एशिया कपका लागि युवा टोली घोषणा
एसीसी यू-१९ एशिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन्।
युवा टोलीमा आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउँद, उनिशविक्रम सिंह ठकुरी, नरेन थापा, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, अप्रजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार छन्।
युवा टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ। त्यस्तै, सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द छन्।
एशिया कप मंसीर १४ देखि २३ गतेसम्म यूएईमा हुनेछ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बाङ्लादेश र श्रीलंका छन्। त्यस्तै, समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन्।