भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भूराजनीतिक भुमरीबाट निकाल्न प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा विशेष कूटनीतिक पहल गर्नुपर्ने पर्यटन व्यवसायी तथा कूटनीतिज्ञ बताउँछन्।
महीना दिन लामो बिदा सकेर कुवेत फर्किनुपर्ने अनिता गुरुङ पोखराबाट सीधै अन्तर्राष्ट्रिय उडान नभएकोमा थकथकाइन्। दशैंतिहारका लागि घर आएकी गुरुङको गुनासोमिश्रित जिज्ञासा थियो, “अन्तर्राष्ट्रिय विमानस्थल भएपछि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने होइन र?”
नयाँ विमानस्थल बनेसँगै पोखरावासीले सोचेका थिए- सीधै अन्तर्राष्ट्रिय उडान हुन्छ। काठमाडौं भएर आउने विदेशी पर्यटक सीधै पोखरा ओर्लिन्छन्। तर दुई वर्षसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएन। बरु सँगसँगै बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइरहेका छन्। पाँच वटा वायुसेवा कम्पनीले भैरहवाबाट दुबई, कुवेत, ब्यांकक र दोहा उडान गरिरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा धेरै आन्तरिक उडान भर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै हो। अन्तर्राष्ट्रिय उडानका लागि तयार पनि छ। तथापि अहिलेसम्म अन्तर्राष्ट्रिय उडानको चालचुलै नहुँदा स्थानीय व्यवसायी पनि अन्योलमा छन्। पोखराबाट काठमाडौं र काठमाडौंबाट बाहिर उडान गर्नुपर्दाको झन्झट सम्झिएर गुरुङ प्रश्न गर्छिन्, “पोखराबाट सीधै अन्तर्राष्ट्रिय उडान भए त कति सजिलो हुन्थ्यो! भैरहवामा हुँदा पोखरामा किन नभएको होला?”
विमानस्थलबारे उनले गरेको प्रश्न पोखराका व्यवसायी, सरोकारवाला र सर्वसाधारणले पनि गरिरहेका छन्। कात्तिक २५ मा पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई पर्यटन व्यवसायीले ‘भैरहवा विमानस्थल चल्दा पोखरामा किन चलेन’ भनेर प्रश्न गरेका थिए। जवाफमा मन्त्री पाण्डेले विमान कम्पनीहरूलाई पोखरा र भैरहवामा विभिन्न सहुलियत दिएर सरकारले सहजीकरण गरिरहेको आश्वासन दिए।
यस्तै आश्वासन यसअघि थुप्रै मन्त्रीले थुप्रै पटक दिइसकेका छन्। अब आश्वासनभन्दा पनि कूटनीतिक पहल गर्नुपर्ने व्यवसायी तथा सरोकारवाला बताउँछन्। विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा पोखरा विमानस्थललाई पनि अजेन्डा बनाउनुपर्ने उनीहरूको जोड छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीे भन्छन्, “प्रधानमन्त्रीको चीन भ्रमणमा सकारात्मक परिणाम निस्कने गरी कूटनीतिक पहल गर्नुपर्छ।”
दुई वर्षमा आठ उडान
पोखरा विमानस्थल सञ्चालनमा आएको झन्डै दुई वर्षमा आठ वटा मात्रै अन्तर्राष्ट्रिय उडान भएका छन्। जसमा सात वटा त चार्टर्ड उडान छन्। पछिल्लो पटक कात्तिक २२ मा चीनको कुनमिङ शहरबाट १३४ पर्यटक लिएर सिचुआन एअरलाइन्सको ‘एअर बस-३१९’ अवतरण गरेको थियो। पोखरामा आयोजना भएको ‘क्रस कन्ट्री दौड’ प्रतियोगितामा सहभागी हुन चीन सरकारकै पहलमा खेलाडी लिएर सिचुआन एअरलाइन्सको विमानले चार्टर्ड उडान भरेको थियो।
सिचुआन एअरलाइन्सकै विमानले २०८० असार ६ मा पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो। फेवा तालमा आयोजित ‘नेपाल-चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चिनियाँ खेलाडी विमान चार्टर्ड गरेर आएका थिए।
