रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
रसुवागढी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को नेतृत्वमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीन वटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन शुरू गरिएको छ।
आयोजनाले परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो। परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने आयोजनाले जनाएको छ। सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी एक महीनाभित्र आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू गरिने रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले बताए।
टिमुरेस्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइन मार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको गैरेले जानकारी दिए। उक्त विद्युत् चिलिमे-त्रिशूली र त्यहाँबाट त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ। चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो।
रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँद याममा काठमाडौं उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ। सुक्खा याम शुरूसँगै भोटेकोशी नदीमा पानीको बहाव घट्न थालेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछैन। हिउँद याममा आयोजनाबाट करीब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ।
इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा विद्युत्गृह, बाँध, सुरुङ लगायत सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरन्याशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनसँग २०७० पुस ३० मा ठेक्का सम्झौता भएको थियो। इलेक्ट्रोमेकानिकल कार्यका लागि भारतको भोइथ हाइड्रो प्रालिसँग २०७१ साउन १५ मा ठेक्का सम्झौता भएको थियो।
आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा ब्याज बाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ। निर्माण अवधिको ब्याज करीब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक शेयर छ। आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो। आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ। बिजुली बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ।