दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
ठगीको आरोप लागेका थईन्द्र रिजाललाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ।
खानी तथा भूगर्भ विभागबाट विभिन्न खनिजजन्य पदार्थ खोजतलासको लाइसेन्स लिएर व्यापारिक साझेदार भित्र्याउने नाममा रिजालले लामो समयदेखि ठगी गर्दै आएका थिए। यस विषयलाई हिमालखबरले मंसीर ४ मा खुलासा गरेको थियो।
रिजाल र उनका छोरा सुयज्ञलाई मंसीर ५ गते साँझ पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले बताए। रिजालले ६६ अर्ब रुपैयाँको ग्रेनाइट रहेको प्रतिवेदन देखाएर आफूसँग दुई करोड रुपैयाँ ठगी गरेको भन्दै इन्द्रकुमार राई (सन्तकुमार गुरुङ)ले जाहेरी दिएका थिए।
रिजालले काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका-५, च्यासिङखर्कमा ग्रेनाइटको ठूलो खानी भएको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन देखाएपछि आफूले विश्वास गरेर लाइसेन्स किन्न सम्झौता गरेको गुरुङले जाहेरीमा लेखेका छन्। यद्यपि आफूलाई अर्कै ठाउँमा लाइसेन्सको क्षेत्र देखाइएको उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
खानी तथा भूगर्भ विभागले नै चण्डेश्वरी केसीका नामबाट रिजालले २०८० असोजमा बुझाएको ग्रेनाइट खोजतलासको प्रगति प्रतिवेदन नक्कली भएको आफ्नो स्थलगत प्रतिवेदन प्रहरीलाई बुझाएको थियो।
विभागको प्रतिवेदनका आधारमा प्रहरीले रिजाल बाबुछोरालाई ठगी आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।
नेपाली कांग्रेसका नेता समेत रहेका रिजाल राजनीतिक शक्तिको पहुँचमा जोगिंदै आएका थिए। उनी कांग्रेसको सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० का क्षेत्रीय प्रतिनिधि हुन्। उनी विरुद्ध गत जेठमै जाहेरी परेको थियो।
रिजाल अहिले ओमक्रिस ग्रेनाइट नामक कम्पनी चलाउँछन्, जसको सञ्चालक उनका एकाघरका सदस्य छन्। विभागको अभिलेख अनुसार ओमक्रिस, थईन्द्र र उनका छोरा सुयज्ञका नाममा अहिले पनि मकवानपुर र सिन्धुपाल्चोकमा ग्रेनाइट र क्वार्जाइट खोजतलासको लाइसेन्स छ।
यद्यपि समाचार प्रकाशित भएपछि हिमालखबरको सम्पर्कमा आएका रिजालले लाइसेन्स नामसारीपछि गुरुङले दिएको ९६ लाख रुपैयाँको चेक नसाटिएको बताए। चेक नसाटिंदा पनि गुरुङले आफू विरुद्ध उल्टै ठगीको आरोप लगाएको दाबी गरेका थिए।
२०६७ सालमा जागृति इन्डस्ट्रिज नामक कम्पनी खोलेर रिजालले खानीमा हात हालेका थिए। यो कम्पनीमा पनि शेयर दिन्छु भन्दै भित्र्याइएका थुप्रै व्यक्तिबाट रकम ठगी गरेको आरोप छ।
हिमालको खोज रिपोर्ट: दुनियाँलाई घर न घाटको बनाउने थईन्द्रको ठगीधन्दा