त्यसपछि भूटानको पारो विमानस्थलबाट ड्रूक एअरले २०८० भदौ २३ मा पोखरामा अवतरण गरेको थियो। तीन यात्रु र चार जना चालक दलका सदस्य सहित पोखरा ओर्लिएको विमान फर्किंदा ४२ पर्यटक लगेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसलाई व्यावसायिक उडानमा राखेको छ। त्यस बाहेक सबै सात वटा चार्टर्ड उडान भएको पोखरा विमानस्थलकी प्रवक्ता जसोदा सुवेदी बताउँछिन्।
त्यसपछि २०८० कात्तिक २२ मा जाजरकोट भूकम्पपीडितका लागि राहत सामग्री बोकेर चीनको जनमुक्ति सेनाका दुई वटा विमान छेङ्दुबाट आएका थिए। त्यसको दुई सातापछि मंसीर ७ मा हिमालय एअरलाइन्सको विमान ‘माउन्टेन क्रस कन्ट्री दौड’ प्रतियोगिताका लागि खेलाडी सहित ९५ जनालाई लिएर आएको थियो। चीन सरकारको साझा समृद्धिका लागि दौड कार्यक्रम अन्तर्गत उनीहरू पोखरा आएका थिए।
यससँगै अन्तर्राष्ट्रिय सर्टिफिकेट प्राप्त हिमालय एअरलाइन्सका काठमाडौं-पोखराका दुई वटा उडानलाई पनि उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा राखेको छ। जसले गर्दा गणनामा आठ वटा उडान पुगेका छन्। हिमालय एअरलाइन्सका काठमाडौंबाट भएका दुई उडानलाई नजोड्ने हो भने त दुई वर्षमा ६ वटा मात्रै अन्तर्राष्ट्रिय उडान भएका छन्।
पछिल्लो पटक चीनबाट उडान मार्फत आएका चिनियाँ खेलाडी सहभागी प्रतियोगिताको उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे र नेपालका लागि चीनका राजदूत चेन सङ पोखरा पुगेका थिए। त्यति वेला पनि पोखराका पर्यटन व्यवसायीले मन्त्री र राजदूतको ध्यानाकर्षण गराएका थिए, अन्तर्राष्ट्रिय उडानका लागि। पोखरा उडानमा विभिन्न सहुलियत दिएर वायुसेवा कम्पनीसँग छलफल भइरहेको मन्त्री पाण्डेको भनाइ थियो।
सरकारी सहुलियतले तानेन
स्तरोन्नति गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आंशिक बन्द गरिएयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। पोखरा र गौतमबुद्ध विमानस्थललाई सञ्चालन गर्ने अवसर देखेर दुवै विमानस्थलमा प्राधिकरणले समान सहुलियत दिएको छ। तर वायुसेवा कम्पनीले पोखरामा चासो देखाएका छैनन्।
हाल अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत, हवाई टिकटमा लगाउने गरिएको एक हजार रुपैयाँ पर्यटन शुल्क छूट दिइएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानमा हुने पार्किङ, ल्यान्डिङ र न्याभिगेशन शुल्कमा पनि पूर्ण छूट दिइएको छ।
वायुसेवा कम्पनीलाई विशेषगरी न्यारो बडी विमान पोखरा उडानका लागि अनुरोध पनि गरिएको प्राधिकरणका डेपुटी मेनेजर ज्ञानेन्द्र भुल बताउँछन्। “काठमाडौंको विमानस्थल बन्द भएको अवस्थामा पोखराबाट उडान गर्नुपर्छ, यात्रुको सीट उपलब्धता बढाउनुपर्छ, जसले हवाई भाडा नियन्त्रण गर्नुपर्छ भनेका छौं,” भुल भन्छन्, “फेरि अन्तर्राष्ट्रिय उडान गर्ने/नगर्ने अन्तिम अधिकार वायुसेवा कम्पनीकै हुन्छ।”
उस्तै सहुलियत पाउँदा वायुसेवा कम्पनीले भैरहवामा उडान गरिरहेका छन्, तर पोखरातिर चासो देखाएका छैनन्। अझ भैरहवाभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने पोखरा नै हो।
