कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
२५ वर्षअघि फिल्म साउथएशियामा वृत्तचित्रबाट पहिलो पुरस्कार जितेसँगै फिल्मतिर लागेका निर्देशक कबीर खानले नेपालको वास्तविक चरित्र र आत्मालाई प्रतिबिम्बित गर्ने गहन कथा आएमा काम गर्ने बताएका छन्।
भारतीय फिल्म निर्देशक कबीर खानले आफ्नो यात्रा पत्रकारिताबाट शुरू गरेका थिए, डकुमेन्ट्रीहरू बनाएका थिए, त्यसपछि बलिउडमा मूलधारको सिनेमामा एक निर्देशकको रूपमा स्थापित भए।
राजनीतिक कथा र मानवीय कथालाई मिसाउने क्षमतामा विश्वव्यापी रूपमा चिनिने खान यस हप्ता फिल्म साउथएशियामा केही दिनका लागि काठमाडौंमा छन्, जहाँ उनले सन् १९९९ मा आफ्नो पहिलो पुरस्कार जितेका थिए। २५ वर्षपछि उनी फिल्म साउथएशियाको मुख्य अतिथि र मुख्य वक्ताका रूपमा काठमाडौं फर्किएका हुन्।
सन् १९९९ मा फिल्म साउथएशियामा द फर्गटन आर्मीका लागि उनले पहिलो पुरस्कार जिते, जुन दोस्रो विश्वयुद्धको महत्त्वपूर्ण ऐतिहासिक कथा थियो। “त्यो मेरो पहिलो पुरस्कार थियो, जसले मलाई गम्भीर फिल्म निर्माणतर्फ प्रेरित गर्यो,” उनी भन्छन्। त्यति वेला उनी भारतीय पत्रकार सईद नक़वीसँग काम गर्थे र विश्वभरि यात्रा गर्थे।
सन् २००१ मा अफगानिस्तान भ्रमणका क्रममा तालिवानका लागि लड्ने एक पाकिस्तानी गुरिल्लासँगको भेट उनको पहिलो फिल्म काबुल एक्सप्रेसको प्रेरणा बन्यो। उनले अफगानिस्तानको जटिल यथार्थलाई फिल्म मार्फत चित्रण गरे।
डकुमेन्ट्री फिल्म निर्माणको पृष्ठभूमिले आफ्नो सिनेमाको दर्शनलाई गहिरो आकार दिएको उनी मान्छन्। “डकुमेन्ट्रीहरूले सिकाउँछन् कि समाचारमा जे सुन्छौं, त्यो सधैं सत्य हुँदैन, त्यो कसैको दृष्टिकोण हो,” उनी भन्छन्। यो बोधले उनको कथा वर्णनको आधार बनायो, जसले मूलधारका मिडियाका चित्रण र वास्तविक मानवीय कथाबीचका खाडलमा अन्वेषण गर्न उनलाई प्रेरित गर्यो।
खान बलिउड उद्योगको पारम्परिक स्टोरी टेलिङलाई चुनौती दिन बलिउड प्रवेश गरे। द फर्गटन आर्मी, काबुल एक्सप्रेस, न्यू योर्क र एक था टाइगर जस्ता फिल्म केवल मनोरञ्जन मात्र होइनन्, बरु जटिल राजनीतिक कथामा गहिरो पैठारी गर्ने रणनीतिक माध्यम थिए। त्यस समयमा भारतीय सिनेमाले राजनीतिक संवादबाट टाढा रहने प्रवृत्ति राख्दा खानले सिनेमालाई सार्थक संवादका लागि शक्तिशाली माध्यम देखे।
“मूलधारको सिनेमाले राजनीतिलाई निषेधित क्षेत्रका रूपमा लिएको थियो,” उनी भन्छन्, “तर मेरा डकुमेन्ट्रीले मलाई कथाहरूलाई तिनीहरूको अन्तर्निहित राजनीतिक सन्दर्भबाट अलग गर्न असम्भव बनायो।” यस दृष्टिकोणले खानलाई एक डकुमेन्ट्री फिल्ममेकरबाट मूलधारको निर्देशकमा परिवर्तन गर्यो।
