फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
सरकारले सहकारी समस्यालाई समाधान नगरेको भन्दै पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन्।
उनीहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन्। चाबहिल, गठ्ठाघर, पुल्चोक, कालिमाटी, सोह्रखुट्टेबाट एकैसाथ निकालिएको र्याली माइतीघरमा पुगेर विरोध सभामा परिणत भएको छ।
सरकारले सहकारी समस्यालाई समाधान गर्ने र पीडितको बचत रकम फिर्ता गर्ने पटक पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै सहकारीपीडित सडकमा उत्रिएको बताउँछन्। सहकारीपीडितको न्याय, सहकारीमा जम्मा गरेको रकमको सावाँ र ब्याज फिर्ता गराउन उनीहरूले माग गरेका छन्।
त्यस्तै, सहकारीको रकम अपचलन गर्नेहरूको सम्पत्ति जफत गराउन, अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिकको जीवन रक्षा गर्न, सहकारीले निम्त्याएका विकृति र विसंगतिको अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन्।
देशभरका ३५७ सहकारीमा १४ लाखभन्दा बढी बचतकर्ताको रकम डुबेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले बताए। “सरकारले सहकारी ठगीमा जोडिएका दुई-चार जनालाई कारबाही गरे जस्तो गर्छ, तर बचतकर्ताको रकम चाहिं फिर्ता गर्दैन। पीडितलाई सधैं झुलाइरहेको मात्र छ,” केसी भन्छन्। सहकारीका समस्यालाई राजनीतीकरण नगर्न पनि उनले आग्रह गरेका छन्।
सहकारीपीडितले बचत रकम फिर्ताका लागि आन्दोलन गर्दै आएको १९ महीना भइसकेको छ।