कतिपयले यसलाई प्राविधिक कारण पनि भनेका छन्। रनवे निर्माणका क्रममा भएका त्रुटिले पोखरा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सहजता नरहेको सरोकारवालाको भनाइ पनि छ। यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अन्तर्राष्ट्रिय जहाजलाई उडान र अवतरण गर्न प्राविधिक रूपमा सहज नभएकाले विदेशी वायुसेवा कम्पनीले पोखरा उडान गर्न आनाकानी गरिरहेको बताएका थिए।
पोखरा विमानस्थल निर्माण गर्दा तीन हजार मिटर लामो रनवे बनाउने भनिएको थियो। तर पछि त्यसलाई घटाएर दुई हजार ५०० मिटरमा झारियो। यो ठूला जहाजका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। उड्डयन प्राधिकरणका सूचना अधिकारी समेत रहेका डेपुटी मेनेजर भुल भने रनवे पर्याप्त भएको र अन्तर्राष्ट्रिय उडान नहुनुमा प्राविधिक कारण नभएको बताउँछन्। अहिलेसम्म भएका अन्तर्राष्ट्रिय उडानले पनि प्राविधिक त्रुटि नभएको पुष्टि गरेको उनको तर्क छ।
ब्याज तिर्नै मुश्किल
अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको प्रत्यक्ष असर विमानस्थल निर्माणका लागि लिएको ऋणको ब्याज भुक्तानीमा परेको छ। चीनको एक्जिम ब्यांंकको ऋण सहयोगमा प्राधिकरणले चाइना सीएएमसी इन्जिनीयरिङ कम्पनी लिमिटेडसँग सन् २०१४ मा विमानस्थल निर्माण सम्झौता गरेको थियो। कम्पनीले २१ जुलाई २०१७ मा निर्माण थालेको थियो। त्यसअघि पोखरेली व्यवसायी, उद्योगी, नागरिक अगुवा र स्थानीय बासिन्दाले विमानस्थल निर्माणका लागि धर्ना, आन्दोलन नै गरेका थिए।
प्राधिकरणका अनुसार विमानस्थल निर्माणका लागि एक्जिम ब्यांकसँग २१५.९६५ मिलियन अमेरिकी डलर अर्थात् अहिलेको विनिमय दर अनुसार करीब २९ अर्ब बराबरको ऋण दिने सम्झौता भयो। जसमा २५ प्रतिशत रकम ‘सफ्ट लोन’ अर्थात् ब्याज नलाग्ने सात वर्षको ‘ग्रेस पिरियड’ दिइएको थियो। बाँकी ७५ प्रतिशत ऋणमा भने ब्याजसँगै सावाँ पनि तिर्नुपर्ने सम्झौतामा उल्लेख छ।
सन् २०२१ को जुलाईमा निर्माण सक्ने गरी सम्झौता भएको थियो। तर काममा ढिलाइ हुँदा १ जनवरी २०२३ अर्थात् २०७९ पुस १७ मा मात्रै उद्घाटन भयो। विमानस्थल निर्माणका लागि लिएको ऋणको अर्धवार्षिक रूपमा तिर्नुपर्ने रकम २०७९ चैत १ बाट तिर्न शुरू गरिएको उड्डयन प्राधिकरणले जनाएको छ। तर निर्माणमा ढिलाइ र डलरको भाउ बढ्दा नेपालले तिर्नुपर्ने ऋणको ब्याजको किस्ता रकम पनि बढ्दै गएको छ। नेपालले २०९२ सालसम्म ऋणको सावाँ र ब्याज तिरिसक्नुपर्नेछ।
प्राधिकरणले पछिल्ला ६ वर्षमा ब्याज भुक्तानी र प्रतिबद्धता शुल्क गरेर ९४ करोड ४५ लाख ३८ हजार ७७७ रुपैयाँ ८३ पैसा एक्जिम ब्यांकलाई तिरेको छ। आर्थिक वर्ष २०७९/८० मा मात्रै साढे ३२ करोड ब्याज बुझाएको छ।
पोखरा विमानस्थलको सामान्य खर्च धानिएको भए पनि ऋण तिर्न सकिने अवस्था अहिले नै नरहेको प्राधिकरणका डेपुटी मेनेजर एवं सूचना अधिकारी भुल बताउँछन्। “अन्तर्राष्ट्रिय विमानस्थल भनेपछि एउटा आशा पनि जोडिएको छ, अहिले आत्तिनै पर्ने अवस्था होइन,” उनी भन्छन्, “ऋण तिर्न स्रोतहरूको विकल्प सरकारले खोजिरहेको छ। चीन सरकारसँग पनि समन्वयको प्रयास भइरहेको छ।”
आन्तरिकतर्फ भने पोखरा विमानस्थल पूर्ण क्षमतामा चलिरहेको छ। जसले व्यवस्थापन खर्च धानेको छ। अहिले आन्तरिकतर्फ दैनिक ६० उडान भइरहेको विमानस्थलकी प्रवक्ता सुवेदी बताउँछिन्। उनका अनुसार दैनिक तीन हजार ५०० यात्रुले उडान गरिरहेका छन्।