राजनीतिक गहिराइ र मानवीय संवेदनाको मिश्रणले भरिएका उनका फिल्म वास्तविक संसारका जटिल कथाका प्रतिबिम्ब हुन्। उनी निर्देशक मात्र होइनन्, बरु एक कथावाचक हुन् जसले सामाजिक यथार्थलाई सिनेमाको माध्यमबाट अभिव्यक्त गर्छ। उनका फिल्महरू व्यक्तिगत अनुभव, सामाजिक यथार्थ र मानवीय भावनाका जीवन्त चित्रण हुन्, जसले भारतीय समाजका विविधतालाई बुझ्ने र सम्मान गर्ने प्रयास गर्छन्।
उनको कलात्मक दर्शनको मूल आधार इमानदारी र स्वाभाविकता हो। उनका लागि कथा वर्णन केवल एक कलात्मक अभिव्यक्ति होइन, जीवनको गहन अनुभवको प्रतिबिम्ब हो। उनी मान्छन् कि जब कलाकार आफ्नो आन्तरिक सत्यतालाई सच्चा रूपमा अभिव्यक्त गर्छ, तब मात्र दर्शकसँग वास्तविक संवाद स्थापित हुन सक्छ।
उनको सिनेमा यात्रामा राजनीति र मानवीय भावना एकअर्कासँग सम्बन्धित छन्। यही कारण उनका फिल्म केवल मनोरञ्जन नभई समाजको गहन अध्ययन र चिन्तनका माध्यम बन्छन्।
कबीर खानको कलात्मक दृष्टिकोण एक गहन, सहज बोधमा आधारित छ। उनका लागि कथा भन्नु जटिल गणितीय प्रक्रिया होइन, त्यो स्वाभाविक प्रवाह हो जसमा भावनात्मक बुझाइ र मानवीय संवेदनाको महत्त्वपूर्ण भूमिका हुन्छ।
उनको बजरंगी भाइजान यस दर्शनको सबैभन्दा उत्कृष्ट उदाहरण हो। फिल्मले भारत र पाकिस्तानबीचको जटिल राजनीतिक परिदृश्यलाई प्रेम र निर्दोषताको कथाको माध्यमबाट सम्बोधन गर्यो। सिमानाका दुवैतर्फका दर्शकमा यसको गहिरो प्रभाव परेको थियो, जसले विभाजनका बावजूद मानवीय संवेदनाको शक्ति प्रदर्शित गर्यो।
खानको यो फिल्म केवल सिनेमा कृति होइन, बरु सामाजिक सन्देश र मानवीय एकताको प्रतीक बन्यो। उनको कलात्मक दृष्टिकोणले देखायो कि वास्तविक कथा राजनीतिक सीमाभन्दा माथि उठ्न सक्छ र मानवीय भावनालाई जोड्न सक्छ।
खानको कलात्मक यात्रामा फिल्म ८३ एक सन्तोषजनक परियोजना थियो, जुन केवल एक खेलको कथा होइन, राष्ट्रिय गौरवको प्रतीक बन्यो। यस फिल्मले भारतीय क्रिकेट इतिहासको ऐतिहासिक क्षणलाई जीवन्त बनायो, जहाँ कपिल देवको नेतृत्वमा टोलीले विश्वमञ्चमा अविश्वसनीय उपलब्धि हासिल गरेको थियो।
खानको दृष्टिकोण कलाकारभन्दा बढी सामाजिक इतिहासकार जस्तो थियो। उनले फिल्ममा केवल खेल र खेलाडीको कथा मात्र होइन, बरु त्यस समयको सामाजिक-सांस्कृतिक परिवेश र राष्ट्रिय आत्मविश्वासको उदयलाई पनि चित्रित गरे।
