कसरी हिंड्नु यस्तो फूटपाथमा?
पैदलयात्रुको सुविधाका लागि बनाइएका काठमाडौंका फूटपाथ अव्यवस्थित संरचना र अतिक्रमणले असहज बनेका छन्।
बागमती पुलको दक्षिणछेउ कुपन्डोलबाट पुल्चोक पैदल हिंड्दा चिटिक्क परेको फूटपाथ देखिन्छ। दृष्टिविहीनलाई पनि हिंड्न सजिलो होस् भनेर संकेत गरेका इँटा बिछ्याइएका छन्। तर फूटपाथको बीचमै रहेका बिजुलीका खम्बा, बाकस, रूख ठोक्किन आइपुग्छन्।
लगनखेलदेखि सातदोबाटो खण्डको अवस्था पनि फरक छैन। कहींनिर फूटपाथ टुंगिन्छ भने कहीं सडकमै हिंड्नुपर्छ।
.jpg)
ललितपुर जस्तै सकस काठमाडौंका फूटपाथमा पनि छ। तीनकुनेबाट माइतीघर पुग्दासम्म चिटिक्क परेको फूटपाथ छ। यस क्षेत्रमा पनि सडकको दुवैतिर दृष्टिविहीनलाई समेत सहज हुने गरी इँटा बिछ्याइएका छन्।
तर यसरी बिछ्याइएका इँटा कहाँ गएर रूख र बिजुलीका खम्बामा ठोक्किन्छन् भन्ने टुंगो हुँदैन। फूटपाथको बीच भागमै रूख ठडिएका छन्। लत्रिएका हाँगा टाउकामै ठोक्किन पुग्छन्।

अन्यत्रको मात्र होइन, सिंहदरबार वरिपरिको अवस्था पनि उस्तै छ। सिंहदरबारको पूर्वी गेटबाट हनुमानथान पुग्दा पनि फूटपाथ घरको भित्तामै टुंगिन्छ। अझ हनुमानथानबाट बानेश्वरको फूटपाथको त बीचबीचमै बिजुलीका पोल छन्।
राजधानीका सबैजसो क्षेत्रका फूटपाथको अवस्था एउटै छ, कहीं बिजुलीका पोल, कहीं रूख, कहीं बिजुली र टेलिफोन लाइनका बाकस, कहीं खाल्डाखुल्डी। फूटपाथ राम्रो भएको ठाउँमा पनि ठूलठूला गमलामा बोटबिरुवा रोपेर असहज बनाइएको छ।
.jpg)
राजधानीका सडकछेउका फूटपाथको बीच भागमा बिजुलीका खम्बा गाड्ने प्रवृत्ति सामान्य भइसकेको शहरी विकास अभियन्ता सौरभ ढकाल सुनाउँछन्। “फूटपाथमा गाडिएका पोलहरू गति नियन्त्रक र दिशानिर्देशक स्तम्भ झैं लाग्छन्,” ढकाल भन्छन्।
यस्ता संरचनाले एकातिर हिंडडुलमा समस्या पुर्याइरहेका छन् भने अर्कातिर दुर्घटना पनि निम्त्याउने गरेका छन्। अझ बीच भागमा कपुरका बोट लगाउने प्रचलनले अप्ठ्यारो सिर्जना गरिरहेका छन्। कपुरको बोट केही महीनामै अग्लो हुने गरेको छ।
यसले फूटपाथलाई नै अवरुद्ध गर्ने र पैदलयात्रुलाई हिंड्न सकस बनाउने गरेको उनी सुनाउँछन्। “स्वास्थ्य र हरियालीको हिसाबले राम्रो भए पनि बोटबिरुवा कहाँ कति रोप्ने भनेर व्यवस्थित नीतिको कमी देखिन्छ,” ढकाल भन्छन्।
.jpg)
योजना विना ठड्याइएका बिजुलीका पोल, फूटपाथमा लगाएका बोटबिरुवा व्यवस्थापनको अभावले पैदलयात्रुलाई असहज र असुरक्षित बनाइरहेको विज्ञहरू बताउँछन्। पूर्वाधारविद् सूर्यराज आचार्य पनि योजना विना राखिएका बिजुलीका पोल, व्यापारीको अतिक्रमण र कमजोर व्यवस्थापनले पैदलयात्रुलाई सकस भइरहेको बताउँछन्। “नीतिगत नेतृत्वमा बसेकाहरूले शहरवासीको आवश्यकता बुझ्न नसकेकाले यस्तो भइरहेको छ,” आचार्य भन्छन्।
शहरका विभिन्न स्थानमा फूटपाथमै निर्माण सामग्री राखिने गरेका छन्। त्यस्तै, सवारीसाधनलाई फूटपाथमै पार्किङ गरिन्छ। कतिपय ठाउँमा त दुईपांग्रे सवारीसाधन फूटपाथमै हुइँकिइरहेका हुन्छन्। फूटपाथ अवरुद्ध हुँदा पदैलयात्रु सडकमै हिंडिरहेका देखिन्छन्। यसले दुर्घटनाको जोखिम पनि बढाएको सरोकारवाला बताउँछन्। ट्राफिक प्रहरी विभागले गत वर्ष प्रकाशित गरेको एक प्रतिवेदन अनुसार काठमाडौंमा फूटपाथ सहज नहुँदा सडकमै हिंडडुल गर्नुपर्ने कारण पनि धेरै दुर्घटना भएका छन्।