आन्तरिक उडान राम्रो रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न अन्य पूर्वाधार पनि बढाउनुपर्ने प्राधिकरणका डेपुटी मेनेजर भुलको भनाइ छ। “पोखरामा रनवे मात्र बनेर हुँदैन, क्षमता पनि बढाउनुपर्नेछ,” उनी भन्छन्, “त्रिभुवन विमानस्थलमा जति निकाय छन्, त्यस्तै निकायले पोखरा विमानस्थललाई पनि सहयोग गर्नुपर्छ। जस्तो- भन्सार, क्वारेन्टाइन लगायत अरू निकायले पनि सहयोग गर्नुपर्छ।” त्यसपछि मात्रै वायुसेवा कम्पनीलाई सहज हुने उनको भनाइ छ।
भारतसँग संवादमा जोड
कोभिड-१९ ले थलिएका व्यवसायीलाई पोखरा विमानस्थल सञ्चालनमा आउँदा अन्तर्राष्ट्रिय उडानले पर्यटक ओइरिने विश्वास थियो। उद्घाटन भएको दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान नहुनु र पोखरा-मुग्लिन सडक निर्माणमा ढिलाइ हुँदा व्यवसायीमा झन् निराशा थपिएको छ।
पर्यटक आउने ‘पिक सिजन’ मा समेत पर्यटकको संख्या घट्दै गएको बताउँदै पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीे पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा गरिरहेको बताउँछन्। “विमानस्थलको ठूलो सपना देखाएर उडान नहुनु दुःखको विषय हो,” उनी भन्छन्, “स्थानीय र प्रदेश सरकारसँगै पोखरेलीले दबाब दिनुपर्छ।”
अध्यक्ष पहारीले दबाबमा जोड दिनुको कारण हो, भारत। स्थानीय बासिन्दा तथा सरोकारवालामा भारतले हवाई रूटको अनुमति नदिंदा पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको ठम्याइ छ। हुन पनि चिनियाँ लगानी भएका कारण भारतले किचलो गरिरहेको छ।
विमानस्थल उद्घाटनकै वेला बुद्ध एअरले पोखरा-बनारस उडान गर्ने तयारी गरेको थियो। तर भारतले अनुमति नदिंदा अहिलेसम्म पनि उडान गर्न सकेको छैन। चिनियाँ लगानी भएकै कारण भारतले अनुमति दिन नमानेको जनाइएको छ।
भारतका लागि नेपालका पूर्व राजदूत नीलाम्बर आचार्य त्यसमा केही सत्यता भएको सुनाउँछन्। “चीनले निर्माण गरेका कारण भारतले सहयोग नगरेको भन्ने एक अंश हुन सक्छ,” आचार्य भन्छन्, “कसले बनायो, कसले के गर्यो भनेर ‘एटिच्यूड’ राख्नु हुँदैन। मित्रहरूले मित्रको विकासमा सहयोग गर्नुपर्छ।”
पोखरा विमानस्थल जसले बनाए पनि नेपालको विमानस्थल भएकाले नेपाल पनि जागरूक हुनुपर्ने उनको भनाइ छ। निर्माणका क्रममा आफ्ना तर्फबाट भएका कमीकमजोरी पनि हेर्नुपर्ने उनी बताउँछन्। “यो दुईतर्फी विषय हो, केही समय लाग्ला, संवाद गर्नुपर्छ,” आचार्य भन्छन्, “नेपाल पनि जागरूक हुनुपर्छ। विमानस्थल सञ्चालनका लागि के-कति कमजोरी भए, त्यसमा नेपालले हेर्नुपर्छ।”
पोखरा विमानस्थल सञ्चालनका लागि भारतले सघाउनेमा पूर्व राजदूत आचार्य आशावादी छन्। सरकारका तर्फबाट केही प्रयास भइरहेको र थप प्रयास गर्नुपर्ने उनको सुझाव छ। आचार्य भन्छन्, “अहिलेसम्म जे भए पनि अब भारतले नेपालको आवश्यकता बुझ्ला र त्यही अनुसार विमानस्थल सञ्चालनमा सहयोग गर्ला भन्ने आशा गर्न सकिन्छ।”
चीनकै भर
पोखराका पर्यटन व्यवसायी, नागरिक अगुवा तथा सर्वसाधारण भने भारतले सघाउनेमा आशावादी छैनन्। किनकि दुई वर्षसम्म पनि भारत सकारात्मक देखिएको छैन। जबकि पोखरा भएर मुक्तिनाथ दर्शनका लागि आउने धेरै पर्यटक भारतकै छन्।
