नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
आयुर्वेदका नाममा जथाभावी औषधि बिक्रीवितरण भइरहेको छ भने यसको सेवनले बिरामीको ज्यानै जोखिममा पर्न सक्छ।
टेलिभिजनमा आयुर्वेदिक मलमले ‘दुखेको घुँडा ठीक पार्ने र ठीक नभए पैसा फिर्ता’ गरिने भन्ने विज्ञापन हेरेर काठमाडौंको कमलपोखरीकी ७० वर्षीया वृद्धाले औषधि मगाइन्। उनले ६ हजार रुपैयाँको औषधि ल्याइन्। तर जति मलम लगाउँदा पनि दुखेको घुँडा बीसको उन्नाइस भएन।
त्यसपछि उनले जहाँबाट ल्याइकी थिइन्, त्यसमा गुनासो गरिन्। घुँडा ठीक नभएकाले पैसा फिर्ता दिन आग्रह गरिन्। महीनौं बित्यो, तर पैसा फिर्ता नपाएको उनी सुनाउँछिन्।
अर्को झन् जटिल घटना छ। काठमाडौंकै ४७ वर्षीया महिलाले त्यस्तै प्रचारका भरमा हाडजोर्नीको दुखाइको उपचार गर्ने भनिएका ‘आयुर्वेदिक डाक्टर’ कहाँ गएर पीडा सुनाइन्। ती ‘डाक्टर’ ले पोकामा राखिएको विना नामको औषधि दिए। त्यो खाएपछि उनको हाडजोर्नी दुख्ने समस्या त कम भयो, तर एकाएक शरीरको तौल निकै बढ्यो।
त्यसपछि जँचाउन उनी पाटन अस्पताल पुगिन्। आफूले प्रयोग गरेका आयुर्वेदिक औषधि पनि लगिन्। पाटन अस्पतालमा उनको जोर्नी दुख्ने समस्याका साथै त्यो औषधिको पनि परीक्षण गरियो। परीक्षण गर्दा आयुर्वेदिक भनिएको औषधिमा प्रेडनिजलोन फेला पर्यो।
यो औषधि आधुनिक चिकित्सा विज्ञानमा जटिल समस्याको उपचारका लागि प्रयोग गरिन्छ। तर सम्बन्धित डाक्टरको निगरानीमा मात्रै दिइन्छ। डाक्टरको सल्लाह अनुसार बिस्तारै कम गर्दै हटाइन्छ।
पाटन अस्पतालका डाक्टरले महिलाको जाँच गर्दा हाडजोर्नी बाथको समस्याले दुखेको थाहा भयो। उनलाई त्यो पोकामा भएको औषधि बन्द गर्न लगाइयो र बाथ-जोर्नीको समस्याका लागि औषधि दिइयो। समयमै अस्पताल पुगेकाले उनको स्वास्थ्यमा धेरै समस्या आउन पाएन।
ती महिलालाई चिकित्सकले सोधे, “पहिला नै पाटन अस्पतालमा नआएर किन पोकामा औषधि दिने डाक्टरकहाँ जानुभयो?”
उनको जवाफ थियो, “आयुर्वेदिक औषधिले शरीरमा कुनै नकारात्मक असर पुर्याउँदैन भनेर त्यता लागेकी हुँ।”
‘साइड इफेक्ट’ हुँदैन भनेर आयुर्वेदिक औषधि सेवन गर्न पुगेकी उनलाई झन् ठूलो समस्या देखियो। वास्तवमा आयुर्वेदिक औषधि पनि जथाभावी प्रयोग गर्दा ‘साइड इफेक्ट’ हुन्छ। त्यसमा पनि नाम नलेखिएको औषधिमा त के-के राखिएका छन् भन्ने पनि थाहा हुँदैन। आयुर्वेदिक औषधिका नाममा ठगी भइरहेका समाचार वेलावेला आइरहन्छन्। यसले ज्यानमै तलमाथि हुने जोखिम हुन्छ।
नेपालका बिरामी आयुर्वेदिक उपचार गर्ने भनेर धेरैजसो भारततिर जाने गरेको पाइन्छ। जबकि आयुर्वेदका नाममा नेपालमा भन्दा बढी ठगी भारतमा हुने गरेको छ। यसमा बिरामी र आफन्तजनले सचेतता अपनाउन जरूरी छ।
