भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
संसारभरका भूप्राविधिक इन्जिनीयर, विज्ञ र अनुसन्धाता अर्को साता काठमाडौंमा भेला हुने भएका छन्।
नेपाल भूप्राविधिक समाजले गर्ने ‘जियोमान्डु’ को दोस्रो शृंखलामा सहभागी हुन उनीहरू काठमाडौं आउन लागेका हुन्। मंसीर १३ र १४ गते हुने सम्मेलनमा ‘दिगो पूर्वाधारका लागि भूप्रविधि’ शीर्षकमा छलफल हुने समाजका अध्यक्ष डा. मन्दीप सुवेदीले बताए।
उनका अनुसार सडक, जलविद्युत्, सिंचाइ र नयाँ शहर बनाउने काममा ठूलो प्रगति भए पनि प्राकृतिक प्रकोप र जलवायु परिवर्तनमा ध्यान दिन सकिएको छैन। यसका लागि भूप्राविधिक इन्जिनीयरिङको भूमिका महत्त्वपूर्ण हुने भएकाले सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा संसारभरका विज्ञले अनुभव र ज्ञान बाँड्नेछन्। नयाँ खोज र अनुसन्धानबारे पनि छलफल हुने सुवेदीले बताए।
जियोमान्डुको पहिलो शृंखला २०७९ चैतमा भएको थियो।