अर्को, बिजुली खरीदमा भारतले देखाएको व्यवहारले पनि पोखरेलीलाई झस्काएको छ। चिनियाँ लगानी भएका जलविद्युत् आयोजनको बिजुली भारतले खरीद गर्न आनाकानी गर्दै आएको छ। पोखरा विमानस्थल त चिनियाँ लगानीमै बनेकाले भारतले सघाउनेमा व्यवसायी ढुक्क हुन सकेका छैनन्।
यस्तो वेला विमानस्थल सञ्चालनका लागि चीनलाई गुहार्नुपर्ने उनीहरू बताउँछन्। पोखराका व्यवसायीले मंसीर ४ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएर चीन भ्रमणमा विमानस्थललाई अजेन्डा बनाउन आग्रह गरेका छन्।
व्यवसायी मात्रै होइन, कूटनीतिज्ञ पनि पोखरा विमानस्थल सञ्चालनका लागि चीनसँग कूटनीतिक पहल गर्नुपर्ने बताउँछन्। कूटनीतिज्ञ डा. रूपक सापकोटा पोखरा विमानस्थलका विषयमा चीन गम्भीर रहेको बताउँछन्। “पोखरामा उडानका लागि चीनले विभिन्न एअरलाइन्ससँग कुराकानी गरेको पनि जानकारी छ। यसले विमानस्थलको भविष्यबारे चीन पनि गम्भीर रहेको देखिन्छ,” सापकोटा भन्छन्।
यसअघि पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पोखरा विमानस्थलको विषय उठेको थियो। गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणमा पोखरा विमानस्थल पनि एउटा अजेन्डा थियो। त्यस क्रममा २०८० असोज ९ गते नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडान र हवाई रूटबारे दुवैतर्फबाट प्रोत्साहन र पहल गरिने उल्लेख गरिएको थियो।
त्यसयता चीनबाट चार्टर्ड उडान मात्रै भएका छन्। अब नियमित व्यावसायिक उडानका लागि यस पटकको प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा प्राथमिकता पाउने सापकोटा बताउँछन्। यससँगै ऋणको विषयमा पनि चीन सकारात्मक रहेको उनको भनाइ छ। “नेपाल अहिले नै ऋण तिर्न असमर्थ रहेको तथ्यबारे चीन अवगत रहेकाले यस विषयमा गम्भीर छ,” सापकोटा भन्छन्, “पोखराको जस्तै अन्यत्रको समस्या नबाझिने हिसाबबाट ऋणलाई अनुदानमा बदल्नेबारे पनि छलफल गर्नुपर्छ।”
सरकारले यसअघि पनि ऋणलाई अनुदानमा बदल्न आग्रह गर्दै पत्र लेखेको थियो। नेपाल भ्रमणमा रहेका चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनलाई गत भदौ ७ मा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले पत्र हस्तान्तरण गरेका थिए। त्यति वेला वेइकुनले सकारात्मक प्रतिक्रिया जनाएका थिए। कूटनीतिज्ञ सापकोटा पनि पोखरा विमानस्थललाई व्यवस्थित र अन्तर्राष्ट्रिय उडानका लागि सघाउन चीन सकारात्मक रहेको सुनाउँदै भन्छन्, “प्रधानमन्त्रीको यस पटकको भ्रमणले पोखरा विमानस्थलको विषय कुनै न कुनै रूपमा टुंगोमा आउने निश्चित छ।”
विमानस्थलको शिलान्यास भएसँगै पोखरामा होटल थपिए। कतिले होटलको क्षमता पनि बढाए। व्यवसायीले लगानी पनि थपे। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटन क्षेत्र चलायमान हुने र आर्थिक गतिविधि बढ्ने आश गरेका थिए। तर अन्तर्राष्ट्रिय उडान नहुँदा थलिएका छन्।
यस्तो वेला प्रधानमन्त्री ओलीको चीन भ्रमणले फेरि आश जगाएको छ। विमानस्थलको शिलान्यास पनि प्रधानमन्त्रीका रूपमा ओलीले नै २०७३ वैशाख १ मा गरेका थिए। पर्यटन परिषद्का अध्यक्ष पहारी भन्छन्, “प्रधानमन्त्रीको चीन भ्रमणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई गति दिने आशा गरेका छौं।”