उनीहरूले नेपालीलाई मात्रै होइन, विकसित देशमा बसोबास गरिरहेका बिरामीलाई समेत ठग्ने गरेका छन्। त्यसको एक उदाहरण हुन्, क्यानडामा बसोबास गर्ने भारतीय मूलकी महिला। उनले छारेरोग भएका आफ्ना छोरालाई उत्तराखण्डस्थित नीरज क्लिनिकमा ल्याइन्। नीरज क्लिनिकका तथाकथित डाक्टर नीरज गुप्ताले ‘आयुर्वेदिक तरीकाले छारेरोगको उपचार गर्ने’ प्रचार गरेका थिए।
क्यानडाबाट उत्तराखण्ड पुगेकी उनले गुप्ताको क्लिनिकबाट आयुर्वेदिक औषधि लिइन्। त्यसको सेवनपछि उनका छोरामा झन् समस्या देखियो। त्यसपछि प्रहरीलाई खबर गरिन्।
प्रहरीले उक्त क्लिनिकमा छापा मार्दा छारेरोग विरुद्ध प्रयोग गरिने थुप्रै आधुनिक औषधि पनि भेटियो। आधुनिक औषधिलाई पिसेर आयुर्वेदिक औषधिमा मिसाई पोको बनाएर बिरामीलाई दिने गरेको खुल्यो। त्यसपछि गुप्तालाई कारबाहीको माग गर्दै प्रदर्शन भयो।
गुप्ताको क्लिनिकबाट आयुर्वेदिक औषधिको नाममा दिइने छारेरोग विरुद्धको औषधि जाँच गर्दा फेनोबारबिटोन, फेनोटोइन जस्ता आधुनिक औषधि प्रयोग गरेको पाइएको थियो। बिरामीलाई ठगेको, भ्रमपूर्ण विज्ञापन गरेको अभियोगमा गुप्ता विरुद्ध मुद्दा दर्ता गरियो। उत्तराखण्डको अदालतले सन् २०१७ मा गुप्तालाई पाँच वर्ष जेल र २१ हजार भारतीय रुपियाँ जरिवानाको फैसला सुनायो।
उनलाई सन् २००० मा नै भारतीय चिकित्सक संघले ‘ठग’ घोषणा गरेको थियो। गुप्ताले छारेरोगको उपचारका लागि आधुनिक औषधि पिसेर केही आयुर्वेदिक औषधिमा मिसाई दिने गरेका थिए। त्यो धूलो औषधि खाएपछि केही दिन निको भए जस्तो महसूस गरे पनि पछि बिरामीलाई अनेक समस्या देखिन्थ्यो, जीउमा डाबर आउने, चिलाउने, ज्वरो आउने लगायत।
त्यस्ता पीडित बिरामी अस्पतालमा जँचाउन आउन थालेपछि चिकित्सकले नै गुप्ता विरुद्ध उजुरी दिएका थिए। त्यसपछि सन् २००४ मै प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो। तर त्यति वला छुटेका थिए।
आयुर्वेदिकका नाममा दिइने अनेक थरी औषधिले पार्ने समस्याको अर्को उदाहरण भारतकै छ। गुजरातको राजकोटका मधुमेह भएका एक व्यापारी नक्कली आयुर्वेदिक उपचार गर्ने डाक्टरको फन्दामा परे। ती व्यापारीले १० महीनासम्म मधुमेहको उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेका थिए।
केही समयपछि उनको मिर्गौलामा समस्या देखियो। भयो। मिर्गौलाको उपचार गर्दा आयुर्वेदिक औषधिका नाममा अरू नै कुनै औषधि मिसाएर दिएकाले समस्या भएको देखियो। त्यसपछि आयुर्वेदिक औषधिका नाममा दिइएको धूलो छुटाएर अर्को अस्पतालमा उपचार शुरू गरियो। तर उनलाई पूर्ण रूपमा निको भएन। किनकि आयुर्वेदिक भनेर दिइएको औषधिले ती व्यापारीलाई निकै क्षति पुर्याइसकेको थियो।