अर्कातिर, अव्यवस्थित फूटपाथले पैदलयात्रु मात्र नभई वातावरणलाई पनि असर पारेको छ। फूटपाथ सहज भए गाडी प्रयोग गर्नेको संख्या पनि कम हुने जानकारहरू बताउँछन्। “फूटपाथ राम्रो भयो भने मान्छेहरू नजीकका ठाउँमा त हिंडेरै पुग्छन्। गाडीको प्रयोग कम हुन्छ। तर गाडीलाई नै महत्त्व दिएर सडकहरू बनाइएका छन्। जसले गाडीको उपयोगिता बढाउँछ र वातावरणमा असर गर्छ,” ढकाल भन्छन्, “फूटपाथ साँघुरो बनाउनु भनेको प्रदूषणलाई प्रोत्साहन गर्नु जस्तै हो।”
काठमाडौं संसारका प्रदूषित शहरमध्ये पर्छ। अहिले पनि काठमाडौंको वायुको खराब नै छ। आईक्यूएअरको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ मा त नेपाल वायु प्रदूषणमा विश्वको आठौं स्थानमा थियो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर फूटपाथ व्यवस्थापनका लागि पहल भइरहेको बताउँछन्। काठमाडौंलाई हरियो शहर बनाउने उद्देश्यले फूटपाथमा रूख रोपेको मानन्धरको भनाइ छ। “शहरलाई हरियो बनाउने योजनामा रूख रोप्ने काम गरेको हो। यो विज्ञहरूको सुझावमै भएको हो,” उनी भन्छन्। तर विज्ञ वातावरण स्वच्छ राख्न वा हरियाली बनाउन फूटपाथ नभई छुट्टै ठाउँमा बोटबिरुवा लगाउनुपर्ने बताउँछन्।
फूटपाथको सबैभन्दा गम्भीर समस्यामध्ये एक हो, बिजुलीका खम्बा र अन्य संरचना। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष यी संरचना हटाउने सकिने बताउँछन्। “सडक वा फूटपाथमा बिजुलीका पोलहरू छन् भने त्यसलाई हटाउन सडक विभाग वा महानगरबाट पत्र आयो भने हामी हटाउँछौं,” घोष भन्छन्।

तर विद्युत्का खम्बा हटाउँदा लाग्ने समयको बिजुलीको महसूल भने सडक वा महानगरले तिर्नुपर्ने उनको भनाइ छ। “बिजुलीको पोल हटाउन जति समय बिजुली काट्नुपर्छ, त्यसको हिसाबले पैसा तिर्नुपर्छ,” प्रवक्ता घोष भन्छन्।
काठमाडौं महानगरका प्रवक्ता मानन्धर फूटपाथ व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको बताउँछन्। जहाँ जे गर्नुपर्ने भए पनि त्यसका लागि महानगर तयार रहेको उनको भनाइ छ। तर सरकारका अन्य निकायले मापदण्ड पालना नगर्दा समस्या भइरहेको उनी सुनाउँछन्। “सरकारी मापदण्ड पालना भएको छैन, ती दस्तावेजमा मात्र सीमित भए। यसले समस्या भइरहेको छ,” मानन्धर भन्छन्।
.jpg)
फूटपाथ व्यवस्थापनका लागि सरकारका सबै निकायबीच समन्वय हुनुपर्ने सरोकारवाला बताउँछन्। यसका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको अभियन्ता ढकालको भनाइ छ। उनी भन्छन्, “काठमाडौंमा पूर्वाधार र सानाठूला संरचनाको डिजाइनमा नै ‘पिपुल सेन्ट्रिक’ सोचको कमी छ। त्यसमा परिवर्तन गर्न जरूरी छ।”