नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
नागरिक अगुवा तथा विभिन्न दलका नेताहरूले नेपाल सरकारलाई इजरायलको आक्रमणमा परेका फलस्तीनी जनताको पक्षमा उभिन आग्रह गरेका छन्।
इजरायलले फलस्तीनको गाजा क्षेत्रमा गरेको आक्रमणबाट त्यहाँका ४४ हजारभन्दा बढीको ज्यान गएको भन्दै नेपाल सरकार तटस्थ बस्दा घुमाउरो पारामा अन्यायको समर्थन गरेको ठहरिने उनीहरूको निष्कर्ष छ। फलस्तीन–इजरायल मामिलामा मतदान हुँदा नेपाल तटस्थ बस्नु सही नभएको ज्ञापनपत्रमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘जब मुद्दा न्याय र अन्यायको आउँछ, तटस्थ बस्नु पनि घुमाउरो रूपमा अन्यायकै पक्षधरता हुन जान्छ।’
हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारलाई प्रभावकारी कूटनीतिक पहल गर्न पनि नागरिक अगुवाको माग छ। उनीहरूले युद्ध जारी रहेसम्म इजरायलमा नेपाली पठाउन नहुनेमा जोड दिएका छन्।
ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, जनमोर्चा नेतृ दुर्गा पौडेल, प्रगतिशील रूपान्तरणका श्याम श्रेष्ठ, पिपुल्स हेल्थ मुभमेन्टका शरद वन्त र विभिन्न दलका नेताहरू लोकनारायण सुवेदी, सीपी गजुरेल, शेरबहादुर कुँवर, रामप्रकाश पुरी लगायतले हस्ताक्षर गरेका छन्।
फलस्तीनी लडाकू समूह हमासले गत वर्षको असोज २० गते इजरायलमा आक्रमण गरेको थियो। त्यसयता प्रतिवादमा उत्रिएको इजरायलले फलस्तीनमा बर्बर युद्ध मच्चाइरहेको छ।