केही समयअघि भारतको मुम्बईमा केही चिकित्सकले आयुर्वेदिक भनेर दिइने नाम विनाका औषधिको अनुगमन गरेका थिए। यस क्रममा २४४ वटा औषधिको रसायन जाँच गर्दा ९६ प्रतिशतमा ‘स्टेरोइड’ (आधुनिक चिकित्सामा प्रयोग गरिने कडा औषधि)को मात्रा भएको फेला पर्यो। यस अध्ययनमा संलग्न डा.कल्याण गंगवालले वैद्यको नाममा ठगी गर्नेमध्ये कतिपयले प्रेडनिजलोन नामक आधुनिक औषधि पसलबाट किनेर आयुर्वेदिक औषधिमा मिसाएको पाएका थिए।
विशेषगरी हाडजोर्नी दुखेका र दम भएकालाई यस्तो औषधि दिंदा केही समय ठीक भएको जस्तो हुन्छ, तर पछि तौल बढ्ने, जोर्नी सुन्निने समस्या हुन्छ। यस्तो समस्या लिएर उनीहरू अस्पतालमा जँचाउन आएको पाइन्छ।
उनीहरूलाई आयुर्वेदिक भनेर दिइएका औषधिको जाँच गर्दा तिनमा अनेक खालका आधुनिक औषधि मिसाइएको पाइन्छ। यसरी ठगी गर्ने कुनै कुनै औषधिमा त दुई-तीन थरीका स्टेरोइड पनि मिसाइएको हुन्छ।
आयुर्वेद र आधुनिक औषधि विज्ञान दुवैले स्वास्थ्य रक्षा गर्छन्। कुनै समस्या परे वैद्यको औषधि दिंदा पनि प्याकेटमा राम्रोसँग नाम लेखिएको औषधि दिइन्छ। तर नाम थाहा नभएको औषधिले उल्टै समस्या निम्त्याउँछ। अझ ठीक पार्ने ग्यारेन्टी दिएका, भाँचिएको हाडजोर्नी विना शल्यक्रिया ठीक पार्ने भनेर गरिएका विज्ञापनमा विश्वास नगर्नु नै हितकर हुन्छ।
यस्तो विज्ञापन गर्न उनीहरूले पैसा खर्च पनि गरेका हुन्। आयुर्वेदिक औषधि खाँदा निको भएको भन्न लगाएका हुन्छन्। हाडजोर्नी विज्ञले यस्तै घटना सुनाएका छन्। घुँडा दुखेको उपचार गर्न आएका एक जना वृद्धालाई साधारण औषधि दिएर फिजियोथेरापी गराइयो। उनको घुँडा दुखेको निको भयो। एक दिन त उनले टीभीमा ‘आयुर्वेदिक तेल दलेर मेरो घुँडा दुखेको निको भएको’ भनेर बोलेको सुनियो।
त्यसपछि उपचार गरेका चिकित्सकले ती वृद्धासँग सम्पर्क गरे। डाक्टरले वृद्धालाई सोधे, “तपाईंलाई मैले उपचार गरेर ठीक भयो। किन आयुर्वेदिक तेलको मालिस गरेर ठीक भएको भन्नुभयो?”
वृद्धाको जवाफ सुनेर चिकित्सक पनि जिल्ल परे। वृद्धाले सुनाइन्, “मलाई १५ हजार रुपैयाँ दिए। यो तेल मालिस गरी ठीक भएको भनी बोलिदिनुस् न भने। पैसा पाएपछि मैले पनि बोलिदिएँ।”
ग्यारेन्टी भनेर आउने धेरैजसो प्रचार यस्तै हुन्छन्। अनेक थरीका तेल मालिस गरेर घुँडा दुखेको ठीक भएको भ्रमपूर्ण विज्ञापन गर्छन्। नेपाल र भारतीय टेलिभिजनमा अहिले पनि बिहान बिहान यस्ता अनेक आयुर्वेदिक मलमको विज्ञापन प्रसारण भएको देखिन्छ। यस्ता विज्ञापनमा विश्वास गर्नु हुँदैन।
वास्तविक आयुर्वेदका औषधिमा कारखानामा बनाएर राम्रोसँग प्याक गरी त्यसमा के-के मिसाइएको छ भनेर लेखिएको हुन्छ। आयुर्वेद विज्ञान अन्तर्गतका औषधि आयुर्वेदिक डाक्टरले नै सिफारिश गर्ने हो। अरूले यस अन्तर्गतका औषधि सिफारिश गर्नु पनि गलत हुन्छ। त्यसकारण आयुर्वेदिक पद्धतिको औषधि उपचार गर्न त्यस सम्बन्धी सही डाक्टर हो कि होइन, पहिले यकीन गर्नुपर्छ।
यो पनि पढ्नुहोस् : नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार