ, अलमलमा पारेको छ।
यस्तो पहेंलो धर्काको बक्स कुपन्डोल, जावलाखेलदेखि सातदोबाटोसम्मका विभिन्न स्थानमा बनाइएको देखिन्छ। यसको संकेत के होला?
ललितपुर महानगरले ट्राफिक लाइट रहेका ठाउँमा जाम व्यवस्थापन अझ सहज पार्न पहेंलो बक्स बनाएको हो। ट्राफिक जाम सुल्झाउन विकसित मुलुकहरूमा अभ्यासमा रहेको यस्तो संरचनालाई ‘यल्लो बक्स जङ्क्सन’ भनिन्छ।
अत्याधुनिक ट्राफिक लाइट जडान गरिएको ठाउँमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ अन्तर्गत यल्लो बक्स जङ्क्सन बनाइएको महानगरपालिकाकी प्राविधिक जुनु त्वायना बताउँछिन्। “मुख्य चोकमा राखिएका अत्याधुनिक लाइटमा जता सवारीसाधनको बढी चाप छ त्यतै हरियो बत्ती बल्छ, त्यस क्रममा जाम व्यवस्थापन अझै सहज बनाउन पहेंलो धर्का कोरिएको हो,” उनी भन्छिन्।
पहिलो चरणमा महानगरका पाँच ठाउँमा अत्याधुनिक लाइट जडान गरिएको छ। कुपन्डोलको कानदेवतास्थान, साझा पेट्रोल पम्पछेउ, ललितपुर महानगर कार्यालय अगाडि, दमकल चोक र जावलाखेल चोकमा जडान गरिएको छ। ती स्थानमा यल्लो बक्स जङ्क्सन पनि बनाइएको छ। यो सबै निर्माणमा रु. ६ करोड ८९ लाख खर्च भएको महानगरले जनाएको छ।
यी चोकमा बनाइएको यल्लो बक्स जङ्क्सनको संकेत के हो त?
ललितपुर महानगरपालिकाकी प्राविधिक त्वायनाका अनुसार यसको अर्थ बक्सभरिको क्षेत्र ‘नो भेइकल जोन’ हो। अर्थात् गुड्दै गरेको सवारीसाधन त्यहाँ रोक्न पाइँदैन। बक्स पार गरेका गाडी ठीक अगाडि जामले रोकिएका छन् भने पनि पछाडिका गाडी बक्सभन्दा वरै रोकिनुपर्ने हुन्छ। यस्तै, यो बक्समा पैदलयात्रु पनि हिंड्न मिल्दैन।
हरियो बत्ती बल्ने बित्तिकै सवारीसाधन अगाडि बढ्न तँछाडमछाड गर्दा जाम हुने प्रवृत्ति निरुत्साहित गर्न यल्लो बक्स जङ्क्सन प्रयोगमा ल्याइएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सीताराम हाछेथू बताउँछन्। “हरियो बत्ती बल्नासाथ सवारीसाधन पास हुन तँछाडमछाड गर्दा चोकमा जाम हुन्छ र चारैतिरको बाटो बन्द हुन्छ,” उनी भन्छन्, “ट्राफिक लाइटले जाने संकेत दिए पनि अगाडि जाम छ भने पहेंलो बक्समा सवारीसाधन प्रवेश गराउन नहुने र अगाडिका गाडी पार भएपछि मात्रै अन्य गाडी बढ्नुपर्ने नियम छ।”
उनका अनुसार हरियो बत्ती बले पनि अगाडि जाम हुँदाहुँदै सवारीसाधन बढाएर यल्लो बक्स जङ्क्सनमा अड्याउन पाइँदैन, त्यो बक्सभन्दा वरै रोकेर अरू गाडी पार हुँदासम्म पर्खनुपर्छ। पहेंलो बक्स बनाइनुअघि ट्राफिक प्रहरीलाई जाम खोल्न र पैदलयात्रुलाई बाटो काट्न समस्या हुन्थ्यो। पहिले पुल्चोकको आकाशे पुलछेउको ट्राफिक लाइटमा हुने गरेको जामको उदाहरण दिंदै हाछेथू भन्छन्, “कुपन्डोलबाट जावलाखेलतर्फ गुडेका गाडी पुल्चोकमा हरियो बत्ती बलेपछि उछिनपाछिन गर्दै चोकमा जाम भएर बस्थे, यसले जावलाखेलतिर जाने बाटो मात्रै बन्द हुँदैनथ्यो, मंगलबजारबाट आउने गाडी पनि अड्किन्थे। यो समस्या पहेंलो बक्समा गाडी रोक्न नहुने नियमले हटाउँछ।”