दक्षिणएशियाली कथाप्रति उनको गहन संलग्नता र संवेदनशीलताले ८३ लाई साधारण खेल फिल्मभन्दा माथि उठायो। यो फिल्म व्यक्तिगत उत्कृष्टता र सामूहिक सहयोगको जीवन्त उदाहरण बन्यो, जसले भारतीय समाजका आन्तरिक शक्ति र सम्भावनालाई प्रकाश पारेको थियो।
खानको कलात्मक दर्शन गहन सांस्कृतिक दृष्टिकोणमा आधारित छ। उनका लागि सिनेमा केवल मनोरञ्जनको माध्यम होइन, सिनेमा सांस्कृतिक राजदूतको भूमिका हो जसले समाजका गहन यथार्थलाई प्रकाश पार्छ।
उनी दृढतापूर्वक विश्वास गर्छन् कि एक सच्चा कलाकारले दर्शकको अपेक्षाभन्दा आफ्नो आन्तरिक सत्यतालाई प्राथमिकता दिनुपर्छ। फिल्ममा विषय र मुद्दाप्रति स्पष्ट र निर्भीक दृष्टिकोण राख्नु नै वास्तविक कलाको सार हो।
कोभिडपछिको समयमा सिनेमा उद्योगले ठूला परिवर्तन अनुभव गरिरहेको छ। स्ट्रीमिङ र डिजिटल प्लेटफर्मको शुरूआतले पारम्परिक सिनेमाघरलाई चुनौती दिएको छ। तर खान यस परिवर्तनप्रति आशावादी छन्, किनभने उनी मान्छन् कि सामूहिक सिनेमा अनुभवको जादू र महत्त्व कहिल्यै बिर्सन सकिंदैन।
उनको मत छ कि फिल्म निर्माताले यस परिवर्तनशील परिवेशमा अझै आकर्षक र विशाल सिनेमा सिर्जना गर्नुपर्छ, जसले दर्शकलाई घरबाट निस्कन र सिनेमाघरतर्फ आकर्षित गर्न सक्छ।
खानको कलात्मक यात्रा विकासशील प्रक्रिया हो, जहाँ हरेक फिल्म समय र परिवेशको जीवन्त प्रतिबिम्ब बन्छ। उनको कलात्मक दृष्टिकोण स्थिर नभई निरन्तर परिवर्तनशील र प्रतिक्रियाशील छ।
उनको नयाँ फिल्म चन्दु च्याम्पियन यसको उत्कृष्ट उदाहरण हो, जसले मुलारीकान्त पेटकरको जीवनयात्रालाई केन्द्रबिन्दुमा राख्दछ। यो फिल्म मानवीय दृढता, संघर्ष र आत्मविश्वासको शक्तिशाली कथा हो, जसले समाजलाई प्रेरणा दिन सक्छ।
फिल्म निर्माणप्रति उनको दृष्टिकोण अत्यन्त व्यापक र गहन छ। उनी मान्छन् कि कथा र त्यसको भौगोलिक सन्दर्भबीच अटुट सम्बन्ध हुन्छ।
के नेपाल उनको अर्को फिल्मको स्थान हुन सक्छ? उनी मान्छन् कि प्रत्येक स्थानको आफ्नै विशिष्ट आत्मा र कथा हुन्छ। जस्तै- काबुल एक्सप्रेस केवल अफगानिस्तानमा मात्र चित्रण गर्न सकिन्थ्यो, न्यू योर्क केवल न्यू योर्कमा मात्र काम गर्न सकिन्थ्यो र बजरंगी भाइजानलाई कश्मीरको दुवैतर्फको आवश्यकता थियो।
नेपालप्रति उनको दृष्टिकोण पनि त्यही सिद्धान्तमा आधारित छ। उनी केवल नेपालको सुन्दर परिदृश्यमा एउटा गीत मात्रै खिच्न चाहँदैनन्। यहाँको वास्तविक चरित्र र आत्मालाई प्रतिबिम्बित गर्ने गहन कथा आयो भने उनी काम गर्न तयार छन्।
(नेपाली टाइम्सबाट अन्शु खनालले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)