जामको समस्या सुल्झाउन यो नियम सबैले पालना गर्नुपर्ने उनी बताउँछन्।
तर यसबारे सडक प्रयोगकर्तालाई बुझाउने सचेतना कार्य ललितपुर महानगर र ट्राफिक प्रहरीबाट भएको छैन। जसका कारण चालक र पैदलयात्रुमा अलमल हुनुका साथै यसको पालना प्रभावकारी हुन सकेको छैन। पहेंलो बक्समै गाडीहरू रोकिनुले यो नियमको प्रभावकारी कार्यान्वयन के कसरी गराइन्छ भन्ने प्रश्न उब्जाएको छ।
यातायात विज्ञ आशिष गजुरेल यो नौलो प्रयोगबारे आमनागरिकमा अन्योल भएकाले सूसुचित गराउनुपर्ने सुझाव दिन्छन्। जाम व्यवस्थापनका लागि यल्लो बक्स जङ्क्सनको प्रयोग सकारात्मक प्रयास भएको उनको भनाइ छ। उनी भन्छन्, “पुल्चोकमा चारतिर जाने बाटो छ, यस्तो स्थानमा ट्राफिक व्यवस्थापन गर्न यसले सहज बनाउँछ।”
कति दिगो होला?
ललितपुर महानगरपालिकाले जाम व्यवस्थापन गर्न प्रयोगमा ल्याएको संरचना क्षणिक तामझाम हुने त होइन प्रश्न पनि छ। यस्तो संशय किन पनि हुन्छ भने, महानगरको विगतको कतिपय पूर्वाधार परियोजना दिगो र प्रभावकारी भएनन्।
महानगरले २०७६ सालमा ललितपुरलाई ‘साइकल शहर’ बनाउने भन्दै पाइलट प्रोजेक्टका रूपमा साइकल लेन बनाउने कार्यक्रम अघि बढाएको थियो। यस अन्तर्गत कुपन्डोल–लगनखेल, लगनखेल–मंगलबजार, पुल्चोक–मंगलबजार क्षेत्रमा साइकल लेन बनाएको थियो। २०७६ मंसीर १४ गते मेयर चिरीबाबु महर्जनले आफ्नो ३३ वर्ष पुरानो साइकल चढेर साइकल सिटी कार्यक्रमको उद्घाटन गरेका थिए।
त्यस वर्ष महानगरले सडकमा लाइन तान्ने, साइकलको संकेत बनाउने, ट्राफिक चिह्न राख्ने काम गरेको थियो। अर्को वर्ष सडकमा प्रस्ट रूपमा साइकल लेन चिनाउने गरी हरियो रङ पोतिएको थियो। साइकल लेन निर्माणमा ३२ लाख रुपैयाँ र साइकल स्टेन्ड बनाउन पाँच लाख रुपैयाँ खर्च भएको थियो। महानगरका तीन ठाउँमा साइकल स्टेन्ड बनाइएको थियो।
साइकल लेन मेटिएका ठाउँमा फेरि रङ पोतिने र थप ठाउँमा लेन बनाइने महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउँछन्। उनका अनुसार यस कार्यका लागि महानगरले चालू आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ छुट्याएको छ।
तर सार्वजनिक र निजी सवारीसाधनको अत्यधिक चाप रहेको सडककै छेउमा बनाइएको साइकल लेन प्रभावकारी हुन सकेन। महानगरको प्रयास प्रशंसनीय भए पनि साँघुरो सडकमा सुरक्षा र सहजताका हिसाबले साइकल लेन व्यावहारिक नभएको भन्दै साइकलयात्री उत्साहित देखिएनन्। सवारीचालकहरूले बाटो नछोड्ने, लेन च्याप्ने र दुर्घटनाको जोखिम भोगेको उनीहरूको गुनासो थियो।
तामझामका साथ रंग्याइएको साइकल लेन अहिले खुइलिइसकेको छ। रङसँगै साइकल शहर अभियानको बहस पनि सेलाएको छ।
ललितपुर महानगर प्रहरीका प्रमुख हाछेथू यल्लो बक्स जङ्क्सन साइकल लेन जस्तो नभएको बताउँछन्। यसबारे सर्वसाधारणमा पर्याप्त जानकारी नपुगेको भने उनी स्विकार्छन्। “अब चाँडै यसबारे जनचेतनाको कार्यक्रम हुनेछ,” उनी भन्छन्।